प्रकाशित मिति : असार २३, २०८२ सोमबार
पूर्व रूसी यातायात मन्त्री रोमन स्तारोभोइत मृत फेला परेका छन । रूसको अनुसन्धान समिति अनुसार पूर्व यातायात मन्त्री रोमन स्तारोभोइत आफ्नै बन्दुकको गोली लागेर मृत अवस्थामा फेला परेका हुन । प्रारम्भिक रूपमा यो आत्महत्या भएको अनुमान गरिएको छ ।
उनी राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट बर्खास्त गरेकै दिन मृत भेटिएका हुन । उनको बर्खास्तीको कारण खुलाइएको छैन।
उनीसँगै यातायात मन्त्रालयको जिम्मेवारी अब उप–मन्त्री आन्द्रेई निकितिनलाई दिइएको छ। अनुसन्धान समिति अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
स्तारोभोइतलाई सन् २०२४ को मे महिनामा यातायात मन्त्री नियुक्त गरिएको थियो । त्यसअघि उनी करिब ६ वर्षसम्म कुर्स्क क्षेत्रका गभर्नर थिए । तर सन् २०२४ को अगस्टमा युक्रेनी सेनाले कुर्स्कको केही हिस्सा नियन्त्रणमा लिएको थियो ।
रुसी सेनाले हालै मात्र उक्त क्षेत्र पुनः कब्जा गरेको भए पनि, जुन अन्त्यसम्म पनि युक्रेनी पक्षले अझै केही भूभाग नियन्त्रणमा रहेको दाबी गरेको छ।
स्तारोभोइतपछि कुर्स्क क्षेत्रको नेतृत्व सम्हालेका आलेक्सी स्मिरनोभ भने छोटो समयमै पदमा रहे।
उनलाई सन् २०२५ को अप्रिलमा पक्राउ गरिएको थियो । युक्रेनसँगको सिमानामा किल्ला निर्माणका लागि छुट्याइएको रकम दुरुपयोग गरेको अभियोग उनीमाथि लगाइएको थियो ।
रुसी सञ्चार माध्यम कोमर्सान्तका अनुसार स्तारोभोइत पनि सोही भ्रष्टाचार मामिलामा अभियुक्त बनाइने तयारीमा थिए।
स्तारोभोइतको मृत्यु सार्वजनिक हुनु अघि नै पत्रकारहरूले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभसँग राष्ट्रपति पुटिनले स्तारोभोइतप्रति विश्वास गुमाएका हुन् त भन्ने प्रश्न गरेका थिए ।
जवाफमा पेस्कोभले भने, “विश्वास गुमाएको भए मात्र त्यसबारे उल्लेख गरिन्छ । राष्ट्रपति आदेशमा यस्तो कुनै कुरा उल्लेख गरिएको छैन।”



