प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार
न्यूयोर्कमा जारी श्रीस्वस्थानी महोत्सव तेस्रो सातासम्म आइपुग्दा थप भव्य र ऐतिहासिक बनेको छ। नेपाली समुदायको अथक सहयोग र सहभागिताका कारण यो धार्मिक तथा सांस्कृतिक उत्सवले नयाँ उचाइ हासिल गरिरहेको छ।
फेब्रुअरी २, २०२५ सम्म, न्यूयोर्कमा नेपाली मन्दिर तथा नेपाली समुदाय र सांस्कृतिक केन्द्र निर्माणका लागि करिब चौरासी हजार अमेरिकी डलर संकलन भइसकेको छ। यस ऐतिहासिक अभियानमा नेपाली समुदायको निरन्तर साथ र समर्थनले महोत्सवलाई अझ प्रभावकारी बनाइरहेको छ।
यस हप्ताको सबैभन्दा ठूलो दाता परशुराम पन्थी तथा उहाँको परिवार हुनुहुन्छ, जसले ३,१३१ अमेरिकी डलर प्रदान गर्नुभएको छ। आयोजक समिति तथा नेपाली समुदायले उहाँप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।
परशुराम पन्थी मूल रूपमा नेपाल, अर्घाखाँची जिल्ला निवासी हुनुहुन्छ। सन् २००७ देखि उहाँ आफ्नी श्रीमती ममता पन्थी र छोरीहरू प्रज्ञा पन्थी तथा नेहा पन्थीसँग न्यूयोर्कमा बसोबास गर्दै आउनुभएको छ। व्यवसायिक रूपमा पनि अत्यन्त सफल परशुराम पन्थी विभिन्न व्यवसायहरू सफलतापूर्वक सञ्चालन गर्दै आउनुभएको छ। साथै उहाँ सेभेन इलाभेन फ्रेन्चाइजको नेशनल बिजनेस लिडरशिप काउन्सिलका सदस्य समेत हुनुहुन्छ। नेपाली समुदायका लागि विशेष योगदान दिने व्यक्तित्वका रूपमा उहाँ रिजउड नेपाली समाजका प्रमुख योगदानकर्तामध्ये एक हुनुहुन्छ र विभिन्न कार्यक्रमहरूमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ।
परशुराम पन्थीकी श्रीमती ममता पन्थी रिजउड नेपाली समाजको कार्यकारी समिति सदस्य हुनुहुन्छ। त्यस्तै, उहाँकी छोरी प्रज्ञा पन्थीले विगत दुई वर्षदेखि निःशुल्क फिटनेस कक्षा सञ्चालन गर्दै आउनुभएको छ र नेपाली समुदायका बालबालिकालाई नृत्य प्रशिक्षणमा सहायक प्रशिक्षकका रूपमा सक्रिय रूपमा संलग्न हुनुहुन्छ।
उहाँ न्यूयोर्क श्रीस्वस्थानी महोत्सव २०२५ को मुख्य आयोजक समितिको रणनीति तथा सम्पर्क समितिका सदस्य हुनुहुन्छ। विशेष गरी, उहाँ रिजउड बाहिरका भक्तजन र दाताहरूसँग सम्पर्क स्थापित गरी अभियानलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। साथै, उहाँको सम्पूर्ण परिवार ३१ दिन लामो श्रीस्वस्थानी व्रत कथामा निरन्तर रूपमा सहभागी हुँदै आएको छ।
परशुराम पन्थीले भन्नुभयो, “हाम्रो नेपाली समुदायको पहिचान, संस्कृति, र धर्म जोगाउन मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माण अत्यन्त आवश्यक छ। यस महाअभियानमा सहभागी हुन पाउँदा मेरो परिवार अत्यन्तै खुसी छ। म सबै समुदायका साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामी सबै मिलेर यो अभियानलाई सफल पारौं।”
तेस्रो साताका दोस्रो ठूलो दाता अम्बिका ज्ञवाली र तुलसीराम आचार्य परिवार हुनुहुन्छ, जसले १,६०२ अमेरिकी डलर योगदान गर्नुभएको छ। आयोजक समितिले उहाँहरूको योगदानका लागि हार्दिक आभार व्यक्त गरेको छ।
अम्बिका ज्ञवाली पेशाले नर्स हुनुहुन्छ र नेपाली समुदायको सेवामा अत्यन्त सक्रिय रूपमा संलग्न रहनुभएको छ। त्यस्तै, तुलसीराम आचार्य नेपाली-अमेरिकी समुदायका एक सक्रिय सदस्य हुनुहुन्छ। रिजउड नेपाली समाज स्थापनाकालदेखि नै उहाँ स्वयंसेवी रूपमा सेवा प्रदान गर्दै आउनुभएको छ। हाल उहाँ रिजउड नेपाली समाजको कार्यकारी समितिका उपाध्यक्ष हुनुहुन्छ, साथै न्यूयोर्क श्रीस्वस्थानी महोत्सव २०२५ को मुख्य समारोह समितिका अध्यक्षको भूमिकामा हुनुहुन्छ।
तुलसीराम आचार्यले भन्नुभयो, “रिजउड नेपाली समाज, दुर्गा मन्दिर, विभिन्न संघसंस्था एवं मिडिया साझेदारहरूको संयुक्त सहकार्यमा १३ जनवरी २०२५ देखि १२ फेब्रुअरी २०२५ सम्म आयोजित न्यूयोर्क श्रीस्वस्थानी व्रतकथा महोत्सव भव्य रूपमा सम्पन्न हुँदैछ। संस्कृति र धर्मको निरन्तरता सुनिश्चित गर्दै, दुर्गा मन्दिर र नेपाली सामुदायिक तथा सांस्कृतिक भवन पुनर्निर्माण अभियानका लागि यो वृहत कार्यक्रम आयोजना गरिएको हो। महोत्सवको अन्तिम सातामा अझ बढी सहभागिता र योगदानको अपेक्षा गरिएको छ।”
“यस वर्षदेखि, कर्ता बसेर वा नबसी गरिएको सम्पूर्ण दान रकम दुर्गा मन्दिर र नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रका दाताहरूको सूचीमा थप गरिनेछ। कार्यक्रममा कर्ता बस्न इच्छुक व्यक्तिहरू र मन्दिर पुनर्निर्माणका लागि दान गर्न चाहने दाताहरूलाई समाजका कार्यसमितिका सदस्यहरू, मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिका सदस्यहरू र गुरुहरूसँग सम्पर्क गर्न अनुरोध गर्दछौं।” आयोजकले बताएका छन् ।
रिजउड नेपाली समाजको कार्यसमितिको निर्णयअनुसार दाताहरूको संस्थापक सदस्य बन्ने अवधि ३० अप्रिल २०२५ सम्म थप गरिएको छ। संस्थापक सदस्यको सूचीमा रहन चाहने दाताहरूले ३० अप्रिल २०२५ सम्म दान रकम उपलब्ध गराउन अनुरोध गरिएको छ ।
स्वस्थानी व्रत कथाको निरन्तर पाठ, भक्तजनहरूको उत्साहजनक उपस्थिति, र सामूहिक समर्पणले यो महोत्सवलाई थप भव्य बनाएको छ। आयोजकहरूले सबैलाई आगामी दिनहरूमा पनि निरन्तर सहभागी हुन, आशीर्वाद प्राप्त गर्न, र आफ्नो योगदान पुर्याउन आग्रह गरेका छन्।
अहिलेसम्मका दाताहरुको नाम र विवरण हेर्न यहाँ क्लीक गर्नुहोला ।
श्रीस्वस्थानी महोत्सवका थप झलकहरु: