‘पानीको रङ’ कवि ऋषि बस्ताकोटीद्वारा रचित एक कविता सङ्ग्रह हो। यो कविता संग्रह २०८१ सालमा पहिलोपटक प्रकाशित भएको थियो। प्रकृति संरक्षणका अभियन्ता समेत रहेका बस्ताकोटीले यस सङ्ग्रहमा जम्मा ४० वटा कविताहरू समेटेका छन्। जसमा ‘पहिरो’, ‘बादलका बुट्टाहरू’, ‘उदाउँदै गरेको जूनको कुरा’, ‘कर्फ्यु लागेको साँझ’, ‘फुलमायाको गाउँ’ लगायतका कविताहरू समावेश छन्। यस सङ्ग्रहमा सचेत मानवले अनुभूत गर्ने विविध विषय समेटिएका छन्; तर पनि सत्य, न्याय, समानता, प्रेम र सहअस्तित्व नै उनका कविताका मूल स्वर हुन्।
‘पानीको रङ’ भित्रका केही प्रतिनिधि कविता र तिनले बोकेका सन्देशहरू यहाँ प्रस्तुत गरिएको छ:
पहिरो
पहिरोलाई बेलामै रोक्नुपर्छ,
मनका उजाड बस्तीहरूमा
आशा र भरोसाले छपक्कै छोप्नुपर्छ
नत्र
पहिरो भनेको
प्रक्रिया हो
जीवनकै पर्याय हो
जहाँ पनि जान्छ, जहिले पनि जान्छ र संसारै भताभुङ्ग हुन्छ ।
(पानीको रङ, पेज : २)
यस कवितामा कविले पहिरोको अर्थलाई केवल पहाडमा जाने प्राकृतिक विपत्तिको सीमाभन्दा फराकिलो रूपमा प्रस्तुत गरेका छन्। यहाँ पहिरो जीवन, मन, प्रेम र सामाजिक संरचनामा आउने उथलपुथल र विनाशको प्रतीक हो। विनाशको प्रक्रिया भौतिक रूपमा मात्र नभई मानसिक र भावनात्मक तहमा पनि हुन सक्छ भन्ने यसको सङ्केत हो।
पहाडमा पहिरो जाँदा वन उजाड हुन्छ, तर जब आस्था, विश्वास र नेतृत्व जस्ता मूल्यहरूमा पहिरो जान्छ, तब समाजकै अस्तित्व हल्लिन थाल्छ। कविले पहिरोलाई व्यक्तिगत जीवनदेखि सामाजिक संरचनासम्म विनाश ल्याउने शक्तिका रूपमा चित्रण गर्दै समयमै सचेत हुन आग्रह गरेका छन्।
बादलका बुट्टाहरू
बादलका बुट्टामा हजुरआमा
-कौरव र पाण्डव देखाउनुहुन्थ्यो
देवी र दानव बनाउनुहुन्थ्यो
हजुरआमा कहिले दन्त्यकथा सुनाउनुहुन्थ्यो
कहिले मनगढन्ते कथा सुनाउनुहुन्थ्यो ।
(पानीको रङ, पेज: ४)
यस कवितामा कविले आफ्ना बाल्यकालका मधुर स्मृतिहरूलाई “बादलका बुट्टाहरू” को रूपमा प्रस्तुत गरेका छन्। सानो हुँदा हजुरआमाले मायाले गीत गाउँदै, कहिले महाभारत त कहिले रामायण सुनाउँदै बादलका बुट्टाभित्र देवता, राक्षस, देवी-दानवका चित्र देखाउनुहुन्थ्यो।
ती बुट्टाहरू कहिले पूर्व, पश्चिम, उत्तर वा दक्षिण सबैतर्फबाट फैलिँदै आपसमा मिलेर रणसङ्ग्राम मच्चाउँथे, पानी बर्साउँथे अनि फेरि चुप लाग्थे। कहिले एकढिक्का भएर बलियो देखिने ती बादलहरू कहिले फाटेर फिक्का फिक्का पनि हुन्थे। समय बित्दै जाँदा हजुरआमा नभए पनि बादलका बुट्टाहरू उस्तै छन्।
कविले ती बुट्टाहरू हेरिरहेका बेला अतीतका कथा र सम्झनामा आउने मात्र हैन, आफ्नै आँखा अगाडि हामीले देखि भोगी आएका जुध्ने, फुट्ने र टुट्ने अनिश्चित राजनीतिक परिदृश्यसँग लाक्षणिक रूपमा तुलना गर्छन्।
फूलमायाको गाउँमा
फूलमाया सहरदेखि गाउँको दूरी लामो छ
मेरा लागि पाकेका परिकार तिम्रो भान्सामा
तिम्रा लागि र तिम्रा नानीहरूका लागि पाके कि पकेनन्
मलाई थाहा छैन र मैले देखेको पनि छैन
तर फूलमाया मैले खाइरहँदा
र मुख मिठ्याइरहँदा किनारामा बसेर टुलुटुलु हेर्दै
