काठमाडौं । प्रतिनिधिसभा निर्वाचन तयारीको अन्तिम चरणमा पुग्दा राजनीतिक दलका शीर्ष नेताहरू नै प्रतिस्पर्धी पार्टीका उम्मेदवारबाट ‘पराजित हुने’ डरबाट त्रसित छन् । चुनावी मैदानमा उत्रिएका पार्टी प्रमुखहरूलाई पार्टी जिताउन भन्दा पनि आफू जित्न नै निकै पेचिलो पर्ने देखिएको छ ।
देश दौडाहा छाडेर आफ्नै मैदानमा केन्द्रीत
जेनजी आन्दोलनले स्वाभाविक समयभन्दा अगावै भएको निर्वाचनमा दलको नेतृत्व निर्वाचनका लागि तयार नभएको अवस्थाले गर्दा उनीहरूको सहज जीतको मनोविज्ञानलाई प्रभाव पारेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेदेखि चार पटक झापा–काठमाडौ ं ओहोरदोहोर गरेका छन् ।
यो निर्वाचनमा ओलीले अन्य उम्मेदवारलाई जिताउन दौडधुप गर्नसमेत नभ्याएर केन्द्रीय निर्वाचन परिचालनका रणनीतिक बैठक तथा घोषणापत्र सार्वजनिकलगायतका कार्यक्रमहरूमा सहभागी भएर झापाको आफ्नै निर्वाचन क्षेत्रकेन्द्रित देखिएका छन् । जेनजी आन्दोलनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले ओलीलाई हराउने एकमात्र मिसन यो निर्वाचनमा रहेको भन्दै झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएपछि ओलीलाई झापामा बढी समय दिनुपर्ने अवस्था बनेको हो ।
एमाले अध्यक्ष ओलीको चुनावी कमान्डर रहेका देवेन्द्र दाहालका अनुसार यो निर्वाचनमा विगतभन्दा बढी क्षेत्रकेन्द्रित र रणनीतिक हिसाबले अलिक भिन्न ढंगले अघि बढ्नुपर्ने अवस्था भएको छ । ‘सोचेजस्तो अन्तर नभए पनि चुनाव जित्नेमा समस्या छैन तर पनि सोसल मिडियाबाट फैलाइएका भ्रम चिर्न आवश्यक भएकाले अलिक भिन्न रणनीति बनाइएको हो,’ दाहाल भन्छन् ।
अध्यक्ष ओलीको चुनावी कमान्डरमात्र नभइ झापाका पार्टी केन्द्रीय नेताहरू तथा कोशी प्रदेशका धेरै नेता कार्यकर्ता झापामा ‘वान टु वान भेटघाट’को रणनीतिमा भएको बुझिएको छ । रास्वपा वरिष्ठ नेता शाह राष्ट्रियरूपमा रास्वपाका माहौल निर्माता नै भएकाले ओली र एमालेका लागि प्रमुख चुनौती हुन् ।
विगतमा ओलीसँग चुनावी गठबन्धन गरेर मत माग्ने काममा सक्रिय रहेका नेकपाका उम्मेदवार रञ्जित तामाङ, राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला र नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमोरियासमेत चुनावी मैदानमा भएकाले ओलीलाई यो एकल यात्रा तुलनात्मक रूपमा २०६४ पछिको सबैभन्दा चुनौतीपूर्ण छ ।
नेपाली कांगे्रसका गगनकुमार थापा पनि चुनावको चुनौतीपूर्ण चपेटा व्यहोरिरहेका छन् । निकै महँगो रिस्क उठाएर विशेष महाधिवेशनबाट पार्टीसत्ता कब्जा गरेका थापालाई देउवा समूहको मौन असहयोग चिर्दै कांग्रेसको विरासत बचाउन चुनौती नै पर्ने देखिन्छ ।
जेनजी आन्दोलनपछिको पुस्तान्तरण बहसलाई निष्कर्षमा पु¥याएकाले नयाँ पुस्ताको आकर्षण बचाएर एक किसिमको क्षति बचाए पनि पाको पुस्ताको अपमानजनक बहिर्गमनको असर देखिने खतरा उनको लागि चुनौतीपूर्ण हुन सक्छ । पार्टी सभापति भएका कारण बढी जनसंख्या भएको तराईलाई सम्बोधन गर्न मधेश झरेका थापालाई विगतमा आफ्नै पार्टीभित्रका नेताको रूपमा रहेका डा.अमरेशकुमार सिंहसँग चोटिलो प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
