प्रसूतिमा बढ्दो शल्यक्रिया : आमाको शरीरमाथि नै खेलबाड


२१ वैशाख, काठमाडौं । पछिल्लो समय नेपालमा शल्यक्रिया मार्फत बच्चा जन्माउने क्रम अस्वाभाविक रूपमा बढेको छ । महिलाको स्वास्थ्यमा जटिल समस्या देखिन सक्ने हुनाले आमा र बच्चाको स्वास्थ्यमा खतरा हुने अवस्थामा बाहेक शल्यक्रियाबाट प्रसूति गराउनु राम्रो मानिंदैन ।

विश्व स्वास्थ्य संगठनले शल्यक्रियाबाट गरिने प्रसूति १० देखि १५ प्रतिशत भन्दा बढी हुन नहुने भनेको छ । तर नेपालको सरकारी अस्पतालमा नै सुत्केरी हुने आधा महिलाको शल्यक्रिया गर्ने गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका सरकारी अस्पतालमा ५० प्रतिशतभन्दा बढी र निजी अस्पतालमा ९० प्रतिशतभन्दा बढी प्रसूति शल्यक्रियाबाट गराएको देखिएको छ ।

नेपालमै सबैभन्दा बढी सुत्केरी हुने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा २४ हजार ३७९ जना सुत्केरी भएकामा ९ हजार ११८ जना अर्थात् ३७ प्रतिशतको शल्यक्रिया मार्फत बच्चा जन्माइएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा २४ हजार ६७२ जना सुत्केरी हुँदा ९ हजार ८२१ (३९ प्रतिशत) को शल्यक्रिया गरिएको थियो । आर्थिक वर्ष २०८०.८१ को नौ महिना (गत साउनदेखि चैतसम्म) १५ हजार ५१४ जना सुत्केरी हुँदा ७ हजार ४८३ अर्थात् ४८ प्रतिशतको शल्यक्रियाबाट प्रसूति गराइएको थियो ।

काठमाडौंकै अन्य सरकारी अस्पतालमा त शल्यक्रियाबाट सुत्केरी गराउनेको अनुपात योभन्दा बढी छ । त्रिवि शिक्षण अस्पतालमा चालु आर्थिक वर्षको नौ महिनामा १ हजार ७०९ जना सुत्केरी हुँदा ९७९ जना अर्थात् ५७ प्रतिशतको शल्यक्रिया गरिएको थियो ।

निजी अस्पतालमा शल्यक्रियाको तथ्यांक त झन् कहालीलाग्दो छ । नर्भिक इन्टरनेशनल अस्पतालमा आर्थिक वर्ष २०७८/७९ मा ४२७ जना सुत्केरी भएकामा ३९२ जना अर्थात् ९१ प्रतिशतको शल्यक्रिया गरिएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा ४०६ जना सुत्केरी भएकामा ३८२ जना अर्थात् ९४ प्रतिशतको शल्यक्रिया गरिएको थियो । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा ३३९ जना सुत्केरी भएकामा २९० अर्थात् ८५ प्रतिशतको शल्यक्रिया गरिएको थियो ।

ह्याम्स अस्पतालमा आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा २२२ जना सुत्केरी भएकामा २१५ जना अर्थात् ९६ प्रतिशतको शल्यक्रिया गरिएको छ ।

स्रोत : जनस्वास्थ्य कार्यालय काठमाडौं ।

 

किन गरिन्छ यति धेरै शल्यक्रिया ?

अस्पतालका जिम्मेवार अधिकारी र चिकित्सकहरू शल्यक्रियाको संख्या यति धेरै हुनुमा सुत्केरी र उनीहरूको परिवार जिम्मेवार भएको दाबी गर्छन् ।

शल्यक्रिया विना सुत्केरी हुँदा महिलाले कम्तीमा ८ देखि बढीमा २० घण्टासम्म प्रसव वेदना सहनुपर्छ । हिजोआजका महिलाले प्रसव वेदना खप्ने भन्दा शल्यक्रिया गर्ने चाहना राख्ने गरेको उनीहरूको जिकिर छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी धेरै महिलाले सामान्य प्रसूतिको सट्टा स्वेच्छाले नै शल्यक्रिया रोज्ने गरेको बताउँछन् । ‘नर्मल प्रक्रियाबाट प्रसूति हुन धेरै समय व्यथा लाग्नुपर्छ । त्यसका साथै दुखाइ पनि खप्नुपर्छ’ उनी भन्छन्, ‘धेरै महिलाले पीडा सहन चाहँदैनन् । डरका कारण पनि अधिकांश महिलाले डेलिभरीमा जोखिम लिन चाहँदैनन् ।’

वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी अधिकांश महिला प्राकृतिक रूपमा बच्चा जन्माउन योग्य हुने तर प्रसव वेदना खप्न नचाहेकै कारण शल्यक्रिया माग गर्ने गरेको उनको भनाइ छ ।

प्रसूतिमा बढ्दो शल्यक्रिया : आमाको शरीरमाथि नै खेलबाड
वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी ।

‘उहाँहरू पहिला नै शल्यक्रियाबाट बच्चा जन्माउने भनेर योजनाबद्ध रूपमा अस्पताल आउनुभएको हुन्छ । नर्मल डेलिभरी गर्दा ग्यारेन्टी चाहियो भनेपछि चिकित्सकले थप जोखिम लिन चाहँदैनन् । त्यसकारण पनि बिरामीको चाहना अनुसार नै अपरेसन गरिन्छ’, डा. सुवेदीले भने ।

काठमाडौं उपत्यकामा प्रसूति गृह, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत सरकारी अस्पतालमा सुत्केरी गराउन आउने बिरामीको चाप अत्यधिक छ । सरकारी अस्पतालमा सुत्केरी गराउन आउनेको चाप बढी हुने भएकाले भीडभाड नचाहने र आर्थिक रूपमा सक्षम शहरियाहरू निजी अस्पतालमा सेवा लिन्छन् ।

चिकित्सकहरूका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउनेमा सहरिया र आर्थिक रूपमा सक्षम परिवारका महिला बढी छन् । सन् २०२२ मा भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले पनि यही देखाएको छ । उक्त सर्वेक्षणका अनुसार सुत्केरी गराउन हुने शल्यक्रियाको करिब ५१ प्रतिशत निजी अस्पतालमा भएको छ ।

सर्वेक्षणले पहिलो पटक बच्चा जन्माउने महिलामध्ये सहरिया २२ प्रतिशत, सम्पन्न परिवारका ३८ प्रतिशत र शिक्षित ४८ प्रतिशतले शल्यक्रिया गरेर बच्चा पाउने गरेको देखाएको छ ।

निजी अस्पतालमा शल्यक्रिया बढ्नुको कारण सरकारी अस्पतालमा जस्तो भीड नहुनु र रोजेको चिकित्सकबाट प्रसूति सेवा लिन पाउने सुविधा पनि हो । सरकारी अस्पतालमा सुत्केरी गराउनेहरूको भीड हुने भएकाले त्यहाँ रोजेको चिकित्सकसँगै सेवा लिन सम्भव हुन्न ।

सहरिया र आर्थिक रूपमा सक्षम परिवारका सदस्यले निजी अस्पतालमा चिकित्सक रोजेर उनैबाट शल्यक्रिया गराउने गर्छन् ।

चितवनको भरतपुर अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेलका अनुसार निजी अस्पतालमा रोजेको चिकित्सकबाट बिरामीको चाहना अनुसार नै काम हुने हुँदा प्रसूतिका लागि शल्यक्रिया धेरै भएको हो ।

जोखिम लिन चाहँदैनन् चिकित्सक

ललितपुरकी ३२ वर्षीया गोमा दंगाल (परिवर्तित नाम) ले पहिलो बच्चा नर्मल डेलिभरी (शल्यक्रिया नगरी) बाट जन्माइन् । दोस्रो बच्चा पनि उनले नर्मल डेलिभरीबाटै जन्माउन चाहेकी थिइन् । सुत्केरी हुने बेलामा काठमाडौंको निजी अस्पतालमा जाँदा उनलाई त्यहाँका चिकित्सकले शिशुको अवस्था केही जटिल देखिएको भन्दै शल्यक्रिया गर्न सुझाव दिए ।

‘अस्पतालमा भएका नर्सदेखि चिकित्सकले शिशुको शल्यक्रियाकै लागि जोड दिनुभयो । बच्चाको मुटुको धड्कन बढेको भनेपछि हामीले जोखिम लिन चाहेनौं र तुरुन्तै शल्यक्रिया गरायौं’, दंगालले अनलाइनखबरसँग भनिन् ।

