सानोमा सामाजिक शिक्षा पढ्दा पृथ्वीको आकार यस्तो हुन्छ भनेर ग्लोब देखेको थिएँ । त्यही ग्लोबको पिंधमा थियो अन्टार्टिका । त्यहाँ कसरी मानिस अडिन्छन् भन्ने जिज्ञासा सानैदेखि थियो । यस पटक त्यही अनकन्टार अन्टार्टिका अवलोकनको उत्कट अभिलाषाले ओतप्रोत थियो मेरो आत्मा ।
अलिअलि डर तर त्योभन्दा धेरै ठूलो उमङ्गले तानेको थियो मन । सगरमाथा बेसक्याम्प टेकेकै वर्ष अन्टार्टिकाको हिउँ टेक्न तम्सिएका थिए खुट्टा । सिस्नुपानी देउसी २०८१ को तयारीकै बीच चलेको थियो आश्चर्यको महादेश पुग्ने अर्को भव्य तयारी ।
मानवविहीन महादेश अन्टार्टिका छिर्ने गौंडो रहेछ अर्जेन्टिना । अर्जेन्टिनाको दूतावास दिल्लीमा मात्रै रहेकाले तीन पल्ट धाउनुपर्यो, कागजात बुझाउन, अन्तर्वार्ता दिन र भिसा पासपोर्ट बटुल्न । जीवनमा यति धेरै डकुमेन्ट्स कहिल्यै चाहिएको थिएन ।
तीनपुस्ते तीन झोला डकुमेन्ट्सलाई स्पेनिसमा उल्था समेत अनिवार्य गर्नुथियो । भिसा प्राप्त गर्नु नै नोबेल पुरस्कार पाउनुसरह रहेछ । महाराजगञ्जको ब्राजिल दूतावासमा चाहिं सरल र सहज अनुभूति गरियो । आफ्नै देशमा दूतावास हुनु पनि ठूलो कुरा रहेछ । आफ्नै देशमा दूतावास हुँदा र नहुँदाको अन्तर यसपालि राम्रैसँग बुझियो ।
तीन समूहका १३ नेपालीको जम्काभेट भयो अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा । मेस्सीको टिसर्टमा मस्त नाचियो म्याराडोनाको बोका जुनियर्स स्टेडियममा । एउटा जादुमयी फुटबलरले रचेको इतिहास र उसलाई श्रद्धा गर्न हजारौं पर्यटक खनिएको देख्दा सबै दंग र मख्ख थियौं ।
हाफ पाइन्टमा घुमेको ब्युनर्स आयर्सबाट तीन घण्टाको चार्टर्ड फ्लाइटपछि उसुआया ओर्लंदा तापक्रम थियो माइनस १ । ‘इन्ड अफ द अर्थ’ भनिने यो शहर दक्षिण अमेरिका र अन्टार्टिकाको घाँटी रहेछ । चिटिक्कको बन्दरगाह, चारैतिर पहाड, तल चिसो सिरेटो वरिपरि सुन्दर हिमशृङ्खला । दोलखा जिल्लाको जिरी झैं ।
उसुआयाबाट जमिन छाडेर हामी चढ्यौं सिबोर्न क्रुज । पाँचतारे क्रुजको कडा सुरक्षा काटेपछि यात्रा सुरु भयो । करिब चार घण्टा उसुआयाको यात्रा । जहाज सुरु भएदेखि करिब दश घण्टा अर्जेन्टिनाको पानीमाथि नै यात्रारत भयौं अनि सुरु भयो ड्रेक प्यासेजको कालो पानीमाथि कहालीलाग्दो यात्रा ।
बेलायती समुद्री डाकु फ्रान्सिस ड्रेकको सम्झनामा नामाङ्कित यो प्यासेज एट्लान्टिक, प्यासिफिक र साउदर्न ओसनको दोभान रहेछ । सबैखाले गरी हजारौं पानीजहाज डुबेको यो खण्ड थियो निकै कठिन र बहुचर्चित ।
जहाज छोपुँला झैं उठेका छाल, भूकम्पको घर झैं हल्लिएको जहाज अनि अन्योलले झुमेको मन । आधाभन्दा बढी यात्रु सिकनेसको सिकार । जहाजका सिंढी र प्यासेज हिंड्दा नपिए पनि मातिए झैं । २६६ यात्रु र १५० क्रुज मेम्बर सहित करिब ४०० माथि यात्रु बोकेको ‘सिबोर्न’ को अत्याधुनिक दशतले जहाज ।
