माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रहेछ
पोखरा त साँच्चिकै पो पोखरा नै रहेछ
प्रेमप्रकाश मल्लको यो गीतले भनेजस्तै पोखरा भन्नासाथ धेरैको मष्तिष्कका कोरिने चित्र हो, फेवाताल र त्यहाँबाट देखिने माछापुच्छ्रे, अन्नपूर्णसहितको हिमश्रृङ्खला । पोखराले अहिलेसम्म आफ्नो ‘ब्रान्डिङ’ पनि यही दृश्यहरु नै बेचेर गरिरहेको छ । फेवाताललाई पृष्ठभूमिमा राखेर तस्वीर खिचेपछि बल्ल पोखरा पुगेको प्रमाण पेश गर्ने पर्यटकको संख्या उल्लेख्य छ ।
पोखरा घुम्न जाने धेरैजसो नेपाली फेवाताल पुगेकै हुन्छन् । त्यहाँ नपुगे पोखरा पुगेको नमानिने जस्तो भाष्य बनेको छ ।
त्यसैले पोखरा आउने पर्यटकहरुको भीड पनि फेवातालको किनार वरपर नै बढी हुन्छ । पोखरा शहरको उत्तरमा पर्ने फेवाताल किनारको करिब साढे तीन किलोमिटर क्षेत्र लेकसाइड नामले परिचित छ । जसले पोखराको पर्यटनको अधिकतम् हिस्सा ओगटेको छ । पोखरा भनेकै लेकसाइडजस्तो बन्न पुगेको छ ।
पोखराको एकमात्र पाँचतारे होटल ‘ग्रान्ड’ लेकसाइडको छेउ बिरौटामा रहे पनि धेरैजसो चारतारे होटल लेकसाइडमै छ । तीबाहेक पर्यटकस्तरका ९० प्रतिशत होटल लेकसाइडमै रहेको होटल व्यवसायीहरु बताउँछन् । पर्यटकलक्षित रेस्टुरेन्ट तथा कफीसपहरु पनि लेकसाइडमै बढी छन् ।
हिमाल हेर्न, फेवातालमा जलविहार गर्न उपयुक्त थलो लेकसाइडलाई नै केन्द्रित गरेर पर्यटन व्यवसायीले लगानी बढाएकाले अहिले यो क्षेत्र पर्यटकीय हब नै बनेको छ । होटलसहित पर्यटकीय सेवा सुविधा, पूर्वाधार र व्यवसायहरु पनि लेकसाइडमा नै केन्द्रित छ । पोखराको पर्यटनमा भइरहेको अधिकतम् लगानी फेवाताल र त्यसकै किनार वरपर भइरहेको छ ।
सन् १९५० ताका पोखरा पर्यटकीय क्षेत्रको रुपमा विकास भइसकेको थिएन । १९६० को दशकको सुरुवाततिरैबाट फेवातालको किनारतिर अनौठा शैली र हाउभाउ देखाउने विदेशी तन्नेरीहरु देखिन्थे । पहिरन र खानाको कुनै चिन्ता नलिने उनीहरु पोखरामा नौला पाहुना थिए, उनीहरु हिप्पी थिए ।
लेकसाइडमा उनीहरु कोही टेन्टमा सुत्थे, कोही स्थानीयको गोठ र धन्सारमा सुतिदिन्थे । हिप्पीको संख्या बढ्दै गएपछि केही स्थानीयले चिया नास्ता पसलहरु खोले, पैसा लिएर बस्ने सुविधा दिन थाले । पोखराका बासिन्दा तथा व्यवसायी आनन्दराज मुल्मीका अनुसार लेकसाइडमा पर्यटकीय गतिविधि हिप्पीहरुबाटै सुरु भएको थियो ।
१९५० (२००७ साल) मा फ्रान्सेली नागरिक मौरिस हार्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि लेखेको ‘दी अन्नपूर्ण’ नामको पुस्तकका विवरणले पोखरामा हिप्पीबाहेकका पर्यटकहरु पनि आउन थाले । विसं २०२२ पछि त पोखरामा सरकारसँग अनुमति लिएर होटल खुल्न सुरु भयो ।
