प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए



१६ फागुन, दाङ । समय धेरै बदलिएछ । कुनै बेला माओवादीका युद्ध सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड दरबार, भारत, अमेरिका आदिको विरोध गरेर समय कटाउँथे, अचेल उनी जनार्दन शर्मा, बाबुराम भट्टराई आदिको कुरा काटेर समय बिताउँछन् । प्रचण्डका पछिल्ला अन्तर्वार्ता र भाषण त्यसका प्रमाण हुन् ।

संसदीय प्रजातन्त्र विरुद्ध रोल्पाबाट हिंसात्मक युद्ध हाँक्न तीन दशकअघि शुरु गरेका प्रचण्ड यतिबेला संसदीय राजनीतिक जीवनको छहारी खोज्दै पूर्वी रुकुम पुगेका छन् । यतिबेला उनीसँग १० वर्ष युद्धको गर्भबाट जन्मेको माओवादी पार्टी छैन । क्रान्तिको प्रतीक हँसिया हथौडा छैन । तारा जस्तै गरी बिलाएका छन् थुप्रै सहयोद्धाहरू ।

प्रचण्डपथ पछ्याउने सहयात्री बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव, जनार्दन शर्मा उनको साथमा छैनन् । गत जेठमा पश्चिम रुकुम पुगेका बेला प्रचण्डले जनार्दनलाई यस्ता अनेक प्रश्न र बखेडा झिक्नु साटो बरु पार्टी नै छाड्न समेत चेतावनी दिए ।

त्यसपछि जनार्दनलाई माओवादी आफ्नो भएन । अलिक पछि त माओवादी नै रहेन । अहिले तारा चिह्न चिनाउँदै गाउँ पस्न प्रचण्डलाई सजिलो छैन ।

चिह्न मात्रै होइन, प्रचण्ड पनि यस बीचमा धेरै बदलिए । रुकुमका गाउँसम्म त्यसको अमिलो अनुभूति छ ।

प्रचण्ड सुरक्षित स्थल खोज्दै रुकुमपूर्व पुगिरहँदा माओवादीका आधार क्षेत्रमा रुकुमपश्चिम, रोल्पा, सल्यान, दाङमा यिनै सहयोद्धाहरू विभाजित एक अर्काे विरुद्ध चुनाव लड्दैछन् । उता माओवादीबाट छुट्टिएका मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी चुनाव बहिष्कार गरी बसेका छन् ।

कुनै समय माओवादी युद्धको आधारभूमि रुकुम, रोल्पा, दांग, सल्यानमा तत्कालीन माओवादी छिन्नभिन्न बनेको छ । बरु हिजो माओवादी युद्धका सहयोद्धा, सहयात्रीहरू नै अहिले विभिन्न पार्टी, समूहमा विभाजित भएर फागुन २१ गतेको चुनावमा एकअर्का विरुद्ध होमिएका छन् । चुनावी घरदैलोका क्रममा रुकुमका गाउँबस्ती पुगिरहेका बेला प्रचण्डले यो सबै नियालेका होलान् ।

स्वयं प्रचण्ड नै आफैंसँग केही महिना अघि छुट्टिएर गएका सहयोद्धा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दिप पुनसँग चुनाव लड्दैछन् । अझ भनौैं उनी त आफैंले शुरु गरेको क्रान्तिमा शहादत प्राप्त गरेका शहीद दम्पतीको पुत्रसँग प्रतिस्पर्धारत छन् । सन्दिपका बाबु सूर्यप्रकाश पुन र आमा परम्परा गौतम माओवादी युद्धकै क्रममा मारिएका थिए । १२ दिनको अन्तरालमा उनीहरूले ज्यान गुमाएका थिए ।

पूर्वी रुकुमसँग टुक्रिएर बनेको पश्चिम रुकुममा पूर्व माओवादीहरू चुनावमा आमनेसामने छन् । प्रचण्ड नेतृत्व नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा र प्रचण्डसँग विद्रोह गरेर निस्किएका जनार्दन शर्मा आफू संरक्षक प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए

अहिले एकअर्काका प्रतिस्पर्धी बनेका गोपाल र जनार्दन सुरुवाती कालदेखि नै पार्टी विद्रोहमा होमिएका सहयात्री हुन् । २०६३ सालको शान्ति प्रक्रियापछि त उनीहरू एकअर्काेका भरोसा र विश्वासका पात्र बने । जनार्दनका हरेक चुनावमा कमाण्डर बनेर गोपाल उभिए ।

