प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

पोर्चुगलमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले लामो समयदेखि भोग्दै आएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी समस्या समाधानका लागि नेपाली राजदूतावासले महत्त्वपूर्ण कदम चालेको छ।
यसैक्रममा आज पोर्चुगल सरकारको यातायात तथा परिवहन संस्थान (आईएमटी) को कार्यालयमा उच्चस्तरीय शिष्टाचार भेट तथा छलफल सम्पन्न भएको छ।
उक्त भेटवार्तामा नेपाली राजदूतावासका नियोग उपप्रमुख शत्रुध्वन पोखरेल र यातायात तथा परिवहन संस्थानको सवारी चालक अनुमतिपत्र सेवा विभागकी निर्देशक सुसाना पाउलिनोबीच सौहार्दपूर्ण वातावरणमा विस्तृत कुराकानी भएको राजदूतावासले जनाएको छ। छलफलमा राजदूतावासका प्रथम सचिव रामबाबु नेपालको पनि उपस्थिति रहेको थियो।
पोर्चुगलमा रहेका नेपाली समुदायले ड्राइभिङ लाइसेन्स प्राप्ति तथा नवीकरणका क्रममा विभिन्न प्राविधिक र प्रशासनिक जटिलताहरूको सामना गर्दै आएका छन्।
यस भेटघाटले यी समस्याहरूको व्यावहारिक समाधान खोज्ने र नेपाली नागरिकहरूलाई सहज बनाउने विषयमा महत्त्वपूर्ण सहमति जुटेको बताइएको छ। राजदूतावासले यस पहललाई निरन्तरता दिँदै सम्बन्धित पक्षसँग थप समन्वय गर्ने योजना बनाएको छ।