फोमो (FOMO – Fear of Missing Out) र डिजिटल थकान (Digital Fatigue) आधुनिक डिजिटल युगमा उत्पन्न हुने प्रमुख मनोवैज्ञानिक समस्या हुन् । यी दुवैले व्यक्तिको मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र दैनिक जीवनमा गहिरो प्रभाव पार्न सक्छन् । फोमो भनेको अरूले गरिरहेका रमाइला वा महत्वपूर्ण गतिविधिबाट वञ्चित हुने डर हो । यो सामाजिक मिडिया, डिजिटल प्लेटफर्म र अनलाइन गतिविधिको अत्यधिक प्रयोगले बढाउँछ । डिजिटल थकान भन्नाले व्यक्तिले लामो समयसम्म डिजिटल उपकरण (जस्तैः मोबाइल फोन, ल्यापटप, कम्प्युटर, ट्याबलेट आदि) प्रयोग गर्दा शारीरिक, मानसिक र भावनात्मक थकावट महसुस गर्नु हो । पछिल्लो समय, विशेषगरी कोरोना महामारीपछि अनलाइन काम, कक्षा र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले गर्दा यो समस्या बढ्दै गएको छ ।
एक बिहान मोबाइलको स्क्रिन हेर्दै दिनको सुरुवात हुन्छ— स्न्यापच्याटमा कसैले ‘स्टोरी’ हालेछ, इन्स्टाग्राममा कसैले समुद्री किनारमा फोटो पोस्ट गरेको छ, फेसबुकमा कुनै साथीले मास्टर्स स्कलरसिप पाएको जानकारी दिएको छ । एकैपटक मनमा प्रश्न उठ्छ, ‘म भने किन यत्तिकै छु ?’ अनि दिनभर त्यो असन्तुष्टि र चिडचिडोपनले घेर्छ । यही हो फोमो । यसैगरी, दिनभर लगातार मोबाइल स्क्रिन घोत्लिँदै बिताउने, काममा ध्यान केन्द्रित गर्न नसक्ने, शरीर त झन् थाकेको तर दिमाग कहिल्यै विश्राम नगर्ने अवस्थामा पुग्छ— जसलाई भनिन्छ ‘डिजिटल थकान’ ।
फोमोको अवधारणा
फोमोको उत्पत्ति र अध्ययनले देखाउँछ कि यो केवल सामाजिक व्यवहारको परिणाम मात्र नभई गहिरो मनोवैज्ञानिक जडहरू भएको अवस्था हो । फोमोको अवधारणा पहिलोपटक सन् २००४ मा सामाजिक सञ्जालमा देखिएको व्यवहारको रूपमा परिभाषित गरिएको थियो जहाँ मानिस अनलाइन रहेका अरूको जीवनका रमाइला झलक देखेर आफूले केही छुटाइरहेको अनुभूति गर्थे । यस अवधारणालाई आत्मनिर्धारण सिद्धान्तसँग पनि जोडिएको छ जसअनुसार जब मानिसको तीन मुख्य सामाजिक आवश्यकता ‘सम्बन्धितता, स्वायत्तता र क्षमता’ पूरा हुँदैनन् तब फोमो उत्पन्न हुन्छ । मानिसलाई समाजमा स्विकारिएको महसुस गर्नुपर्ने, निर्णय स्वतन्त्र रूपमा गर्न पाउने र आफू सक्षम भएको अनुभूति आवश्यक हुन्छ । जब यी आधारभूत आवश्यकता अधुरा रहन्छन् तब फोमोको भावना अझ तीव्र हुन्छ । यस शब्दको सामाजिक र मनोवैज्ञानिक प्रभावलाई मान्यता दिँदै सन् २०१३ मा फोमो शब्दलाई अक्सफोर्ड डिक्सनरीमा औपचारिक रूपमा समावेश गरिएको थियो जसले यसको व्यापकता र प्रभावलाई पुष्टि गर्छ ।
