पाको उमेरमा क्यान्सरको पीडा


एक नवीन स्वास्थ्य प्रक्षेपणले आउँदो केही दशकभित्रै विकसित देशमा दुईमध्ये एक जनाले आफ्नो जीवनकालमा क्यान्सरको सामना गर्नुपर्ने देखायो। सम्पन्न देशका ५० प्रतिशत जनसंख्यालाई क्यान्सरले सताउने ठान्नुमा उनीहरूको दीर्घ जीवनलाई प्रमुख मान्यो भने खानपिन अनि जीवनशैलीलाई सहायक कारक ठान्यो।

जसै मानिस बुढो हुन्छ, अर्बुद रोगको सम्भाव्यता पनि उकासिन्छ। त्यसैले देशमा सालाखाला उमेर बढ्दा क्यान्सरको आयतन पनि बढ्ने हो। अर्बुद रोग आनुवंशिक रोग भएकाले ‘जिन’मा आउने खराबीले क्यान्सर लाग्छ। उमेरको बढोत्तरीसँगै ‘डिएनए’ जीर्ण हुने भएकाले जीवनको उत्तरार्धमा पुगेका अधिकांश हजुर पुस्तामा महारोग लाग्छ। सालाखाला उमेर बढिरहेको अनि क्यान्सरजन्य खान्कीप्रतिको लगावका कारण नेपालमा पनि अर्बुद रोगको चाप बढ्ने देखियो।

विश्व स्वास्थ्य संगठनको विश्वव्यापी तथ्याङ्कका अनुसार सन् २०२२ मा मात्र दुई करोड अर्बुद रोगका नयाँ बिरामी देखिए अनि झन्डै एक करोड मानिस क्यान्सरका कारण मरे। मृत्युको कारकमा फोक्सो, स्तन, पाचन प्रणालीका क्यान्सरको अग्रता देखियो। धूमपान, मद्यपान, धुलोधुवाँ अनि अस्वस्थ जीवनशैलीका कारण क्यान्सरको आयतन दिनानुदिन बढ्दो छ। झन्डै पाँच वर्षअघि डब्लुएचओले विश्वमा पाँचमा एक व्यक्तिले जीवनकालमा क्यान्सरको सामना गर्नुपर्ने ठम्याएकोमा अहिलेको आकासिँदो क्यान्सरको भयानकतालाई मध्यनजर राख्दै विज्ञहरूले उक्त प्रक्षेपणमा संशोधन गरी विश्वका आधा जनसंख्याले अर्बुद रोगको सामना गर्नुपर्ने देखे।

क्यान्सर केवल एक रोग होइन, बरु समस्या नै समस्याले भरिएको जटिल लक्षण भएकाले यसलाई महारोग पनि भनिन्छ। कुनै क्यान्सर सरल चरित्रका हुन्छन् अनि इलाजपछि रोगी सामान्य जीवनीमा फर्कन्छ। तर, अधिकांश अर्बुद रोग जटिल हुन्छन्। खराब चरित्रको क्यान्सरमा एक रोगी अर्को बिरामीभन्दा धेरै हिसाबले फरक हुन्छ। फोक्सोकै क्यान्सर भए पनि सय रोगीको लक्षण विश्लेषण गर्दा दर्जनौं किसिमका समस्या देखिने भएकाले एउटा ओखतीले सबै बिरामीलाई निको पार्न सक्दैन। रोगी नै पिच्छे फरक फरक औषधीको दरोकार पर्छ। यसरी हरेक बिरामीका लागि पृथक् दबाई बनाउनुपर्ने भएकाले एक अन्वेषणकर्ताले मंगलग्रहमा बस्ती बसाउनभन्दा अर्बुद रोगको ओखती आविष्कार गर्न कठिन हुने देखे।

क्यान्सरको इलाज गर्ने ओखती बनाउन बर्सेनि अर्बौं डलर खर्च हुन्छ। त्यस्तै संसारका सयौं ल्याबमा दशकौंदेखि हजारौं वैज्ञानिकहरू अर्बुद रोगको औषधी पत्ता लगाउन अहोरात्र खटेका छन्। तर, खर्चिएको पैसा र बगेको पसिनाको तुलनामा क्यान्सरको अनुसन्धानले रफ्तार लिन सकेन। केवल आठ वर्षको मेहनतले संयुक्त राज्य अमेरिका एक्लैले चन्द्रमामा मानिस ओराल्न सफल भयो भने संसार नै एक भई लाग्दा पनि अर्बुद रोग बिसेक पार्न नसक्नुले क्यान्सरको जटिलता भन्छ।

