प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार
लुटेराहरुले न्युयोर्कको क्वीन्समा एक स्टोर मालिकमाथि गोली प्रहार गरी २२ हजारको रोलेक्स लुटेका छन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुईजना संदिग्धहरुको खोजी गरिरहेको छ।
प्रहरीका अनुसार दुईजना व्यक्तिहरू स्टोरभित्र जबर्जस्ती प्रवेश गरेर मालिकसँग भनाभन भएपछि गोली हानेका थिए । लुटपाटपछि संदिग्धहरू स्कुटरमा भागेका थिए ।
घटना अस्टोरियाको स्टाइनवे स्ट्रीट ३२७८ स्थित टप इन टाउन वायरलेस स्टोरमा भएको हो। दुईजना संदिग्धहरू स्टोरभित्र प्रवेश गरी ४० वर्षीय स्टोर मालिकसँग विवाद गरेका थिए । उनीहरुले कैयन राउण्ड गोली चलाएको जनाइएको छ ।
प्रहरीका अनुसार पीडितको खुट्टा र शरीरमा गोली लागेको छ। पीडितलाई स्थिर अवस्थामा एल्महर्स्ट अस्पतालमा भर्ना गरिएको छ।
सुरक्षा क्यामेरामा एकजना संदिग्धलाई खैरो हेल्मेट, कालो ज्याकेट र निलो जिन्स लगाएको देखिएको छ। अर्को संदिग्धले कालो हेल्मेट, रातो मास्क, नीलो हुडेड स्वेटसर्ट र रातो कालो रंगका जुत्ता लगाएको थियो ।
सोमबार दिउँसोसम्म यस घटनामा कोही पक्राउ परेको छैन । यस घटनाबारे जानकारी हुने जोसुकैलाई प्रहरीले क्राइम स्टपर्स हटलाइनमा सम्पर्क गर्न आग्रह गरेको छ।
क्वीन्समा लुटपाटका घटनाहरु उल्लेख्य रुपमा भइरहँदा बेलाबेलामा नेपाली व्यवसायीहरु पनि लुटपाटमा परेका छन् । हालै ज्याक्सनहाइट आसपासमा नेपाली र नेपालीभाषीका मोबाइल पसलहरु लुटपाट भएका थिए ।