नागरिकता बनाउन आवश्यक कागजात माइती र ससुरालीको वडा कार्यालयबाट बनाएर धनुषाको शहीदनगर नगरपालिका–२ की २८ वर्षीय रञ्जुकुमारी यादव भदौ ३ गते इलाका प्रशासन कार्यालय यदुकूहा पुगिन । कागजपत्र प्रशासन कार्यालयमा पेश गरिन् ।
आफूले बोकेर ल्याएको सबै कागज उनले इलाका प्रशासनका कर्मचारीको टेबूलमा राखिन् । कर्मचारीले उनको कागजात हेर्दा दुईटा विवाह दर्ता बनाएको पाए ।
विवाह दर्तामा दर्ता र चलानी नम्बर एउटै भएपनि विवाहको मिति फरक देखेपछि कर्मचारीले थप सोधपुछ गर्न थाले । कर्मचारीले आमाबुबाको नाम सोधे रञ्जुले बुबाको नाम भनिन् र आमाको मृत्यू भएको भनिन् । त्यसपछि ती कर्मचारीले आमाको मुत्यू दर्ता खोजे । रञ्जुले आमाको मुत्यूदर्ता छैन भनिन्।
मुत्यू दर्ता छ कसरी भनून् । उनकी आमाको मुत्यू नै भएको छैन् । रञ्जु ४/५ वर्षकै हुदाँ उनलाई छाडेर उनकी आमाले गाउँमै अर्को विवाह गरिसकेकी छिन् ।
कर्मचारीले थप कुरा बुझ्दै जादाँ रञ्जुले जन्मदर्तामा आफ्नी आमाको नाम न राखी सौतेनी आमाको नाम राखेको पाए । रञ्जुले पेश गरेको जन्मदर्ता र विवाह दर्तामा भेटाएको गल्ती बारे ती कर्मचारीले कार्यालय प्रमुख गणेश चन्द्र मिश्रलाई जानकारी गरायो ।
कार्यालय प्रमुख मिश्रले रञ्जु र उनीसँगै आएका उनका श्रीमान् रामशरण यादवलाई आफ्नै कार्याकक्षमा बोलाएर सोधपुछ गर्न थाले । उनले नागरिकता लिन पेश गरेका विवाह दर्तामा फरक मिति र जन्मदर्तामा सौतेनीमा आमाको नाम रहेको यकिन गरे । त्यसपछि कीर्ते कागजात बनाइ नागरिकता लिन खोजेको भन्दै कार्यालय प्रमुख मिश्रले श्रीमान श्रीमतीलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको पत्रसहित इलाका प्रहरी कार्यालय यदुकूहा पठाए ।
रञ्जु र उनको श्रीमान्लाई प्रहरीले पक्राउ गरेको खबर रञ्जुको माइतीमा पुगेपछि उनलाई छुटाउन उनका बुबा र काका प्रहरीमा पुगे ।
प्रहरीले आफूले पक्राउ नगरेको इलाका प्रशासन कार्यालय प्रमुखले अनुसन्धनाको लागि पठाएको जवाफ दिएपछि उनीहरु प्रशासन कार्यालय तर्फ लागे । त्यहाँ कोही न भेटाएपछि उनीहरु तत्काल रञ्जुलाई छुटाउने दौडधुपमा लागे । त्यही दिन बेलुका प्रहरीले खोजेको बखत उपस्थित गराउने शर्तमा एकजना नेताको जिम्मा लागाएर घर पठाइयो ।
अब पैसाको बार्गेनिङ
भदौ ४ गते कार्यालय समयको सुरुमै रञ्जुका काका उमेश यादव र शहीदनगर नगरपालिका–४ वडासदस्य हिरालाल यादव इलाका प्रशासनमा पुगे । त्यहाँका कार्यालय प्रमुख मिश्रसँग आफू नेपाली नै रहेको कुनै अन्य मुलकको नागरिकलाई नेपाली नागरिकता दिलाउन नखोजेको त्यसमा प्रविधिक त्रुटि मात्रै रहेको भन्दै प्रहरीमा कारबाहीलाई लेखेको पत्र फिर्ता लिइदिन हारगुहार गर्न थाले ।