एउटा क्यान्सरका लागि विकास गरिएको ओखतीले रोगी नै पिच्छे फरक फरक नतिजा देखाउने गरेका कारण महारोगको अनुसन्धानमा लगानी गर्न हिचकिचाउने अवस्था आयो। अनुसन्धानले मूर्त रूप लिन नसक्दा विज्ञहरू लाचार देखिए। त्यस्तो अवस्थामा व्यक्तिगत, सामूहिक अनि अन्तर्राष्ट्रिय हातेमालोमार्फत क्यान्सरको सम्भाव्यता घटाउने दिशामा कदम चाल्नुपर्ने भयो।

पाको उमेरमा आनुवंशिक पदार्थ जीर्ण हुने भएकाले जिनको खराबीका कारण बुढेसकालमा क्यान्सर लाग्नुलाई केही स्वाभाविक रूपमा लिन सकिन्छ। तर पछिल्लो समय अर्बुद रोगले उल्लेख्य संख्यामा बच्चा तथा युवायुवतीलाई सताएको देखिन्छ। कम उमेरमै महारोगले सताउनु स्वाभाविक होइन। यसरी लाऊँलाऊँ खाऊँखाऊँ उमेर समूहमा देखिने अपत्यारिलो अर्बुद रोगको आँकडालाई न्यून पार्न व्यक्तिगत तथा सामूहिक प्रयासको सरोकार देखियो।

धूमपान र मधपान गर्ने समूहमा अर्बुद रोगीको संख्या उल्लेख्य देखिन्छ। शारीरिक परिश्रम नगर्ने अनि परम्परागत नेपालीको बदला चाउचाउ, बिस्कुट, चिप्सजस्ता प्रशोधित खान्कीलाई दैनिकी बनाउने व्यक्ति मोटा हुन्छन्। अनि मोटोपनले क्यान्सरलाई हौस्याउने भएकाले बाँच्ने तरिकाको परिमार्जन मात्रले पनि अर्बुद रोगलाई केही विश्राम दिन सकिन्छ।

क्यान्सरका रोगीको संख्या बढ्नुमा पर्यावरणीय प्रदूषण, कीटनाशक ओखती तथा कृषिजन्य विषादिले मात्र भूमिका खेल्दैन, बरु आयुर्विज्ञानको क्षेत्रमा प्रयोग हुने ‘एक्स–रे’लगायतका अन्य विकिरणले समेत योगदान गरेका छन्। प्रदूषण तथा रासायनिक पदार्थको बेथितिलाई नियन्त्रण गर्न सके महारोग नियोजनमा मद्दत हुन्थ्यो। चिकित्सकीय उपकरण तथा विधिको अत्यधिक उपयोगले पनि धेरै किसिमका क्यान्सरलाई उकासेको हुँदा मेडिकल संहितालाई न्यायोचित र पारदर्शी बनाउन आवश्यक देखियो। रेडियसनमा आधारित इलाज व्यापार बन्नुहुँदैन, बरु रोग केन्द्रित हुनुपर्छ।

ब्याक्टेरिया तथा भाइरसले आनुवंशिक पदार्थलाई तोडमोड गर्ने भएकाले केही सूक्ष्माणुहरू क्यान्सरको संवाहक पनि हुन्। एचपिभी, हेपाटाइटिस अनि एप्सटिनबार भाइरसहरूले क्रमशः गर्भाशय, कलेजो र लिम्फोमाका अर्बुद रोग लाग्छ। त्यसैले खोप तथा सामाजिक अनुशासनमार्फत भाइरसबाट जोगिन सक्दा मात्र पनि क्यान्सरबाट बच्न सकिन्छ। त्यस्तै ‘हेलिकोब्याक्टर पाइलोरी’ नाम गरेको ब्याक्टेरिया अल्सरको कारक हो। अनि समयमै पहिचान गर्न नसक्दा उक्त ब्याक्टेरियाले पेटको क्यान्सर लगाउँछ भन्ने बुझ्नुपर्छ। क्यान्सरको कारक देखिएको भाइरस र ब्याक्टेरियाबाट बच्न सक्दा अर्बुद रोगलाई पछि धकेल्न सकिन्छ।

