प्रश्नै प्रश्न


‘द वर्ल्ड इज फ्ल्याट’ अर्थात् ‘पृथ्वी च्याप्टो छ’ नामक चर्चित पुस्तकका लेखक एवं अमेरिकी राजनीतिक विश्लेषक थोमस एल फ्रिडम्यानको न्युयोर्क टाइम्समा हालै प्रकाशित लेखको पहिलो पंक्तिले मेरो ध्यान तानेको छ।

उनी लेख्छन्, ‘केही वर्षको अन्तरालमा म पत्रकारिताको मूलभूत सिद्धान्तलाई सम्झन्छु: जब तिमी हात्ती उडिरहेको देख्छौं, नहाँस, यससम्बन्धी जानकारी लिऊ। किनभने तिमीले हात्ती उडिरहेको देखिरहेका छौं, एकदमै अनौठो भइरहेको छ, जसलाई तिमी बुझ्दैनौं तर तिमी र तिम्रा पाठकले यो बुझ्नुपर्छ।’

अमेरिकाको राजनीति सन्दर्भमा उनले लेखेका भए पनि हाम्रो राजनीतिमा पनि यो उत्तिकै लागु हुन्छ। अहिले हात्ती उडिरहेको देखिन्छ। यसमा हाँस्न मिल्दैन। यसमा जानकार भने हुनैपर्छ। म मात्र होइन, मेरा पाठकले पनि बुझ्नुपर्छ।

करिब २७ घण्टामा मुलुक गर्ल्यागुर्लुम ढल्यो। झन्डै दुईतिहाइ बहुमतका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकार आँखा झिमिक्क पार्न नपाई गयो। मुलुकमा आगजनी, ध्वंस र तोडफोडबाट करिब ८५ अर्बको क्षति भयो। यथार्थमा क्षति योभन्दा धेरै छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लग्यो। भदौ २३ र २४ का घटनाको पटाक्षेपका २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो।

अलिकति विगततिर जाऔं। कांग्रेस र एमालेको नेतृत्वमा सरकार बनेपछि यो संविधानअन्तर्गतको अन्तिम विकल्प भएको टिप्पणी मैले पनि गरेको थिएँ। यसको विफलताले मुलुकलाई अकल्पनीय अवस्थातर्फ लैजान्छ भन्ने धारणा धेरैको थियो। त्यो मिल्यो।

अझ कतिपयले मुलुकका दुई ठुला दलले यसरी सरकार बनाउन नहुने र यो संविधान विपरीत हुन्छ भन्ने धारणा पनि राखेका थिए। संसद्भित्रको संख्याको खेलबाट जोगिएको सरकारले स्थायित्व दिन्छ भन्ने ठानिएको पनि हो तर त्यस्तो हुँदो रहेनछ। स्थायित्व त के कुरा देश नै तहसनहस पार्ने काम भयो।

हामी पत्रकारितामा भन्ने गर्छौं, ‘अस्वाभाविक घटना समाचार हुन्।’ मुलुकमा अस्वाभाविक घटना भइरहेका छन् भने ती समाचार हुन्। त्यो अस्वाभाविकतालाई हामी आफैंले बुझ्नु र बुझाउनुपर्ने हुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि नै निरन्तर एउटा वातावरण बनिरहेको थियो, उनी जहाँ पुगे पनि विरोध भइहाल्थ्यो। यसबिच पुराना दलले केही गर्न सक्दैनन् र मुलुकको अधोगतिका कारक यिनै हुन् भन्ने भाष्य बलियोसँग निर्माण गरियो। त्यो कुनै तुलनात्मक अध्ययनका आधारमा गरिएको थिएन। सामाजिक सञ्जालको एकोहोरो लखेटाइ थियो र त्यो विस्तारै अहिले सबैको बुझाइमा यो आएको छ।

