प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार

न्यूयोर्कमा रहेका नेपाली उद्यमीहरूले भोग्दै आएका कानुनी, भाषिक र वित्तीय चुनौतीहरूलाई सामूहिक एकता र व्यवस्थित सञ्जाल (नेटवर्किङ) मार्फत समाधान गर्ने प्रतिबद्धता जनाइएको छ।
ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा बुधबार सम्पन्न ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको वार्षिक साधारण सभामा व्यवसायीहरूले व्यक्तिगत प्रयासभन्दा संस्थागत सहकार्यबाट मात्र दिगो प्रगति सम्भव हुने निष्कर्ष निकालेका हुन्।
सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रदीप श्रेष्ठले पहिलो पुस्ताका नेपाली-अमेरिकी व्यवसायीहरूले जटिल कानुनी प्रक्रिया, अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी झन्झट र पूँजीको पहुँचमा भोग्नुपरेका अवरोधहरूलाई मुख्य चुनौतीका रूपमा औँल्याउनुभयो।
यी समस्याको समाधानका लागि चेम्बरले व्यवसायीहरूबीच अनुभव आदान-प्रदान गर्ने र नयाँ उद्यमीहरूलाई ‘मेन्टरसिप’ प्रदान गर्ने साझा मञ्चको रूपमा काम गरिरहेको उहाँले बताउनुभयो। स-सानो पूँजीलाई एकीकृत गरी सहकार्यात्मक लगानीमार्फत ठूला परियोजनामा सहभागी हुने वातावरण सिर्जना गर्नु नै वर्तमान समस्याको दीर्घकालीन समाधान भएको उहाँको तर्क थियो।
वित्तीय पहुँचलाई सहज बनाउन चेम्बरले चालेका कदमहरूले नेपाली व्यावसायिक समुदायमा सकारात्मक प्रभाव पारेको छ। फ्लसिङ बैंक, रिजउड सेभिङ्स बैंक र एभरेष्ट फेडेरल क्रेडिट युनियन जस्ता वित्तीय संस्थाहरूसँगको रणनीतिक साझेदारीले सदस्यहरूलाई बैंकिङ सेवा र कर्जा प्रक्रियामा रहेका जटिलता चिर्न मद्दत पुगेको जानकारी दिइयो।
हाल न्यूयोर्कमा पाँच सयभन्दा बढी नेपाली स्वामित्वका व्यवसायहरू सञ्चालनमा रहेको तथ्यांक प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले स्थानीय जनप्रतिनिधि र ठूला व्यावसायिक संस्थाहरूसँगको समन्वयलाई थप सुदृढ बनाइने बताउनुभयो।
साधारण सभाले आगामी वर्षका लागि व्यवसाय सञ्चालन र कर सम्बन्धी कानुनी जानकारी दिन मासिक शैक्षिक कार्यशालाहरू आयोजना गर्ने निर्णय गरेको छ। सदस्यहरूद्वारा सर्वसम्मत रूपमा पारित अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदनले व्यावसायिक समुदायको आर्थिक सशक्तीकरणका लागि ‘बिजनेस नेटवर्किङ’ लाई तीव्रता दिने लक्ष्य राखेको छ।
यसरी संस्थागत प्रयास र आपसी सहयोगमार्फत न्यूयोर्कमा नेपाली व्यवसायको भविष्यलाई अझ सुरक्षित र मर्यादित बनाउने प्रतिबद्धताका साथ सभा सम्पन्न भएको छ।