सात वटा मल्टीकुजन डाइनिङर रेस्टुरेन्ट, सपिङ सेन्टर, कन्फ्रेन्स हल, स्पा, फिटनेस र बार्बर यी सबैलाई सानो देखाउने एउटा रोचक कुरा क्रुजको विशाल बारमा बारटेन्डर थिए रोल्पाका महेन्द्र मगर । विरानो ठाउँमा अचानक भेटिएका यी रोल्पाली हाम्रा लागि आफ्ना परिवारका सदस्य र प्यारा आफन्त भए ।
तेस्रो दिनको लन्च सकिनै लाग्दा जहाजमा हल्लीखल्ली मच्चियो । सबै यात्रु ठेलमठेल गर्दै जहाजको बरन्डामा निस्कियौं । नजिकिंदै रहेछ सेतो महादेशको प्रथम चिनारी एउटा बडेमानको आइसवर्ग ! कुनै ठूलो जहाजकै आकारको देखिने त्यो निख्खर सेतो, चम्किलो र स्निग्ध हिम दृश्यले अनुभूति दियो कि क्रुज अब अन्टार्टिका पुगिसकेछ ।
जर्मनीका क्याप्टेन सासाको नेतृत्वमा डाक्टर, इन्जिनियर, जियोलोजिस्ट, हिमाल आरोही, सिङ्गर र फोटोग्राफर लगायतको ठूलो कार्यदल थियो त्यहाँ । युरोप, अमेरिकाका प्रतिनिधिहरू, अफ्रिका, फिलिपिन्स, भारत, बङ्गलादेश र नेपाल समेतका औसतमा १२ हजारदेखि ५० हजार डलरसम्म १२ दिनका लागि तिर्ने ३६ देशका यात्रुहरू थिए ।
जहाजको काठ, जहाजको तेल र सूचनाप्रविधि अनि विश्वभरिका खानाका परिकारहरूको संयोजन । लञ्च वा डिनर गएका बेला फ्रेस भइसक्ने जादुमयी बेड, बाथरूम र मिनी बार । अमेरिका बसेर यो चमत्कार रच्ने सिबोर्न कम्पनीका मास्टर माइन्डहरू चानचुने होइनन् जस्तो लाग्यो । यो आश्चर्यचकित सोख पूरा गरिदिने कम्पनीका सबैलाई हृदयदेखि सलाम गर्न मन लाग्यो ।
अन्टार्टिकामा त्यहाँको समर (सेप्टेम्बरदेखि मार्चसम्म) मा मात्र डुल्ने यो विशाल क्रुज बाँकी समय युरोप र अमेरिकातिर हेलिंदो रहेछ । हामीलाई सर्वेक्षणमा पूर्णाङ्क लेखाउन पूरै टिम पूरै समय असिनपसिन भएर खटिएको दृश्य निकै दुर्लभ, आकर्षक र सिक्नलायक थियो ।
निकी र जिलालीले सुरक्षा बन्दोबस्तीका साथ तेस्रो तलामा बोलाउँदै हामीलाई डुलाउन थाले डुङ्गा चढाएर पेन्गुइन गाउँ । ध्यानमग्न पेन्गुइनहरूको बस्तीमा सायद हाम्रो आगमन अपेक्षित थिएन । केही असजिलो आवाज, समूहमा हलचल, तल–माथि, वरपर आवतजावत भयो ।
हामी भने हजारौं पेन्गुइनलाई आँखैले हेर्न पाएर मख्ख, मस्त अनि रोमाञ्चित थियौं । फोटो खिच्न त आतुर थियौं तर तीनपत्रे पञ्जा खोलेर मोबाइल झिक्न महाभारत थियो । माइनस डिग्रीमा औंला झरेर पेन्गुइनको आहार बन्ने डर !
हाम्रो स्वागतको प्रथम पङ्क्तिमा रहेका पेन्गुइनहरू बस्न ढुङ्गाको आड खोज्दा रहेछन् । खानलाई पानीभित्र आउँदारहेछन् । सकेसम्म झिंगे माछा वा साना माछा खोज्दा रहेछन् । अँ एउटा कुरा तिनको बस्ती वरपर ह्वास्सै गन्हाउने तिनको आलो आची भने अहिलेसम्म पनि नाकमै घुमिरहेको जस्तो लागिरहेछ !
