संस्कृति र सम्पदाको सहर पाटन विविध पहिचानमध्ये पोखरीका कारण पनि चिनिँदै आएको छ । केही दशकयता अस्तित्व संकटमा परेका पाटनका पोखरीहरू आफू पनि बौरिँदै छन् र पाटनको पहिचानलाई पनि जगाउँदै छन् । ललितपुर महानगरपालिकाको अगुवाइ, स्थानीय समुदाय र सरोकारवालाको सक्रिया सहभागितामा पाटन पोखरीको पहिचानसहित आकर्षक सहर बन्ने महानगर प्रमुख चिरिबाबु महर्जन बताउँछन् ।
पाटन अहिले हरियो सहर देख्न सक्नुहुन्छ, अब केही समयमै ब्लु एन्ड ग्रीन सिटी’ बन्नेछ,’ नगरप्रमुख महर्जनले भने, ‘ग्रीनबेल्ट, पार्क र पोखरीले सहरको स्वरूप सुन्दर बनेको छ ।’ महानगरपालिकाभित्र रहेका मुख्य
१० पोखरी र हरेक वडामा रहेका साना ठूला पोखरीलाई संरक्षण गर्ने नीति महानगरपालिकाले लिएको छ । प्राचीन पाटनभित्रका सांस्कृतिक महत्वका पोखरीहरू पर्यटकीय हिसाबले पनि पुनर्निर्माणको प्राथमिकतामा परेको बताउँदै अब सिंगै महानगरभरीकै पोखरी पुनर्निर्माण र ब्युटिफिकेसनमा ध्यान दिइने नगरप्रमुख महर्जनले बताए ।
भएका पोखरी जोगाउने, नासिएका पनि सम्झने
ललितपुर महानगरपालिकाभित्र धेरै पोखरी नासिए । केहीमा स्कुल बने, कतै सामुदायिक भवन त कतै निजी घर निर्माण भए । जिर्णोद्धार गर्न नसकिने ठाउँका पोखरीहरू पनि सम्झने, जसले गर्दा पोखरीहरू थप अतिक्रमण हुनबाट जोगाउन सकियोस् । नगरप्रमुख महर्जनले आफ्नो सूत्र नै भएको बताउँदै नासिएका पनि सम्झने भएकालाई प्रिजर्भ गर्ने बताए ।
ललितपुर महानगरपालिकाको अहिले भएको भवन नै पोखरी मासेर बनाइएको रहेछ । ‘अहिले म जनप्रतिनिधि होइन, एक सामान्य नागरिक मात्रै भए पनि म यो भवन बनाउन दिन्नथें,’ नगरप्रमुख महर्जनले भने, ‘यही“ नजिकैको त्रिपद्म स्कुल, पर्यटकीय बसपार्क पनि पोखरी मासेरै बनाइएको रहेछ, मैले पर्यटकीय बसपार्क हटाएर त्यहाँ पोखरी नै पुनर्निर्माण गराएँ, अब सम्भव भएसम्म पोखरी जोगाउने र जिर्णोद्वार गर्न सकिने नीति छ ।’

ग्रिन–ब्लु कम्बिनेसन
प्रकृति र पर्यावरणलाई महत्व दिएर पाटनमा पुनर्निर्माण र ब्युटिफिकेसन भइरहेका पोखरी, ग्रीनबेल्ट र पार्कलाई महानगरको गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको छ । नगरप्रमुखज्यूले गौरवको आयोजना र पाटनको प्रतिष्ठासँग ग्रीन ब्लु कम्बिनेसनलाई जोड्नुभएको रहेछ, कामहरू धेरै पूरा भइसकेका छन्, अब केही पोखरीको पुनर्निर्माण सम्पन्न भएपछि ग्रीन ब्लु कम्बिनेसन सफल हुन्छ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ भन्छिन् ।
