पाठकीय दृष्टिमा ‘मोना’ उपन्यास


उपन्यासका मोनिका प्रधान (गुरूङ)  भाषा र साहित्यमा खारिएकी एक नारी स्रष्टा हुन्। सानैदेखि भाषा र साहित्यको क्षेत्रमा लागेकी हुन्। भाषा  र साहित्यबाहेक उनी थुप्रै सामाजिक संघसंस्थातिर पनि सक्रिय छन्। उनको कलम आजसम्म निरन्तर रूपमा चलिरहेको छ। यसैको प्रतिफल उनको प्रथम कृति  “गोठालाहरू” जीवनी सङ्कलन सन् २०२१ सालमा  प्रकाशित भइसकेको  छ। जीवनी सङ्कलन  “गोठालाहरू” प्रथम संस्करण प्रकाशित भएको वर्ष नबित्दै दोस्रो संस्करण पुन: सन् २०२२ सालमा  प्रकाशित भइसकेको छ। ५० वर्षदेखि साहित्य तथा पत्रकारिता क्षेत्रमा  निरन्तर चलिरहेको सर्जक मोनिका प्रधान (गुरूङ)का सृजनात्मक  कलम आजसम्म  थाकेका  छैनन्। उनको सृजनात्मक कलम निरन्तर चलिरहेछ। उनको दोस्रो कृति सामाजिक  उपन्यास “मोना ” भर्खरै प्रकाशित भएको  छ। उपन्यास  “मोना”माथि केही विचार राख्ने जमर्को गरेको  छु। 

उपन्यास ‘मोना’ विवाहित नारीहरूको अव्यक्त पीडाहरूको विभिन्न पाटालाई  केन्द्रित गरेर लेखिएको  उपन्यास हो। उपन्यास मोनाभित्र मोना अनि सागर मूल पात्र छन्। उपन्यास ‘मोना’का धेरैजसो चरित्र तथा पात्रहरू नारीहरू नै  रहेको  देखिन्छ। उपन्यास ‘मोना’ का कथावस्तु स्थानीय गाउँघर, दार्जीलिङ, कालेबुङ अनि सिलगडी भेगतिर घुमेका छन्।

उपन्यासको नायिका मोना ,पत्रकार, सामाजिक कार्यकर्ता तथा घरको सम्पूर्ण जिम्मेवारी वहन गर्न सक्ने क्षमताशील सफल आमा पनि  हुन् तर उनको  उन्नतिप्रगतिसित उनको पति धीरज पटक्कै  खुशी भएका देखिन्दैन। यसर्थ   एकदिन मोनालाई मार्न धीरजले चियामा विष मिसाएर मोनालाई पिउन दिन्छन् तर मोनाले उक्त चिया पिउन लाग्दा केही शंका लागेर त्यो चिया पिउन योग्यको छैन भन्ने बुझेर छिमेकी तथा डाक्टरलाई देखाउन पुग्छिन्।

 उक्त चिया डाक्टरलाई  देखाउँदा त्यो चिया विषयुक्त रहेको थाहा लाग्छ। त्यसपछि उनी पतिसँग छुट्टिएर एक्लै  बस्न थाल्छिन्। उनले कटिङ टेलरिङ सिकेकी हुँदा लुगा सिलाएर नानीहरूको लालनपालनतिर लाग्छिन्  अनि आफैंलाई प्रभु ईशुप्रति समर्पित  गर्दै आफ्नो जीवनयात्रा अगाडि  बढाउँछिन्।

उपन्यासका  कथावस्तु सन् १९८६ सालको हिंसात्मक आन्दोलन छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनसँग  पनि जोडिएको पाइन्छ। कथा नेपाली भाषा  मान्यतासँग पनि जोडिनु पुगेको छ। जहाँ मोना उपन्यासले ऐतिहासिक भाषा आन्दोलनको इतिहासलाई पनि छुन पुगेको  पाइन्छ।

उपन्यासको नायिका ‘मोना’ पत्रकारिताको  सिलसिलामा प्रशासनिक अधिकारी भेट्न जानुपर्ने हुँदा  नेपालीभाषी  पुलिस दाजुभाइहरूले दार्जिलिङ गोर्खा पार्वत्य परिषदको मुख्यालय ‘काउन्सिल अफिस’ जाने सल्लाह दिएको अनि  एउटी एक्ली नारी काउन्सिल अफिस पुग्दा त्यहाँ त सीआरपीएफको समूह मात्र रहेको अनि त्यो बेला सीआरपीएफद्वारा पहाडमा साधारण नागरिकमाथि पाशुविक अत्याचार गरिन्थ्यो।

निर्दोष मानिसहरूको हत्या गरिन्थ्यो। मोनाको  एक निर्दोष आफन्तलाई पनि  आन्दोलन कालमा हत्या गरिएको थियो। पुलिस तथा  सीआरपीएससँग मोना यसै पनि डराएकी थिइन् विगतका काण्डहरूले। यहाँ उपन्यासकारले सिआरपीए अनि हाम्रा नेपालीभाषी  पुलिस समूहको व्यवहार जोडेर त्यो बेला सन् १९८६ सालको राजनैतिक माहोल तथा हाम्रोनेपालीभाषी पुलिस दाजुभाइको  धोकेवाज चरित्रको उजागर गर्नु खोजेका छन्।