यात्रुहरूलाई पालो मिलाउन भिन्न रङहरूमा विभाजन गरियो । सुरक्षा संवेदनशीलताका लामा–लामा लेक्चरहरू चले । लाइफ ज्याकेट, वाटरप्रुफ, लङबुट, टोपी लगायत सामग्रीहरू बाँडिए । हरेक दिन १ देखि ३ वटासम्म गतिविधि हुन थाले ।
कहिले लामो डुङ्गायात्रा (र्याफ्टिङ), कहिले पेन्गुइनका विशाल बस्तीहरू, कहिले नजिकैका हिउँचुलीहरूको पदयात्रा, कहिले आइसबर्ग वरिपरिको जलसयर, कहिले ग्लेसियरका नीलो मणि झैं दृश्यावलोकन, एक से एक गतिविधि हामी पर्खन्थ्यौं ।
भोलि मौसम कस्तो हुने हो सबैका मनमा हुने खुल्दुली र त्रास थियो किनकि कयाक (सानो ढुङ्गा सयर) का लागि पनि हामीले तीन दिन पर्खनु परेको थियो ।
हिउँ वर्षाकै बीच र्याफ्टमा चढाएर हामीलाई आधा घण्टा टाढा लगियो । त्यस दिन बाहिरको तापक्रम माइनस १० डिग्री थियो । आँखा हेर्नै मुस्किल । जोड्याकको डोरी दह्रो गरी समातेर, हिउँ वर्षाबाट जोगिन टाउको निहुराएर हामी जाँदै थियौं । त्यतिखेरको रोमाञ्चक अनुभूतिलाई कालो अनि चिसो पानीमा खसिने वा कठ्याङ्ग्रिने डरले दबाएको थियो ।
कुनै विन्दुमा पुगेर जोड्याक (ब्लाडरको बोट) चर्याकर्याकको ठूलो आवाजका साथ ग्लेसियरमा रोकियो । हामीलाई डोरी समाएर झ्याल्टुङ पार्दै अग्लो हिउँमाथि चढाइयो । ठूलो सङ्ख्यामा उपस्थित रहेछन् त्यहाँ एक्सपिडिसन टिमका मेम्बरहरू ।
सगरमाथा आरोही रोमानियाकी एलेक्सको नेतृत्वमा एक्सपिडिसन टिम सबेरैदेखि खट्ने रहेछन् । सुरुमा रेकी गरेर भ्रमणस्थलको खोजी, त्यसपछि सुरक्षाको तयारी, पदमार्गको तयारी र रातो रिबर्नको रेखाङ्कन, टेक्ने लठ्ठीको सङ्ग्रह । हरेक विन्दुमा स्टाफ राखेर सूचना र सुरक्षाको बन्दोबस्ती थियो ।
कुनै एक दिनको एउटा गतिविधि पनि गतिलो रिसर्च झैं लाग्थ्यो । क्रुजबाट निस्कँदा र पस्दा हरेकको जुत्तालाई केमिकल वाटरले धोइएको हुनुपर्ने । बाहिर जाँदा र आउँदा मेटल डिटेक्टरको कडा जाँच । कतै तपाईंले पेन्गुइनको प्वाँख त चोर्नुभएको छैन नि ? हरेक पटक सोधिने कडा प्रश्न ।
हामीलाई यति महत्वका साथ लगिएको रिसर्च सेन्टर रहेछ । बडेबडे देशहरूका आ–आफ्नै रिसर्च सेन्टर । ढुङ्गा कोतरेर धातुले निर्माण भएका आधा पुरिएका खोजघरहरू । अन्टार्टिका सम्बन्धमा ठूला राष्ट्रहरूले लामा लामा खोज डरलाग्दा छिनाझप्टी, आफ्नो बनाउने अनगिन्ती असफल प्रयासपछि एउटा विन्दुमा ‘आटो’ सन्धि भएको रहेछ ।
त्यसको निष्कर्ष हो अध्ययन सबैले गर्न पाउने तर अन्टार्टिका कसैको नहुने अर्थात् ‘हामी सबैको अन्टार्टिका’ सिद्धान्तमा सहमति भई त्यहाँका प्राणी र पर्यावरण जोगाउने सबैको प्रतिबद्धता ।
कहिले नीलो हिउँ टल्किएर सेतो, कहिले कालो समुद्रमा पानीको रङ फेरिरहने । बेलुकी कालो पानीमाथि तैरिएको जहाज बिहान उठ्दा हिउँमा भासिएको भेटियो । हामीलाई बोलाइयो । जहाजको तेस्रो तलाबाट सीधै हिउँ टेकेर हामी सबै लाइनबद्ध भयौं ।
