पातखाने किराको प्रकोपले नांगिदै दैलेखका जंगल : RajdhaniDaily.com


काठमाडौं । दैलेखको नारायण नगरपालिका–८, सिमडाका प्रेमबहादुर रावलअचेल टोलाउँदै नजिकैको जंगलतिर हेर्छन् । कुनै समय हरियो गलैँचा बिछ्याएझैँ मनमोहक देखिने सालको जंगल अहिले कसैले डढेलो लगाएर छोडेकोझैँ खैरो र उजाड छ । न त्यहाँ घाँस छ, न त पशुलाई ओछ्याउने स्याउला नै छ ।

गाईभैंसीका लागि आहार, गोठका लागि स्याउला सोत्तर र खेतबारीका लागि मल र सबैका लागि सालका पात किसानको जीवनसँग गाँसिएका थिए । तर, यो वर्ष नारायण नगरपालिका–७ र ८ अन्तर्गत पर्ने सिमडा आसपासकाजंगलहरु नांगा छन् । सालका रुख छन्, तर पात छैनन् । अज्ञात झुसिलकिरा (पुतली प्रजातिको लार्भा) ले सालका पात खाइदिँदा वन उजाड बनेको छ र यसको सीधा असर किसानको दैनिकी र जीविकोपार्जनमा परेको छ ।

‘घर नजिकैको वनहुँदा बस्तुभाउ पाल्न सजिलो थियो, सालकापातले पशुको आहार र मलदुवै पुग्थ्यो,’ प्रेम रावल भन्छन्, ‘तर अहिले त वनभरिका रुखहरू नांगामात्र देखिन्छन् । जंगल पस्नै नसकिने गरी नांगोे भएको छ । अब पशु कसरी पाल्ने ? के खुवाउने ?’

यो समस्या प्रेमबहादुरको मात्र होइन, नारायण नगरपालिका–७ र ८ का जगमती विक, भावना रोकाया, मनसरा रावतलगायत सयौं किसानको साझा व्यथा हो । पछिल्लो तीनवर्षदेखि यो क्षेत्रको सालको जंगलमा ‘डिफोलिएटर’ भनिने झुसिलकिरा (पुतली प्रजातिको लार्भा)को प्रकोप फैलिएको छ, जसले सिंगोे वनलाई नै संकटमा पारेको छ ।

वन विनाशको मौन महामारी

प्रकृतिको नियमअनुसार वसन्त ऋतुमा वन हराभरा हुनुपर्ने हो । तर, दैलेखका किमुगाउँ, चुप्रा, कोटिला, श्रीस्थान र बेलपाटालगायतका क्षेत्रमा उजाड दृश्य मात्रै देखिन्छ ।

यहाँ ‘डिफोलिएटर’ भनिने झुसिलकिराले पात खानथालेपछि सालका रुखलाई एकसरो नांगोे बनाइदिएको स्थानीय उपभोक्ता जकमती विक बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो वनमा यस्तो रोग कहिल्यै देखेका थिएनौँ । एउटा पात पनि बाँकी छैन । वन नै उजाड भएपछि खेतीपाती र पशुपालन गर्न मुस्किल भएको छ ।’

वनभित्र पस्दा आजकल हरियालीको सट्टा कुरूप दृश्य देखिन्छ । पातविहीन रुख,जमिनभरि लार्भाका अवशेष र जालो । यस्तो दृश्यले स्थानीयलाई थप चिन्तित बनाएको छ । नारायण–८ की भवानी रोकाय भन्छिन्, ‘जंगल हाम्रो जीवनको आधार हो । तर यस्तो दयनीय अवस्था हुँदा पनि सम्बन्धित निकायले वास्ता गरेको देखिँदैन ।’

डिभिजन वनकार्यालय प्रमुख अमरप्रसाद साहभने केन्द्रबाट विज्ञ टोलीआएर अनुसन्धान गरेको बताउँछन् । यो पटक विज्ञटोलीले लार्भा नभाएको र फेरि फागुनतिर तापक्रम बढेपछि किरा देखिन सक्ने भएकाले त्यतिबेला नमुना संकलन गरेर पठाउन भनिएको उनले जानकारी दिए ।

यदि जीवित लार्भा भेटिए त्यसलाई ल्यावमा पठाएर मात्रै कुन प्रजातिको ‘मथ’ (पुतली) हो भनेर यकिन गर्न सकिने उनी बताउँछन् ।

अचम्मको कुरा त के छ भने यी किराले सालसँगै रहेका सल्लाका रुखलाई भने छोएकापनि छैनन् । विशेषज्ञहरूका अनुसार यो प्रजाति विशेषगरी सालको पातमा मात्र निर्भर रहन्छन् । गर्मी मौसम सुरु हुनासाथ यसको सक्रियता पुन बढ्ने र जंगलभरी माकुराको जालो जस्तो जालो र झुसिलकिराको साम्राज्य फैलिने बताउँछन् ।

के भन्छन् विज्ञहरू ?

