पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: दिगो संचालनका लागि पर्यटन क्षेत्रको भूमिका के ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: दिगो संचालनका लागि पर्यटन क्षेत्रको भूमिका के ?


पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्नेगरि सरकारले ती विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिलाई विशेष किसिमको सहुलियत दिने निर्णय गर्यो। सरकारी निर्णयसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालनमा आउनेमा समग्र गण्डकी प्रदेश आशावादी छ।  

संचालनमा आएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्र निराश थियो। सन् २०२३ को जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपनि अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ।

सरकारले अन्तर्राष्ट्रिय विमानस्थल संचालनलाई सहजीकरण गर्न हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ। त्यस्तै हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट, ग्राउन्ड ह्यान्डलिङ, पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त अवधिभर छुट दिने निर्णय गरिसकेको छ। सरकारको सहुलियत २०८३ भदौसम्म लागु हुने भएकोले पोखरामा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउनेमा व्यावसायी विश्वस्त छन्।  

सरकारले विमानस्थलको दीर्घकालिन संचालनलाई सहज हुनेगरि छुटको प्याकेज घोषणा त गर्यो। तर, सरकारको घोषणाले मात्र विमानस्थल संचालनमा सहज नहुने र त्यसमा प्रदेश सरकार र पर्यटन क्षेत्रको पनि उत्तिकै भूमिका हुने जानकारहरुको भनाई छ। गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा भन्छन्, ‘संघीय सरकारले विमानस्थल संचालनका लागि घोषणा गरेको प्याकेजलाई आधार मानेर प्रदेश सरकारले सहजीकरणको भूमिका खेल्नेछ। त्यसबाहेक पर्यटन क्षेत्रले पनि भूमिका निभाउनुपर्छ।’ उनका अनुसार निजी क्षेत्रले पाहुनालाई आतिथ्यता दिँदा निकै नै ख्याल गर्नुपर्ने अवस्था छ। त्यसबाहेक पर्यटकलाई दिने सेवा सुविधामा कन्जुस्याँई गर्न नहुने उनको सुझाव छ।  

‘अब निजी क्षेत्रले ढिला गर्नु हुँदैन। किनभने अहिले पर्यटनमा केही समस्या छन्। ती समस्या समाधानका लागि तत्काल पहल गर्नुपर्छ। त्यसका लागि पर्यटन क्षेत्रले एकीकृत रुपमा हातमा हात मिलाएर काम गर्नुपर्छ,’ देवकोटाले भने, ‘पर्यटकलाई पोखरा आउने वातावरण बनाउनमा व्यावसायीको मुख्य भूमिका रहन्छ।’ पर्यटकलाई पोखरा आउँदा कुनै समस्या नपरोस भनेर व्यावसायीले सोचेर अहिले नै तयारी गर्नुपर्ने उनले बताए।  

दीर्घकालिन लाभ हेरेर व्यावसायीले तयारी गर्नुपर्ने उनले बताए। देवकोटाका अनुसार व्यावसायीले अहिले नै पर्यटकलाई दिने प्याकेज बनाउन थालिहाल्नुपर्छ। किनकी पर्यटकीय सिजन सुरु हुनै थालेको छ। त्यसबाहेक पोखरा भित्रिने पर्यटकलाई कुनै कुराको अभाव महसुस नहुनेगरि तयारी थाल्नुपर्छ। त्यत्ति मात्र नभई बजारीकरणमा पनि व्यावसायीको भूमिका रहन्छ। अन्तर्राष्ट्रिय बजारमा बजारीकरणका लागि तयारी थाल्न देवकोटाको सुझाव छ। ‘प्रर्वद्धनात्मक गतिविधिमा प्रदेश सरकारसँग सहकार्य गर्नुपर्छ। त्यसका लागि निजी क्षेत्रबीच एकता चाहिन्छ। जे जति काम गरिन्छ, ती सबै संस्थागत हुनुपर्छ,’ उनले भने, ‘तिनवटै तहका सरकारसँग सहकार्य गरेमा पर्यटन क्षेत्रले लाभ लिन्छ।’  