डिजिटल थकान यस्तो अवस्था हो जसमा लामो समयसम्म स्क्रिन प्रयोग गर्दा मानिसले विभिन्न शारीरिक र मानसिक समस्या अनुभव गर्न थाल्छ । यसमा सबैभन्दा सामान्य लक्षण भनेको आँखा पोल्ने, दुख्ने वा रातो हुनेजस्ता समस्या हो जुन निरन्तर स्क्रिन हेर्दा आँखाको सुक्खापनका कारण उत्पन्न हुन्छ । साथै, यसले टाउको दुखाइ, ध्यान केन्द्रित गर्न गाह्रो हुने र दृष्टि धमिलो हुनेजस्ता लक्षण पनि देखाउँछ । स्क्रिनको नीलो प्रकाशले निद्रामा असर पु¥याउने भएकाले रातिको निद्रा पनि खराब हुन सक्छ । शारीरिक रूपमा पनि घाँटी, काँध र ढाडमा पीडा महसुस हुने, सानो कुरामा रिस उठ्ने, मानसिक तनाव हुने तथा कामप्रति मन नलाग्ने र सक्रियता घट्नेजस्ता लक्षण देखिन्छन् । यी सबै लक्षण मिलेर डिजिटल थकानको संकेत दिन्छन् जसले दिनानुदिन जीवनशैलीमा नकारात्मक असर पार्न सक्छ ।
फोमो एक मनोवैज्ञानिक अवस्था हो जसमा व्यक्ति आफू सामाजिक, व्यावसायिक वा रमाइलो अनुभवबाट वञ्चित भएँ भनेर डराउँछ । यसले मनोवैज्ञानिक रूपमा चिन्ता, अनिश्चितता, असन्तुष्टि र आत्ममूल्यमा कमी ल्याउँछ जसमा अरूको जीवनसँग तुलना गर्दै आफूले केही गुमाइरहेको अनुभव हुन्छ । व्यक्ति सोच्न थाल्छ कि अरू धेरै रमाइरहेका छन्, सफल छन् र उसले ती अवसर गुमाइरहेको छ । व्यावहारिक रूपमा फोमो भएका व्यक्ति लगातार सामाजिक सञ्जाल जाँचिरहन्छन्, विभिन्न कार्यक्रममा उपस्थित हुन दबाब महसुस गर्छन्, निर्णय लिन गाह्रो हुन्छ र अत्यधिक सामाजिक व्यस्तताले शारीरिक थकानसमेत अनुभव गर्छन् । यस्तो अवस्थाले मानसिक सन्तुलन मात्र होइन दैनिक जीवनको गुणस्तरमा समेत नकारात्मक असर पु-याउन सक्छ ।
नेपाली युवालाई ‘जे छ, त्यसैमा खुसी मान्ने’ मानसिकता अपनाउन, ‘धेरै पोस्ट गर्नु, धेरै खुसी होइन’ भन्ने कुरा बुझाउन र प्रकृतिसँग जोडिनका लागि डिजिटल ब्रेक लिई हिमाल, हरियाली र शान्त वातावरणमा समय बिताउन प्रेरित गर्नु महत्वपूर्ण छ । यी सबै उपायलाई आत्मसात् गर्दै नेपाली समाजमा फोमो र डिजिटल थकानको असरलाई न्यूनीकरण गर्न सकिन्छ
२०२२ देखि २०२५ सम्मका विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले फोमो र डिजिटल थकानबीचको सम्बन्धलाई गहिरो रूपमा प्रस्ट पारेका छन् । सन् २०२२ मा बोस्निया र हर्जगोभिनामा गरिएको एक अध्ययनमा १ हजार २४ किशोरमा स्मार्टफोनको समस्यायुक्त प्रयोग र सोसल मिडिया प्रयोग विश्लेषण गर्दा ४० प्रतिशतमा आत्मनियन्त्रणको समस्या र १७ दशमलव १९ प्रतिशतमा स्मार्टफोनको समस्यायुक्त प्रयोगको उच्च तीव्रता पाइयो । इन्स्टाग्राम र टिकटक सबैभन्दा धेरै प्रयोग हुने प्लेटफर्म थिए र फोमोको उच्चस्तरले अनिद्रा र तनावजस्ता डिजिटल थकानका लक्षण निम्त्याएको देखियो । २०२३ मा इन्डोनेसियामा गरिएको अध्ययनले फोमो र इन्टरनेट लतबीच सकारात्मक सम्बन्ध देखाउँदै ६० प्रतिशत विद्यार्थीमा सोसल मिडिया जाँच गर्ने आदत र ३५ प्रतिशतमा मानसिक तनाव र ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्या उजागर ग¥यो ।
