प्रथम तिलौराकोट गोल्डकपको उपाधि हनामीलाई


प्रमुख दाबेदार नेपाल पुलिस क्लबलाई हराउँदै प्रथम तिलौराकोट गोल्डकपको उपाधि हनामी विएफसी चितवनले जितेको छ।

जिल्लामा फुटबल संघको आयोजनामा कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बुद्ध रंगशाला सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा हराउँदै विएफसीले सो उपाधि आफ्नो पोल्टोमा पारेको हो।

फाइनल खेल सुरु भएको ४ मिनेटमै विएफसीका सुजित बुढाथोकीले पेनाल्टी मार्फत गोल गर्दै हनामीलाई अग्रता दिलाए।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेट भित्रै पुलिसका अनुप लिम्बुले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समयमा थप गोल हुन नसके पछि खेल टाई ब्रेकर तर्फ धकेलिएको थियो।

टाई ब्रेकरमा पुलिस ४–३ गोल अन्तरले पराजित भयो। विएफसीका लागि राम शाही, सुजित बुढाथोकी, आशिस सुनाम र सागर लामाले गरे। मनिस तामाङको प्रहार भने पोस्ट बाहिर पुग्यो।

पुलिसका लागि अनुप लिम्बु, विवेक पाण्डे र शिशिर चौधरीले गोल गरे। पृथ्वी चौधरी र हेम तामाङ गोल गर्नबाट चुके। 

विजेता विएफसीलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपाधि ट्रफी प्रदान गरियो। उपविजेता पुलिसले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्‍यो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी विएफसीका सुजित बुढाथोकी घोषित भए। उनले १ लाख नगद प्राप्त गरे। यसैगरी पुलिसका विवेक पाण्डे उत्कृष्ट फरवार्ड र पृथ्वी चौधरीले उत्कृष्ट मिडफिल्डर बने।

विएफसीका भविन्द्र मल्ल उत्कृष्ट गोल किपर, अमृत श्रेष्ठ उत्कृष्ट रक्षक र धुव्र भुसाल उत्कृष्ट प्रशिक्षकको उपाधि पाए। सबैलाई जनही २५ हजार र उपाधिको ट्रफीले सम्मान गरिएको थियो।

उदीयमान खेलाडी आयोजक कपिलवस्तु ११ का मिल क्षेत्री बने। विजयी टोली र खेलाडीहरुलाई पूर्वमन्त्री सुरेन्द्रराज आचार्य, अखिल नेपाल फुटबल महासंघका उपाध्यक्ष दीर्घ बहादुर केसी, प्रदेश सदस्य बिष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर चक्र अर्यालले कप, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए।

कार्यक्रम संघका जिल्ला अध्यष तिलक बहादुर थापाको अध्यक्षतामा भएको थियो। तिलैराकोट गोल्ड कप लुम्बिनी प्रदेश मै सबै भन्दा बढी राशि भएको फुटबल प्रतियोगिता हो। प्रतियोगितामा ८ टोली सहभागी थिए।

प्रकाशित: २४ चैत्र २०८० २२:१८ शनिबार





Source link

Leave a Comment