पोखरालाई सरकारले नै पर्यटकीय राजधानी घोषणा गरिसकेकोले पर्यटनले मात्र लाभ लिने नभई सरकारले पनि लाभ पाउनुपर्ने उनले बताए। ‘पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले सघाउँछ, भित्रिएका पर्यटनबाट प्रदेश सरकारले पनि लाभ पाउनुपर्छ, व्यावसायीले मात्र लाभ लिने भन्ने हुनु हुँदैन,’ उनले भने। देवकोटाका अनुसार पर्यटकलाई पोखरासम्म ओर्लिन सरकारले सहजीकरण गरेको बेलामा ओर्लेका पाहुनालाई सन्तुष्ट बनाउने जिम्मा व्यावसायीको हो।  

‘पाहुनालाई खुसी पनि बनाउनुपर्छ, ती पाहुनालाई फरक प्याकेज बनाएर घुमाउनका लागि डाँडाकाँडा उकाल्ने काम व्यावसायीले गर्नुपर्छ,’ उनले भने, ‘सबै काम सरकारले गर्ने होईन। सरकारले वातावरण बनाइदिने हो, आएका पाहुनाको प्रत्यक्ष लाभ व्यावसायीले पाउने भएकोले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक पर्छ।’ एक–दुइवर्षको लाभ हेरेर भन्दा दीर्घकालिन फाइदाका लागि व्यावसायीको भूमिका निभाउनुपर्ने उनले बताए।  

आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पर्यटनका अर्का जानकार श्रीकान्त शर्मा खतिवडा अन्तर्राष्ट्रिय हवाई कम्पनिले यात्रु अभावमा पोखरामा उडान संचालन गर्न अहिलेसम्म आनाकानी गरेको अवस्थामा सरकारले आर्थिक क्षेत्रमा केही सहज हुनेगरि प्याकेज दिएकोले भविश्यमा उडान संचालन गर्न सक्ने सम्भावना देखिएपनि व्यावसायिक सम्भावना कमजोर भएमा पुन फिर्ता हुन सक्ने भएकोले त्यसतर्फ ध्यान दिएर योजना बनाउनुपर्ने सुझाउँछन्।  

‘व्यावसायमा कमजोर देखिएमा हवाई कम्पनि पोखरा आउँदैनन्। किनकी काठमाडौंबाट अहिलेसम्म सबैखालका यात्रु थिए। तर, पोखराबाट नितान्त पर्यटक मात्र हुन्,’ खतिवडाले भने, ‘काठमाडौंबाट विद्यार्थी, पर्यटक, कुटनीतिक नियोगका पदाधिकारी, बैदेशिक रोजगारीमा जाने जस्ता श्रमिकलाई यात्रुको रुपमा पाएका थिए। तर, पोखरामा ती सबै खालका यात्रु नहुन सक्छन। त्यसैले पर्यटनलाई नै जोड दिनुपर्छ।’  

अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि मुख्य पर्यटकीय क्षेत्र लेकसाइसम्मको करिब ६ किलोमिटर पहुँच निकै नै अस्तव्यस्त छ। यो दूरी पार गर्न आधाघण्टा जति समय लाग्छ। तसर्थ साच्चै अन्तर्राष्ट्रिय उडान संचालन गर्ने हो भने विमानस्थल र होटलसम्मको पहुँचलाई तत्काल सहजीकरण गर्नुपर्छ। त्यसका लागि प्रदेश सरकार र पोखरा महानगरको भूमिका रहने उनले बताए। ‘अहिले त विमानस्थलदेखि लेकसाइडसम्म आउनै कठिन छ। पहुँचमा समस्या हुँदा राम्रो सन्देश जाँदैन। विमानस्थलसम्मको कमजोर सडक पहुँचलाई तत्काल सुधार गर्नुपर्छ,’ उनले भने।  

