प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार

न्यूयोर्क सिटीको एक सबवे ट्रेनमै महिलाले छोरी जन्माएकी छिन् । अन्य यात्रुहरूले बच्चा जन्माउन मद्दत गर्नुका साथै बच्चाको नाभी समेत काटेका छन्।
२५ वर्षीया एक महिला बुधबार बिहान म्यानह्याटनको ३४ स्ट्रीट–हेराल्ड स्क्वायर स्टेशनमा दक्षिणतर्फ गइरहेको डब्ल्यु ट्रेनमा थिइन्। बिहान करिब साढे ११ बजे उनले यात्रुहरूलाई आफूलाई सुत्केरी व्यथा लागेको जानकारी गराइन्।
अन्य यात्रुहरूले तत्काल सहयोग गर्दै बच्चा जन्माउन मद्दत गरे। प्रत्यक्षदर्शीहरूका अनुशार यात्रुहरूले नै नवजात शिशुको नाभी पनि काटे।घटनास्थलमा प्रहरी र आपतकालीन स्वास्थ्यकर्मी पुगेका थिए। आमा र बच्चालाई स्थानीय अस्पताल लगिएको छ ।
न्यूयोर्क सिटी ट्रान्जिटका अध्यक्ष डेमेट्रियस क्रिचलोले एक विज्ञप्तिमा न्यूयोर्कवासीहरू एकअर्कालाई मद्दत गर्न एकजुट भएको यो अर्को उदाहरण भएको बताएका छन् । यातायातका कर्मचारीहरू र अन्य उद्धारकर्ताहरूको सहयोगले समुदायको उत्कृष्ट पक्ष देखाएको उनको भनाई छ ।
आमा र बच्चा दुवै सुरक्षित भएको उनले बताएका छन् । भविष्यमा उनीहरूको यात्रा विश्वसनीय र कम नाटकीय हुने उनको भनाई छ ।