उपन्यासको कथावस्तुलाई उपन्यासकारले सामाजिक सञ्जालसँग जोड्न भ्याएकी छन् भनौं  उपन्यासको मूल कथा सामाजिक सञ्जालसितै जोडिएको छ। मोना उपन्यासको कथावस्तुले लामो कालखण्ड समेट्न भ्याएको छ। सामाजिक सञ्जाल फेसबुक  मार्फत मोनाले आफ्नो विद्यार्थी जीवनको सहपाठी सागरलाई नामक व्यक्तिलाई भेटेकी छन्। जो प्रदेशी जीवन बिताइरहेका युवक हुन्।

मोना र ती  प्रदेशी साथीको फेसबुक मेसेन्जर अनि फोन मार्फत कुरा भइरहन्छ। कुराकानीको सिलसिलामा एकदिन पुरूष साथीले  मोनालाई उहिल्यैदेखि नै मन पराएको अनि अझै मन पराइरहेको अवगत गराउँछन्। मोनाले उनको प्रेम प्रस्ताव स्वीकार गर्दिनन् तर मोनाको मनमा सागरप्रति प्रेम रहेको तर व्यक्त गरेकी देखिन्दैन।

मोनाले प्रेम प्रस्ताव नस्वीकार्दा सागर दुखी  बनेको उनी मोना लेखक भएकी हुँदा उपन्यास लेखिरहेकी जनाएकी अनि कुनै दिन भेट्न आउने भनेकी तर अचानक सागर मोनासँग सम्पर्कविहीन बन्छन्। त्यसपछि उपन्यासको कथावस्तु अर्कोतिर घुमेको देखिन्छ। सागर मोनासँग सम्पर्कविहीन बनेपछि मोनालाई सागरको यादले  सधैं सताइरहन्छ। मोनामा बेचैनी आउन थाल्छ। अब सागरसँग पुन: सम्पर्कमा कसरी आउने, कसरी फेरि भेट्ने यी कुराहरूले मोना दुखी बनेकी हुन्छिन्। उनी सोच्न थाल्छिन् अरू नारीहरू त उनीझैं दु:खी छैनन्  होला।

आफू दु:खी बनेकी समय मोनाले शान्ति नाम गरेकी विवाहित नारीलाई भेट्छिन् अनि शान्तिको श्रीमानले अर्कै नारीसित विवाह गरेको जानकारी पाएपछि शान्तिलाई नारी अत्याचारविरुद्ध भारत सरकारको लोक अदालत संविधानको धारा ३९-१३  ए अन्तर्गत  मुद्दा हाल्न भन्छिन्। मोना उपन्यासभित्र विवाहित नारीका दुख र वेदना उजागर गर्न खोजिएको छ।

उपन्यासको  कथाभित्र निलु नाम गरेकी युवती जसको विवाह सानो उमेरमै  धनी घरनाका युवकसित भएको देखाइएको  छ। जहाँ निलुलाई खानलाउन दुख  नभएको तर श्रीमानको हुकुम तथा आदेशमा बाँच्नुपर्ने बाध्यता तथा  निलुको जीवन चाबीवला गुडिया झैं बनेको देखाइएको छ।

मैले अगावै उल्लेख गरिसकेको  छु, उपन्यासको कथावस्तुले  लामो  कालखण्डल  समेट्न भ्याएको छ। समय आफ्नै गतिमा बितिरहन्छ। उपन्यास कथावस्तु उत्तरार्धमा पुग्नलाग्दा  मोनाका नानीहरू आआफ्ना कार्य क्षेत्रमा  लागिसकेका देखिएका छन्।

मोनाले आफ्नो उपन्यास पनि लेखिसिद्दाएकी छन् तर मोनासँग भेट्ने वाचा  गरेको मोनाको साथी सागर मोनालाई भेट्न आइपुग्दैनन्। सागरको आगमनको बाटो कुर्दा कुर्दै मोनाको शारीरिक अवस्था नाजुक  बनिसकेको हुन्छ। उनी सिकिस्त विरामी बनेकी छन्। त्यसपछि मोना  उपन्यासको कथावस्तुले कस्तो मोड लिने हो। उपन्यास संयोगान्त हुने हो या वियोगान्त,यी सबै रहस्य  बुझ्नलाई  पाठक वर्गले उपन्यास मोना आद्योपान्त पढ्नुपर्ने हुन्छ।

उपन्यास  मोना  मार्फत कृतिकार मोनिका  गुरूङले नारी जातिलाई सचेत गराउन खोजेकी छन्। नारी स्वयम जागरूक हुनुपर्छ। अर्काको अधिनमा  बाँधिएर बस्नु हुँदैन। पारिवारिक  सदस्यहरूले पनि धनको लोभमा परेर आफ्ना छोरी चेलीलाई कच्चा उमेरमै तथा आफ्नो स्तर नमिल्ने  घरनामा विवाह  गरिदिनु हुँदैन भन्ने  कुरो दर्शाउनु खोजेका छन्।

उपन्यास मोना नारी जातिलाई सचेत तथा जागरूक  गराउन खोजिएको  सामाजिक उपन्यास हो। उपन्यासकारले  कथावस्तु  सुन्दर ढाँचामा बुन्न सफल रहेको भान हुन्छ,उपन्यास ‘मोना’ पढ्दा । उपन्यास ‘मोना’भित्र के कस्ता  कमीकमजोरीहरू छन् अथवा उपन्यास  कत्तिको सफल बनेको छ, यसको निर्क्यौल समयमा पाठकहरूले गर्ने नै छन्। कृतिकार मोनिका प्रधान (गुरूङ) को कलमहरूले  समाजपयोगी सृजनाहरू पस्किरहून्। उनको  सुस्वस्थ्य  तथा  दिर्घायुको कामना राख्दछु।

– अर्जुन शर्मा निरौला  

प्रकाशित: २४ श्रावण २०८२ १४:०३ शनिबार





Source link

Leave a Comment