प्रतिरक्षा प्रणालीको प्रतिरक्षा


कोरोनाकालमा केही मानिस भाइरसले संक्रमण गर्ने बित्तिकै मरे भने अधिकांशलाई रोगले केही समय थलायो अनि पछि तङ्ग्रिए। तर एउटा समूहलाई भने भाइरसले कुनै क्षति पुर्‍याउन सकेन, मानिस बिरामी पर्नुको बदला कोभिड नै पराजित भयो। उल्लिखित परिदृश्यले समाजमा भाइरसले छुनै नसक्ने, सूक्ष्माणुलाई खप्नै नसक्ने अनि लडेर रोगलाई पराजित गर्ने तिन पृथक् समूह देखियो। बाह्य संक्रमणसँग लड्ने सवालमा सबै मानव शरीर किन समान छैनन् ?

भाइरसलगायतका बाह्य संक्रमणबाट बचाउन हाम्रो शरीरमा सिपाहीरूपी २० खर्ब कोषसहितको प्रतिरक्षा प्रणाली क्रियाशील छ। सूक्ष्माणुको बाह्य संक्रमण अनि आन्तरिक प्रक्रियाबाट शरीरमा विकास हुने क्यान्सरलगायतका खराब तत्वलाई नास गरी हामीलाई स्वस्थ राख्नु ‘इम्युन सिस्टम’अन्तर्गतका कोषको कर्तव्य हो। शरीरभित्र ओखती कारखानाका रूपमा रहने प्रतिरक्षा प्रणाली सबल हुने हो भने व्यक्ति हतपती बिरामी पर्दैन भन्न सकिन्छ। तर, प्रतिरक्षा प्रणालीलाई उमेर, आहारविहार, आनुवंशिक पदार्थले प्रभाव पार्छ। पाको उमेर, अस्वस्थकर दैनिकी र आनुवंशिक कैफियतले प्रतिरक्षाप्रणाली निर्बल हुन्छ।

हामीलाई रोगबाट जोगाउन प्रतिरक्षा कोषहरूले शरीरको प्रत्येक अंगप्रत्यंगमा बसेर बाह्य आक्रमणको सम्भाव्यतालाई निरन्तर अनुगमन गर्छन्। आवश्यकताअनुसार सेनाले तालिममार्फत दक्षता चुस्त गरेझैँ बाह्य संक्रमणको अवस्थामा प्रतिरक्षा प्रणालीले मातहतका कोषहरूलाई आवश्यक परिमार्जन गर्छ। यसरी परिष्कृत कोषहरूमार्फत अतिक्रमणकारी शक्तिलाई निस्तेज पार्छ इम्युन सिस्टमले। ल्याबमा गरिने आविष्कारजस्तै प्रतिरक्षा प्रणालीमा पनि समयानुकूल अन्वेषण हुन्छ। अनि सबल प्रतिरक्षा प्रणाली बन्छ। नवीन भाइरसको संक्रमणपछि स्वास्थ्यमा सुधार हुनुको मतलब उक्त प्रजातिको सूक्ष्माणुको ओखती इम्युन सिस्टमले बनायो भन्ने हो।

धेरै प्रजातिका ब्याक्टेरिया, भाइरस र फंगीजस्ता सूक्ष्माणुहरू मानिसको शरीरमा कुनै पनि हानी नपुर्‍याईकन बस्छन्। तर, त्यही प्रजाति केही मानिसका लागि भने गम्भीर रोगको कारक पनि बन्न सक्छन्। सन् १९८० मा एक बच्चा बिरामी भएर लन्डनको अस्पतालमा भर्ना भयो। चिकित्सकीय परीक्षणले रोग निर्क्योल गर्न सकेन। सबै परीक्षण गर्दा बच्चामा ‘माइकोब्याक्टेरियम’ संक्रमणबाहेक कुनै पनि समस्या देखिएन। ब्याक्टेरिया परिवारमा पर्ने ‘माइकोब्याक्टेरियम’ पानी तथा जमिनमा सर्वत्र पाइने भएकाले संसारका सबै मानिसले यसको सामना गर्छन्। यो सूक्ष्माणुले कुनै लक्षण नदेखाउने, बिरामी पनि नहुने भएकाले विज्ञको ध्यान त्यता गएन।