पार्टी सत्ता कब्जाभन्दा चुनौतीपूर्ण हुने आशंका गरिएको छ । सर्लाही क्षेत्र नम्बर ४ को चुनावमा रास्वपाबाट उम्मेदवार भएका डा.सिंह नै प्रमुख प्रतिस्पर्धी हुने देखिएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय र नेकपा एमालेका अमनिसकुमार यादवसहित ३९ जना उम्मेदवार छन् । थापा मधेश झरेपछि समग्रमा मधेशी जनतामाझ उत्साह देखिए पनि उनी आफ्नै क्षेत्रमा भने चुनौती व्यहोरिरहेका छन् ।
चुनावी चर्चामा देशव्यापी ‘नयाँ’को लहर चलाएर आफूलाई त्यसको मसिहा दाबी गरिरहेको अघिल्लो निर्वाचनबाट निर्माण भएको प्रतिनिधिसभामा चौथो दलको हैसियतमा रहेको रास्वपाका सभापति रवि लामिछाने पनि आफ्नै क्षेत्रमा भने सुरक्षित छैनन् ।
प्रतिनिधिसभा निर्वाचन २०७९ मा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित उनी नक्कली नागरिकता प्रकरणका कारण सांसद पद खारेज भएपछि उपनिर्वाचनमार्फत नेकपा एमालेसमेतको साथले जितेर संसद् सदस्य भई गृहमन्त्री भएका थिए । कार्यकालका हिसाबले तेस्रो कार्यकालका लागि मैदानमा निस्किएका लामिछानेले जेनजी आन्दोलनबाट लखेटिएका प्रतिस्पर्धी पुराना दल र सांसदको रूपमा परीक्षण नभएका बालेन्द्र शाहलाई देखाएर पार्टीको नाममा माहौल बनाएका छन् ।
राष्ट्रिय रूपमा माहौल बनेको देखिए पनि चितवन क्षेत्र नम्बर–२ भूगोलमा भने ‘नपत्याउने खोलाले बगाउन सक्छ’ भनेजस्तो भएको स्थानीयहरूले बताएका छन् । ‘बरु सोविताप्रति आकर्षण देखियो, उनीहरूले नै नयाँलाई हेरौं भनेका कारण रविसँग भन्दा अरू उम्मेदवारसँग ढल्कने पो हुन् कि भन्ने पो देखिँदै छ,’ अघिल्लो निर्वाचनमा मतदान गरिरहेका लामिछानेका समर्थक बताउँछन् ।
रास्वपाले प्रतिष्ठाको क्षेत्र र चुनावी हेडक्वार्टर जस्तो बनाइएको चितवन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसकी स्थापित र सामाजिक छवि बनाएकी मीनाकुमारी खरेलको उम्मेदवारी भारी बनिरहेको छ । देशव्यापी चुनावी दौडमा बालेन्द्र शाहसँगै हात हल्लाउन पनि जानैपर्ने र निर्वाचन क्षेत्रमा असन्तुष्ट बनेकाहरूसँग पनि विगतमा अरू दलले गर्न दिएनन् अब हामी गर्छौं भन्दै हिँड्नुपरेकाले लामिछानेले चुनावी चपेटा व्यहोर्नुपरेको छ ।
लामिछानेलाई नेकपा एमालेका युवा उम्मेदवार ३८ वर्षीय अस्मिन घिमिरेले पनि राम्रै टक्कर दिने देखिएको छ । ‘लामिछानेले नयाँ र युवालाई दिनुपर्ने भनेका छन्, त्यसैले उहाँ दुई पटक निर्वाचित भइसक्नुभयो र ५० वर्षको हुनुहुन्छ त्यसैले यसपालि नयाँ र युवाको हिसाबले मलाई जिताउनुहुन्छ,’ गीत गाउँदै निर्वाचन क्षेत्रमा मतदातासँग अन्तक्र्रिया गरिरहेका घिमिरेले बताए ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वको सिस्ने हिमालदेखि पहाडका कुना कन्दरामा मत माग्दै जनताका घरघरमा पुगिरहेका छन् । हरेक निर्वाचनमा क्षेत्र बदल्ने आरोप लाग्ने गरेका प्रचण्डलाई यो निर्वाचन आफ्नै पूर्वसहकर्मी र आफूभन्दा झन्डै नाति पुस्तासँगको प्रतिस्पर्धाका कारण चुनौतीपूर्ण भएको छ । जनयुद्धका शहीद पुत्र सन्दीप पुन प्रचण्डको प्रमुख प्रतिस्पर्धी हुने देखिएको छ ।
प्रचण्डबाट विभाजित भएका रुकुमका प्रभावशाली नेता जनार्दन शर्मासहितले स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार पुनसहित नेपाली कांग्रेस र नेकपा एमालेसमेत प्रचण्डका लागि चुनौती छन् । नेकपा एमालेबाट लीलामणि गौतम र नेपाली कांग्रेसबाट कुसुमदेवी थापा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा छन् ।