ग्रिन ब्लु कम्बिनेसनको सुरुवाती कार्यक्रम सडक आसपासलाई हरियाली बनाउने कार्यक्रमले अहिले महानगरभित्रका सडक र चक्रपथ हरियाली भइसकेको छ । सानाठूला सबै पोखरीको संरक्षण र पार्क तथा हरियाली निर्माणले ललितपुर महानगर साँच्चै ग्रिन ब्लु कम्बिनेसन हरियाली र पानीको पर्याप्ततासहितको सुन्दर महानगर बन्ने महर्जनको विश्वास छ । पोखरी पुनर्निर्माण पर्यावरणीय सन्तुलनका दृष्टिले पनि उत्तिकै ख्याल गरिएको नगरप्रमुुख महर्जन बताउँछन् । ‘पोखरीको भित्ताको संरचना बाहिरी भिरालो फैलिएको बनाइदिँदा जमिन र पानीमा बस्ने जीवहरू पानीबाट बाहिर निस्केर बाहिरी वातावरण अनुभूति गर्न र फेरि पानीमा फर्कन सजिलो होस् भनेर इकोसिस्टममा अरू जीवको पनि ख्याल गरिएको छ ।’

पोखरीको स्वरूप नै मोहक
पुनर्निर्माण भइरहेको सप्तपाताल पोखरीको बीचमा एउटा १५ वर्षजतिको कपुरको रूख छ । यो रूख नगरप्रमुख महर्जनले इन्जिनियरसँग झगडा गरेर जोगाएका हुन् । इन्जिनियरिङ डिजाइनमा यो रूख जोगाउने भन्ने थिएन । डोजर लगाएर उखेल्ने तयारी बुझेपछि इन्जिनियरसँग रिसाएर भने, ‘यु युज योर कमन सेन्स, नेचुरल ब्युटी जोगाउने गर्नूस् न † ब्युटिफिकेसन कम्पोनेन्ट बुझ्नूस्, डोजर लगाएर माटो फ्याँकेर त जसले पनि बनाइहाल्छ नि, क्रियटिभ हुनूस् ।’ यसपछि यो रूख जोगियो, अब पोखरीमा पानीको बीचमा रूख हुनेछ ।
सप्तपाताल पोखरीबाट पश्चिमतर्फ राजदल गणबाट फिर्ता ल्याएको जग्गामा कमल फुलाउने पोखरी छ । विद्युत् प्राधिकरण लगनखेल कार्यालय अगाडिबाट अशोक स्तुपा आउने बाटोको दायाँबायाँका यी पोखरीमा ओहोरदोहोर गर्ने र दुवै पोखरीको अवलोकन गर्नेगरी आकर्षक पुल बन्नेछ ।
४२ लाख खर्चेर १२ भवन क्लियरेन्स
सप्तपाताल पोखरीको जग्गा फिर्ता आउने भएपछि ग्राउन्ड क्लियरेन्स गर्ने बेलाको कथा उस्तै छ । ‘पोखरी अतिक्रमण गरेर नमुना मच्छिन्द्रले १२ वटा भवन बनाएको थियो, हामीलाई पोखरी बनाउन हतार थियो,’ त्यतिबेलाको प्रसंग सम्झँदै नगरप्रमुख महर्जनले भने, ‘यसपछि मैले आफैं उनीहरूसँग भनें तपाईंहरूको एक पैसा पनि नलिई इँटा, काठ नबिग्रनेगरी हटाइदिन्छु ।’ त्यसपछि उनीहरूले नाइँ भन्न नसकेको उनले बताए । ‘हामीले महानगरको ४२ लाख खर्चेर त्यो ग्राउन्ड क्लियरेन्स ग¥यौं अनि काठ, जस्ता, झ्याल र इँटा लिलाम गराइदिएर उनीहरूको खातामा जम्मा गरिदियौं,’ नगरप्रमुख महर्जनले भने ।
युवाको आकर्षणमा प्रेमकथा बोकेको पिमबहाल
ललितपुर महानगरपालिका वडा नं २० पिमबहालमा रहेको पिमबहाल पोखरी एक किसानको प्रेमकथा बोकेको पोखरी हो । जग नभएको पोखरी भनेर नेवारीमा ‘जगमधु पुखु’ भनिने यो पोखरी अहिले युवा पुस्ताको घुमफिरको एउटा राम्रो गन्तव्य नै भएको छ । महानगरलाई सफा स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत आफूहरू निर्वाचित भएपछि अघिल्लो कार्यकालमा भएको महानगरका नगरप्रमुख महर्जन बताउँछन् । महर्जन भन्छन्, ‘अहिले तपाईंहरू जुनसुकै बेलामा जानूस् पिमबहाल पोखरीमा युवाहरू टन्नै हुन्छन्, एकदमै खुसी मुडमा ।’ पोखरी र साँझको झिलिमिली दिउँसो पोखरीमा जलविहारको सुविधा निकै लोभलाग्दो देखिन्छ ।
