काठमाडौंको फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम गर्ने २६ वर्षीया गीताको (नाम परिवर्तन) दिनचर्या हरेक बिहान तीन बजे सुरु हुन्छ। सहरका अधिकांश मानिस ब्युँझनुअघि नै उनी सडक सफा गर्न थाल्छिन्। दिउँसो तीन बजेसम्म उनी काठमाडौंका मुख्य सडकहरू सफा गर्दै आफ्नो परिवार पाल्नका लागि दुई पैसा जोड्ने प्रयास गर्छिन्।
शारीरिक रूपमा निकै कष्टकर यो कामले उनलाई केही आम्दानी त दिन्छ तर यसले उनको परिवार पाल्न मुस्किलले पुग्छ। उनको यो काम थकाइ लाग्दो दिनचर्याको एउटा पाटो मात्र हो। घर फर्केपछि गीता तुरुन्तै अन्य थुप्रै जिम्मेवारीमा लाग्छिन्। जस्तै खाना पकाउने, सरसफाइ गर्ने र परिवारका सदस्यहरूको हेरचाह गर्ने। यी कामहरूलाई नेपाली समाजमा परम्परागत रूपमा महिलाको जिम्मेवारी मानिन्छ। यतिले मात्र नपुगेर गीता थप आम्दानीका लागि प्रायः साँझमा चटपटे र खादा बेच्न पनि दौडिन्छिन्। यसरी साँझमा अतिरिक्त आम्दानीका लागि चटपटे बेच्ने गीताको कथा नेपालका हजारौं अनौपचारिक महिला श्रमिकहरूको सङ्घर्षको एक प्रतिनिधि उदाहरण हो।
त्यस्तै २४ वर्षीया कला (नाम परिवर्तन) काठमाडौं उपत्यकाको एउटा पुलमुनि फालिएका सामानहरूको थुप्रो पन्छाउँदै काम गरिरहेकी छिन्। टाउको ढाकेकी भए पनि उनी मास्क वा पन्जाजस्ता सुरक्षात्मक सामग्रीबिना नै फोहोरको थुप्रोमा काम गर्छिन्। अरूले फालिदिएको सामग्रीबाट मूल्यवान वस्तु खोज्न निरन्तर खटिन्छिन्। प्रायः आफ्नो दुई वर्षीय छोरासँगै उनी फालिएका सामग्रीहरू पन्छाउँछिन्। कलाको मार्मिक प्रश्न ‘के गर्नु ?श्रीमान् विदेशमा हुनुहुन्छ, म छोराको हेरचाह गर्दै परिवार पाल्न अलिकति पैसा कमाउँदै छु’ले नेपालमा धेरै महिलाले श्रीमान् कामका लागि बिदेसिएपछि सामना गर्नुपरेका जटिल यथार्थहरूलाई समेटेको छ।
गीता र कलाको कथा कुनै अपवाद होइन। उनीहरूले प्रतिनिधित्व गर्ने अनौपचारिक श्रम शक्ति नेपालको कुल कार्य ठुलो हिस्सा हो। राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल श्रम शक्ति सर्वेक्षण २०१७/१८ अनुसार नेपालको कुल श्रमशक्तिको ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न छन् र त्यसमध्ये महिलाहरूको सहभागिता ६६.५ प्रतिशत रहेको देखिन्छ। यद्यपि केही अन्य पछिल्ला अध्ययनहरूले यो सङ्ख्या अझै बढी हुन सक्ने अनुमान गरेका छन्, जसअनुसार कुल श्रमशक्तिको ८४.६ प्रतिशतसम्म अनौपचारिक क्षेत्रमा रहेको र त्यसमा महिलाहरूको प्रतिशत ९०भन्दा बढी हुन सक्ने उल्लेख गरिएको छ। यी आँकडाले गीता र कलाजस्ता महिलाहरूको सङ्ख्या ठुलो छ र उनीहरूको योगदान हाम्रो अर्थतन्त्रका लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा स्पष्ट पार्छ।