दुई पृथक् कारणले जिनमा खराबी आउँछ। मातापितामा रहेका खराब आनुवंशिक पदार्थ सन्ततिमा सर्नु अनि विविध बाह्य कारणले जिनमा खराबी आउनु। जिनमा आएका केही कैफियतले शरीरलाई कुनै पीडा दिँदैन भने केही आनुवंशिक कैफियतहरू क्यान्सरका कारक बन्छन्। उदाहरणका लागि ‘ब्राका वान र टु’ जिनमा आएको खराबीले स्तन क्यान्सर अनि ‘एमएचएल १, एमएसएच २’ जिनहरूमा त्रुटि देखिँदा ‘लिन्च सिन्ड्रम’ भन्ने रोग लाग्छ।

यसरी जन्मँदै मातापिताबाट आएको खराब जिनको अनुगमन आफ्नो वशको विषय भएन, बरु पैत्रिक दायित्वको रूपमा स्विकार गर्नुपर्छ नै। तर आफ्नो काबुमा रहेको स्वस्थ जीवनशैली अवलम्बन गरी आनुवंशिक पदार्थलाई बेदाग राख्न भने सकिन्छ। त्यस्तै काबुभन्दा पर रहेको आन्तरिक हर्मोन तथा अन्य मेटाबोलिक क्रियाकलापमा आउने विचलनले समेत अर्बुद रोग ल्याउन सक्छ भन्ने भुल्नुहुँदैन। स्वस्थ जीवन व्यतीत गर्दैमा अर्बुद रोग लाग्दैन भन्ने हुँदैन तर क्यान्सरको सम्भाव्यता भने निश्चय नै कम हुन्छ।

क्यान्सरले रोगीको शारीरिक स्वास्थ्यलाई मात्र आधात पार्दैन, बरु परिवार तथा समाजलाई पनि नकारात्मक प्रभाव पार्छ। एकातिर उपचारको दरिलो विधि स्थापित नभएकाले रोगीले स्तरीय जीवनयापन गर्न सक्दैन भने सामीप्यको मरण मानिसका लागि कठिन हुन्छ नै। सदस्य थलिँदाको दर्दले उत्पादनशील बन्न नसकेको घडीमा खर्चिलो उपचार पद्धतिले परिवारमा धानिनसक्नु आर्थिक बोझ थपिन्छ।

क्यान्सरको अन्वेषणमा रकम खर्चने सम्पन्न देशले हो। विज्ञानका आविष्कारको उपयोग अनि के कस्ता संहिताले क्यान्सरको बोझलाई न्यून गर्ने भन्ने नेपालजस्ता गरिब मुलुकको दायित्व हुन्छ। प्रारम्भिक चरणमै क्यान्सरको पहिचान गर्न सके केही अर्बुद रोगका बिरामीलाई बिसेक पार्न सकिन्छ भने अन्यलाई सहजताको अवसर प्रदान गर्न सकिन्छ। स्तन क्यान्सर पत्ता लगाउन प्रयोग गरिने ‘मेमोग्राम’, पाचनप्रणाली निरीक्षण गर्न उपयोग गरिने ‘कोलोनोस्कोपी’लगायतका अन्य रक्त परीक्षण विधिमार्फत धेरै किसिमका क्यान्सर प्रारम्भमै पहिल्याउन सकिन्छ। यद्यपि एक युरोपियन बृहत्तर अध्ययनले मेमोग्रामको आवधिक प्रयोगले स्तन क्यान्सरका रोगीलाई दीर्घकालीन फाइदा नपुग्ने ठहर गरेको यथार्थ स्मरणयोग्य छ।

जीवनशैली, खानपिन तथा वातावरणीय प्रभावका कारण नेपालमा क्यान्सर पीडितको संख्या बढ्दो छ। खर्चिलो उपचार पद्धति अनि बिसेक हुने सम्भाव्यता न्यून भएको महारोग सबै पक्षका लागि महँगो छ। धूम्रपान, मद्यपान तथा प्रशोधित खान्कीको निषेधले क्यान्सरको सम्भाव्यता कम हुने भएकाले जनचेतनाको अभिवृद्धि र कानुनी सुधारको आवश्यकता देखिन्छ।

प्रारम्भिक चरणमै रोग पत्ता लगाउन सके योजना गर्न सजिलो हुन्थ्यो, पारिवारिक बोझ व्यवस्थापन सहज बन्थ्यो। त्यस्तै सालाखाला आयु बढ्दा पाको अवस्थामा लाग्ने क्यान्सरका रोगी बढ्छन् नै। हजुर पुस्तालाई महारोग लाग्दा उनीहरूको उत्तरार्धलाई कसरी व्यवस्थित बनाउने भनी ध्यान दिनु नाति पुस्ताको दायित्व भएकाले उपयुक्त स्वास्थ्य प्रणालीको विकास आवश्यक रह्यो।



Source link

Leave a Comment