प्रकाशित मिति : असार २६, २०८२ बिहीबार
पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका विभिन्न जिल्ला तथा बलुचिस्तानका केही भागमा भीषण मनसुनी वर्षाका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। ‘डन’ पत्रिकाको बुधबारको रिपोर्टअनुसार वर्षाले जनजीवनमा ठूलो प्रभाव पारेको छ।
लाहोरमा मुषलधारे वर्षाका कारण तल्लो क्षेत्र र प्रमुख सडकहरू डुबानमा परेका छन्, जसले दैनिक जीवनमा व्यापक अवरोध सिर्जना गरेको छ। लाहोरको वाटर एन्ड सेनिटेसन एजेन्सी (वास) का अनुसार सहरमा औसत रूपमा ५८.८ मिलिमिटर वर्षा मापन गरिएको छ। यसमध्ये निश्तार टाउनमा सबैभन्दा धेरै ८४ मिमी, लक्ष्मी चोकमा ७८ मिमी र पानीवाला तालाबमा ७४ मिमी वर्षा भएको हो।
पञ्जाब प्रान्तका अन्य भागहरूमा पनि भारी वर्षा रेकर्ड गरिएको छ। खानवालमा ५१ मिमी, रावलपिन्डीमा ४२ मिमी, साहीवालमा ४४ मिमी, मुर्रीमा ४१ मिमी, ओकारामा ३० मिमी वर्षा भएको जनाइएको छ। साथै, गुजरानवाला, बहावलपुर र मुल्तान लगायतका अन्य सहरहरूमा पनि वर्षाले प्रभाव पारेको छ।
पञ्जाब प्रान्तमा वर्षासम्बन्धी विभिन्न घटनामा ९ जनाको मृत्यु भएको पुष्टि गरिएको छ, जसको जानकारी आपतकालीन उद्धार सेवा ‘रेस्क्यु ११२२’ ले दिएको छ।
यता, बलुचिस्तानमा पनि भारी वर्षा र तीव्र हावाहुरीका कारण जनधनको क्षति भएको छ। खुजदार र मस्तुङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएको ‘डन’ ले जनाएको छ।
प्राकृतिक विपत्तिका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।