सुत्केरी गराउने काम जटिल मानिन्छ । सामान्य हेलचेक्र्याइँले पनि आमा र बच्चाको जीवन खतरामा पर्ने गर्छ । त्यसैले गर्भवती र उनीहरूको परिवार यो मामिलामा निकै सचेत हुनु स्वाभाविक हो ।

अस्पतालमा सुत्केरी गराउन जाँदा उनीहरूले आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई नै बढी जोड दिने गरेका हुन्छन् । सामान्य ढंगले प्रसूति गराउन खोज्दा अन्तिम समयमा कुनै जटिलता आउने सम्भावना पनि हुन्छ ।

त्यसैले अस्पतालका चिकित्सकले यो जोखिम लिंदैनन् र शल्यक्रियाको सजिलो बाटो रोज्छन् । अझ धेरै निजी अस्पतालमा त पूर्णकालीन दक्ष चिकित्सक हुँदैनन् । सरकारी अस्पतालकै चिकित्सकले बिहान–बेलुकाको समयमा सेवा दिने गर्छन् ।

उनीहरूसँग महिलालाई प्रसव वेदनापछि सुत्केरी हुने समयसम्म पर्खिने सुविधा हुन्न ।

निजी अस्पतालमा कार्यरत एक चिकित्सक भन्छन्, ‘नर्मल डेलिभरी गर्नका लागि १८–२० घण्टा बिरामीलाई प्रत्यक्ष निगरानीमा राख्नुपर्छ । जुन सम्भव नै हुँदैन ।’ उनले भने, ‘अपरेसन गर्दा त्यो काम ३–४ घण्टामा सकिन्छ । जोखिम नलिने र समय पनि कम लाग्ने भएकाले बिरामीलाई कन्भिन्स गराएर नै शल्यक्रियाको बाटो अपनाइन्छ ।’

सुत्केरी गराउने क्रममा बच्चा तथा आमाको स्वास्थ्यमा कुनै जटिलता देखिएमा चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड भएका घटनाहरू पनि छन् ।

प्रसूतिमा बढ्दो शल्यक्रिया : आमाको शरीरमाथि नै खेलबाड
स्रोत : जनस्वास्थ्य कार्यालय काठमाडौं ।

अस्पताल र चिकित्सकले सक्दो प्रयास गर्दागर्दै पनि यस्ता घटना हुनसक्ने भएकाले चिकित्सकहरूले सुत्केरीको केसमा जोखिम लिन नचाहने वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी बताउँछन् ।

भरतपुर अस्पतालका चिकित्सक डा. पोखरेलको अनुभवमा सामान्य ढंगबाटै सुत्केरी गराउन निजी अस्पताल गएका महिलाको शल्यक्रिया भएका छन् । सामान्य जटिलतामा पनि चिकित्सकले नर्मल प्रसूतिका लागि प्रयास नै गर्दैनन् ।

‘पेटभित्र बच्चाको मुटुको धड्कन १६० सम्म नर्मल मानिन्छ । निजी अस्पतालमा १७० पुग्न लाग्दा तुरुन्तै शल्यक्रियाको बाटो अपनाइन्छ । तर सरकारी अस्पतालमा भने थोरै जोखिम उठाएर नै नर्मल डेलिभरी गराउने प्रयास हुन्छ’, उनी भन्छन् ।

विज्ञ चिकित्सकका अनुसार निजी अस्पतालमा नर्मल डेलिभरी गराउने दक्ष जनशक्ति छैनन् । जसका कारण पनि सामान्य तालिम लिएका स्टाफ नर्सको भरमा प्रसव वेदनाका बिरामीलाई लामो समयसम्म छोड्न सक्ने अवस्था बन्दैनन् । त्यसले पनि चिकित्सकले शल्यक्रियाकै लागि जोड दिन्छन् ।

निजी अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराउन जोड दिनुको प्रमुख कारण व्यापारिक स्वार्थ पनि हो । काठमाडौंको एक निजी अस्पतालमा कार्यरत एक चिकित्सक अस्पताल व्यवस्थापक र कार्यरत स्वास्थ्यकर्मीले पैसा आर्जनका लागि अनावश्यक रूपमा महिलाको शरीर चिरिरहेको आरोप लगाउँछन् ।

