प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार

पासाङ नुरु शेर्पा
बिहान सखारैको चिसो मौसम, आकाश खुलेर चारैतिर सफा देखिन्थ्यो। मुटु रेट्ने सिरेटोले लर्बराएका सेताम्मे मनमोहक बोटबिरुवाहरूले मेरो बालसुलभ मन लोभ्याउँथे। माघ-फागुन महिनाको आसपास भएकाले खेतबारीका बालीनाली भित्र्याइसकेर नजिकै आइरहेको ल्होसारको पूर्वतयारीमा सबै व्यस्त देखिन्थे। छ्याङ पकाउने, खाप्सा पोल्ने, कोदो अथवा उवालाई भुटेर चाम्पा (पिठो) बनाउने साथै हाटबजारतिर गएर सरसामान किन्नेमा सबै जना व्यस्त हुन्थे।
बेलाबेलामा गाउँतिर झुल्किने साइला दाइ पनि लुगा सिउने कल बोकेर ल्होसारको छेको पारी गाउँघर डुल्दै आउँथे। उनलाई देखेर गाउँका केटाकेटीहरू ‘नयाँ लुगा लगाउन पाइने भयो’ भनेर दङ्ग पर्थे। वर्षमा एक-दुई जोर नयाँ लुगा सिलाइदिने हैसियत प्रायः सबैको हुन्थ्यो। सहर-बजारमा आफन्त हुनेहरूले सहरबाटै लुगा पठाइदिन्थे, तर हामीमध्ये धेरैजसो केटाकेटीको बाध्यता भनौँ या रोजाइ—गाउँमै साइला दाइले सिलाइदिएको कमिज र पाइन्ट नै हुन्थ्यो।
ल्होसारको सुरुवातमा पहिलो दिन घर सरसफाइ गरिन्छ र सोही दिन बेलुकी नौ प्रकारका गेडागुडी हालेर ‘गुथुक’ बनाएर खाने चलन हुन्छ। गुथुकमा ‘ऐरी’ (मैदाबाट बनाइएको एक प्रकारको भित्री भाग खोक्रो डल्लो) भित्र विभिन्न वस्तुहरू जस्तै: चिनी, कोइला, मासु इत्यादि राखिन्छ।
त्यो खाँदा जसले जे भेट्छ, खाने मानिसको चरित्र पनि त्यस्तै हुन्छ भन्ने आम मान्यता छ। गुथुक खाने समयमा ऐरीमा भेटिएको वस्तुलाई लिएर हल्का ठट्टा र रमाइलो पनि गरिन्छ। दोस्रो दिन ‘नमगाङ’ (औँसी) का दिन छेचीका लागि चाहिने सरसामान जोहो र तयारी गर्नेबाहेक खासै कार्यक्रम हुँदैन। तेस्रो दिन अर्थात् ‘छेची’ को बिहान सबेरै पाँच बजेभन्दा अगाडि नै ‘छुक्साङ’ (पवित्र जल) लिन जानुपर्ने हुन्छ।
हामी पनि सकेजति बुबाआमालाई पूजाको काममा सघाउँथ्यौँ। छेचीको पानी लिन नजिकैको धारामा जानुपर्थ्यो। यता आमा पनि आफ्नै धुनमा सामानहरू मिलाउँदै हुनुहुन्थ्यो। हामी शेर्पा भेष ‘छुवा-तेतुङ’ लगाएर पूजाको थालीमा घिउ, मेदाल (अक्षता) र साङ (धूप) राखी नजिकैको धारातिर लाग्यौँ।
हामीभन्दा अगाडि पनि केही मानिसहरू त्यहाँ पुगेर पूजा गरिरहेका थिए। यसो हेर्छु, पल्लो घरको ‘गागा’ (बाजे) हुनुहुँदो रहेछ। म बोल्न खोज्छु तर बुबाले मलाई चिमोट्नुभयो। उहाँको स्पष्ट सङ्केत म चुप लागूँ भन्ने थियो, जुन मैले बुझिहालेँ। यसरी धारामा पानी लिन जाँदा कसैसित बोलेमा भगवान्बाट पाएको आशिष् उसैले लैजान्छ भन्ने विश्वास रहेछ, जुन कुरा मैले त्यतिबेलै थाहा पाएँ।
यसरी बुबा र म पानी लिएर घर फर्कियौँ। घरमा आमा र भाइबहिनीहरू मिलेर ‘छाङ्गुल’ (छ्याङमा छुर्पी, नरिवल र अन्य सामग्री मिसाएर बनाइएको परिकार) बनाएर हामीलाई कुरिरहनुभएको थियो। बुबाले घर पुगेर पूजाका विधिहरू पूरा गरी घरका विभिन्न भागमा चाम्पाले विभिन्न आकृतिहरू बनाएर सजाउनुभयो।