अस्पतालको प्रयास खेर गयो, अन्त्यमा बालक मर्‍यो। त्यसको केही वर्षपछि दुई व्यक्ति ‘माइकोब्याक्टेरियम’कै संक्रमणबाट सिकिस्त बिरामी परे। थप अन्वेषण गर्दा यस पटकका बिरामीहरू पनि संयोगले पछिल्लो समय मृत्युवरण गर्न पुगेकै परिवारको सदस्य पाइए। एकै वंशका मानिसहरू सामान्य सूक्ष्माणुको संक्रमणबाट सिकित्सक हुनुमा वंशाणुगत कारणभन्दा अन्य हुन नसक्ने ठहरसहित थप अन्वेषण भयो। बिरामीको उपचारमा संलग्न इम्पेरियल कलेज लन्डनका चिकित्सक माइकल लेभिनलगायतका अनुसन्धान समूहले सन् १९९६ मा ‘इन्टरफेरोन रिसेप्टर’ जिनमा कैफियत आउँदा व्यक्तिको प्रतिरक्षा प्रणालीमा खराबी आउने बेहोराको रिसर्च प्रकाशित गरे ‘द न्यु इंगल्यान्ड जर्नल अफ मेडिकल साइन्स’मा।

‘इन्टरफेरोन रिसेप्टर’ जिनमा पुर्खाबाट नै खराबी आएकाले संसारलाई कुनै क्षति नपुर्‍याउने ‘माइकोब्याक्टेरियम’ एउटा वंशका लागि घातक भएको पुष्टि भयो। उल्लिखित अनुसन्धानले हजारौँ जिन भएको मानवमा केवल एउटा जिनमा खराबी आउँदा व्यक्तिको स्वास्थ्य कति कोमल बन्छ भन्ने कुरा मात्र बताएन, बरु नवीन रोगको कारक पहिल्याउन आयुर्विज्ञानले दशकौं मेहनत गर्नुपर्ने देखायो।

‘जर्नल अफ ह्युमन इम्युनोलोजी’मा गत वर्ष प्रकाशित एक रिपोर्टले मानव शरीरमा रहेका झन्डै २५ हजारमध्ये पाँच सय आठ जिन हाम्रो प्रतिरक्षा प्रणालीसँग सम्बन्धित छन्। यद्यपि सबै जिनले इन्टरफेरोनजस्तो एउटै कैफियतबाट व्यक्ति अशक्त हुँदैन। तर, प्रतिरक्षा प्रणालीसँग सम्बन्धित जिनहरूको समूहमा आएको कैफियतले व्यक्तिको बाह्य संक्रमणबाट जोगिने क्षमता घट्दै जान्छ। सन् २०२३ मा बेलायतको युनिभर्सिटी अफ एडिनबर्गका प्राध्यापक जे केनिथ बेलीले कोभिडका कारण सिकिस्त भएर अस्पताल भर्ना भएका रोगीको आनुवंशिक अध्ययनमार्फत दश किसिमका जिनमा आएको खराबीले कोरोनाका रोगीको अवस्था अति नाजुक बनाएको बेहोरा जर्नल नेचरमा प्रकाशित गरे। जिनको खराबीले कसरी व्यक्तिको स्वास्थ्य कोमल बन्छ भन्ने देखाए प्राध्यापक बेलीले।

कहिलेकाहीँ जिनमा आउने परिवर्तनले विपरीत परिणाम पनि दिन्छ। केही आनुवंशिक विकृतिपछि इम्युन सिस्टम अझ बढी सक्रिय हुन्छ। त्यस्तो अवस्थामा प्रतिरक्षा कोषहरू एक अर्कासँग झगडा गर्छन् अनि व्यक्ति रोगी बन्छ। प्रतिरक्षा प्रणालीका जिनमा खराबी आई इम्युन कोषहरू अत्यधिक सक्रिय भएको खण्डमा आफ्नै शरीरका अंगलाई पनि बाह्य दुस्मन सम्झी आक्रमण गर्न सक्छ। त्यस्तो अवस्थामा ओखतीमार्फत जिनलाई सुषुप्त बनाउनुपर्छ। तसर्थ, इम्युन कोषहरू अति क्रियाशील र सुस्त बन्दाका दुवै अवस्थामा हामी रोगी बन्छौँ।

हामीलाई स्वस्थ राख्न शरीरमा दुई किसिमका प्रतिरक्षा प्रणाली क्रियाशील हुन्छन्– ‘जन्मजात (इन्नेट) र परिवर्तनशील (एडप्टिभ) पद्धति। जन्मँदादेखि नै कायम रहेको संयन्त्रलाई जन्मजात प्रतिरक्षा प्रणाली भनिन्छ भने हुर्कँदै बढ्दै जाँदा विकास हुने रक्षा शक्तिलाई परिवर्तनशील प्रतिरक्षा प्रणाली भनिन्छ। बच्चा आमाको कोखबाट जन्मँदा वातावरणीय संक्रमणबाट जोगाउन शिशुमा जन्मजात प्रतिरक्षा प्रणाली क्रियाशील हुन्छ। उक्त रक्षा कबजले नवजात बच्चालाई सामान्य संक्रमणबाट मात्र जोगाउन सक्छ। तर, जटिल किसिमको जीवाणुले आक्रमण गरेका खण्डमा जन्मजात प्रतिरक्षा प्रणाली असफल हुन्छ, बच्चा बिरामी हुन्छ। जब जीवाणुको संक्रमणबाट बच्चालाई जन्मजात रक्षा प्रणालीले सन्चो पार्न असमर्थ हुन्छ तब परिवर्तनशील प्रतिरक्षा प्रणालीको दायित्व सुरु हुन्छ। त्यसैले बढ्दो क्रममा जस्ता किसिमका कीटाणुले मानिसलाई संक्रमण गर्छ, शरीरमा त्यस्तै प्रकृतिका परिवर्तनशील रक्षा संयन्त्रको विकास हुन्छ।