पर्यटक बाक्लिंदै गएपछि तालमा माछा मारेर जीविका चलाउनेहरु पर्यटकको चाहना अनुसारको सुविधा दिने व्यापारतिर लागे । फेवातालको बीचमा तालबाराहीसम्म पुग्न डुंगा चलाउन थालियो । अहिले त फेवातालमा ६ हजार डुंगा चल्न थालिसकेको पोखरामा आधुनिक डुंगा बनाउनेमध्येका एक वुद्धि परिवारले बताए ।
पोखराका पुराना व्यवसायी आनन्दराजअनुसार स्विस नागरिक वार्करको परिकल्पनाबाट ड्यामसाइडमा निर्माण भएको नेपालको पहिलो रिसोर्ट ‘फिस्टेल लज’ले पनि लेकसाइड वरपर गतिविधि बढाउन भूमिका खेल्यो । राजा महेन्द्रले रत्न मन्दिर र हिमागृह बनाउन पनि लेकसाइड नै रोजे ।
पहिले पोखरा भनेकै अहिलेको लेकसाइडजस्तो ड्यामसाइड क्षेत्र गुल्जार थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि पोखरामा पर्यटकीय गतिविधि ड्यामतर्फको भागबाट लेकसाइडतिर फैलिंदै गयो । पर्यटकहरु नै लोकसाइडमा बस्न बढी रुचाउने भएपछि व्यावसायिक सम्भावनाका हिसाबले निजी क्षेत्रको लगानी पनि फेवाताल किनारमै केन्द्रित भयो ।
सन् १९९६ मा पोखरामा प्याराग्लाइडिङ सुरु हुँदा पनि फेवाताल किनारमा अवतरण गर्ने गरी केन्द्र बनाइयो । २०७८ सालमा सञ्चालनमा आएको अन्नपूर्ण केबलकार र तालबाराही, केदारेश्वरजस्ता धार्मिक गन्तब्य पनि त्यही जोडिए ।
पोखरामा पर्यटकीय पूर्वाधार, लगानी र गतिविधि फेवातालकै वरपर केन्द्रित रहे र पोखरा पञ्चासेदेखि माझठानासम्म, मौजा, कालिकादेखि प्यूरीदोभानसम्म फैलिँदा पनि पर्यटकीय गतिविधि ताल किनारमै सीमित भइरहेका छन् ।
पदयात्रामा जाने र पोखरा घुम्ने विदेशी पर्यटकहरुलाई लक्षित लेकसाइडमै लगानी थपिंदै गयो । फरक अवधारणा भएका सीमित व्यवसायीले मात्रै लेकसाइडबाहिर जोखिम लिएर लगानी गर्नुपर्यो ।
सरकारले पनि लेकसाइड क्षेत्रकै व्यवस्थापनमा बढी ध्यान, समय र लगानी लगायो । ताल किनारमा वाकिङ ट्रयाक, भ्यू प्वाइन्ट बनाइयो ।
अहिले पनि पोखरा महानगपालिकाले शहरी सुव्यवस्था सम्बद्ध काम लेकसाइडबाट नै थाल्ने गरेको छ । महानगरको मागअनुसार नेपाल विद्युत प्राधिकरणले पोखरामा तार भूमिगत गर्ने काम लेकसाइडबाटै सुरु गरेको छ ।
सरकारले पोखरालाई ‘पर्यटन राजधानी’को घोषणा गर्ने थलो र त्यसको स्तम्भ समेत बाराहीघाट नजिकै फेवा किनारमा राखेको छ । अहिले सिंगो पोखरा र त्यस वरपरका अन्य पहाडी तथा उच्च पहाडी भूभागमा नयाँ नयाँ पर्यटकीय गन्तव्य भेटिइसकेका छन् । तर पोखराको पर्यटन भने लेकसाइडबाट बाहिर निस्कन सकेको छैन ।
पोखराका अन्य पर्यटकीय गन्तव्यको पर्याप्त प्रवर्द्धन हुन नसकेको बेगनास तथा धार्मिक पर्यटन समितिका अध्यक्ष ध्रुवनाथ अधिकारी बताउँछन् । ‘सबै कुरा फेवाताल र आसपासमा केन्द्रित गरियो, त्यसभन्दा बाहिरको सम्भावना उजागर गर्न सरकार र जिम्मेवार संघसंस्थाबाट पर्याप्त काम हुन सकेन’, उनी भन्छन् ।
लेकसाइड मात्र नभई पाँच वर्षअघि महानगरमा गाभिएको लेखनाथ क्षेत्रको पर्यटकीय गन्तव्य पहिचान गर्न लाग्नुपर्ने अधिकारीको भनाइ छ ।