स्वाद लिइरहेका तिम्रा नानीहरूलाई देखिरहेछु
सहरको सुकिलो रवाफमा बर्गर, पिज्जा र कबाफको कुरा गर्ने
समवयी मेरा नानीहरू सोचिरहेछु र भोकविरुद्ध कविता लेखिरहेछु।
(पानीको रङ, पेज: १०)
यस कवितामा कविले गाउँ र सहर बीचको जीवन-यथार्थ र त्यसको विषमता मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। कवि आँधीहुरी र पानीसँग जुध्दै, कठिन उकालो पार गरेर फूलमायाको गाउँमा पुग्छन्। गमलामा सजिएर फुलेका फूल देखेर हुर्केका सहरियाहरूलाई गाउँको प्राकृतिक सौन्दर्य र गाउँको छानो चुहुने गरीब र आर्थिक गरिबी पनि नौलो लाग्ने कुरा ‘म’ पात्र मार्फत व्यङ्ग्यात्मक रूपमा उठाएका छन्। उकालो चढेर थाकेका र भोकाएका कविलाई फूलमायाले ढिँडो र कुखुराको सुपले स्वागत गर्दा त्यसमा खान मात्र होइन, आत्मीयता र स्नेह मिसिएको पाउँछन्।
आफू खाइरहँदा अर्को छेउबाट आफूले खाएको हेरिरहेका फूलमायाका साना नानीहरूतिर उनका आँखा पुग्छन्। अनि सहरका समवयी आफ्नै नानीहरूलाई सम्झन्छन्। सहर र गाउँ बीचको असमानता तुलना गर्छन्। अन्ततः कवि आत्मग्लानि महसुस गर्दै भन्छन् – “मलाई माफ गर फूलमाया, तिमी र तिम्रा नानीहरू भोकै छौ, तर म भने तृप्त हुँदै भोक विरुद्ध गीत गाइरहेछु।” यसरी यो कवितामा कविले ग्रामीण गरिबी, असमानता तर त्यहाँ रहेको निस्कपट माया र आत्मीयतालाई यथार्थपरक शैलीमा उतारेका छन्।
उदाउँदै गरेको जूनको कुरा
आशाको त्यान्द्रो सुक्नै लागेको यति बेला,
पहिचानको गीत
लुक्नै लागेको यति बेला एउटा जून उदाउँदै गरेको देखें
बिब्ल्याँटाका विरुद्ध समय हिँडाउने चेष्टामा
उज्यालाको गीत गुञ्जाउने अभीष्टमा
एउटा बतास सुसाउँदै गरेको देखें।
(पानीको रङ, पेज: १३)
यस कवितामा गाउँको बिग्रँदो अवस्था र त्यसबीच आशाको प्रतीक बनेको ‘उदाउँदै गरेको जून’ को वर्णन छ। युवाहरू रोजगारीको खोजीमा टाढा गएका छन्, कोही सहर झरेका छन्, कोही समुद्र तरेर उतै पलायन भएका छन्। जसले गर्दा गाउँ बिस्तारै खण्डहर जस्तै भइरहेछ। यस्तो अँध्यारो समयमा कविले अँध्यारोसँग जुध्ने, कठोरता तोड्ने, गुमनामलाई नाम दिने जून देख्छन्।
त्यो जून आत्मीयता र स्नेह फैलाउने, अँध्यारा गल्ली र गाउँमा उज्यालो ल्याउने प्रतीक हो। कविले जूनलाई प्रतीक बनाएर गाउँको विकासमा लागिपरेको, सकारात्मक सोचको, परिवर्तनकारी युवा नेतृत्वलाई सङ्केत गरेका हुन् भन्ने देखिन्छ। यो नेतृत्व परिवर्तनको सपना हो अनि उदाउँदै गरेको जून हो। कवि आग्रह गर्छन् कि यसलाई पूर्णिमा बन्न, फैलिन देऊ किनकि यो हरायो भने फेरि घाम उदाउने छैन, परिवर्तनको सपना साकार हुँदैन। अन्त्यमा उनी चेतावनी दिन्छन्- यो साझा जून शुद्ध रहोस्, कसैको स्वार्थमा नपरोस् किनकि हामीलाई सबैका लागि समान रहने पूर्णिमाको जून चाहिन्छ।
कर्फ्यू लागेको साँझ
कर्फ्यू लागेको साँझ सन्नाटा चिर्दै
सडकमा बख्तरबन्द गाडीहरू कुदिरहेछन्
कुकुरहरू एकतमास भुकिरहेछन्
बन्द कोठाभित्र सन्त्रास बोकेर के भोलि फेरि
म भोलि सोचिरहेछु-
चराहरूले उज्यालाको गीत गाउन पाउलान् र?