व्यक्तिको परिवर्तनशील प्रतिरक्षा प्रणालीलाई वातावरणले प्रभाव पार्ने भएकाले भिन्न स्थान र परिवेशमा हुर्किएको मानिसको एडप्टिभ इम्युन सिस्टम फरक फरक हुन्छन्। वातावरणले निर्देशित गर्ने भएकाले फरक परिवेश भएको विदेशमा जन्मिएको बच्चा नेपाल आउँदा बिरामी पर्न सक्छ। स्वदेश आएपछि काठमाडौंको सूक्ष्माणु र धुलो धुवाले प्रारम्भमा बिरामी पर्छ। रोगसँग सामना गरेपछि शिशुको इम्युनसिस्टम सशक्त बन्छ, रोगलाई जित्छ। धेरै पृष्ठभूमिका मानिससँगको संगतपछि व्यक्ति चतुर भयझैँ धेरै किसिमका जीवाणुसँगको संसर्गले इम्युन सिस्टम मजबुत बन्छ।

धेरैलाई लाग्छ, किटाणुरहित अस्पतालमा जन्मिएको बच्चा अधिक स्वस्थ हुन्छ। तर यथार्थमा त्यसो हुँदैन। घरमा जन्मिएको शिशु अस्पतालमा जन्मिएको बालकभन्दा हृष्टपुष्ट हुन्छ। घरमा जन्मिएको बच्चाले बाहिर आउने बित्तिकै वातावरणीय सूक्ष्माणुसँग संसर्ग गर्छ। अनि जीवाणुसँग बच्नका लागि बच्चाले तत्कालै तदनुरूपको प्रतिरक्षा प्रणालीको विकास गर्छ। प्रतिरक्षा प्रणाली थप मजबुत हुने भएकाले जीवनको उत्तरार्धमा समेत उनीहरू बढी स्वस्थ हुन्छन्। सर्जरी गरेर जन्मिएको बच्चाभन्दा सामान्य प्रक्रियाबाट गाउँमा जन्मिएको शिशुको प्रतिरक्षा प्रणाली थप सबल हुन्छ।

प्रतिरक्षा प्रणालीलाई कसरी सबलीकरण गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर त्यति सहज देखिन्न। तथापि भिन्न चरण र परिस्थितिमा भएका अनुसन्धानले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने आधार भने दियो। क्षणिक तनावले मानिसलाई ऊर्जा दिने गरेको देखियो भने लामो तनावले प्रतिरक्षा प्रणाली कमजोर भएको पाइयो। अरूलाई गरिने माया र आफूले पाउने स्नेह तथा स्तरीय साथीभाइसँगको अन्तरक्रियाले इम्युन सिस्टमलाई मजबुत बनाउने मात्र होइन, बरु मानिसको वृद्धावस्था सुखीपूर्वक बित्ने यथार्थ हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धानले देखायो। ठुलो आवाज निकालेर हाँस्दा, पर्याप्त सुताइ तथा शारीरिक व्यायामले समेत प्रतिरक्षा प्रणाली मजबुत हुने गरेको पाइयो।

अनि बेसार, अदुवालगायतका जडीबुटी अनि हरियो सागपात, गाजर, आँपजस्ता रंगीचंगी खान्की भाइरस नियन्त्रणमा फाइदा कारक देखियो। विगतको दुःख स्मरण गर्नुभन्दा सम्भाव्य सुखद भविष्यको कल्पनामा रमी प्रसन्न रहँदा इम्युन सिस्टम दह्रो भएको पाइयो। रक्सी तथा चुरोटको सेवनले प्रतिरक्षा प्रणाली निर्बल हुने भएकाले धूमपान तथा मद्यपान त्याग्न सल्लाह दिन्छन् विज्ञहरू। जन्मने बित्तिकै धुलोमा खेल्ने, जनावरहरूसँग रमाउने व्यक्तिको पछिल्लो समय ‘एलर्जी’ले नसताउनका अतिरिक्त इम्युन सिस्टम मजबुत हुने देखियो। इम्युन सिस्टम सशक्त भए रोगले समाउने सम्भाव्य न्यून हुने भएकाले चिकित्सक भेट्ने सोचभन्दा प्रतिरक्षा प्रणालीको सबलीकरणमा ध्यान दिन आवश्यक देखियो। 

प्रकाशित: २० माघ २०८२ ११:३६ मंगलबार





Source link

Leave a Comment