हिउँमाथि खडा थियो बार र एकाबिहानै जमेको थियो स्याम्पेन पार्टी । मान्छे आकारका स्याम्पेनका बोतल टेबलभरि सजाइएको, सँगै थिए स्याम्पेनका सयौं ग्लास । गाइडले भनिन्, ‘तपाईं मूड बनाउन र तातोका लागि चुस्की लिनुहोस् ।’
हिजो जहाज हिंडेको बाटो माथि जमेको हिउँमा कोही नाच्दै, कोही पछारिंदै, कोही बडेमानको जहाजलाई एउटा डोरीले ताने झैं । हर्षले चिसो बिर्साएको थियो र साँच्चै पागल थियो मन ।
दिन, गते, बार, महिना, दिशा, समय र समाचार सबै भुलेर अद्भुत महादेशको महायात्रामा थियौं हामी । घडीले कहिले अर्जेन्टिना, कहिले चिली, कहिले न्यूजिल्याण्डको समय देखाउँथ्यो । हो हामी समयहीन समयमा सीमाहीन सुख अनुभूत गरिरहेथ्यौं ।
मौसमले साथ दियो, कयाक र सबमरिन इच्छादिन रूपले सम्पन्न भए । पालो आयो प्लज्जको । माइनस डिग्री तापक्रमको चिसो पानीमा छलाङको । तर, यो चानचुने कुरा थिएन । केही नृत्य, केही पेगका साथ सेतो बाथ गाउनमा सबै तेस्रो तलाको ढोकामा वातानुकूलित कोठाबाट गएर ३ किलोमिटर गहिरो कालो समुद्रमा फाल हान्नुपर्ने ।
एकले अर्कोलाई हौस्याउँदै, जोस्याउँदै हाम्रो समूहले सफल छलाङ हान्यो । दोहोरो डुबुल्कीले मित्र खेम सङ्ग्रौला यसरी चिस्सिए कि उनलाई तताउन तीन पेग टकिला उनकै तालुको ग्लासमा थपेकी थिई एउटी कुइरीले ।
क्याप्टेन सासाको वाइनपार्टी, टिमको रोमाञ्चक रिभ्यु नाइट थियो । अनगिन्ती नृत्यले सजिएको थियो त्यो संगीत साँझ । स्पेनिस, अर्थ एन्ड ओसियन, इटालियन, इन्डियन, सुसी आदि एकसेएक थिए डिनरका प्रकारहरू ।
हामी साँच्चीकै आनन्दमा थियौं तर जहाज फेरि उही टे«कको असजिलो बाटो उसुआयातिर मोडिएको थियो । इन्ड अफ द अर्थ भनिने उसुआया बाह्रौं दिनमा पुग्दा शरीर फुरुङ्ग र मन दङ्ग थियो ।
हामी १३ नेपाली एउटै परिवारका सदस्य बनेका थियौं । पूर्व सचिव मिजासिला धनराज ज्ञवालीलाई सबैले ठुल्दाइ भन्थ्यौं । मलाई चाहिं सबैले माल्दाइ । प्रत्युत्पन्न मतिका खेम सङ्ग्रौलालाई साहिंलो हुँदै प्रिय लक्ष्मण रेग्मीलाई कान्छो उपाधि प्राप्त थियो ।
यात्राको मध्याह्नमा हामी थियौं सिल गाउँमा । सेतो चम्किलो हिउँमाथि लमतन्न सुतिरहेको सिल उग्राइरहेको थियो सायद भर्खरै उसले सिकार खेलेको छ । अवलोकनकै बिच उठेर चलमलाएको सिलका फरक–फरक आकृतिहरूलाई क्यामेरामा कैद गर्न हामीलाई भ्याइ–नभ्याइ थियो ।
हामीले पोलर प्लन्ज (हिमाली भालु) पनि देख्न पाउने सुनेका थियौं । पछि थाहा पाइयो हामी पुगेको क्षेत्रमा पोलर प्लन्ज नपाइने रहेछ । फर्कनु एक दिनअघि क्याप्टेनले मिठो उद्घोष गरे ‘जहाजको इन्जिन आवाजहीन बनाइएको छ, तपाईंहरू पनि चुपचाप बरन्डामा जानुहोस् । हामी भाग्यमानी भयौं लौ मस्तले ह्वेल हेर्नुहोस् ।’
नभन्दै एकजोडी ह्वेल हाम्रो क्रुज नजिकै नाच्दै आइरहेका थिए । सास फेर्न हो कि तिनले ढाडबाट पानीको फोहोरा ठूलो आवाजसँग फाल्दा रहेछन् । भयानक शरीरका भागहरू पालैपालो देखाएर नाच्ता रहेछन् ।