सामान्य प्रक्रियाबाट बच्चाको जन्म भएको अवस्थामा आमा र शिशु दुवै स्वस्थ छन् भने २४ घण्टाभित्रै डिस्चार्ज भएर घर जान सक्छन् । तर, शल्यक्रिया गरिएको छ भने बिरामीको अवस्था हेरेर ८ देखि १० दिनसम्म अस्पतालमा भर्ना भएर बस्नुपर्छ ।

किनकि शल्यक्रियाबाट प्रसूति हुँदा अस्पताल बसाइ लामो हुने, अपरेसन शुल्क र औषधिबाट पनि अस्पतालले पैसा लिन सक्छ । अपरेसन गर्दा चिकित्सकले पनि प्रोत्साहन भत्ता पाउँछन् ।

निजी अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माउनेहरूको संख्या बढी हुनुको कारणबारे ती चिकित्सक भन्छन्, ‘जोखिम लिन नचाहने प्रवृत्ति, अस्पतालको आम्दानीको साथ–साथै बिरामीको चाहना पनि हो ।’

भरतपुर अस्पतालका चिकित्सक डा. पोखरेलले निजी अस्पताल व्यापारमुखी हुनु पनि शल्यक्रिया मार्फत सुत्केरी हुने क्रम बढ्नुको प्रमुख कारण मान्छन् ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार कहिलेकाहीं गर्भमा रहेको बच्चाको मुटुको चाल सानोतिनो कारणले तल–माथि भइरहेको हुन्छ । त्यस्तो अवस्थामा केही समय पर्खिएर नर्मल डेलिभरी गराउन सकिन्छ ।

‘प्रायः गरेर थोरै जोखिम हुँदा सरकारी अस्पतालमा नर्मल प्रसूतिको प्रयास गरिन्छ र नभएको अवस्थामा शल्यक्रिया गरिन्छ’, डा. सुवेदीले भने, ‘तर निजीमा चिकित्सकले त्यो जोखिम लिन मान्दैनन् ।’

चिकित्सकका अनुसार सरकारी र निजी अस्पतालमा हुने प्रसूति संख्या आधा–आधा नै छ । सरकारी अस्पतालमा अत्यधिक भीड र पालो कुर्नुपर्ने बाध्यताले गर्दा पछिल्लो समय नाम चलेका वरिष्ठ चिकित्सकलाई क्लिनिक वा निजी अस्पतालमा देखाउने प्रचलन बढिरहेको छ ।

‘गर्भवती बेलामा क्लिनिक वा प्राइभेट अस्पतालमा कार्यरत निजी चिकित्सकबाट परीक्षण गराउने हुँदा सुत्केरी गराउने बेला पनि ती चिकित्सकले आफ्नै अस्पतालमा लैजाने गर्छन्’, उनले भने ।

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार निजी अस्पतालमा आइपुग्ने अधिकांश महिलालाई नर्मल डेलिभरीको लागि काउन्सिल गर्दा पनि शल्यक्रियाबाटै प्रसूति रोज्छन् ।

प्रसूतिमा बढ्दो शल्यक्रिया : आमाको शरीरमाथि नै खेलबाड

‘नर्मल डेलिभरीका लागि पर्याप्त काउन्सिल गरिन्छ । तर महिलाले नै नमानेपछि चिकित्सकले नर्मल डेलिभरी गर्न सक्दैनन्’ डा. गौतम भन्छन्, ‘जीवनमा एक–दुई वटा मात्रै बच्चा पाउने हुँदा अधिकांश शल्यक्रिया नै गर्छु भन्ने हुन्छन् ।’

नर्मल डेलिभरी गर्न सुझाव दिंदा बरु शल्यक्रियाका लागि अर्को अस्पताल जान्छौं भन्नेहरू पनि भेटिने गरेको डा. गौतम बताउँछन् ।

‘सरकारी अस्पतालमा नर्मल डेलिभरी गराउँछन् भनेर जानै मान्दैनन् । निजीमा पनि नर्मल डेलिभरी गर्न सल्लाह दिंदा यहाँ नभए अन्य अस्पतालमा जाने जवाफ दिन्छन्’, डा. गौतमले सुनाए, ‘नर्मल डेलिभरी गर्न नमानेर अन्य अस्पताल गएका सयौं बिरामी छन् ।’

नर्मल डेलिभरी गर्दा कुनै अवस्थामा आमा तथा बच्चाको स्वास्थ्यमा जटिलता आएमा अस्पताल तोडफोड र चिकित्सकमाथि कुटपिट गर्ने सम्भावना भएकाले चिकित्सकले जोखिम नलिई शल्यक्रियाकै बाटो अपनाइरहेका छन् ।

हिजोआज ढिलो विवाहले निःसन्तानपनको समस्या बढाएको र त्यसको उपचार गरेका महिला र चिकित्सक दुवैले पनि नर्मल डेलिभरीको जोखिम नलिने डा. गौतम बताउँछन् ।

साइत हेरेर बच्चा जन्माउने प्रचलन !