भदौ २३ को जेनजी अभियान र त्यसको भोलिपल्ट भदौ २४ मा योजनाबद्ध रूपमा गरिएको मुलुकको ध्वंसपछि स्थिति बदलिएको छ। सत्ता गुमाएका दुई ठुला दल कांग्रेस र एमालेमध्ये एउटाले महाधिवेशन गरिसकेको छ।

कांग्रेस महाविधेशनको घनचक्करमा परिसकेको छ। कांग्रेसमा के हुने हो भन्ने अहिल्यै आँकलन नभए पनि मुलुकको भावी राजनीति अगाडि लैजाने ‘स्क्रिप्ट’ अनुसारकै हुनेछ। त्यो गर्ने गराउनेबारे भनिरहनु पर्दैन।

पुराना दलले आफ्नो स्थिति सुदृढ गर्न जुन गतिमा काम भइरहेको छ, त्योभन्दा तीव्र गतिमा आफूलाई ‘वैकल्पिक’ भन्नेहरू तयार भइसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने धरौटीमा मुक्त भएपछि भइरहेको तीव्र गतिको विकासक्रम कम्ती रोचक छैन।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीका लागि तयार भइसकेका छन्। उज्यालोका प्रतीक बनाइएका कुलमान घिसिङ पनि त्यसमा समाहित भइसकेका छन्।

एकातिर नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व पुष्पकमल दाहालले लिइसकेका छन्। अर्कातिर पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टी एक भइसकेको छ। मधेसवादी दलहरू पनि एकै ठाउँमा उभिन खोज्दै छन्। यतिबेला कवि भूमि शेरचनका पंक्ति साकार हुँदै छन्, ‘हामी आफूखुसी मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने।’

आफैं मिलेका भए राम्रो। अरू कसैले मिलाइ दिएका भए त्यो केका लागि भन्ने प्रश्न उठिहाल्छ। त्यसको जवाफ समयले दिने नै छ। अरू कसैले नेपालको राजनीतिमा भूमिका खेलिरहेको छ भने आगामी दिनमा हेर्न रोचक मात्र हुने छैन, सँगसँगै पीडादायी पनि। प्रायः नेपालको राजनीतिमा शक्ति आर्जन गरेपछि कुनै पनि नेताले आफ्नो भुइँ छाडेको देखिन्छ। त्यस्तो बेलामा ‘ठिक पार्न चाहने शक्ति’ आफैंमा अर्को योजना लिएर तयार हुने गरेको देखिन्छ। कतिपय प्रसंगमा यो ‘षड्यन्त्रको सिद्धान्त’ मात्रै भनेर चुप लाग्न पनि सकिने रहेनछ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएर ओलीको नेतृत्वमा साढे तीन वर्षसम्म झन्डै दुई तिहाइको शक्तिशाली सरकार बनेका बेला यसलाई कसले ढाल्न सक्ला र? भन्ने थियो तर त्यो ढलेन मात्र, पार्टी नै छिन्नभिन्न भयो। कसैले त्यसलाई जोगाउन सकेनन्। आखिर त्यो कसरी भयो, कसैले खोजेन। प्रश्न प्रश्नकै रूपमा रहिरहे।

ओलीकै नेतृत्वमा कांग्रेससहितको बलियो सरकार बन्यो तर त्यो सरकार २७ घण्टाको हावाहुरीले उडाउने गरी कस्तो तयारी भएको रहेछ? प्रश्नमा घोत्लिन मन लाग्दैन? नेपालमा प्रायः राजनीति विदेशी इसारामै हुन्छ भन्ने हो भने यस्तो स्थिति केले ल्याएको होला भन्ने प्रश्न गर्नुपर्दैन? सतहमा केही देखिएका छन्, तर नदेखिने गरी पनि कैयन् कुरा भइरहेकै छन्, त्यसबारे बुझ्नुपर्दैन?