‘लेखनाथ क्षेत्रको पर्यटकीय सम्भावनालाई मात्रै उजागर गरिदिने हो भने फेवाताल पुग्ने पर्यटकको भीड बेगनास, रुपा, दिपाङ तालसम्म पुग्छन्’, उनले भने ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्यसमेत रहेका पर्यटन व्यवसायी वासु त्रिपाठी पनि पोखराको पर्यटकीय गतिविधि फेवाताल भन्दा परसम्म फैलाउनुपर्ने धारणा राख्छन् ।
साइट सिन, हाइकिङ, ट्रेकिङ, माउन्टेनियरिङ, साइक्लिङ, बोटिङ, कायाकिङ, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लाइङ, बन्जी जम्प, केबलकार, हेलिकप्टर फ्लाइट, स्काइ डाइभिङ, हट एयर बलोन जस्ता पर्यटकीय गतिविधि पोखरामा परिचित भइसकेका छन् । उनी भन्छन्, ‘अब पर्यटकीय सम्भावना भएका क्षेत्रमा गतिविधि बढाउन विदेशी लगानीकर्तालाई पनि यहाँ इन्भाइट गर्नुपर्छ ।’
सात तालको शहर भनेर चिनिने लेखनाथमा बेगनास, रुपा, दिपाङ, खास्टे, न्यूरेनी, गुँदे र मैदी ताल छन् । पर्यटन व्यवसायी त्रिपाठीका अनुसार यीमध्ये बेगनास र रुपामा तत्कालै पर्यटक तान्न सकिन्छ ।
फेवाताल सरह पर्यटकीय गतिविधि नभए पनि अहिलेदेखि पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘सबै तालहरुलाई जोड्ने साइकल लेन बन्नुपर्यो । साइट सिनका लागि सबै ताल पुग्ने बस चल्नुपर्छ’, उनी भन्छन् ।
टुर प्याकेजहरु बनाउँदा भीडभाड हुनेबाहेक अन्य क्षेत्रका सम्पदालाई पनि समावेश गर्नुपर्ने त्रिपाठीको सुझाव छ ।
पोखरामा पर्यटकीय महत्वका सम्पदाबारे एकीकृत कार्यक्रमहरु बनेका छैनन् । हालसम्म पनि पोखराको पर्यटन मूलतः फेवाताल किनारमा अलमलिएको छ । त्यसैले पोखरा घुम्न आएका पर्यटकले राम्रा गन्तव्य छुटाउने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् । बसपार्कमा ओर्लिएका पर्यटकलाई ट्याक्सी चालकले ‘पोखरा ट्रिप’ भन्दै आफूखुशी गन्तव्यमा पुर्याउने गरेका छन् ।
धेरै गन्तव्य समेटेर टुर प्याकेज बनाउने हो भने पर्यटकको बसाइ लम्ब्याउन सकिने सुवेदी बताउँछन् । ‘त्यसो गर्न सके अहिले ओझेल परेका क्षेत्रमा पर्यटकीय गतिविधि विस्तार हुन्छ’, उनी भन्छन् ।
लेखनाथ क्षेत्रका व्यवसायीहरु आफ्नो क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्ने र प्रचार प्रसारमा सरकारी निकायले जोड गर्नुपर्ने धारणा राख्छन् ।
‘फेवाको लेकसाइड मात्रै पोखरा हैन भन्ने पर्यटकलाई बुझाउने गरी निजी क्षेत्रसँग मिलेर सरकारले नै योजना बनाएर काम गनुपर्छ’, लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेल भन्छन् । अधिकांश निजी क्षेत्रको स्वार्थ लेकसाइडकेन्द्रित देखिने भए पनि राज्यले गर्ने कार्यक्रम पनि त्यहीँ सीमित हुन पुगेको लेखक त्रिवेणीको तर्क छ । ‘विकेन्द्रीकरणको नाममा मुलुकमा संघीयता आए पनि पोखरा नगरको अर्थव्यवस्था भने लेकसाइडबाट बाहिर निस्कन सकेको छैन,’ त्रिवेणीले भने, ‘सरकारकै विभेदी नीतिले विकास र गतिविधिलाई सबैको पहुँचमा पुर्याएको छैन ।’