त्यसपछि, २०२५ मा इटालीमा गरिएको अध्ययनले ५ सय ३७ वयस्कमध्ये कम जीवन सन्तुष्टि भएकामा स्मार्टफोनको समस्यायुक्त प्रयोग उच्च देखिएको र यो फोमो तथा मानसिक तनावसँग जोडिएको देखायो । अध्ययनले देखायो कि फोमोले मानिसलाई निरन्तर अनलाइन रहन प्रेरित गरेर स्मार्टफोन तथा सोसल मिडिया प्रयोग बढाउँछ जसले चिन्ता, अवसाद र अनिद्राजस्ता डिजिटल थकानका लक्षण निम्त्याउँछ । त्यस्तै, क्यानाडामा कोभिड–१९ को समयमा गरिएको अध्ययनमा २ हजार ५ सय २७ किशोरमा फोमो एक प्रमुख भविष्यवक्ता भएको पाइएको थियो जसले स्मार्टफोनको समस्यायुक्त प्रयोग, स्क्रिन टाइम र मानसिक स्वास्थ्य समस्यामा वृद्धि ग¥यो । भारतमा टाटा कम्युनिकेसन्सले गरेको अध्ययनमा ८२ प्रतिशत मानिसले इन्टरनेटबाट टाढा हुँदा फोमो अनुभव गर्ने बताएका थिए र ६५ प्रतिशतमा डिजिटल थकानका शारीरिक र मानसिक लक्षण देखिएका थिए । यी अध्ययनले देखाउँछन् कि फोमो र डिजिटल थकान समयसँगै थप जटिल हुँदै गइरहेका छन्, जसको समाधानका लागि डिजिटल सन्तुलन, आत्मनियन्त्रण र वास्तविक सम्बन्धमा ध्यान केन्द्रित गर्नु अपरिहार्य भएको छ ।
नेपालमा फोमो र डिजिटल थकानको अवस्था
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)को पछिल्लो तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या लगभग ३ करोड ५० लाख पुगेको अनुमान गरिएको छ । यद्यपि, एनटीएको आधिकारिक वेबसाइट र प्रेस विज्ञप्तिमा उपलब्ध तथ्यांकअनुसार, २०८१ असार (सन् २०२४ जुन÷जुलाई) सम्मको तथ्यांकमा इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोड १० लाख छ । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या वार्षिक रूपमा १०–१५ प्रतिशतका दरले बढिरहेको छ जुन स्मार्टफोनको सस्तो उपलब्धता, मोबाइल डेटा प्याकेजको कम मूल्य र ग्रामीण क्षेत्रको इन्टरनेट पूर्वाधारको विस्तारसँग सम्बन्धित छ । ८० प्रतिशतभन्दा बढी इन्टरनेट प्रयोगकर्ताले मोबाइल डेटा प्रयोग गर्छन् र सोसल मिडिया प्लेटफर्म जस्तै ः फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबको प्रयोगले इन्टरनेट खपतलाई तीव्र बनाएको छ ।
