परिवर्तन कांग्रेसबाट मात्रै सम्भव: नेता कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको समस्याको जड निर्वाचन प्रणालीले निम्त्याएको सरकार गठन र विघटन भएको बताएका छन्।

लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने ठोकुवा समेत गरे।

संविधान संशोधन मार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाले औंल्याए। ‘कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने ? जनताका काम कहिले गर्ने ? विकास कहिले गर्ने ? ’ कोइरालाले प्रश्न गरे।

‘संविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरु पटक-पटक सत्तामा पुगे पनि संविधान बनाउन सकेनन् र जब दोस्रो संविधान सभाबाट कांग्रेसको नेतृत्वमा सरकार बन्यो अनि मात्रै संविधान जारी भयो। परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्न पर्‍यो’ कोइरालाले भने ‘त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ।’

कोइरालाले राजनीतिक स्थिरता, सुशासन र विकास आफ्नो मूल एजेन्डा भएको र त्यसमा आफू पुर्णरुपले प्रतिबद्ध रहेको पनि बताए। हाम्रै नेताहरुले त्यो पनि कांग्रेसले नै देश बनाउन सक्छ भन्ने सन्देश गाउँघरका कुनासम्म पुर्‍याईदिन कोइरालाले शिक्षकहरुसँग आग्रह समेत गरे।

कोइरालाले पार्टीभित्रको तिक्तता र मनमुटाब बिर्सेर संगठनमा लाग्न र एक्लै निर्वाचन लड्ने तयारीमा जुट्न देशभरका कार्यकर्तालाई आग्रह समेत गरे।

प्रकाशित: २८ चैत्र २०८० २०:४१ बुधबार





Source link

Leave a Comment