प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार

न्यूयोर्कको क्विन्स डायमन्ड एन्ड ज्वेलरीकी सञ्चालक सूर्य महर्जनलाई ‘ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्स’ ले सन् २०२६ को ‘वर्ष उद्यमी’ पुरस्कारबाट सम्मानित गरेको छ।
बुधबार, मार्च २५ मा म्यानहट्टनस्थित ‘जनरल सोसाइटी लाइब्रेरी’ मा आयोजित ‘महिला इतिहास पुरस्कार ककटेल नेटवर्किङ रिसेप्सन’ का अवसरमा महर्जनलाई सो सम्मान प्रदान गरिएको हो। “असाधारण महिला नेतृत्वहरूलाई सम्मान” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा व्यवसाय, सार्वजनिक सेवा र सामुदायिक नेतृत्वमा उल्लेख्य योगदान पुर्याउने महिलाहरूलाई कदर गरिएको थियो।

नेपालमा शिक्षण पेशामा आबद्ध सूर्यले सन् १९९९ ताका मुम्बईको ‘सीजी इन्टरनेशनल’ बाट हीरा तथा गहना निर्माण सम्बन्धी पाँच वर्षे कठिन तालिम लिएकी थिइन्। सन् २००५ मा श्रीमान् समीर महर्जन र सन्तानका साथ अमेरिका पुगेकी उनले सुरुवाती दिनमा भाषाको चुनौती र नयाँ परिवेशसँग जुध्दै आफ्नो व्यावसायिक जग बसालेकी हुन्।
महर्जन दम्पतीले न्यूयोर्कको प्रसिद्ध ‘डायमन्ड डिष्ट्रिक्ट’ मा एउटा सानो बुथबाट व्यवसायको थालनी गरेका थिए। सन् २००८ मा सूर्याले ‘क्विन्स डायमन्ड एन्ड ज्वेलरी’ को स्थापना गरिन्। हाल उनी संस्थाको खुद्रा सञ्चालन र ग्राहक व्यवस्थापनको नेतृत्व गर्छिन् भने श्रीमान् समीरले आपूर्ति र स्रोत व्यवस्थापनमा सघाउँदै आएका छन्।
सूर्यको नेतृत्वमा उनीहरूको पारिवारिक ब्रान्ड ‘क्लासिक डायमन्ड एन्ड ज्वेलरी’ हाल मेरिल्यान्ड र क्यालिफोर्नियामा समेत विस्तार भइसकेको छ। सन् २०२६ भित्रै टेक्ससको डलासमा नयाँ स्टोर सञ्चालनमा ल्याउने उनीहरूको योजना छ।
सम्मान ग्रहण गर्दै महर्जनले आफ्नो सफलताको श्रेय परिवार, विशेषगरी महिला सदस्यहरूको साथ र घर-व्यवसाय सन्तुलनमा श्रीमान्को सहकार्यलाई दिएकी छिन्।

विगतमा अमेरिकास्थित नेपालका आदिवासी जनजातिहरूको महासंघ (फिप्ना) को उपाध्यक्ष तथा हाउस स्पीकरको जिम्मेवारी सम्हालेकी महर्जन व्यापारका अतिरिक्त महर्जन सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन् । उनले न्यूयोर्क नेवा गुठीको उपाध्यक्षका रूपमा सामुदायिक विकास र महिला सशक्तीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।