‘हामीले हेर्दाहेर्दै पोखरी जलकुम्भीले ढाकियो, लेदो माटोले भरियो वरिपरि पनि सफा भएन, बाटो हिँड्ने मान्छे पनि पोखरीछेउमा आएपछि फटाफट पोखरी कट्थे,’ पोखरीछेवैमा घर भएका स्थानीय भूषण कपाली भन्छन् । कपाली मात्रै नभई त्यस टोलमा भएका धेरैले पोखरीछेउछाउको बसाइ आफूलाई पीडादायी भएको महसुस गरिरहेका थिए । जब स्थानीय तह निर्वाचन २०७४ सकियो, त्यसपछि स्थानीयले निर्वाचनताका मुख्य मागका रूपमा अगाडि सारेको पोखरीको सुधारलाई प्राथमिकतामा राखियो । ललितपुर महानगरपालिकाको उच्च महत्वका कारण पोखरी हेर्दाहेर्दै केही वर्षमै लोभलाग्दो पर्यटकीय ठाउँ भयो । पोखरीको पुनर्निर्माणमा वडाध्यक्ष र नगरप्रमुखको सोचाइ मिलेकाले अझ धेरै सजिलो भयो । ‘मलाई पनि त्यो पोखरी राम्रो बनाउनुथियो, नगरप्रमुखसा’पले त सिंगै नगरलाई नै हरियाली र पोखरीले चिनाउने अभियान नै घोषणा गर्नुभयो, त्यसपछि त केही वर्षमै पोखरी यस्तो राम्रो भयो, यसको कार्यान्वयन पहलकदमीमा स्थानीय समुदायको सक्रियता महत्वपूर्ण छ,’ वडाध्यक्ष चन्द्रलाल महर्जन भन्छन् ।

न्हू पोखरी
लगनखेलमा पसल टहराहरू बनाएर पोखरीको सुन्दरतालाई अवरोध भएको महसुस गरेर गत वर्ष नगरपालिकाले ५ नं वडा कार्यालय भवनसहित आसपासका संरचनामा डोजर लगाएरै खाली गरेको नगरप्रमुख महर्जन बताउँछन् । ‘हाम्रो आफ्नै कार्यालयलाई समेत डोजर लगाएपछि अरूले केही भन्ने ठाउँ नै भएन, अहिले पोखरीको छेउमा पार्कसहित न्हू पोखरी ब्युटिफिकेसनको चरणमा छ,’ उनले भने ।
टौदहजस्तै हुन नदिन नागदहमा प्रयास
भ्यालीका दुईवटा ठूला पोखरी टौदह र नागदह । टौदह अतिक्रमणको मारमा पर्दैपर्दै गएको छ । मानवीय क्रियाकलापले अतिक्रमित हुन नदिन बेलैमा केही गर्नुपर्छ भनेर सुधारको अलि बृहत् योजना बनाउन आवश्यक भएको नगरप्रमुख महर्जनको बुझाइ छ । ललितपुर महानगरपालिका वडा नं २४ मा रहेको नागदहको छेउमा रहेको पूर्व र दक्षिणतर्फको जग्गा अधिग्रहण गरी डीपीआर बनाएर अघि बढ्ने प्रस्ताव महर्जनले सारेका थिए । १३ करोड बजेट पनि छुट्याइएको थियो । ‘लाङटाङ रोल्वालिङ हिमालहरू देखिने नागदहलाई उपत्यकाकै राम्रो पर्यटकीय ठाउँ बनाऔं भन्ने मेरो प्रस्ताव हो, स्थानीय समुदायले मलाई घचघच्याउन आउनुपर्नेमा मैले उहाँहरूलाई घच्घच्याइरहेको छु,’ नगरप्रमुख महर्जनले भने ।
नागदह सफा राख्ने यस्तो सूत्र
नागदहको अहिलेको क्षेत्रलाई सफा पोखरी राख्न चारैतिर सय फिट जग्गा अधिग्रहण गर्ने र छेउमा बाँस, त्यसपछि नर्कट रोप्ने, शुद्ध पानीसहितको सफा हराभरा र हरियालीयुक्त नागदहको योजना नगरप्रमुख महर्जनले सुनाए । बाँस र नर्कटको जराले प्राकृतिक र पर्यावरणीय हिसाबले पानीको शुद्धीकरण गर्छ । मानवीय क्रियाकलापबाट हुने अतिक्रमणबाट नजोगाउने हो भने केही समयमै नागदह कुरूप बन्नसक्ने चिन्ताले महर्जनलाई सताएको छ ।