नेपालमा द्रुत सहरीकरणसँगैफोहोरमैला व्यवस्थापनमा संलग्नमहिला श्रमिकहरूले सार्वजनिक सरसफाइ र स्वच्छता कायम राख्ने महत्त्वपूर्ण श्रम गरिरहेका छन् तर उनीहरूको काम विरोधाभासको उत्कृष्ट उदाहरण हो। उनीहरूको भौतिक उपस्थिति निर्विवाद छ। साथै सहरी सौन्दर्य तथा जनस्वास्थ्यमा उनीहरूको योगदान अतुलनीय छ। तथापि उनीहरूको योगदान, जोखिम र पेसागत खतराशक्तिमा रहेकाहरूका लागि अदृश्य नै छ।
नेपालमा फोहोरमैला व्यवस्थापन क्षेत्रमा औपचारिक र अनौपचारिक दुवै श्रमिकहरू संलग्न छन्। यी श्रमिकहरूले फोहोर सङ्कलन, वर्गीकरण, पुनः प्रयोग र अन्तिम व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को २०१८को अध्ययनअनुसार काठमाडौं उपत्यकामा मात्र १० हजारदेखि १५ हजारबिचमा फोहोर व्यवस्थापन श्रमिक छन्, जसमध्ये महत्त्वपूर्ण भूमिकामा महिला श्रमिक छन्।
विश्वभरि नै फोहोरमैला व्यवस्थापन अनौपचारिक क्षेत्रको प्रमुख व्यवसायका रूपमा वृद्धि भएको पाइन्छ। नेपालमा अनौपचारिक फोहोर क्षेत्रले कुल फोहोर व्यवस्थापनको लगभग १५ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा फोहोरमैला व्यवस्थापनको अनौपचारिक क्षेत्रमा संलग्न श्रमिकहरूको सङ्ख्याबारे विभिन्न अध्ययन तथा प्रतिवेदनमा फरक–फरक अनुमान पाइन्छन्। यसको मुख्य कारण यस क्षेत्रका श्रमिकहरू औपचारिक रूपमा दर्ता नहुनु हो तर पनि विभिन्न प्रतिवेदनमा पाइने सामान्य अनुमानित तथ्याङ्कले फोहोरमैला व्यवस्थापन क्षेत्रमा काम गर्ने श्रमिकहरूको ठुलो सङ्ख्यालाई उजागर गर्छ। नेपाल स्क््रयाप व्यवसाय संघका अनुसार काठमाडौंमा मात्रै करिब एक लाख मानिस यस व्यवसायमा संलग्न छन्।
औपचारिक क्षेत्रको सन्र्दभमा २०१९/२० मा राष्ट्रिय तथ्याङ्क कार्यालयले २७१ नगरपालिकालाई समेटेर गरेको सर्वेक्षणअनुसार २० प्रतिशत महिला कर्मचारी फोहोर व्यवस्थापनमा रहेको उल्लेख छ र त्यसमा पनि स्विपर, हेल्परलगायत अन्य तल्लो तहमा महिला कर्मचारीको बाहुल्य देखिन्छ।
यो समस्यालाई घरेलु जिम्मेवारीको बोझले अझ जटिल बनाएको छ। जसले गर्दा अनौपचारिक श्रमिकहरूसँग आफ्नो विकासका लागि वा आराम गर्नका लागि समय हुँदैन। लैंगिक असमानतालाई सम्बोधन गर्न र घरायसी कामको बोझलाई सामाजिक रूपमा मान्यता दिँदै यसको वितरणलाई सन्तुलित बनाउन कुनै ठोस पहल भएको छैन। अनौपचारिक क्षेत्रमा महिलाहरूले गर्ने श्रमलाई अदृश्य मान्ने सामाजिक मान्यतालाई बदल्न रूपान्तरणकारी कार्यक्रमहरूको अभाव छ।
अस्थिर पारिश्रमिकमा काम गर्ने, कम बार्गेनिङ शक्ति भएका फोहरमैलामा काम गर्ने अनौपचारिक श्रमिकहरू औपचारिक क्षेत्रमा संलग्नहरूको तुलनामा जोखिमपूर्ण परिस्थिति सामना गर्छन् भने महिलाको स्थिति महिला भएकै कारणले झन् जोखिमपूर्ण हुन्छ।
फोहोरमैला व्यवस्थापनमा संलग्न महिला श्रमिकहरूले अनियमित र न्यून पारिश्रमिकका कारण आर्थिक असुरक्षाको सामना त गर्छन् नै, उनीहरूको प्रायः फोहोर व्यवस्थापन संगठन र श्रमिक युनियनहरूको सम्पर्कमा सीमितता छ। स्वास्थ्य बिमा, पेन्सन, मातृत्व सुविधा, प्रसूति बिदा र अन्य योजनाहरू लगायतका सामाजिक सुरक्षा उपायहरूमा पहुँचको अभावले असुरक्षालाई बढाएको छ।