पछिल्लो समय ज्योतिषीलाई साइत हेराएर शल्यक्रिया गराउने गरेको पनि पाइएको छ । ज्योतिषशास्त्र अनुसार राम्रो लग्न भएको दिन र समयमा बच्चा जन्माउन शल्यक्रिया गराउन चाहनेहरू भेटिएको त्रिवि शिक्षण अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. पदमराज पन्त बताउँछन् ।

उनले आफूले एक निजी अस्पतालमा यस्ता बिरामी जाँच गरेको बताए । ‘आजभोलि पात्रो हेरेर, ज्योतिषीले दिएको साइतमै बच्चा निकालिदिनु भन्ने ट‍्रेन्ड बढ्दो छ’ उनले भने, ‘ज्योतिषीले यो बार, यो समयमा बच्चा पाउन उत्तम छ भनेको भन्दै त्यही समयमा बच्चा निकाल्न चिकित्सकलाई दबाब रहन्छ ।’

चिकित्सकका अनुसार शल्यक्रिया गर्दा रक्तनलीहरू पनि काटिने सम्भावना हुन्छ । यस्तै पाठेघर चिर्ने क्रममा पनि रगतका नसा समेत चिरिने, काटिने, आन्द्रा प्वाल पर्ने, पिसाब नलीमा चोटपटक लाग्न सक्ने, रक्तस्राव हुनसक्ने, कतिपय अवस्थामा आमाको ज्यानै जान सक्ने सम्भावना हुन्छ ।

डा. पन्तको अनुभवमा कृष्णजन्माष्टमी, रामनवमी लगायत चाडपर्वमा बढी शल्यक्रियाको माग हुन्छ । यसरी साइत हेरेर आउनेमा शहरका र शिक्षित दम्पती नै बढी छन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुवेदीले पनि ज्योतिषीसँग सल्लाह गरेर सुत्केरी गराउन आएका दम्पती भेटेका छन् । यस्ता दम्पतीलाई नर्मल डेलिभरी गराउन परामर्श दिए पनि पहिल्यै सल्लाह गरेर आएकाले चिकित्सकको परामर्श मान्दैनन् ।

‘अहिलेका उच्च मध्यम र उच्च आर्थिक वर्गमा जोखिम शून्यका साथसाथै साइत हेरेर बच्चा जन्माउने क्रम बढिरहेको छ । जुन स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन’, सुवेदी भन्छन् ।

महिलाको शरीरमाथि खेलबाड

चितवनकी २५ वर्षीया शान्ता सापकोटा (नाम परिवर्तन) ले पहिलो सन्तान शल्यक्रिया मार्फत जन्म दिएकी थिइन् । अर्को गर्भ रहेपछि स्वास्थ्य जाँच गराउन जाँदा चिकित्सकहरूले पुनः शल्यक्रिया गर्नुपर्ने सुझाव दिए ।

चिकित्सकको सुझाव अनुसार शल्यक्रिया गराउँदा पाठेघरमा पहिले शल्यक्रिया गरेको घाउमा सालनाल टाँसियो । यही कारण रक्तस्राव हुन थालेपछि चिकित्सकले उनको पाठेघर नै निकाल्ने निर्णय गरे ।

भरतपुर अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनिलमणि पोखरेल भन्छन्, ‘सिजरियन गरिएको केसमा केही यस्ता घटना भइरहेका हुन्छन् । युवा अवस्थामै महिलाको पाठेघर समेत निकाल्नुपर्ने हुन्छ ।’

चिकित्सकहरूका अनुसार पहिलो बच्चा अपरेसन गरेर जन्माएपछि त्यसपछि बच्चा जन्माउँदा पनि अपरेसन गर्नुपर्ने सम्भावना ८० प्रतिशतभन्दा बढी नै हुन्छ । जसले गर्दा दोस्रो पटक नै नर्मल डेलिभरी न्यून मात्रामा हुन्छ । त्यसैले सकेसम्म प्राकृतिक डेलिभरी नै गर्न प्रेरित गर्नुपर्ने प्रसूति रोग अस्पतालका निर्देशक डा. अधिकारीको भनाइ छ ।