जावलाखेल पोखरी
पाटनका धेरै ढुंगेधारा सुक्दा पनि इकुहिटी र हिकुहिटी सुक्दैनन् । धोवीघाटतर्फको ओरालोमा रहेका यी ढुंगेधारा नसुक्नुको एउटा बलियो आधार जावलाखेल पोखरी हो । जावलाखेल पोखरी चिडियाखानाभित्र रहेको छ । तुलनात्मक रूपमा बाहिरी क्षेत्रमा भन्दा चिडियाखानाभित्र पोखरी मानवीय क्रियाकलापको जोखिममुक्त छ । पर्यावरणीय सुरक्षामा ध्यान दिइएको भएकाले जावलाखेल पोखरी सुरक्षित नै छ । यसलाई पनि समयसमयमा गर्नुपर्ने पुनर्निर्माणमा चिडियाखानासँग ललितपुर महानगरको सहकार्य रहेको छ । महानगरको सुन्दरतामा चिडियाखानाभित्रका पोखरीको पनि योगदान छ ।
कुमारीपाटी पोखरी
कुमारीपाटीस्थित कुमारीपाटी पोखरी अहिले अतिक्रमणको चपेटामा परेर सानो भएको छ । वरिपरि घरहरू बनिसकेका छन् । कुमारीपाटीबाट दक्षिणतर्फ एउटा सानो प्रतिकात्मक पोखरी छ तर यहाँ निकै ठूलो पोखरी भएको स्थानीय पाका अगुवाहरू बताउँछन् । यहाँका धेरै घरहरू पोखरी मिचेर बनाइएका हुन् । सम्भव भएकासम्म अतिक्रमण हटाएर पोखरी फिर्ता ल्याउने अभियानमा महानगर लागेको छ ।

पूर्णचण्डी पोखरी
पूर्णचण्डी मन्दिरसँगै रहेको पूर्णचण्डी पोखरी पनि सांस्कृतिक महत्व जोडिएको पोखरी हो । यस पोखरीमा पनि केही समयअघिसम्म पोखरीको आकृति मात्रै थियो । तर, अहिले पानीसहितको राम्रो आकर्षक पोखरी छ । पूर्णचण्डी मन्दिरसँग जोडिएको सांस्कृतिक महत्वलाई पोखरीले अझ उजागर गरेको छ । पूर्णचण्डीको पुनर्निर्माण पनि महानगरको प्राथमिकतामै भएको हो । पूर्णचण्डी पोखरी बनाउन धेरै दुःख व्यहोर्नुपरेको नगरप्रमुख महर्जन बताउँछन् । आधामा पार्क र आधामा पोखरी बनाउनेगरी ये योजना समुदायको सक्रियतामा बनाइएको छ ।
प्राचीन पाटन अर्थात् हालको ललितपुर महानगरपालिकाभित्रका सांस्कृतिक, पर्यावरणीय र ऐतिहासिक महत्वका पोखरीहरूले पाटनलाई अझ चिनाउनेछन् । पाटन दरबार स्क्वायरभित्रको रानीपोखरीले बोकेको ऐतिहासिकता नेपालको इतिहास, प्राचीन सभ्यता र समाज अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण गन्तव्य हो । बुङ्मतीको ‘देँ पुखु’ र ‘पो पुखु’ पनि सांस्कृतिक महत्वका पोखरीहरू हुन् । लिच्छवी तथा मल्लकालमा अमरापुर नामको सानो सहरका रूपमा रहेको बुङ्मती पनि प्राचीन संस्कृतियुक्त ठाउँ हो । यहाँँको संस्कृतिसँग यी पोखरी जोडिएका छन् । यी पोखरी अहिले सांस्कृतिकसंगै पर्यावरणीय महत्वका क्षेत्रका रूपमा रहेका छन् ।
पोखरी जोगाउन पानी प्रणाली पुनर्संरचना