युवा पर्यटन व्यवसायी सौगात थापा लेकसाइडमा पर्यटकहरुको भिड कम गर्न नयाँ गन्तव्यहरुको प्रचार गर्नुपर्ने मत राख्छन् । लेकसाइडमै ३५० रुपैयाँदेखि ३५० डलरसम्मका होटल रुमहरु पाइने गरेको भन्दै उनले थपे, ‘यहाँ अस्वस्थ प्रतिस्पर्धा धेरै भयो, अन्य सम्भाव्य क्षेत्रमा पनि पर्यटक पुर्याउने गरी सरकार र निजी क्षेत्रले सोच्नुपर्छ ।’
पर्यटक पर्खिरहेको लेखनाथ
लेकसाइडमा भेटिएका बुटवलका सन्तोष सुनारले यसपटकको पोखरा भ्रमणका क्रममा बेगनासको माझीकुना पनि पुगे । ‘त्यहाँ धेरै शान्त वातावरण छ । बेगनासको पेरिफेरि नहेरी पोखरा घुमेको छु भन्नु अन्याय नै हुने रहेछ’, उनी भन्छन् ।
३.७३ वर्ग किलोमिटरमा फैलिएको बेगनास ताल १०.६ मिटर गहिरो छ । यो ताललाई पछिल्लो समय माछाको भूरा उत्पादन केन्द्रका रुपमासमेत प्रयोग गरिएको छ । यसको किनारबाट पनि अन्नपूर्ण र माछापुच्छ्रेको दृश्य देख्न पाइन्छ । पोखरा महानगरपालिकाले यो ताललाई जलविहार केन्द्र (वाटर र्स्पोट्स सेन्टर)का रुपमा विकास गर्ने योजना बनाएको छ, तर हाल भने डुंगा व्यवसायीहरुले किनेर ल्याएको मोटरबोट समेत चलाउन अनुमति दिएको छैन ।
बेगनास डुंगा व्यवसायी संगठनका अध्यक्ष रवि कँडेल भन्छन्, ‘हामीले एक–एक रुपैयाँ जम्मा गरेर बेगनासमा पर्यटकीय गतिविधि बढोस् भने मोटरबोट चलाएका थियौं, महानगरपालिकाले चल्न त दिएन नै, मुद्दा मामिला गरेर दुःख दिने काम गर्यो ।’
लेखनाथको रुपा तालमा हाल स्थानीय किसानहरुले सहकारीमार्फत माछा पालिरहेका छन् । १.१५ वर्ग किमीमा फैलिएको यो ताल छेउको च्यवन कुण्डमा स्नान गरे आँखाका रोगहरु ठीक हुने विश्वास छ ।
१३.५७ हेक्टरमा फैलिएको खास्टे ताल र ‘हनिमुन लेक’ का नामले चिनिएको ८.९८ हेक्टरको दिपाङ ताल पनि आकर्षक पर्यटकीय स्थल हुन् । ५.९८ हेक्टर क्षेत्रफलको गुदे ताल, २.८३ हेक्टरको न्यूरेनी ताल र १.१७ हेक्टरको मैदी ताल क्षेत्रमा पनि पर्यटकीय गतिविधि शून्य छ । सरकारी निकायको बेवास्ताले यी तालहरु अतिक्रमणको जोखिममा छन् ।
पोखराभित्रकै गन्तब्य छाँयामा
पोखरामा पुग्ने कतिपय पर्यटक फेवातालको तल्लो टुंठो पनि छोरेपाटनको पातले छाँगो पनि पुगेका हुँदैनन् । फेवातालको ड्यामसाइडबाट निस्केको पानी करिब १०० मिटर तल खसेर फुस्रेखोलामा निस्कन्छ । डेभिड फल्सको नामबाट प्रख्यात यो छाँगा पोखराको केन्द्र पृथ्वीचोकबाट दक्षिण पश्चिमतर्फ गुुप्तेश्वर गुफाको उत्तरतर्फ सिद्धार्थ राजमार्गको किनारमा छ । पर्यटन कार्यालय पोखराका अनुसार छाँगोको अवलोकन गर्न वार्षिक करीब २ लाख जना पुग्छन् ।
पातले छाँगोदेखि दक्षिणपट्टी गुप्तेश्वर गुफा छ । गुफाको करिब ४०० फिट सुरुङभित्र हिन्दू देवीदेवता शिव, पार्वती, नाग, गणेश, मुसासहितको शीलामूर्ति प्रतिस्थापन गरिएको छ । सुरुङ हुुँदै पाताले छाँगोको फेदीमा पुगेर मनमोहक दृश्यहरु हेर्न सकिन्छ ।
बाटुलेचौरको महेन्द्रगुफामै पनि धेरै पर्यटकहरु पुग्दैनन् । दुई भागमा बाँडिएको गुफाभित्र हात्तीको सुँड, गाईका स्तनहरु, शिवलिङ्ग, नाग आदि आकृतिहरु देख्न सकिन्छ । १२५ मिटर लम्बाइ भएको गुफामा वर्षभरिमा करीब १ लाख स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेको तथ्यांक छ ।
महेन्द्र गुफानजिकै रहेको चमेरे गुफाभित्र विभिन्न आकारका मूर्ति, शिवलिङ्ग, श्रीपेच, गणेश आदि चित्राकृतिहरु देखिन्छन् । यो गुफामा पनि पोखरा आएका धेरै पर्यटकहरु पुग्न सकेका छैनन् ।
पोखराको पूर्वाेत्तर अन्नपूर्ण श्रृङ्खलाको काख भलाममा अवस्थित हरिहर गुफा पनि प्रवर्द्धन हुन नसकेको पर्यटकीय गन्तब्य हो । कटुस, चिलाउने, नारेश्वर, सिमल, आँप लगायता वृक्षको घना वनबीचको गुफा रमणीय छ । यहाँबाट पोखरा उपत्यका र विभिन्न हिमशृंखलाहरु देखिन्छन् ।
पोखरामा पुम्दीकोट नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ, त्यहाँ निर्माण भएको भीमकाय शिव मूर्ति हेर्न जानेहरु बढ्न थालेका छन् ।
पोखराको प्रसिद्घ शक्तिपीठ विन्ध्यवासिनी मन्दिर पनि पोखरा आउने धार्मिक पर्यटकको रोजाइमा परिरहेको छ । तर, यहाँ पनि सम्भावनाअनुसार पर्यटकहरु पुर्याउने गरी प्रवर्द्धनको काम भएको छैन ।
पोखराको नारायणस्थान मन्दिर, कुँडहरको भद्रकाली मन्दिर, ढुंगेसाँगुको सदाशिव मन्दिर, माझठान टापुमा रहेको लक्ष्मीनारायण मन्दिर र कर्णश्वर (शिवजी) मन्दिर, रानीपौवाको शोभा भगवती मन्दिरमा धार्मिक पर्यटक विकास गर्न सकिने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । तर ती क्षेत्रको धार्मिक, पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वहरु उजार गर्न कसैले जाँगर देखाएको छैन ।
बौद्ध धर्माबलम्बीहरुका लागि पोखराको नदीपुरमा धर्मशीला वुद्ध विहार पनि गन्तव्यका रुपमा छ । कास्कीको पुम्दीभुम्दीको अनदुडाँडामा रहेको विश्वशान्ति स्तुपा पनि पोखराको पर्यटकीय गन्तब्यका रुपमा छ ।
महेन्द्रपुलबाट करिव ७ किलोमिटर पश्चिम—दक्षिणमा रहेको स्तुपामा छोरेपाटन डेभिड फल्सबाट करीब १ घण्टा उकालो चढेर पनि पुग्न सकिन्छ ।
फेवातालको दक्षिण पश्चिमको उच्चस्थानमा अवस्थित यस स्तुपाबाट उत्तरतर्फका लामो हिमश्रृङ्खला देख्न सकिन्छ । तर, यो क्षेत्रमा पर्यटकीय पूर्वाधार बनिनसकेका कारण भीडभाड भएपनि पर्याप्त लाभ लिने वातावरण बनेको छैन ।
पोखराको उत्तरपश्चिमको डाँडा सराङकोट सूर्योदय, हिमश्रृङ्खला, पोखरा बजार र फेवातालको दृश्यावलोकन गर्ने उपयुक्त थलो हो । शहरबाट छोटो दूरीमा भएपनि यो डाँडाले पर्याप्त पर्यटक तान्न सकेको छैन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यहाँबाट हुने प्याराग्लाइडिङ तोरीपानी र मान्द्रेडाँडामा सारेपछि यो क्षेत्र ओझेलमा परेको छ । अन्नपूर्ण केलबकारबाट जान सकिने भएपनि पर्याप्त पर्यटक तान्न नसकेर सराङकोट क्षेत्रका पर्यटन व्यवसायी निराश छन् ।