पार्टी प्रमुखको हिसाबले चुनाव जिताउन अन्यत्र समय दिनुपर्ने अध्यक्ष प्रचण्ड आफ्नै क्षेत्रमा सीमित हुनुपर्ने चुनौती जेनजी उम्मेदवार पुनका कारण भएको कार्यकर्ताहरूको बुझाइ रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि झापा क्षेत्र नम्बर–३ मा कडा मिहिनेतसाथ लागेका छन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धनको कारण कम मिहिनेतमा जितेका लिङ्देनलाई यो निर्वाचनमा रैथाने लोपोन्मुख राजवंशी समुदायका उम्मेदवारलाई अगाडि सारेर नेकपा एमालेले धर्मसंकट बढाएको छ ।
लिङ्देनलाई एमालेले अगाडि सारेका हरिबहादुर राजवंशीसँगै नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे र रास्वपाका प्रकाश घिमिरे चुनौतीको रूपमा उभिएका छन् । झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार भएका रास्वपा वरिष्ठ नेता शाहका कारण झापाका अन्य क्षेत्रमा समेत रास्वपाको प्रभाव नजानिँदो पारामा बढिरहेकाले लिङ्देनलाई चुनाव जित्न कठिन हुने विश्लेषण भइरहेको छ । मधेश आन्दोलनबाट रापतापसहित उदाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफ्नो निर्वाचन क्षेत्रभित्रै जोखिममा परेका छन् ।
कुनै समय मधेशी नेताको पर्याय बनेका यादव यतिबेला सप्तरी–३ स्थित आफ्नै निर्वाचन क्षेत्रमा नेकपा एमाले, रास्वपा र नेकपाको चुनौती व्यहोरिरहेका छन् । बालेन्द्र शाहको मधेश यात्रा र गगन थापाको उम्मेदवारीसहितको मधेश आगमनले मधेशको राजनीतिमा क्षेत्रीय दलभन्दा राष्ट्रिय दलतिरै आकर्षण बढेका कारण आफूलाई मधेशवादी दाबी गर्ने दलका प्रमुख नेताहरूलाई नै चुनावी संकट बढिरहेको विश्लेषण भएको छ ।
त्यस्तै, २०७९ को प्रतिनिधिसभाबाट राष्ट्रिय पार्टी बनेको जनमत पार्टीका अध्यक्ष सिके राउत पनि आफ्नै निर्वाचन क्षेत्रमा चुनौती ब्यहोरिरहेका छन् । सप्तरी क्षेत्र नम्बर–२ बाट उम्मेदवार भएका राउतलाई पनि मधेशी क्षेत्रीय नेताको ट््याग लागेसँगै आफ्नो र पार्टीको साख जोगाउन चुनौती थपिएको विश्लेषण गरिएको हो । उनलाई जसपाका उमेशकुमार यादव, कांग्रेसका रामकुमार यादव, एमालेका मो.जियाउल रहमान, रास्वपाका रामजी यादव र नेकपाका सूर्यनाथप्रसाद यादव चुनौतीको रूपमा रहेका छन् ।
यसैगरी, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि आफ्नै निर्वाचन क्षेत्रमा संकट सिर्जना भएको छ । रास्वपासँग राजनीतिक सम्बन्ध बनाएर बालेन रविसँग सम्झौतापत्रमा हस्ताक्षर गर्दै समानुपातिक सूची बुझाउने म्याद गुज्रिएपछि विभाजनको बाटो लिन बाध्य घिसिङलाई रास्वपासहितकै चुनौती प्रत्यक्षमा उभिएको छ । घिसिङलाई रास्वपाका राजुनाथ पाण्डे वैकल्पिक राजनीति पक्षधरताको चुनौती छ भने नेपाली कांग्रेस र नेकपा एमालेका स्थानीय समुदायमा लोकप्रिय रैथाने उम्मेदवारको चुनौती छ ।
काठमाडौं–३ बाट उम्मेदवार भएका घिसिङले सर्भिस डेलिभरी र उज्यालो नेपाललाई राजनीतिको मोडल बनाएर प्रस्तुत भइरहँदा नेकपा एमालेले पूर्वजिविस सभापति तथा बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँललाई अगाडि सारेको छ भने कांग्रेसले स्थानीय समुदायमा स्थापित रमेश अर्याललाई अगाडि सारेको छ । घिसिङलाई समानुपातिकमा रास्वपाबाट चुनौती सिर्जना भएजस्तै प्रत्यक्षको लागि चुनाव जित्न घेराबन्दी जस्तै भएको छ ।
(Visited 164 times, 1 visits today)