वनमा देखिएको प्रकोप ‘डिफोलिएटर’ अर्थात् पातखाने किरा भएको वन विज्ञहरूको भनाइ छ । वन तथा वातावरण मन्त्रालय अन्तगतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा कार्यरत वरिष्ठ अनुसन्धान अधिकृत सुनिता उलकको संयोजकत्वमा गठित विज्ञ टोलीले कर्णाली प्रदेशका विभिन्न सामुदायिक वनहरू, किमुगाउँ, चुप्रा, कोटिला, श्रीस्थान, बेलपाटालगायत क्षेत्रमा अध्ययन गरेको थियो ।

लामो समयको खडेरी र हिउँदे वर्षा नहुनु यो महामारी फैलिनुको सहायक कारण रहेको उलक बताउँछिन् । विशेषगरी दक्षिण र पश्चिम फर्किएका पहाडी क्षेत्रका साल वनमा यसको असर बढी देखिएको छ । चैत–बैशाखतिर वयस्क पुतली निस्केर पातमा अन्डा पार्छन् र त्यसबाट निस्किएका लार्भाले व्यापकक्षति पु¥याउँछन् ।

लामो समयको खडेरी र हिउँदे वर्षा नहुनु नै यो महामारी फैलिनुको मुख्य कारण हो । ‘यी किराका वयस्क पुतलीले चैत–कैशाखमा सालको पातमा अन्डा पार्छन् र त्यसबाट निस्किएका लार्भाले ५–६ पटक काँचुली फेर्दै पात खाएर रुखलाई नांगो बनाउँछन्,’ उलकले भनिन् ।

त्यहाँ जंगलमा पुग्दा किराका काँचुली र प्युपाका अवशेषहरू प्रशस्त भेटिएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा कार्यरत अनुसन्धान अधिकृत प्रतीक पाण्डे बताउँछन् । चिसो मौसममा केही कम देखिए पनि फागुन–चैतपछि यी किरा पुनः सक्रिय हुने र यसले वनको पारिस्थितिकीय प्रणालीमै गम्भीर धक्का पु¥याउने उनको भनाइ छ ।

उनका अनुसार यो पुतली प्रजातिको लार्भा हो, जसले ५–६ पटक काँचुली फेर्दै सालका पात खाइदिन्छ । ‘सालका पात खाने किराहरू सयौं प्रजातिका हुन्छन्,’ उनी भन्छन्, ‘तर यसरी वनै नांगो बनाउने प्रकोप ल्याउने चाहिँ थोरै प्रजातिमात्र हुन्छन् ।’

नेपालमा सालका पात खाने तीन सयभन्दा बढी प्रजातिका किरा रहेको र ती सबैको हालसम्म दस्तावेजीकरण नभएको उनको भनाइ छ । ‘नेपालका सालका पात खाने किरा तीन सयभन्दा बढी प्रजातिका किरा दस्तावेजीकरण भएमात्र कुन किरा बढी हानिकारक छ भन्ने जानकारी हुन्छ,’पाण्डेले भने ।

वन केवल घाँस–दाउराको स्रोत मात्रहोइन, यो यहाँको ग्रामीण अर्थतन्त्रको खम्बा पनि हो । वनबाट ल्याइने स्याउला कुहाएर बनाइने मलले बारीमा अन्न फल्थ्यो । यो पटक न त पशुलाई आहार छ, न बारीलाई मलनै बनाउन सकिएको स्थानीय भावना रोकाया बताउँछिन् ।

यसको असर सांस्कृतिक कार्यमा समेत परेको छ । सालको पात शुद्ध र अशुद्ध दुवै कार्यमा दुना–टपरीका रूपमा प्रयोग गरिन्छ । तर, अहिले एउटै पात भेट्न पनि मुस्किल भएपछि स्थानीयहरू चिन्तित छन् । ‘कुनै पूजाआजा वा काजकिरियामा पात चाहिन्छ, तर जंगलमा एउटा पनि सग्लो पात छैन,’ स्थानीय नरेन्द्रमल्ल भन्छन् ।

यस्तो वातावरणीय संकटका बीच गैरसरकारी संस्था सोसेक नेपालले सरकार र सरोकारवाला निकायलाई गम्भीर हुन आग्रह गरेको छ । सोसेकले वनमा फैलिएको यो संक्रमणका साथै जथाभाबी ‘चुत्रो’ को जरा निकासीगर्दा जैविक विविधतामा परिरहेको असरप्रति पनि चिन्ता व्यक्त गरेको छ । उनीहरूले वातावरण जोगाउन र किसानको समस्या समाधान गर्न एकीकृत पहलको माग गरेका छन् ।