विशेषगरी काठमाडौं, पोखरा, वीरगन्ज, विराटनगरलगायतका सहरी क्षेत्रका युवामा अरूको रमाइलो जीवनशैली, सफलता र घुमघामजस्ता गतिविधि देखेर आफू पछाडि परेको महसुस हुने, निरन्तर अपडेट जाँच्ने, सामाजिक तुलना गर्नेजस्ता व्यवहार व्यापक छन् जसले फोमो बढाउँछ । यसले मानसिक स्वास्थ्यमा असर गर्दै चिन्ता, तनाव, आत्मसम्मानमा कमी र आर्थिक दबाबसमेत निम्त्याउँछ । यता, डिजिटल थकान पनि नेपालमा गहिरिँदो समस्या बनेको छ जुन कोभिड–१९ पछि अनलाइन कक्षा, वर्क–फ्रम–होम, डिजिटल भुक्तानी प्रणालीजस्ता प्रविधिको अत्यधिक प्रयोगसँग जोडिएको छ । औसत नेपालीको स्क्रिन टाइम ४–५ घण्टा पुगेको छ भने विद्यार्थीको स्क्रिन समय ६–८ घण्टा नाघ्ने गरेको छ जसले आँखाको तनाव, टाउको दुखाइ, अनिद्रा र एकाग्रताको कमीजस्ता लक्षण देखाएको छ । फोमो र डिजिटल थकान दुवै समस्या प्रविधिको अनियन्त्रित प्रयोग र सामाजिक सञ्जालको मनोवैज्ञानिक प्रभावका कारण तीव्र हुँदै गएका छन् जसको समाधानका लागि डिजिटल साक्षरता, आत्मनियन्त्रण र मानसिक सन्तुलनमा ध्यान दिनु आवश्यक छ ।
फोमो र डिजिटल थकानका नकारात्मक असर
फोमो र डिजिटल थकानका नकारात्मक असर नेपालमा मानसिक, शारीरिक, सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रमा गम्भीर रूपले देखिन्छन् । पहिलो, मानसिक स्वास्थ्यमा, फोमो र डिजिटल थकानले चिन्ता, तनाव, आत्मसम्मानको कमी, अवसाद र अनिद्राका समस्या उत्पन्न गर्छन् । उदाहरणस्वरूप, ६० प्रतिशत नेपाली युवाले सोसल मिडियामा अरूसँग तुलना गर्दा तनाव महसुस गर्छन् र डिजिटल थकानले मानसिक थकान र चिन्ता बढाउँछ । दोस्रो, शारीरिक स्वास्थ्यमा, लामो समयसम्म स्क्रिन हेर्दा आँखाको तनाव, टाउको दुखाइ, मांसपेशी दुखाइ र निद्राको समस्या उत्पन्न हुन्छ, जसले दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम बढाउँछ । ५० प्रतिशत नेपाली स्मार्टफोन प्रयोगकर्ताले आँखाको तनावको अनुभव गरेका छन् । तेस्रो, सामाजिक जीवनमा, फोमो र डिजिटल थकानले मानिसलाई वास्तविक समयका सामाजिक अन्तरक्रियामा कम संलग्न बनाउँछ जसले एकान्तता र सामाजिक दबाब बढाउँछ । ४५ प्रतिशत युवाले सामाजिक मिडियाका कारण व्यक्तिगत सम्बन्धमा कमी भएको बताएका छन् । थप रूपमा, शैक्षिक र व्यावसायिक क्षेत्रमा, फोमो र डिजिटल थकानले ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ र उत्पादकता घटाउँछ जसले समय व्यवस्थापनमा समस्या ल्याउँछ । ३५ प्रतिशत विद्यार्थीले सोसल मिडिया र अनलाइन कक्षाका कारण पढाइमा ध्यान दिन नसकेको बताएका छन् । यी समस्या आर्थिक दबाबमा परिणत पनि हुन सक्छन्, जस्तै ः अनावश्यक खर्च र डिजिटल लतको कारण । दीर्घकालीन प्रभाव भनेको मानसिक स्वास्थ्य संकट, सामाजिक विखण्डन र शारीरिक स्वास्थ्य समस्या हुन् जसलाई समयमै सम्बोधन नगरेमा यी समस्या गम्भीर रूप लिन सक्छन् ।