सुरुमा प्रकार्यालय प्रमुख मिश्रले अनाकानी गरेपनि पछि उनले एकजना आफ्नै मान्छेलाई उनीसँग कुरा गर्न लगाए । कार्यालय प्रमुख मिश्रका मान्छे र उनीहरुबीच पत्र फिर्ता लिने विषयमा छलफल सुरु भयो । पत्र फिर्ता लिन सहमती पनि भयो । तर त्यसका लागि एक लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव राखियो अन्त्यमा ९० हजारमा सहमति जुट्यो ।
त्यसपछि पत्र फिर्ता माग्न कार्यालय प्रमुख लागे प्रहरी तर्फ ।
कार्यालय प्रमुख मिश्र आफूले कारबाहीका लागि पठाएको पत्र लिन इलाका प्रहरी कार्यालय यदुकूहाका प्रमुखको कार्यकक्षमा पुगे । प्रहरी निरीक्षक ओम प्रकाश यादवलाई पत्र फिर्ता गर्न मिश्रले अग्राह गरे । तर प्रहरी निरीक्षक यादवले पत्र फिर्ता लिन लिखित रुपमा निवेदन दिनुपर्ने जवाफ दिए ।
मिश्रले लिखित नदिने मौखिक रुपमै फिर्ता गर्न भनेपछि प्रहरी निरीक्षक यादवले मौखिक अधारमा फिर्ता दिन नमिल्ने बताए । ‘हाकिम साहब आफूले कारबाही लागि प्रहरीमा पत्र पठाउने र एक दिनपछि फेरी त्यो पत्र फिर्ता माग्न आउनुभयो,’ ती प्रहरीले भने ‘अनुसन्धानका लागि प्रहरीमा पठाएपनि पछि त्यो मान्छे सही रहेको पाइयो भने लिखित रुपमा पत्र फिर्ता लिन किन गाह्रो ? भोली कसैले प्रशासनबाट कारबाहीका लागि पठाएको पत्रको बारेका सोध्यो भने प्रहरीले के जवाफ दिने त्यही जवाफ दिन ‘इन्सपेक्टर’ साबले लिखित रुपमै निवेदन दिन भन्नुभयो । तर हाकिमले निवेदन नदिने भनेपछि इन्सपेक्टर साबले पत्र फिर्ता गर्न मान्नुभएन । अनि हाकिम फर्केर गए ।’
पत्र फिर्ता लिन दोस्रो दिन पनि प्रहरी कहाँ
प्रशासन प्रमुख मिश्रले दोस्रो दिन पनि प्रहरी कार्यालयमा त्यहीँ कुरा दोहोर्याए । उनले आफूहरूले रञ्जुका सबै कागजात हेरेको, त्यस्तो कुनै ठूलो गल्ती नपाएकोले पत्र फिर्ता गर्न भनेको प्रहरी निरीक्षक यादवलाई भने । तर प्रहरी निरीक्षक यादव फेरी त्यही जवाफ लिखितमा दिन लगाए ।
रञ्जु र श्रीमान् रामशरणलाई मुद्दा
इलाका प्रशासन कार्यालयका प्रमुख मिश्रले लिखित रुपमा पत्र फिर्ता लिन नमानेपछि रञ्जु र उनका श्रीमान् रामशरणमामाथि गत शुक्रबार मुद्दा दर्ता भएको छ । प्रहरीले उनीहरुमाथि लिखित कीर्ते सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको छ । उनीलाई अहिले इलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको छ ।
कहाँबाट लिइयो जन्मदर्ता र विवाह दर्ता ?
