पोखरामा तुवाँलोको प्रभाव: ‘कनेक्टिङ फ्लाइट’ भेट्न रात्रीबसमै फर्किए विदेशी पाहुना

पोखरामा तुवाँलोको प्रभाव: ‘कनेक्टिङ फ्लाइट’ भेट्न रात्रीबसमै फर्किए विदेशी पाहुना


शुक्रबारका लागि होटल बाराहीका १२ वटा कोठा बुकिङ गरेका विदेशी पाहुना मध्यरातमा मात्रै पोखरा आइपुगे। हवाईजहाजमा दिउँसै पोखरा आउनेगरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ती पाहुना पोखराका लागि जहाज नउडेपछि गाडीमा हिँडे। उनीहरु पोखरा आइपुग्दा मध्यरात भइसकेको थियो।  

त्यस्तै बाराहीमै बास बसेका पाहुना पनि शुक्रबार काठमाडौं जान सकेनन्। काठमाडौं जानेगरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका ती पाहुना शुक्रबार कुनैपनि उडान नभएपछि विमानस्थलमा चार घण्टा बिताएर होटल फर्केका थिए। तिनै पाहुना शनिबार बिहानै गाडीमा काठमाडौं गए।  

त्यत्ति मात्र नभई बाराहीमै बास बसेका केही विदेशी पाहुना त शुक्रबार पोखराबाट कुनैपनि उडान नभएपछि रात्रि बसमा काठमाडौं गए। किनकि शनिबार ती विदेशीको काठमाडौंबाट अर्को गन्तव्यका लागि ‘कनेक्टिङ फ्लाइट’ थियो। कनेक्टिङ फ्लाइट भेट्नुपर्ने हतारमा रहेका पाहुना पोखराबाट उडान नभएपछि रात्रीबसमै भएपनि काठमाडौं हिँडेका थिए।  

पोखराको अर्को एक चल्तीको एउटा लजका ११ वटा कोठाका पाहुना शुक्रबार पोखरा आउनै सकेनन्। शुक्रबारका लागि बुकिङ गरेका उनीहरु जहाज नउडेपछि काठमाडौंमै रोकिएका थिए। शनिबार बल्ल ती पाहुना स्थलमार्ग हुँदै पोखरा आएको लजले बताएको छ। पाहुना नआएपछि लजले कोठा नै खालि राख्नुपरेको थियो।

बाक्लो तुवाँलोले घेरिएको पोखरामा हवाई उडानमा अवरोध आउँदा घुम्न आएका र आउन थालेका विदेशी पाहुनाले पाएको दुखका केही उदाहरण मात्र हुन्। पछिल्लो समय पोखरालाई बाक्लो तुवाँलोले ढाकेको छ।

त्यसले गर्दा यहाँको हवाई सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ। शुक्रबार पोखराबाट उडेर दुई वटा जहाज काठमाडौं फर्केपनि त्यसपछि कुनैपनि जहाज पोखरा आउन सकेनन्।

‘तुवाँलोका कारण पर्यटकले खेप्नुपरेको सास्तीको कुनै लेखाजोखा नै छैन। जसोतसो आएका पाहुना पनि केही दृश्य हेर्न नपाएको भनेर दुखी हुने गरेका छन्,’ उक्त लजका म्यानेजरले भने, ‘पाहुना नआउँदा कोठा नै खालि रहन्छन्। दोहोरो बुकिङ गर्न पनि मिलेन।’

 ती म्यानेजनरले पाहुना आउने टुङ्गो नहुँदा अन्योल बढेको बताए। ‘बुकिङ गरेका पाहुना कुन बेला आउने भन्ने नै यकिन छैन। दिनभर विमानस्थलमा कुरेर राती अबेर गाडी खोजेर यात्रा गर्नुपर्ने बाध्यतामा उनीहरु छन्। कतिपयले त पोखरा नै नआउने गरि बुकिङ रद्द पनि गरिसकेका छन्,’ उनले भने।  

यति बेला काठमाडौँ–पोखरा रुटमा बुद्ध एयरले दिनमा १७ वटा उडान गरिरहेको छ। त्यस्तै बुद्धले पोखराबाट भरतपुर, भैरहवा र नेपालगन्ज पनि उडान गरिरहेको छ।

त्यसबाहेक यती एयरलाइन्सले पनि यति बेला काठमाडौँ–पोखरा रुटमा दिनमा १० वटा उडान गरिरहेको छ। शुक्रबार ती सबै उडान रद्द भएका थिए। पोखरामा रात्रि बिसान गरेका बुद्ध र यतीका दुई वटा जहाज शुक्रबार बिहानै पोखराबाट उडेर काठमाडौं जाने बाहेक दिनभर जहाज पोखरा आउन सकेनन्। शनिबार पनि उडान प्रभावित बने। शनिबार पनि विमानस्थल खुल्नै सकेन।  

‘तुवाँलोले उडान अवरोध हुँदा पाहुनाले साह्रै दुख पाएका छन्। आएका पाहुना पनि खुसी छैनन्,’ बाराहीका महाप्रबन्धक राजकुमार केसी भन्छन्, ‘पाहुनाको यात्रा पनि अनिश्चित बनेको छ। दिनभर विमानस्थल कुर्ने र फर्किनुपर्ने बाध्यता आएको छ।’ आएका पाहुना पनि सबैतिर तुवाँलोले ढाक्दा खुसी छैनन्।