नेपाली सन्दर्भमा फोमो र डिजिटल थकानको न्यूनीकरणका उपाय व्यक्तिगत, पारिवारिक, शैक्षिक, कार्यस्थल र सामाजिकस्तरमा अपनाउन सकिन्छ । व्यक्तिगत स्तरमा, ‘डिजिटल डिटक्स’ अभ्यास गरेर केही समय मोबाइलबाट टाढा रहनु, सोसल मिडियाको प्रयोगलाई सिमित गर्दै केवल आवश्यक मात्रामा प्रयोग गर्नु र वास्तविक जीवनमा व्यस्त रहँदा साथीसँग भेटघाट, हाइकिङ र सामाजिक सहभागिता बढाउनु महत्वपूर्ण छ । पारिवारिक स्तरमा, ‘डिजिटलमुक्त समय’को अवधारणा लागू गरेर खाना खाँदा र परिवारसँग समय बिताउँदा फोन प्रयोग नगर्ने र घरभित्र सामूहिक गतिविधि जस्तै ः पारिवारिक च्याट, खेलकुद र सांस्कृतिक कार्यक्रम बढाउने उपयोगी हुन्छ । शैक्षिक र कार्यस्थलमा, ‘फोकस मोड’ प्रयोग गरेर अनावश्यक नोटिफिकेसन बन्द गर्ने र शिक्षक–कर्मचारीले डिजिटल थकानलाई ध्यानमा राखेर ब्रेक लिने वा लामो मिटिङ नगर्ने सल्लाह दिइन्छ । सामाजिक र सरकारी स्तरमा, मानसिक स्वास्थ्य जागरुकता फैलाउनका लागि स्कुल र कलेजमा डिजिटल वेलबिइङको शिक्षा दिने र इन्टरनेट साक्षरता अभियान चलाएर सोसल मिडिया प्रयोगको सीमा र सावधानीका ’boutमा जनचेतना फैलाउनु आवश्यक छ । विशेष रूपमा, नेपाली युवालाई ‘जे छ, त्यसैमा खुसी मान्ने’ मानसिकता अपनाउन, ‘धेरै पोस्ट गर्नु, धेरै खुसी होइन’ भन्ने कुरा बुझाउन र प्रकृतिसँग जोडिनका लागि डिजिटल ब्रेक लिई हिमाल, हरियाली र शान्त वातावरणमा समय बिताउन प्रेरित गर्नु महत्वपूर्ण छ । यी सबै उपायलाई आत्मसात् गर्दै नेपाली समाजमा फोमो र डिजिटल थकानको असरलाई न्यूनीकरण गर्न सकिन्छ र ‘डिजिटल सुविधा प्रयोग गर्ने, तर डिजिटल दासत्वबाट मुक्त रहने’को मानसिकता अपनाउनु आवश्यक छ ।
अन्त्यमा, फोमो र डिजिटल थकान आजको डिजिटल युगमा नेपाली समाज विशेषतः युवावर्गमा तीव्र रूपमा फैलिँदो मनोवैज्ञानिक चुनौती हुन् जसले मानसिक, शारीरिक, सामाजिक र शैक्षिक जीवनमा नकारात्मक असर पार्दै आएका छन् । निरन्तर सोसल मिडिया र स्क्रिनको प्रयोगले चिन्ता, तनाव, आत्मसम्मानको कमी र सामाजिक एक्लोपनजस्ता समस्या निम्त्याउँछ । यस्ता प्रभावबाट बच्न नियमित डिजिटल डिटक्स, वास्तविक जीवनमा सक्रिय सहभागिता, परिवार तथा समुदायसँग सजीव सम्बन्ध र डिजिटल साक्षरतामूलक शिक्षा अत्यावश्यक छन् । यसकारण, डिजिटल प्रविधिको सन्तुलित प्रयोग र सचेतता अपनाई ‘डिजिटल दासत्व’बाट मुक्त भई, स्वस्थ र सन्तुलित जीवनशैलीतर्फ उन्मुख हुनु आजको आवश्यकता हो ।
(Visited 13 times, 1 visits today)