पहिलो पटक ह्वेलको जोडी देखेकाले खुसीले चिच्याउन मन थियो तर आवाज निषेध गरिएको थियो । जहाजसँग लगभग ठोकिन आइपुगेका ह्वेल जोडीले लामो सास फेरे अनि डुबुल्की लगाएर गहिरो पानीमा विलुप्त भए ।
१३ नेपालीको पहिलो र अन्टार्टिकामा चन्द्र–सूर्य फर्फराएको पहिलो रेकर्ड बनाएकोमा हाम्रो टोली फुरुङ्ग थियो । कसैको कुनै कुरालाई नाइँ नभनी जुनसुकै विषय र घटनामा आनन्द छर्ने मित्र थिए आनन्दबहादुर चन्द । ट्वाक्क थोरै बोल्ने, यथेष्ट हाँस्ने अर्का सहृदयी थिए सोहन श्रेष्ठ ।
अनि गहन सोधनीकर्ता, अध्ययनशील र मायालु के जे सर अनि मेलबर्नवासी सुकिला र मृदुभाषी सरोज शर्मा । बहारिला विद्वान् थिए वसन्त पोखरेल र सबैका सहयोगी, सजिला साथी थिए सिड्नीका टिएन अर्याल ।
अनि मुसुक्क हाँसेर संसार ढलाउँथे प्रशन्न दाहालले । त्यस्तै राम्रो व्यवहार, मिठो बोली र बाटुलो मुहारका भ्राता थिए भुवन पाण्डे । साथै खोजपूर्ण, जोशपूर्ण अनि प्रविधि र प्रकृतिमैत्री रूपक बर्तौला सबै सबै खुसी हुने प्रतिस्पर्धामा सामेल थिए साथीहरू ।
टन्न साथी कमाएर धनी हुँदै मनको मुद्दतीमा साथीको माया डिपोजिट गर्दै र सिंगो यात्रालाई नै जीवनको अविस्मरणीय साथी बनाएर फर्कियौं हामी । अर्जेन्टिनाबाट कोही ब्राजिल, कोही पनामा, कोही बोलिभियाको बाटो ।
न कुनै बस्ती छ न कुनै वनस्पति । न बाटो न पुल न घर । भौतिक विकासको भ पनि नभएको त्यो हिउँको संसार । लाग्यो यो ठाउँ हामीले बुझेको संसारभित्र रहेको तर बुझ्न नपाएको अर्कै संसार रहेछ ।
यही वर्षको वैशाखमा म सगरमाथा बेस क्याम्पको पदयात्रामा थिएँ । एउटै वर्षमा मैले संसारको शिर सगरमाथा र पृथ्वीको पिंध अन्टार्टिकाको हिउँ छोएँ । अन्टार्टिकामा केही चरा, पेन्गुइन, एकजोडी ह्वेल र सिल देख्न पाएँ । अन्टार्टिकाको एकोहोरो र अन्त्यहीन हिउँभन्दा मलाई खुम्बु क्षेत्रको तरेली दृश्यले धेरै मन छोयो ।
सगरमाथा क्षेत्रमा कठ्याङ्ग्रिने चिसोका बीच आफ्नै न्यानोपन छ । हाम्रा हिमाली सम्पदा मानवप्रिय हस्तकलाका कोमल उत्पादन जस्ता छन् । प्रकृतिको कालीगडीमा बनाइएका अमर चित्र जस्ता छन् । छोटो शब्दमा अन्टार्टिकाको यात्रा कृत्रिम झैं सगरमाथाको यात्रा प्राकृतिक ।
अनि सगरमाथा क्षेत्रमा हज्जारौं वनस्पति, अन्टार्टिका वनस्पतिहीन र रुखो । पृथ्वीको पर्यावरणमा सगरमाथा सधैं आशा र आस्था तर अन्टार्टिकाको महत्व हुँदाहुँदै बढी पग्लने खतरा । हाम्रो सगरमाथा क्षेत्र प्रकृतिको उच्च व्यवस्थापन, त्यहाँको मानवीय व्यवस्थापन ।
जेहोस् तिनीहरूको यात्रा व्यवस्था वैज्ञानिक, व्यावहारिक, सुरक्षित र व्यावसायिक । हाम्रा हिमचुलीहरूमा पनि विश्व बोलाउने यात्रा व्यवस्थाहरू त्यस्तै मजबुत, सार्थक र सर्वव्यापक बनाउन पाए देशको काँचुली फेर्ने कुरा मात्रै होइन, कामकै ढोका खुला हुनेथियो ।