‘पोखरामा एकसाता बसेका पाहुनाले कुनैपनि दृश्य देख्न पाएनन्,’ केसीले भने, ‘किनकि तुवाँलोले हिमाल नदेखिएको एक महिना हुन थालिसकेको छ।’ तोकिएको समयमा उडान नहुँदा सबैभन्दा बढी तनाव कनेक्टिङ फ्लाइट हुनेलाई आइपर्ने उनले बताए।  

अर्का पर्यटन व्यावसायी दोर्जे लामाले आएका पाहुना पनि बसाई अवधि छोट्याएर फर्किन थालेको बताउँछन्। पोखरामा बस्दा तुवाँलोले गर्दा स्वास्थ्यमा असर पारेको र कुनै पनि दृश्य देख्न नपाएको भन्दै पाहुना बिचैमा फर्किन थालेका छन्।

‘सिजनको बेला भएकोले पाहुना आगमनमा केही सुधार थियो। तर, पाहुना नै पोखरा आउन सक्ने अवस्था रहेन। बुकिङ भएपनि पाहुना आउन सक्छन् वा सक्दैनन् भन्ने यकिन छैन,’ उनले भने। उनका अनुसार चारवटा कोठामा बसेका पाहुना बसाई अवधि बिचैमा घटाएर फर्केका थिए।  

‘नेपाल आउने निर्णय गर्नु नै गलत पो भयो की भन्ने दुखेसो पाहुनाको हुने गरेको छ,’ उनले भने, ‘सबैतिर तुवाँलोले ढाकेपछि हेर्ने केही छैन। त्यसैले पोखरामा बस्नु र नबस्नुको अर्थ नरहेको भन्दै पाहुनाले बसाई छोट्याएका छन्।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी महाप्रबन्धक नविना कर्माचार्यले भिजिबिलिटी अपुग हुँदा उडान खुल्न नसकेको बताइन। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी एक हजार मिटरसम्म झर्ने गरेको छ।

पोखरामा जहाज आउन कम्तीमा ३७ सय मिटर भिजिबिलिटी चाहिन्छ। पोखराबाट जहाज उड्नका लागि भने १६ सय मिटरको भिजिबिलिटी भए पुग्छ।  

‘पर्याप्त भिजिबिलिटी नभए पनि उडान खुल्न सकेको छैन। बिहीबार राती पोखरामा बास बसेका २ वटा जहाज शुक्रबार बिहान उडेर काठमाडौं गएको बाहेक कुनै पनि जहाज पोखरा आउन सकेका छैनन्,’ कर्माचार्यले भनिन, ‘पोखरामा रात्रीविसान गरेका दुई वटा जहाज शुक्रबार बिहान उडेर काठमाडौं गएका हुन। त्यसपछि काठमाडौंबाट कुनै पनि जहाज पोखरा आउन सकेनन्।’  

विमानस्थलको शुक्रबारको भिजिबिलिटी २ हजार मिटर थियो। शनिबार झनै घटेर एक हजार मिटरमा झरेको उनले बताइन। ‘उडान नभएपछि यात्रु व्यवस्थापन गर्न पनि समस्या परेको छ,’ उनले भनिन। तोकिएको समयमा उडान नभएपछि यात्रुले टिकट क्यान्सिल गरेर गाडीमा काठमाडौं गइरहेको उनले बताइन। उडान संचालन नहुँदा हवाई कम्पनी, विमानस्थल, पर्यटन क्षेत्रलाई समेत आर्थिक मार पर्ने उनले बताइन।

‘पाहुनाको आउजाउ नहुँदा त्यसको मार सर्वत्र पर्छ। हवाई कम्पनीले यात्रु गुमाउँछन्। व्यावसायीले पर्यटक पाउँदैनन्। विमानस्थलले पनि आम्दानी गुमाउँछ,’ उनले भनिन, ‘अहिलेको तुवाँलो नहटेसम्म उडानको सुनिश्चित गर्न कठिन छ।’

 उडान नभएपछि यात्रुहरू धमाधम गाडी रिजर्भ गरेर काठमाडौं जान थालेको उनले बताइन। ‘शुक्रबारदेखि उडान नभएकोले यात्रुले पनि कुर्न चाहेनन्। तोकिएको समय घर्किएपछि पर्यटकले विकल्प सोच्न थालेका छन्,’ उनले भनिन, ‘उडान कुर्ने पर्यटकको भीडका कारण व्यवस्थापनमा पनि समस्या आउँछ।’

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले बाक्लो तुवाँलोले गर्दा हवाई उडान प्रभावित भएको र त्यसको मार पर्यटकले खेप्नुपरेको बताए। ‘शनिबार पोखरामा घुमघाम गर्नेगरि शुक्रबार पोखरा आउने तयारीमा रहेका आन्तरिक र अरु विदेशी पाहुना हवाईजहाज नउडेपछि आउन सकेनन्।

विदेशी पाहुनाले निकै नै कम समय लिएर घुम्न आएका हुन्छन, तर, जहाज कुर्दै विमानस्थलमा बस्नुपर्दा त्यो यात्रा पीडादायी हुने गर्छ,’ उनले भने, ‘आएका पाहुना पनि बसाई अवधि नै पुरा नगरी बीचैमा छाडेर पनि जाने गरेका छन्।’ तुवाँलोले कतै नदेखिँदा घुमघामका लागि आएका पाहुना पनि खुसी नभएको उनले बताए।

प्रकाशित: १५ वैशाख २०८१ १४:५५ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School