अँध्यारालाई बिदाइ गर्दै उदाउने घामसँगै
मेरा नानीहरू
आफ्नै आँगनमा निर्भय रमाउन पाउलान्?
(पानीको रङ, पेज: १९)
यस कवितामा कविले कर्फ्यूको भयावह साँझको चित्रण गरेका छन्। सडकमा बख्तरबन्द गाडीहरू दौडिएका छन्। कुकुरहरू निरन्तर भुकिरहेका छन् र चराहरूलाई समेत गीत गाउन निषेध गरिएको छ। कवि बन्द कोठाभित्र बस्दै समय र नियतिको बोझ सम्झिरहेका छन्। यस्तो बेला साथीभाइ वा आफन्तसँग भेटेर उत्सव मनाउने वा योजना बनाउने सम्भावना छैन किनकि आफ्नै आँगन पनि असुरक्षित बनेको छ।
कविले दुःख व्यक्त गर्दै भन्छन् कि- तिम्रो सहरमा आउन सकिनँ, न त तिम्रो खुसीमै रमाउन नै। अन्त्यमा उनी सन्त्रासबीच आशा गर्छन् र कामना गर्छन् – भोलि चराहरूले फेरि उज्यालाको गीत गाउन पाऊन्, अँध्यारो हटोस्, घाम उदाओस् र भविष्यमा नानीहरूले आफ्नै आँगनमा निर्भय खेल्न पाऊन्। यसरी कविताले एउटा त्रासद समयका बीचबाट पनि भविष्यको सुन्दर समयको कल्पना गरेको छ।
यसपालि वसन्तमा
समय आएपछि फुल्न त फुल्लान् फूलहरू
प्रतिकूलतासँग पौठेजोरी खेल्दै
तर पुराना सन्त-महन्तहरूको
नक्कली नयाँ गीतमा खै कस्तो फूल मगमगाउला
यसपालि सुकेका जरामा उभिएर
कस्तो वसन्तको हरियाली छाउला यसपालि!
(पानीको रङ, पेज: २७)
यस कवितामा कविले नयाँ वसन्तको आगमन भए तापनि वातावरण र जीवनमा देखिएका गम्भीर चुनौतीहरूलाई चित्रण गरेका छन्। पुराना सन्त महन्तहरूले नयाँ गीत गाए पनि तिनका दृष्टिकोण पुरानै छ जसले वर्तमान सङ्कटलाई बुझ्न सकिरहेका छैनन्। जलवायु परिवर्तनले फुल्न बाँकी फूलहरू सङ्कटमा पारिरहेका छन्।
मौसम अनिश्चित छ, आँधीहुरी चलिएको छ र रुख बिरुवाहरू खडेरी र डढेलोले सुकिरहेका छन्, वायुमण्डल प्रदूषित छ, चराहरूले पनि सङ्कटको सङ्केत दिइरहेका छन्। पानीको कमीले जमिन सुकिरहेको छ र कुनै बोटले चिस्यान पाएका छैनन्। यद्यपि समय आएपछि फूलहरू पौँठेजोरी खेल्दै फुल्नेछन् तर पुराना सन्त महन्तहरूको नक्कली नयाँ गीतले यो सङ्कटलाई सम्बोधन गर्न सक्दैन। यसैले यस्ता नक्कली गीतहरूबाट सचेत हुन समेत आग्रह गरेका छन्।
निष्कर्ष
पानीको रङ भित्र अनेक रङका, अनेक भावका चालीस थान कविता छन्। यहाँ चर्चा गरिएका त केही प्रतिनिधि कविता मात्र हुन्। समग्रमा यस कविता सङ्ग्रहमा लेखकले असाध्यै सरल मार्मिक भाषाको प्रयोग गर्दै गद्य कविताहरू रचना गरेका छन्।
यी कविताहरू हाम्रो जीवन र समाजका यथार्थ चित्रण हुन्। विशेष गरी यिनले प्रकृति र ग्रामीण जीवन, विकृतिविरुद्ध शान्त विद्रोह र सामाजिक न्यायको आवाजलाई उजागर गरेका छन्।
(समृद्धि गेलाल, डियरवाक सिफल स्कुलको कक्षा ९ मा अध्ययनरत छिन्।)