नेपाल सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गरे तापनि श्रमिकहरूले अझै पनि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) जस्तै मास्क, पन्जा र बुट, पर्याप्त बिदा र उचित ज्यालाको अभावलगायतका थुप्रै समस्या झेल्नुपरेको छ। यी श्रमिकले प्रायः न्यूनतम सेवाहरू पाउने र आधारभूत निर्वाहका लागि आवश्यकभन्दा धेरै कम पारिश्रमिकमा काम गर्न बाध्य हुने गरेको पाइन्छ।
काठमाडौं उपत्यकामा सक्रिय अनौपचारिक फोहोरमैला व्यवस्थापनका महिला श्रमिकहरूको सङ्ख्यालाई लिएर गरिएको एक अध्ययनले करिब ७० प्रतिशत महिला श्रमिकहरू निरक्षर छन्, मास्क र पन्जाबाहेक अन्य सुरक्षात्मक उपकरण प्रयोग गर्दैनन् भन्ने देखाउँछ। श्रमलाई सामाजिक रूपमा तल्लो स्तरको भनेर हेर्ने प्रवृत्तिले उनीहरूको आत्मविश्वास र सामुदायिक सम्बन्धमा गहिरो असर पार्छ।
यिनै महिलाले पुनः प्रयोगयोग्य वस्तु संकलन, वर्गीकरणर बिक्री गरेर वातावरणीय दिगोपनमा योगदान दिइरहेका छन् तर उनीहरूको श्रमको मूल्याङ्कन छैन। महिला श्रमिकहरूको काम केवल शारीरिक परिश्रममा सीमित छैन। यो त सामाजिक बहिष्कार, असुरक्षा र मर्यादित रोजगारीका लागि गरिने निरन्तरको संघर्ष पनि हो।
दक्षिण एसियामा फोहोरमैला व्यवस्थापनसम्बन्धी हालसम्म गरिएका अधिकांश अनुसन्धानले मुख्यतया वातावरणीय दिगोपना, अनौपचारिक अर्थतन्त्र र पुरुषप्रधानरिसाइक्लिङ शृङ्खलामा ध्यान केन्द्रित गरेको देखिन्छ। श्रमसम्बन्धी नारीवादी अध्ययनहरूले पनि फोहोरमैला व्यवस्थापनमा संलग्न महिला श्रमिकका मुद्दा पर्याप्त रूपमा नसमेटिएको पाइन्छ। आफ्नो महत्त्वपूर्ण भूमिकाका बाबजुद, यी महिला श्रमिकहरू आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि पारिएका छन्। उनीहरूको आवाज र आवश्यकतालाई श्रम नीति निर्माण र नारीवादी अध्ययन दुवैमा प्रायः बेवास्ता गरिएकै कारणले उनीहरूको जीवनका अनुभव र विशेष चुनौतीहरू बुझ्नमा ठुलो कमी देखिएको छ।
सामाजिक, सांस्कृतिक मूल्य, मान्यता, संस्कार तथा संस्कृतिहरूले पुरुष र महिलाको भूमिका, जिम्मेवारी रस्रोतमा पहुँच फरक पारेको हुँदा पुरुष र महिलाहरूका आवश्यकता र प्राथमिकताहरू पनि फरक हुन्छन्। लैंगिक भेदभावलाई नीतिनिर्माण र अन्य सामाजिक, स्वास्थ्य र आर्थिक प्रणालीले सम्बोधन गर्न नसक्दा यीभिन्नता वा विभेदहरूलाई बढावा दिन सक्छ।
यसका अतिरिक्त नेपालमा नीतिगत हस्तक्षेपहरूले सहरी सरसफाइको श्रममा अन्तर्निहित लैंगिक र जातीय आयामहरूलाई अझै पनि पर्याप्त रूपमा सम्बोधन गर्न सकेका छैनन्। श्रम ऐन, २०१७, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०१७ र सामाजिक सुरक्षा ऐन, २०१८ जस्ता कानुन पनि अनौपचारिक क्षेत्रमा पूर्ण रूपमा लागु हुन सकेका छैनन्।