रञ्जुको माइती शहीदनगर नगरपालिका–४ हौवाही हो भने ससुराली त्यहीँ नगरपालिकाको वडा नम्बर २ मतौनामा छ । नागरिकता बनाउन अघि उनी जन्मदर्ता लिन माइती गएकी थिइन । तर उनको जन्मदर्ता बनेको छ कि छैन रञ्जुका बुबा अलमलमा परे । त्यसैले जन्मदर्ता खोज्न तत्कालीन खरयानी गाविस हाल सबैला नगरपालिका–११ को वडा कार्यालय खरयानी पुगे । त्यहाँ उनको जन्मदर्ताको कुनै रेकर्ड नै नरहेको वडा सचिवले भनेपछि उनी घर फर्के ।
त्यसपछि उनी छोरीको जन्मदर्ता बनाउन शहीदनगर–४ को वडा कार्यालयमा पुगे । त्यहाँका वडा सचिवले उनको जन्म दर्ताका लागि कागजपत्र मिलाउन थाले । आमाको नाम सोधेपछि आफ्नी आमाले आफूलाई सानैमा छाडेर गइसकेको भनेपछि सचिवले मुचुल्का उठाएर सौतेनी आमाकै नाम राखेर जन्म दर्ता बनाएदिए । त्यसपछि उनलाई २ नम्बरका वडा सचिवले विवाह दर्ता बनाए दिए । तर उनको जन्म दर्तामा आमा र छोरीको उमेर ११ वर्ष मात्रै फरक रहेको पाएपछि रञ्जु फेरी ४ नम्बर वडा कार्यालयमा पुगिन् ।
त्यहाँ सचिवले त्यो जन्म दर्ता राखेर अर्को जन्म दर्ता बनाए दिए । फेरी उनी २ नम्बरको वडा कार्यालयमा पुगिन् । त्यहाँ पनि अर्को विवाह दर्ता बनाए दिए । तर रञ्जुलाई यसअघि बनाएदिएको विवाह दर्ता सचिवले फिर्ता लिएनन् । अनि सबै कागज झोलामा राखेर इलाका प्रशासन कार्यालयमा पुगिन् । दुवैले कागपत्र जाँच नगरी सबै कर्मचारीको टेबुलमा राखे।
कर्मचारीको नजर दुईटै विवाह दर्तामा पुगे त्यही विवाह दर्ताका कारण उनीमाथि थप अनुसन्धान हुदै जदाँ अहिले उनीहरू कीर्ते मुद्दामा थुनामा छन् ।
जसको बुबाआमासँग वंशजको नागरिकता छ उसलाई नागरिकताको सिफारिस वा जन्म दर्ता बनाउन समस्या नहुने वडा नम्बर ४ का वडाध्यक्ष रमेश मुखियाले बताए ।
‘रञ्जुको हकमा पनि त्यही छ उसको बुबाआमाको नागरिकता छँदैछ’ वडाध्यक्ष मुखियाले भने, ‘सानैमा छोरीसहित श्रीमान् छाडेर अर्के बिहे गरिसकेकासँग नागरिकता किन माग्न जाने भनेर वडा सचिवले मुचुल्का उठाएर सौतेनी आमाकै राखेर दिएको हो, त्यो सच्याउन सकिन्थ्यो त्यसको लागि मुद्दै चलाउनु पर्ने थिएन् ।’
डर देखाउनमात्र उनीहरुलाई प्रहरीमा पठाएको तर यतिसम्म पुग्छ भन्ने नसोचेको इलाका प्रशासन कार्यालय प्रमुख मिश्रको भनाइ उद्धृत वडाध्यक्ष मुखियाले भने ‘ हाकिमले बदमासी गरेको हो, कागजमा केही त्रुटि पाएपछि सम्बन्धित वडा कार्यालयमा जानकारी दिनुपर्ने थियो । चित्त नबुझे कानुनी कारबाही गर्न सकिन्थ्यो । हामीले कुनै विदेशी नागरिकलाई नागरिकता दिन न सिफारिस गरेका छौं, न जन्मतर्दा बनाएदिका छौं ।’
यस विषयमा बुझ्न मिश्रलाई पटकपटक फोन र लिखित सन्देश पठाएपनि उनी सम्पर्कमा आउन चाहेनन् ।
प्रकाशित: ८ भाद्र २०८२ १८:४९ आइतबार