‘अपरेसनले महिलामा जटिलता थपिंदै जान्छ’ डा. अधिकारीले भने, ‘सर्जरी पनि शतप्रतिशत सुरक्षित हुँदैन । यसले दीर्घकालीन रूपमा असर पारिरहेको हुन्छ ।’

प्रसूतिमा बढ्दो शल्यक्रिया : आमाको शरीरमाथि नै खेलबाड
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी

शल्यक्रिया मार्फत पहिलो बच्चा जन्माएकी एक २७ वर्षकी महिला पुनः गर्भवती भएका बेला पाठेघर फुटेर गम्भीर अवस्थामा पुगेपछि आफूकहाँ उपचारका लागि आएको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण साह बताउँछन् ।

उनका अनुसार दोस्रो गर्भ रहेपछि ती महिलालाई लगातार पेट दुखेको थियो । त्यसपछि चिकित्सकसँग जाँच नगरी नजिकैको औषधि पसलबाट औषधि किनेर खाने गरिन् । पछि समस्या बढ्दै जाँदा बेहोश अवस्थामा डा. साहकोमा पुगेकी थिइन् । भिडियो एक्सरे गरेर हेर्दा ती महिलाको पाठेघर फुट्नुका साथै गर्भको भ्रूण पनि पाठेघर बाहिर आएको पाइएको साहले बताए ।

‘उहाँ अस्पताल आइपुग्दा बेहोश अवस्थामा हुनुहुन्थ्यो । तत्कालै शल्यक्रिया गरी उहाँको जीवन र पाठेघर जोगाएका थियौं’, केही समय अगाडिको घटना सम्झिंदै डा. साहले भने ।

नेपालका ग्रामीण क्षेत्रमा अझै घरमै असुरक्षित तरिकाले सुत्केरी गराउने प्रचलन छ । सरकारले अस्पतालमा सुत्केरी गराउनेलाई प्रोत्साहन रकम पनि दिंदै आएको छ र पछिल्लो समय भने प्रोत्साहन रकमका साथै बढ्दै गएको चेतनाका कारण अस्पतालमा सुत्केरी हुने क्रम बढ्दो छ ।

तर बर्थिङ सेन्टर, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा सुत्केरी गराउन सक्ने दक्ष जनशक्तिको कमी छ । ती स्वास्थ्य संस्थाले सामान्य ढंगले प्रसूति गराउन नसक्दा जटिलता थपिंदै ठूला अस्पतालमा सुत्केरी गराउन शल्यक्रिया गर्नुपर्ने केस आइपुग्ने डा. बालकृष्ण साह बताउँछन् ।

नेपालमा रहेका सबै अस्पतालहरूमा एउटै दरमा शल्यक्रिया नहुने भएकाले सुविधासम्पन्न अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढी भएको साहको भनाइ छ ।

‘आजभोलि मानिसले योजना बनाएर गर्भ राख्छन्, अनि सो गर्भको लागि सानै पनि जोखिम लिन चाहँदैनन्’ डा. साह भन्छन्, ‘आमा वा बच्चामा कुनै असर देखिएमा अस्पताल र चिकित्सक माथि नै हातपात समेत हुनसक्ने खतरा हुने भएकाले सिजरियन संख्या बढ्दो छ ।’

यौन तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ डा. लक्ष्मी तामाङका अनुसार कतिपय महिलाहरूले सुत्केरी व्यथा किन खप्ने, अपरेसन गरे त झन्झट नै हुँदैन भन्ने किसिमले क्षणिक फाइदा मात्र हेर्छन् ।
त्यस्तै चिकित्सकहरूले सुत्केरी गराउन आएकाहरूलाई नर्मल डेलिभरीको फाइदा, शल्यक्रिया गर्नुपर्ने अवस्था र यसले पार्ने असरबारे जानकारी र परामर्श नदिएको उनको भनाइ छ ।

‘शल्यक्रिया गर्दा कति जोखिम हुन्छ ? भोलिका दिनमा बच्चा तथा आमामा के–कस्ता जोखिम हुन्छन् जस्ता कुरा अस्पतालले कम जानकारी गराउँछन्’, जनस्वास्थ्य विज्ञ डा. तामाङ भन्छिन् ।

किन नर्मल डेलिभरी नै ठीक ?