पोखरा भएर बग्ने सेती नदीको प्राकृतिक वहाव विचित्रको छ । माछापुच्छ्रे हिमालबाट बगेको यो नदी पोखराको बगरस्थित केआई सिंह पुलनेर भासिएर भित्रभित्रै बग्छ, केही तल पृथ्वीनारायण क्याम्पसनजिक सतहमा देखिन्छ । नदीपुरबाट फेरि धसिएको छ र एकैचोटी रामघाटमा देखिन्छ । रामघाटबाट भूमिगत भएर नदी ढुङ्गेसाँगु नजिक पुगेर दक्षिणतर्फ लाग्छ । गहिरो खोंच बनाई बगेको यो नदी धार्मिक तथा प्राकृतिक दृष्टिले पनि महत्वपूर्ण छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पोखरालाई यसै वर्ष पर्यटकीय राजधानी घोषणा गरिएकाले आगामी वर्षदेखि पर्यटन प्रवर्द्धनको काम गर्ने बताउँछन् । गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा पोखरा क्षेत्रमा पर्याप्त पर्यटकीय पूर्वाधारहरु विकास सुरु हुने उनको दाबी छ ।
शहरभित्र पर्यटकीय चहलपहल र गतिविधि बढाउन पोखराका सबै तालहरुलाई जोड्ने गरी साइकल लेन बनाउन लागिएको बताए । त्यस्तै हाल प्रचलनमा नरहेका पदयात्रा मार्गहरु बूँताउने पनि उनले बताए । ‘महानगरको आगामी वर्षको बजेट पर्यटन विकासको महत्वपूर्ण प्रस्थानविन्दु हुन्छ’, उनले भने ।
संग्रहालय पनि छैन रोजाइ
पोखरामा हाल पर्यटकीय महत्व बोकेका ३ संग्रहालय छन् । नयाँबजारमा रहेको पुरातत्व विभाग अन्र्तगतको क्षेत्रीय संग्रहालयमा गण्डकी क्षेत्रको जनजीवन, सामाजिक तथा सांस्कृतिक रहनसहन र भेषभूषा झल्काउने सामग्रीहरु राखिएका छन् । यहाँ वर्षमा सरदर २० देखि २५ हजार पर्यटक पुग्छन् ।
रातोपैह्रोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अग्ला पर्वत र आरोहीहरुको सूचना पाइन्छ । त्यसका साथै पर्वतीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुको संस्कार, संस्कृति, भौगोलिक संरचना, वनस्पति, जीवजन्तु र अन्य क्रियाकलापहरु झल्काउने सामग्री राखिएको यो संग्राहलयमा कमै पर्यटक पुग्छन् ।
यहाँ विश्वकै पर्वतीय जनजीवन झल्काउने पर्वतीय मानकक्ष, अन्तर्राष्ट्रिय पर्वतशृंखला सम्बन्धी जानकारी दिने पर्वतीय कक्ष, पर्वतीय क्रियाकलाप कक्ष र सहयोगी तथा समसामयिक कक्षहरु छन् ।
केआई सिंह पुल नजिकै रहेको गोर्खा स्मृति संग्रहालयमा गोर्खाली सेनाहरुको इतिहास, उनीहरुले प्रयोग गरेका विविध वस्तुहरु, गोर्खाली सेनाहरुले प्राप्त गरेका उपलब्धिहरु संग्रह गरिएको छ । शैक्षिक भ्रमणमा आएका विद्यार्थीहरु पुग्ने गरेपनि स्वदेशी तथा विदेशी पर्यटकहरु कमै पुग्ने यो संग्रहालय वर्षमा भ्रमण गर्नेको संख्या ठूलो छैन ।
पृथ्वीनारायण क्याम्पसको हाताभित्रको अन्नपूर्ण संग्रहालय पुतली संकलनमा नेपालकै अग्रणी संग्रहालय हो । यो संग्रहालयमा ५०० भन्दा बढी किसिमका पुतलीहरुका प्रजाति छन् ।