ओलीलाई त्यतिकै ठिक गर्न सकिँदैन भन्ने लागेपछि यो सबै भएको भन्ने चर्चा पनि छन्। त्यति मात्र होइन, हाम्रो राज्यका संस्थाहरू सबैको अवस्था अत्यन्त्र कमजोर देखिएको छ। अझ तिनलाई संस्थागत गर्न किन नेताहरूले काम गरेनन् भन्ने प्रश्न पनि छन्। आखिर आफ्नो मुलुकलाई बलियो बनाउन कसले रोकेको थियो र छ? यसबारे किन सोचिएन?

कांग्रेसको अवस्था सुध्रिन लागिसकेको थियो। शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएर हिँडिसकेका थिए। उनले आगामी नेतृत्वका लागि आकांक्षा नराखी दललाई अगाडि बढ्न दिने संकेत थिए। उनी सिंगापुरबाट आएपछि ओलीले गरेको भेटघाट, त्यसपछि देउवा र उनी निकटहरूको आफ्नै सक्रियताले स्थिति फरक पारिसकेको छ। पार्टी महामन्त्री गगनकुमार थापाको सोझिन लागेको भनेको राजनीतिमा नयाँ संकट र झैझमेला सुरु भएका छन्।

मुलुकको राजनीतिमा अरू नै कोही फेरि उदाउने अवस्था सिर्जना हुन लागेको छ। कांग्रेसभित्र कचिंगल र अरू दलमा देखिएको सक्रियतालाई कसरी लिने? प्रश्न यहाँ पनि छन्। मुलुकको गम्भीर अवस्थामा कांग्रेस अलमलमा पर्दा त्यसले कसलाई लाभ दिन्छ? बरु कांग्रेस बिग्रिदा मुलुकमा धेरै कुरा बिग्रिने निश्चित भयो।

प्रायः केही दशकमा यहाँ नयाँ शक्तिको उदय हुन्छ। तिनको केही सक्रिय चुरीफुरी रहन्छ। त्यसबिचमा अर्को हुर्किसकेको हुन्छ। फेरि त्यसको उपयोग/दुरुपयोग हुन्छ। त्यसपछि फेरि अर्को तयार हुन्छ। यही अस्थिरताकै अवस्था सिर्जना गरिरहन सक्ने को हो? २००७ सालको परिवर्तनदेखि अहिलेसम्म कुनै पनि परिवर्तन संस्थागत हुन नसक्ने कारण के हो? कसले मिलाउँछ र कसले जुटाउँछ? यसको कारक को हो?

मुलुकको अवस्था यतिबेला गम्भीर मोडमा छ। मुलुकको राजनीतिमा अनेकन् प्रयोग भएका छन्। प्रजातन्त्र, सक्रिय राजतन्त्र, फेरि प्रजातन्त्र, फेरि सक्रिय राजतन्त्र र गणतन्त्रपछि मुलुकलाई तहसनहस पार्दै अर्को परिवर्तन भएको छ। सामान्य आँखाले हेर्दा पुराना दल र नेतृत्व अझै सक्रिय भएको देखिन्छ तर भित्रभित्रै भयानक तयारी भएका छन्। अबका प्रयोग नेपालमा के होलान्? प्रश्न गर्नुपर्दैन? खोजी गर्नुपर्दैन?

के अब फेरि राजा, राष्ट्रपतिसहितको मलेसियाको जस्तो व्यवस्था हो? के निर्वाचनअघि नै सरकार परिवर्तन गरेर कसैलाई प्रधानमन्त्री बनाई मुलुकमा थुनछेक र अरू विध्वंसको तयारी हो? कि फ्रिडम्यानले पत्रकारितामा दिएको उदाहरणजस्तै हात्ती उडेको हेरेर त्यसबारे बुझ्न र बुझाउन थाल्ने हो? म हाँसिरहेको छैन, बरु गम्भीर भएको छु।

प्रकाशित: २० पुस २०८२ ०९:१५ आइतबार





Source link

Leave a Comment