व्यावसायिक स्वास्थ्य तथा सुरक्षा नीति, २०१९ जस्ता नीतिले सुरक्षित, मर्यादित र न्यायपूर्ण कामको अधिकारको व्यवस्था गरे पनि फोहोरमैला व्यवस्थापन महिला श्रमिकका अधिकारहरू व्यवहारमा पाउन सकेका छैनन्। साथै सरसफाइ तथा स्वच्छता गुरुयोजना, २०११ र खानेपानी तथा सरसफाइ ऐन २०२२ जस्ता क्षेत्रगत योजनाले पूर्वाधार र जनस्वास्थ्यका लक्ष्यहरूमा ध्यान दिए पनि अग्रपङ्क्तिमा काम गर्ने श्रमिकहरूको वास्तविक जीवनका अनुभव र पेसागत जोखिमलाई सम्बोधन गर्न चुकेका छन्।
फोहोरमैला व्यवस्थापनमा कार्यरत महिला श्रमिकहरूले सामना गर्ने चुनौतीहरू केवल कम ज्याला र सामाजिक उपेक्षामा मात्र सीमित छैनन्। उनीहरूको दैनिक कामले गम्भीर स्वास्थ्य जोखिमहरू पनि निम्त्याएका छन्। पर्याप्त व्यक्तिगत सुरक्षा उपकरण अभावमा उनीहरू निरन्तर जोखिममा छन्। फोहोरको दुर्गन्ध र धुलोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, छालामा घाउ, सङ्क्रमण र अन्य गम्भीर रोगहरूको जोखिम बढेको छ। यसबाहेक प्रजनन स्वास्थ्य समस्या पनि एक प्रमुख चुनौती हो। महिनावारीको समयमा व्यक्तिगत सरसफाइका लागि पर्याप्त सुविधा नहुँदा उनीहरूलाई थप कठिनाइ हुने गर्छ।
यस समस्यालाई थप जटिल बनाउने अर्को पाटो भनेको महिला श्रमिकहरूलाई बच्चा हुर्काउने र हेरचाह गर्ने दोहोरो जिम्मेवारीले गर्दा बालबालिकाको समग्र विकासमा समेत पर्ने नकारात्मक असर हो। कथामा देखिएजस्तो धेरै महिला आफ्ना साना बालबालिकालाई सँगै लिएर काम गर्न बाध्य हुन्छन्। काम गर्ने ठाउँमै फोहोरको थुप्रोमा खेल्दा बालबालिकाहरू पनि स्वास्थ्य जोखिममा पर्ने खतरा रहन्छ। यसका साथै फोहोरबाट हुने जोखिम र त्यसको सुरक्षित व्यवस्थापनसम्बन्धी सचेतना तथा तालिमको अभावले पनि उनीहरूको जोखिमलाई बढाएको छ। धेरैजसो श्रमिकले फोहोरबाट हुने खतरा र त्यसबाट बच्ने उपायबारे पर्याप्त ज्ञान नपाउँदा उनीहरूको जीवनमा थप चुनौती आइ पर्छन्।
नीति र कानुनहरूको कानुनी प्रावधान भए पनि तिनको कार्यान्वयनमा थुप्रै चुनौती छन्। मुख्य चुनौती भनेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकहरूलाई औपचारिक प्रणालीमा ल्याउन नसक्नु हो। महिला श्रमिकसँग परिचयपत्र, कामको रेकर्ड र आधिकारिक सम्झौता नहुँदा उनीहरू कानुनी सुरक्षा र सामाजिक सुरक्षा योजनाबाट वञ्चित छन्। स्थानीय निकायबाट पनि फोहोरमैला व्यवस्थापनमा कार्यरत महिला श्रमिकहरूको हितलाई केन्द्रमा राखेर काम भएको बिरलै पाइन्छ।