पर्यटन व्यवसायी वासु त्रिपाठी अन्तर्राष्ट्रिय विमानस्थल र मध्यपहाडी राजमार्गलाई आधार बनाएर पोखरामा पर्यटकीय पूर्वाधार बनाउनुपर्ने बताउँछन् । पर्यटक अगमन, औसत बसाइ अवधि, प्रतिपर्यटक खर्च, लाभको बाँडफाँटजस्ता विषयलाई महत्व दिएर योजनाहरु बनाउनुपर्ने उनको भनाइ छ ।
‘ठाउँठाउँमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजस्ता स्पेसल इभेन्टमाथि थप प्रोडक्ट र इभेन्टहरु ल्याउनुपर्यो, क्यासिनोहरु चल्नुपर्यो’, उनले भने, ‘सबै गन्तब्यहरुमा पर्यटकीय सुविधासहित पर्यटकको बसाइ र खर्च बढाउने वातावरण बनाउनुपर्यो, पोखराको पर्यटकीय सम्भावनालाई फेवाताल वरपरबाट पर–परपरसम्म फैलाउनुपर्यो ।’
पर्याप्त गन्तब्य, अपर्याप्त प्रयास
पोखरा आसपासको भरतपोखरी, निर्मलपोखरी, कृस्ति नाच्नेचौरका विभिन्न स्थानहरु पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् । निर्मलपोखरीबाट देखिने पोखरा सहर, हिमाल र पहाडी थुम्काको दृश्य लोभलाग्दो छ ।
निर्मलपोखरीको झिमलथुम, फोगसिंह डाँडा, काहुले डाँडा, कोत डाँडा र डाँडा पोखरी, शिव मन्दिर, गणेशस्थान, कोतभैरव मन्दिर, जलकन्यादेवी मन्दिर, शिव मन्दिर, जलदेवी मन्दिर, गोपेश्वर शिव मन्दिर दर्शनीय मनोरम स्थलहरु हुन् ।
हंसपुरमा रहेको स्याकलुङकोट रङ्गी विरङ्गी गुराँस फुल्ने, उत्तरतर्फका हिमश्रृंखला, दक्षिणतर्फ महाभारत र चुरे पर्वत शृंखला देखिने ठाउँ हो । सन् १९८० मा बेलायतका तत्कालीन राजकुमार तथा हालका राजा चाल्र्स पनि यो क्षेत्रमा भ्रमणमा पुगेका थिए ।
त्यस्तै पञ्चासेको लेकबाट धौलागिरी, माछापुच्छ्रे अन्नपूर्ण र मनास्लु हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
पोखरा महनगरपालिका क्षेत्रबाहिर पनि कास्की जिल्लाभित्र पर्यटकीय क्षेत्र धेरै छन् । अन्नपूर्ण र माछापुच्छ्रे आधार शिविर जाने बाटोमा पर्ने गुरुङहरुको परम्परागत वस्ती घान्द्रुक कास्कीको महत्वपूर्ण पर्यटकीय स्थल हो ।
ग्रामीण पर्यटनको नमूनाको केन्द्रका रुपमा रहेका धम्पुस तथा लान्द्रुक पनि उत्तिकै महत्वपूर्ण छन् । सूर्योदय, हिमाली दृश्य आदि अवलोकनका लागि यी अनुपम स्थलहरु पनि छन् ।
कास्कीको पहाडी गाउँ सिक्लेस, घान्द्रुक लगायतका गाउँ गुरुङ समुदायको जनजीवन, भेषभूषा, हिमश्रृंखला दृश्यावलोकनका लागि प्रख्यात छन् ।
पोखरा–३३ वासी नै भए पनि मेयर धनराज आचार्य सहर केन्द्रित र लेकसाइडमुखी प्रवर्द्धनमै रमाएको उनकै भेगका जनताको आरोप छ । ‘पर्यटन प्रवर्द्धनका नाममा लेकसाइडका संस्थाले पोखरा महानगरसँगै प्रदेशको बजेट कुम्याल्याइरहेका छन्,’ बेगनासका राजु कडेंलले भने, ‘पोखरा लेकसाइडबाहिर पनि छ भन्ने अनुभूति अन्यत्रका नागरिकले गर्न पाएका छैनन् । पर्यटन र यससँग सम्बन्धित गतिविधि फेवा किनारमै रुमल्लिइरहेको छ ।’
तस्वीर : सरोज अधिकारी/कमल प्रसाइँ/ अनलाइनखबर
पोखराको पदचाप-१