स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू प्राकृतिक रूपमा जन्मेका बच्चामा शल्यक्रियाबाट जन्मेका बच्चासँग भन्दा रोगसँग लड्ने क्षमता बढी हुन्छ ।

सामान्यतया बच्चाको तौल कम हुँदा, सुत्केरी हुने बेला बच्चाको मुटुको धड्कन कम हुँदा, बच्चाले पेटभित्रै दिसा गरेमा, गर्भवतीलाई उच्च वा कम रक्तचाप भएमा शल्यक्रियाबाट बच्चा जन्माउनुपर्छ । कुनै महिलाको शरीरको बनोट नै साँघुरो हुँदा बच्चा पाठेघरबाट तल आउन सक्दैन, जसका कारण पनि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

‘कुनै बच्चा आमाको गर्भभित्र छड्के वा तेर्सो बसेको हुन्छ । बच्चा अगाडि निस्कनुपर्नेमा कहिलेकाहीं सालै अगाडि निस्किन्छ । यस्तो बेला पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ’, डा. अधिकारी भन्छन् ।

प्रसूतिमा बढ्दो शल्यक्रिया : आमाको शरीरमाथि नै खेलबाड

यस्तै, गर्भवतीको उचाइ र तौल थोरै भएमा, पाठेघरको मुख सानो भएमा, पहिला गर्भपतन गरेको वा पहिलो पटक पनि शल्यक्रिया गरेर बच्चा जन्माएको केसमा आवश्यकता अनुसार शल्यक्रिया गरिने प्रसूति विशेषज्ञहरू बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. पदमराज पन्तका अनुसार पहिलो पटक शल्यक्रिया गरेर प्रसूति गराएको छ भने दोस्रोपटक गर्भवती हुँदा सालनाल चिरिएको ठाउँमा टाँसिन सक्ने जोखिम हुन्छ ।

यौन तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ डा. लक्ष्मी तामाङका अनुसार ३ वर्षभन्दा कम जन्मान्तरमै गर्भवती भएको छ र गर्भावस्थाको पूरा समयावधि (३७ देखि ४० हप्ता) सम्म गर्भ रहेमा पाठेघर फुट्न सक्ने जोखिम हुन्छ ।

किनकि शल्यक्रिया गरी टाँका लगाएको ठाउँमा घाउ पूर्णरूपमा निको भए पनि त्यस भागको मांसपेशीमा प्राकृतिक रूपमा तन्किनसक्ने क्षमता कम हुन्छ ।

‘जटिल अवस्थामा गर्भमा रहेको शिशु र महिलाको जीवन रक्षा गर्न शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर, अनावश्यक र योजनाबद्ध रूपमा शल्यक्रिया मार्फत जन्माएका बालबालिकाहरूलाई श्वास–प्रश्वासको संक्रमण, दम, मधुमेह र मोटोपनाको जोखिम हुने सम्भावना उच्च हुन्छ’, डा. तामाङ भन्छिन् ।

नर्मल डेलिभरीको तुलनामा सिजरियन गरेकाहरूमा संक्रमण देखिने वा घाउ पाक्ने सम्भावना बढी हुन्छ । शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाहरूमा दूध ढिला आउने तथा शिशुमा श्वास–प्रश्वास सम्बन्धी समस्या देखिने हुन सक्छ ।

चिकित्सकका अनुसार शल्यक्रिया गर्दा रक्तनलीहरू पनि काटिने सम्भावना हुन्छ । यस्तै पाठेघर चिर्ने क्रममा पनि रगतका नसा समेत चिरिने, काटिने, आन्द्रा प्वाल पर्ने, पिसाब नलीमा चोटपटक लाग्न सक्ने, रक्तस्राव हुनसक्ने, कतिपय अवस्थामा आमाको ज्यानै जान सक्ने सम्भावना हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी सुत्केरी अवस्थामा हुने शल्यक्रियाबारे हालसम्म अनुगमन नभएको बताउँछन् । यस्ता शल्यक्रिया कम गर्न प्रसूति तथा स्त्री रोग विशेषज्ञसँग छलफल गरेर छिट्टै मापदण्ड तोक्ने तयारी रहेको उनको भनाइ छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School