पाटनका पोखरीहरू जोगाउन ललितपुर महानगरपालिकाले टीकाभैरव राजकुलोको पानी लगनखेल ल्याउनेगरी पानी प्रणाली पुनर्संरचना गरिरहेको छ । सप्तपाताल पोखरीबाट चक्रपथबाहिरसम्म पाइप बिछ्याउने काम भइसकेको र गोदावरी क्षेत्रमा पाइप बिछ्याउन गोदावरी नगरपालिकालाई आवश्यक बजेट पठाएको ललितपुर महानगरपालिकाका नगरप्रमुख महर्जन बताउँछन् । १ वर्षभित्रमा बासुकी खोलाको पानी टीकाभैरव राजकुलो हुँदै सप्तपाताल पोखरीमा झार्ने तयारी रहेको छ ।
सप्तपाताल पोखरी, राजदल गणसँगैको कमलपोखरी र लगनखेलको न्हुँ पोखरीमा पर्याप्त पानी पु¥याएसँगै पाटनका केही ढुंगेधारामा समेत पानी आउने विश्वास ललितपुर महानगरपालिकाले लिएको छ । विवादमुक्त तथा सबै जनप्रतिनिधि र कर्मचारीको समर्थन र सहयोग रहेको महानगरको एउटा मिसनको निष्कर्ष सुनाउँदै नगरप्रमुख महर्जन भन्छन्, ‘१० वर्षमा ललितपुर महानगरपालिकाले ग्रीन ब्लु कम्बिनेसनसहित प्राचीन पाटनको आधुनिक रूप देख्नेछ, जुन विश्वकै हेर्नलायक सहरमध्येको एक हुनेछ ।

सप्तपाताल फर्काउँदाको कहालीलाग्दो कथा
वि.सं २०३४ मा पोखरी क्षेत्रमा भएको जग्गा काटेर नमूना मच्छिन्द्र व्यावसायिक माध्यमिक विद्यालय स्थापना गरेपछि अतिक्रमणको चपेटामा परेको लिच्छविकालीन पहिचान बोकेको लगनखेलको ऐतिहासिक सप्तपाताल पोखरी झण्डै पाँच दशकपछि पाटनको आधुनिक पहिचान सहित पुनर्निर्माण सम्पन्न हुने अवस्थामा छ । पोखरी पुनस्र्थापित गर्नको लागि निरास नभै निरन्तर मुद्धा लड्ने पूर्ण स्थापित, स्थानीयको सपना र राष्ट्रको महत्वपूर्ण कर्तव्य पूरा गरेको महसुस गरिरहेका छन् । सरकारी जग्गा अर्थात ‘७ नम्बर’ दर्ता कायम रहेको ललितपुर नगर ५ (क) लगनखेलको कित्ता नं १२६ मा रहेको २ सय ५ रोपनी जग्गाभित्रै पर्ने सप्तपाताल पोखरी स्थानीय समुदायको संस्कृतिको प्रतिक थियो ।
देवताको विश्वास गर्नेहरूले माछा ल्याएर पोखरीमा छोडीदिएर स्वर्गको बाटो खोल्ने विश्वास स्थानीय पाकाहरू गर्थे । देव तथा पितृकर्ममा पोखरीको विशेष महत्व जोडिएको थियो । तर हेर्दाहेर्दै स्कुलसँगै मालपोत तथा नापी कार्यालय, अदालत, अरु केही सरकारी कार्यालय र राजदल गण स्थापना भएपछि लगनखेल सहर बन्यो । पोखरी सहितको सार्वजनिक जग्गा मासियो । सप्तपाताल पोखरी र न्हुँ पुखु (जिल्ला अदालत अगाडि सञ्चयकोष भवनसँग जोडिएको जग्गामा रहेको पोखरी) पानी ओहोरदोहोर गर्ने सँगैका पोखरी आफूले बच्चा बेलामा खेल्दा हुर्कँदा देखेको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन बताउँछन् ।
२०६१ साल फागुन ८ मा सर्बोच्चले परमादेश दिएपछि स्कूल ले पुनरावेदन गर्दै गर्दा २०७६ असार २३ गते अन्तिम किनारा लाग्यो र पोखरी पुनस्र्थापित गर्ने कानुनी बाटो खुल्यो । ‘अदालतको फैसला कार्यान्वयन गर्नै कठिन भयो हामीले स्कुललाई सम्झाएर उनीहरूको इँट्टा, काठ केही नविग्रने गरी निकालेर उनीहरूले भनेको ठाउँमा राखिदिँदा ४० लाख त महानगरको खर्च भयो ।’ नगरप्रमुख महर्जन सम्झन्छन् ।
(Visited 25 times, 1 visits today)