२०६४, २०७०, २०७४ र २०७९ का सबै चुनावमा कमाण्डर बनेर गोपालले शर्मालाई जित दिलाए । तर अहिले शर्मालाई चुनावी जित दिलाउने उनै गोपाल बलिया प्रतिस्पर्धीको रूपमा उभिएका छन् । गोपाल पार्टीको सांगठनिक बलमा उभिएका छन् भने शर्मा विगतको आफ्नो बलियो राजनीतिक पृष्ठभूमिको बलमा ।

पश्चिम रुकुमका पूर्व जनमुक्ति ब्रिगेड कमाण्डर भरत खत्री युद्धदेखिका सहयात्री, सहयोद्धाहरू एक अर्काे विरुद्ध उभिनुपर्ने अवस्था आउनु विडम्बना ठान्छन् । ‘हिजो हामीले एउटै सपना, एउटै लक्ष्य बोकेर क्रान्तिमा होमियौं । युद्धको संकटको घडीमा एक अर्काेका लागि उभियौं’ उनले भने, ‘आज आफैंले बनाएको पार्टी फुटाएर छिन्नभिन्न भएका छौं । आआफ्नै विरुद्ध लड्ने अवस्थामा पुगेका छौं । हाम्रो क्रान्ति कहाँ पुग्यो, हामी कहाँ पुग्यौं ? हामीले समीक्षा गर्नुपर्छ ।’

प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए

पश्चिम रुकुमसँग जोडिएको छिमेकी जिल्ला, माओवादीको बलियो आधार क्षेत्र रोल्पामा पनि पूर्व माओवादीहरू चुनावमा भिड्दैछन् ।

रोल्पामा नेकपाबाट पूर्व अर्थमन्त्री वर्षमान पुन उम्मेदवार छन् भने पहिलो पटक संसदीय राजनीतिमा भाग लिन लागेको विप्लव नेतृत्व नेकपा माओवादीबाट चूडामणि वली आदर्श उम्मेदवार छन् । शुरुमा विप्लव नै चुनावमा लड्ने तयारी थियो । तर पछि उनी पछि हटे ।

माओवादी युद्धकालदेखि सशस्त्र संघर्षमा होमिएका पुन र वली सहयोद्धा हुन् । पुनले माथि बसेर जनमुक्ति सेनाको पूर्वी डिभिजन कमाण्डर सम्हालिरहँदा, तल रहेर ब्रिगेड कमिसारका रुपमा वलीले युद्धका सैन्य रणनीति बनाइरहेका हुन्थे ।

प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए

तर माओवादी सशस्त्र संघर्ष सुरु भएको करिब ३० वर्षपछि आफैंभित्रको वैचारिक विचलनले यिनै सहयात्रीहरू एक अर्काे विरुद्ध चुनावी मैदानमा होमिन आइपुगेका छन् ।

रोल्पासँग जोडिएको जिल्ला सल्यानमा पनि दुई पूर्व माओवादीहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।

नेकपाबाट रमेश मल्ल उम्मेदवार बनेका छन् भने विप्लव पक्ष नेकपा माओवादीबाट पूर्व ब्रिगेड कमाण्डर चन्द्रबहादुर खड्का उम्मेदवार बनेका छन् । मल्ल, प्रचण्ड र खड्का विप्लवका स्वकीय सचिव भएर काम गरेका हुन् । नेकपाको बलियो पकड भएकाले मल्ल सुरक्षित देखिएका छन् ।

यता, पूर्व विग्रेड कमाण्डर खड्का शहीदका पुत्र हुन् । त्यसैले खड्कासँग युद्ध र शहीद परिवारको सेन्टिमेन्टको उनको पक्षमा छ ।

प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए

अर्काे माओवादी आधार क्षेत्र दांगको अवस्था पनि फरक छैन । रोल्पा, रुकुम जस्तै दाङ पनि युद्धका बेला चपेटामा परेको थियो । युद्धका बेला यहाँ जिल्ला प्रशासन कार्यालय, मालपोत जस्ता सरकारी संरचना आगजनी मात्र भए । ठूलो मानवीय क्षति पनि भयो । दाङबाट मात्रै राज्य र विद्रोह पक्षबाट गरी ५९७ जनाले ज्यान गुमाए ।

अहिले यहाँ तत्कालीन माओवादीबाट विद्रोह गर्दै दांग क्षेत्र नं १ मा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम स्वतन्त्र चुनाव लड्दैछन् । नेकपा बनेपछि टिकट नपाएर प्रचण्डसँग असन्तुष्ट भएर उनी पार्टी छोडेर चुनावमा होमिए ।