नारायण नगरपालिका–७ का वडाध्यक्ष खड्गबहादुर शाहीले यो प्रकोपले सबैभन्दा बढी मार किसानलाई पारेको बताउँदै यसको पहिचान र नियन्त्रणका लागि नगरपालिका र वन कार्यालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।

प्रकोप नियन्त्रण र भविष्यमा हुने क्षति न्यूनीकरणका लागि विज्ञ टोलीले केही महत्वपूर्ण प्राविधिक सिफारिस गरेको छ । सालको वनमाभदौ–असोजतिरै रुखका हाँगाबिँगा काँटछाँट गर्ने र वन सफा गरे किरा संख्या घटाउन सकिने विज्ञ टोलीले बताएको छ । माटोमा लुकेर बसेका किराकाअवशेष नष्ट गर्न निश्चित क्षेत्रमा नियन्त्रण गरी आगो लगाएर अनुसन्धान गर्ने विधिलाई पनि विकल्पका रूपमा हेरिएको छ ।

‘आगामी फागुन–चैततिर तापक्रम बढ्न थालेपछि किराहरू फेरि सक्रिय हुन सक्ने भएकाले डिभिजन वन कार्यालयहरूलाई लाइट ट्याप प्रयोग गर्न र समुदायलाई पूर्वसूचना दिन आग्रह गरिएको छ,’उपसचिव उलकले भनिन् । सोही ठाउँमा यसअघि २०२१ मापनि यस्तो समस्या देखिएको त्यहाँका स्थानीयले बताएको उलकले बताइन् । ‘यसअघि पनि यस्तो समस्या देखिएको त्यहाँका स्थानीयले जानकारी गराएका छन्,’ उनले भनिन्, ‘त्यसबेला विशेष कारणवश स्थलगत रूपमा त्यहाँ पुग्न सकिएन तर, पनि फोटोग्राफरको सहयोगमा विज्ञहरूलाई त्यहाँको फोटो पठाएर सहजीकरण गरेकी थिएँ, अहिले पुन दोहोरिएछ ।’

नेपालमा वन जैविक विविधता उच्च भए पनि त्यसको वैज्ञानिक अध्ययन र उचित दस्तावेजीकरण कमजोर नै छ । अन्य विकसित देशहरूको वनमन्त्रालय अन्तर्गत रोग,किरा र वन्यजन्तुसम्बन्धी विज्ञहरूको छुट्टै संयन्त्र हुन्छ । तर नेपालका जिल्ला वन कार्यालयहरूमा यस्ता विज्ञ र आवश्यक जनशक्ति समेत नभएको पाण्डे बताउँछन् ।

पाण्डेका अनुसार प्रभावित क्षेत्रमा किरा प्रकोपको नियमित अनुगमन, अध्ययन र तथ्यांक संकलनका लागि पर्याप्त जनशक्तिकोे अभाव छ । ‘दस्तावेजीकरण बिना समस्या बुझ्न र समाधान खोज्न गाह्रो हुन्छ । किरा विज्ञ र अनुसन्धानकर्ताको उपस्थिति अनिवार्य छ । त्यसो भएमात्रविभिन्न विज्ञबीच समन्वय गरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ,’ उनले भने ।

किराको प्रकोपले स्थानीयस्तरमा दैनिक जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ । जंगलमा घाँस, दाउरा र अन्य वन उपजमा निर्भर स्थानीयको जीवनशैली प्रभावित हुन्छ । गाईवस्तुले संक्रमित पात खाँदा पशु स्वास्थ्यमा समस्याआउन सक्ने र यस’bout स्थानीय सचेत हुन उनको आग्रह छ ।

यस्तै, मानिसमा पनि किरा वा झुसको नजिक पुगे चिलाउने, एलर्जी जस्ता स्वास्थ्य समस्या देखिन सक्ने उनको भनाइ छ ।
यस्ता प्रकोपका बेला अन्य किराहरूको पनि अस्वाभाविक उपस्थिति देखिन्छ, जसले दीर्घकालमा जैविकपारिस्थितिक प्रणालीमै असर पार्न सक्ने उनी बताउँछन् । ‘एउटा किरा बढ्दा अरू उपयोगी किरा हराउने जोखिम हुन्छ, जसले वनको जैविक सन्तुलन बिगार्छ,’ पाण्डेले बताए ।

उनका अनुसार प्रभावित क्षेत्रमा किरा प्रकोपको नियमित अनुगमन, अध्ययन र तथ्यांक संकलनका लागि पर्याप्त जनशक्तिको अभाव छ । ‘दस्तावेजीकरण बिना समस्या बुझ्न र समाधान खोज्न गाह्रो हुन्छ । किराविज्ञ र अनुसन्धानकर्ताको उपस्थिति अनिवार्य छ । त्यसो भए मात्र विभिन्न विज्ञबीच समन्वय गरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ,’ उनले जोड दिए ।

(Visited 12 times, 1 visits today)





Source link

Leave a Comment