हालसम्मका धेरैजसो प्रयास भौतिक पूर्वाधार जस्तै– ल्यान्डफिल साइट, प्रशोधन केन्द्र र जनस्वास्थ्यमा मात्र केन्द्रित छन् तर अग्रपङ्क्तिमा काम गर्ने महिलाको व्यावसायिक स्वास्थ्य र सुरक्षा तथा सामाजिक पहिचानलाई बेवास्ता गरिएको छ। यस सन्दर्भमा केही स्थानीय तहले फोहोरमैला संकलन र प्रशोधनको जिम्मेवारी निजी क्षेत्रलाई दिएका छन् भने केहीले महिला समूह वा सहकारीसँग मिलेर काम गरेका छन्। यद्यपि यी पहलले उनीहरूको दैनिक ज्याला, सामाजिक सुरक्षार कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न पर्याप्त कदम चालेका छैनन्। परिणामस्वरूप नीतिहरू कागजमा सीमित छन् भने अग्रपङ्क्तिका महिला श्रमिकहरू आफ्नो जीवन र पेसालाई जोखिममा राखेर काम गर्न बाध्य छन्।
दक्षिण एसियाका भारत र बंगलादेशमा महिला श्रमिक अवस्था नेपालको भन्दा फरक छैन, जहाँ उनीहरूलाई न्यून पारिश्रमिक, सामाजिक उपेक्षा र असुरक्षित कार्यस्थलमा काम गर्न बाध्य पारिएको छ। यद्यपि केही ठाउँमा भएका सफल प्रयासहरूले नेपालले महत्त्वपूर्ण पाठ सिक्न सक्छ। उदाहरणका लागि भारतमा रहेको स्वरोजगार महिला संघले अनौपचारिक क्षेत्रका महिला श्रमिकहरूलाई संगठित गरी उनीहरूलाई कानुनी मान्यता, सामाजिक सुरक्षा र वित्तीय सेवामा पहुँच पुर्याउन सफल भएको छ।
बंगलादेशका केही सहरी परियोजनाहरूले फोहोरमैला व्यवस्थापनमा कार्यरत महिलालाई औपचारिक प्रणालीमा एकीकृत गर्दै उनीहरूलाई उचित ज्याला, स्वास्थ्य बिमा र तालिमको व्यवस्था गरेका छन्। त्यस्तै ब्राजिल र इजिप्टजस्ता देशमा वेस्ट पिकर्स एसोसिएसनहरू गठन गरी उनीहरूलाई फोहोर रिसाइक्लिङ मूल्य शृङ्खलामा साझेदारका रूपमा समावेश गरिएको छ। जसले उनीहरूको आर्थिक अवस्था सुधार गर्नुका साथै व्यावसायिक सुरक्षा पनि बढाएको छ।
नेपाल सरकारले फोहोरमैला व्यवस्थापनमा महत्त्वपूर्ण प्रगति गरिरहेको छ तर लैंगिक समावेशीकरणको सवालमा अझै धेरै काम गर्न बाँकी छ, विशेषगरी महिला फोहोरमैला श्रमिकहरूको भूमिकालाई स्वीकार गर्ने सन्दर्भमा। महिला श्रमिकहरूको वास्तविक अवस्था झल्काउने पर्याप्त तथ्यांक उपलब्ध नहुनु एउटा चुनौती हो। विभिन्न संस्था, ट्रेड युनियनहरू फोहोरमैला व्यवस्थापनमा काम गर्ने श्रमिकहरू र अन्तर्राष्ट्रिय श्रम संगठन जस्ता निकायहरूले मिलेर नीतिगत तहमा काम गर्नु आवश्यक छ।
अन्ततः बिहान तीन बजे सडकमा झाडु लगाउने गीता होस् या पुलमुनि फोहोरको थुप्रोमा काम गर्ने कला, उनीहरूको श्रमले हाम्रो सहरलाई सफा र सुन्दर राख्छ। जबसम्म उनीहरूको अथक प्रयासलाई नीति, कानुन र सामाजिक सुरक्षाले सम्बोधन गर्दैन, तबसम्म हाम्रो सहर सफा देखिए पनि न्यायपूर्ण हुँदैन। उनीहरूको कामलाई दयाको दृष्टिले नभई अधिकार र सम्मानको दृष्टिले हेर्नु आवश्यक छ। अनौपचारिक फोहोर व्यवस्थापन क्षेत्रमा संलग्न महिलाहरूको श्रम केवल सहर सफा राख्ने काम होइन। यो सामाजिक न्याय, वातावरणीय दिगोपन र लैंगिक समानताको सवाल हो।
–लेखक त्रिभुवन विश्वविद्यालयको केन्द्रीय लैंगिक अध्ययन विभागमा विद्यावारिधि शोधकर्ता हुन्।
प्रकाशित: ६ मंसिर २०८२ ०९:५८ शनिबार