माओवादी युद्धको बेला जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार रहेका सोनाम युद्धको सेन्टिमेन्ट लिएर पूर्व माओवादीको साथ लिएर चुनाव लडिरहेका छन् । युद्धको त्यही सेन्टिमेन्ट सम्झेर माओवादी नेताहरू पनि सोनामको पक्षमा खुलेरै लागिरहेका छन् । सोनाम यतिबेला भनिरहेका छन्, ‘युद्धताका देखेका सपना कहाँ छुटे ? मेरो उम्मेदवारी युद्धमा देखेका सपनाहरू पूरा गर्न हो ।’

गुम्दैछ पकड 

नयाँ जनवादी क्रान्ति नाराले २०५२ सालमा रुकुम, रोल्पाबाट सशस्त्र युद्ध शुरु गरेको माओवादी ३० वर्षमा आइपुग्दा विभिन्न कालखण्डमा फुट्दै छिन्नभिन्न बनेको छ । माओवादी आधार क्षेत्रमा लामो समय बलियो पडक बनाएको माओवादी अहिले भने आफ्नो प्रभाव क्रमश: गुमाउँदै गएको छ ।

विशेषगरी रोल्पामा बलियो भनिएको माओवादीको पकड क्रमश: कमजोर हुँदै गइरहेको बताउँछन्, नागरिक समाज अगुवा खेम बुढा मगर । ‘माओवादीको पहिले जुन प्रभाव थियो, अब त्यो रहेन’ उनले भने, ‘लगातारको पार्टी फुट, माओवादीमा आएको वैचारिक विचलनले पार्टी हिजो जस्तो बलियो छैन ।’

यद्यपि युद्धमा आफन्ती, परिवार गुमाएका परिवारका कारण आजसम्म रोल्पा र रुकुममा माओवादीले चुनाव जित्दै आएको छ । तर यो शक्ति भित्रभित्र कमजोर भइरहेको उनी बताउँछन् । विगतमा माओवादीले पाउने मत क्रमश: घटिरहेको उनी बताउँछन् ।

प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए

कुनै समय २०६४ सालमा दांगको पाँचवटै निर्वाचन क्षेत्रमा जित निकालेको माओवादी हालको नेकपा अहिले जिल्लाको चौथो दल बन्ने स्थितिमा पुगेको छ । ‘पार्टी फुट्दै फुट्दै गएपछि नेता मात्र हैनन्, माओवादी समर्थक, शहीद परिवार, कार्यकर्ता सबै तितरवितर भए’ दांगका एक माओवादी नेता भन्छन्, ‘अहिले हाम्रो अस्तित्व नै नरहला कि भन्ने अवस्थामा आइपुगेका छौं ।’

खासगरी अहिले माओवादी नामको पार्टी नै रहेपछि युद्धको सेन्टिमेन्ट पनि गुम्दै गएको उनी बताउँछन् । भन्छन्, ‘माओवादी पार्टी नाम मात्र थिएन । योसँग युद्ध लडेका, शहीद, बेपत्ता, कार्यकर्ता सबैको भावनासँग जोडिएको थियो । अहिले पार्टी र चुनाव चिह्न नै नरहेको अवस्थामा माओवादी संकटको अवस्थामा पुगेको छ ।’

जबकि युद्धको रापतापबाट आएको माओवादीले २०६४ सालको निर्वाचनमा तत्कालीन मध्यपहाडी क्षेत्रका जिल्ला दांग, रुकुम, रोल्पा, सल्यानका सबै निर्वाचन क्षेत्रबाट एकमुष्ट जित निकालेको थियो । त्यही बलमा पहिलो निर्वाचनमा एकतिहाइ बहुमत प्राप्त गरेको माओवादी २०६४ सालपछि हरेक पटक जस्तो सत्तामा पुगेको थियो ।

फागुन २१ गतेको चुनावमा आधार क्षेत्रमा माओवादी विभिन्न पार्टी समूहमा विभाजित भएर लडिरहेको भए पनि जित भने कसैको नहुने रोल्पा थबांगका पुराना माओवादी नेता जयप्रकाश रोका बताउँछन् । ‘हामीमध्ये कसैले अंकगणितले चुनाव जितौंला’ उनले भने, ‘तर हामी हार्नेछौं । सारमा यो माओवादी आन्दोलनकै हार हुनेछ । पार्टी आन्दोलनलाई लत्याएर, आफ्नैलाई हराएर जित्नु पनि के जित ?’





Source link

Leave a Comment