त्यसबाहेक अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न निजी क्षेत्रले तत्काल कदम चाल्नुपर्ने उनको सुझाव छ। ‘निजी क्षेत्रले अन्तर्राष्ट्रिय पर्यटन बजारमा गएर व्यावसायिक भूमिका निभाउनुपर्छ। हवाई कम्पनि र पर्यटन क्षेत्र मिलेर पोखरा घुम्न आउने पाहुनाका लागि प्याकेज बनाउनुपर्छ,’ उनले भने। पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) को गन्तव्यको रुपमा पहिचान दिलाउन प्रयास गरेमा विमानस्थलको उडान नियमित गर्न सहज हुने उनले बताए।  

‘इभेन्ट बेस पर्यटनमा ध्यान दिने हो भने गुणस्तरका पाहुना आउनेछन। पोखरा माइस पर्यटनका लागि अब्बल ठाउँ हो। अहिले अन्तर्राष्ट्रियस्तरका सभासम्मेलन गर्नुपरेको खण्डमा पूर्वाधार छैनन्। त्यसैले निजी क्षेत्र मिलेर त्यस्ता गतिविधि गर्नका लागि पूर्वाधार थप्नुपर्छ,’ उनले भने। प्रदेश सरकार र महानगर मिलेर ठुला गोष्ठि र सभासम्मेलन गर्ने खालका र हजारौं पाहुना अटाउन सक्ने पूर्वाधार बनाउने हो भने पाहुना भित्र्याउन सकिने उनले बताए।  सरकारले दिएको भनेर मात्र नभई व्यावसायीले पनि प्याकेज बनाएर पाहुनालाई तान्नुपर्ने उनले सुझाए। 

‘सरकारले छुट दियो जहाज आउँछन भनेर बस्ने हो भने दुइमहिनापछि उडान बन्द हुनेछन्। त्यसैले दिगो बनाउने हो भने बजारीकरण र प्याकेजमा ढिला गर्न हुँदैन,’ उनले भने, ‘पोखरा नयाँ सेक्टर भएकोले पोखरासम्म उडान गर्दा हवाई कम्पनिले पनि एकपटक सोच्नेछन्। यात्रु अभावको अनुभूत गर्न दिनुभएन।’ 

शिक्षा, स्वास्थ्य र खेलकुदका पूर्वाधार बनाएर विद्यार्थी, उपचारका लागि आउने बिरामी र खेल्न आउने खेलाडीलाई पोखरासम्म तान्न सक्ने हो भने पनि अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन सहज हुने उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालनका लागि प्रदेश सरकार, महानगरपालिका र पर्यटन क्षेत्रको पनि भूमिका उत्तिकै रहने बताउँछन्। ‘हामीले केही समयभित्रै विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनिका पदाधिकारी र टुर अपरेटर्सलाई पोखरा ल्याएर छलफल चलाउँदैछौ। पोखराबारेको उनीहरुको अप्ठेरो बुुझेर निजी क्षेत्रले कदम चाल्नुपर्छ,’ श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धनदेखि पाहुना तान्नेगरि आकर्षक प्याकेज बनाउने जिम्मा पर्यटन क्षेत्रको रहन्छ। पर्यटन क्षेत्र त्यसप्रति सजग पनि छ।’

नेपालमा पाहुना भित्रिने मुख्य गन्तव्य मुलुक पहिचान गरेर ती मुलुकमा प्रवद्र्धनात्मक गतिविधि चलाउनुपर्ने उनले बताए। ‘नयाँ तरिकाले प्याकेज बनाएर पाहुनालाई पोखरा तान्नुपर्छ। त्यसका लागि बजारीकरण महत्वपूर्ण हुन्छ। त्यसमा निजी क्षेत्र अग्रसर हुनुपर्छ,’ उनले भने, ‘पूर्वाधार बिस्तार, पहुँचमा सहजीकरणमा स्थानीय र प्रदेश सरकारले भूमिका निभाउनुपर्छ। अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्न पनि प्रदेश र स्थानीय तहको सरकारको भूमिका रहनेछ।’  

प्रकाशित: ३ भाद्र २०८१ १८:३२ सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School