छेचीको दिन आधिकारिक सरकारी बिदा त हुँदैनथ्यो, तर ल्होसार मान्नेहरू बिदा लिएर घरपरिवारमै बसी रमाइलो गर्थे। हामी दाजुभाइ, दिदीबहिनी र आमाबुबा साथै नजिकका आफन्तहरू मिलेर ल्होसार मनाउँथ्यौँ। छेचीपछिका दिनहरूमा दैनिक कामहरू सुचारु हुन्थे। जुन दिन आफूलाई अनुकूल पर्छ, त्यही दिन गाउँलेहरूलाई बोलाएर भोज खुवाउने गरिन्थ्यो।
हामी केटाकेटी नियमित स्कुल जानुपर्थ्यो। हाम्रो स्कुल अलि डाँडामा थियो। स्कुलबाट घर फर्कँदा कसैको घरमा धुवाँ निस्किएको र मान्छेहरूको चहलपहल देखियो भने हामी बुझ्थ्यौँ—त्यो घरमा ल्होसार मनाइँदै छ। हामी खुसीले गदगद हुँदै घरतिर लाग्थ्यौँ। हाम्रै घरपल्लो गागाको घरमा धुवाँ देखिएकाले म लगायत साथीहरू “गागाकोमा ल्होसार रहेछ, त्यहीँ भेटौँ है” भन्दै आ-आफ्नो घरतिर लाग्यौँ। आमाबुबा र भाइबहिनीहरू सबै गागाकोमा गइसकेका रहेछन्। म पनि झोला फ्याँकेर स्कुलको ड्रेस हत्तपत्त फेरेर त्यतै लागेँ।
गाउँमा सबै जना मिलेर खाने ल्होसार एक दिनमा एकै घरमा मात्र हुन्छ। ल्होसार मनाउने घरमा पुग्नेबित्तिकै सर्वप्रथम चियासँग खाप्सा खुवाउने चलन हुन्छ। त्यसपछि लगत्तै चाम्पा र चिया-‘पक’ (मुछिएको पीठो) दिइन्छ। पक आफैँले मुछेर खाने चलन हुन्छ भने साना बच्चाहरूका लागि ठुलाले बनाइदिन्छन्।
हामीले पनि साथीहरूसँग जसोतसो पक बनाएर चियासँग खायौँ। यसरी पक, खाप्सा र चिया खाइसकेपछि बल्ल ‘सर्किम’ (पूजा) को तयारी हुन्छ। सर्किमका लागि आफ्नै बारीमा फलेको अन्न जस्तै मकै, गहुँ, उवा वा चामलको छ्याङ बनाइएको हुन्छ। छ्याङलाई ‘गेम्बो’ (काठको ठुलो भाँडो) मा राखेर पूजा गरिन्छ। सर्किम सकिएपछि बल्ल छ्याङको ‘सोर्के’ (पालैपालो बाँडेर खुवाउने काम) गरिन्छ।
हामी केटाकेटी कहिले लामाले सर्किम गरेको हेर्थ्यौँ त कहिले बाहिर गएर लुकामारी खेल्थ्यौँ। सोर्के गर्ने काम ल्होसारको अन्त्यसम्मै जारी रहन्थ्यो। यसैबीच थुक्पा पनि खुवाइन्थ्यो। हरेक प्रकारको खाना वा पेय पदार्थ लिँदा ‘सुङ’ (सम्मानस्वरूप थोरै थाप्ने) गर्नैपर्ने प्रचलन छ। थुक्पापछि पनि छ्याङको क्रम चल्थ्यो।
नाचगानको सुरुवात ‘ठालुक’ (बसेर गाइने गीत) बाट हुन्थ्यो र बिस्तारै ‘सेब्रु’ नाच सुरु हुन्थ्यो। कोही छ्याङमा झुम्ने, कोही नाच्ने त कोही गफगाफमा व्यस्त हुन्थे। अन्त्यमा दाल, भात र मासु खुवाइन्थ्यो। खाना खाइसकेपछि पनि सेब्रु नाच निरन्तर चलिरहन्थ्यो। बीच-बीचमा ठट्टा र जोकहरूले माहोल झन् रमाइलो हुन्थ्यो। शेर्पा जातिको यो सांस्कृतिक चाडको अन्त्यमा बिदाइ गर्दा ‘चाम्पा खदा’ (पिठोको खदा) लगाइदिने चलन छ। हिजोआज विभिन्न समारोहमा प्रयोग हुने रङ्गीचङ्गी खदाहरू तिनैका व्यावसायिक संस्करण हुन्।
आज न्युयोर्कको व्यस्त जीवनमा उभिँदा पनि ती गाउँका ल्होसारहरू मेरो मनमा ताजै छन्। ल्होसार केवल एउटा चाड होइन, यो मेरो बाल्यकाल, मेरो गाउँ र मेरो संस्कृतिको सुगन्ध हो, जसले मलाई जहाँ भए पनि आफ्नै जरा सम्झाइरहन्छ।