न्युयोर्कका नेपाली कार्यक्रममा आसन, भाषण र ब्याजको बोझ



प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार

न्युयोर्कका नेपाली कार्यक्रममा आसन, भाषण र ब्याजको बोझ

एआईबाट जेनेरेट गरिएको फोटो

कुरा केही समयअघिको हो। न्युयोर्कस्थित ज्याक्सन हाइट्समा नेपाली समुदाय केन्द्रित कार्यक्रमहरू अत्यन्तै व्यापक रूपमा आयोजना हुने गर्थे। सामाजिक, साहित्यिक, सांस्कृतिक र सामुदायिक कार्यक्रम यति धेरै हुन्थे कि समुदायका विशिष्ट व्यक्तित्वहरूलाई भ्याई-नभ्याई हुने अवस्था देखिन्थ्यो। यस्तै एउटा कार्यक्रममा म पनि प्रवेश शुल्क तिरेर सहभागी भएको थिएँ। हल खचाखच भरिएको थियो। कार्यक्रम औपचारिक सत्रबाट सुरु भई सांस्कृतिक प्रस्तुतितर्फ अघि बढ्दै थियो। नेपाली समुदायमा प्रायः देखिने नियमित ढाँचाजस्तै भाषण, मन्तव्य र स्वागत क्रम चलिरहेको थियो। तर त्यो कार्यक्रममा एउटा कुरा विशेष थियो— कुनै ब्याज वितरण गरिएको थिएन।

कार्यक्रम चलिरहेकै बेला दुई-तीनजना परिचित व्यक्तित्वहरू हलमा प्रवेश गर्नुभयो। उहाँहरू हतारहतार आइरहनुभएको जस्तो देखिन्थ्यो। निर्धारित समयभन्दा अलि ढिलो भएकोले पनि हुन सक्छ। आयोजक सदस्यहरू अगाडिको आसन मिलाउन व्यस्त भए। कार्यक्रम निरन्तर चलिरहेकै थियो, तर एकाएक मेरो ध्यान उहाँहरूको छातीमा टाँसिएका गोला-गोला ब्याजतर्फ गयो। मसँगै बसेका साथीले हल्का स्वरमा भने, “हाम्रा अतिथिहरू ब्याज पनि घरैबाट लिएर आउँछन् कि क्या हो?” एकछिन सबै गलल्ल हाँसे। अर्कोले भन्यो, “हैन होला, अर्को कार्यक्रममा सहभागी भएर सिधै आएका होलान्।” तेस्रोले थप्यो, “त्यसो भए छातीको ब्याज फुकाल्ने फुर्सद पनि भएन कि क्या हो!” नजिकबाट नियालेर हेर्दा त्यो ब्याज कुनै अर्कै कार्यक्रमको देखिन्थ्यो। त्यसबाट प्रस्ट हुन्थ्यो कि उहाँहरू साँच्चै अर्को कार्यक्रम भ्याएर आउनुभएको रहेछ। हाँसो क्षणिक थियो, तर त्यसले छोडेको प्रश्न गहिरो थियो।

समयसँगै छातीमा लगाइने ब्याज केवल परिचयको साधन रहेन। यो प्रतिष्ठा र पहिचानको संकेत बन्न थालेको छ। कार्यक्रम होस्, सम्मान समारोह, साहित्यिक भेला वा औपचारिक बैठक— ब्याज अब व्यक्तिभन्दा अगाडि देखिन थालेको छ। मानिसभन्दा पहिले चिन्ह देखिन थालेको छ। योगदानभन्दा पहिले रङ र आकार देखिन थालेको छ।

ब्याजका सकारात्मक पक्षलाई नकार्न मिल्दैन। यसले योगदानको पहिचान दिन्छ। समाजसेवा, साहित्य, कला वा अन्य क्षेत्रमा सक्रिय व्यक्तिलाई सम्मानित महसुस गराउँछ। तर समस्या त्यतिबेला सुरु हुन्छ, जब ब्याज योगदानभन्दा ठूलो बन्न थाल्छ। जब मानिसलाई उसले गरेको कामभन्दा उसले लगाएको चिन्हबाट मूल्याङ्कन गरिन्छ। कार्यक्रमहरूमा को अगाडि बस्ने, को बोल्ने, को विशेष अतिथि बन्ने भन्ने कुरा ब्याजले निर्धारण गर्न थालेपछि सम्मानको माध्यम आफैँमा विभाजनको उपकरण बन्न पुग्छ।

कार्यक्रमहरू सफल हुनका लागि टिकट काटेर हलसम्म पुग्ने सहभागीहरूको भूमिका कम हुँदैन। उनीहरूले नै सिट भरिन्छन्, उनीहरूले नै ताली बजाउँछन् र उनीहरूले नै कार्यक्रमलाई अर्थ दिन्छन्। तर विडम्बना के छ भने, धेरै पटक ती सहभागीहरूलाई बस्ने स्थानको स्पष्ट ठेगान हुँदैन। “कहाँ बसौँ?”, “यो सिट कसको हो?”, “हामी यहाँ बस्न मिल्छ कि?” भन्ने अलमलमा उनीहरू उभिइरहेका देखिन्छन्। छातीमा ठूलो ब्याज टाँसिएका व्यक्तिहरूका लागि अगाडिका कुर्सी सुरक्षित हुन्छन्, तर टिकट काटेर आएका साधारण सहभागीहरू आफ्नो स्थान खोज्न बाध्य हुन्छन्। जब योगदानको आधारभन्दा चिन्हको आधारमा स्थान निर्धारण हुन थाल्छ, तब सम्मानको संरचना अदृश्य रूपमा बदलिन्छ।

एक कार्यक्रममा देखेको दृश्य म अझै सम्झिन्छु। बिहानदेखि बेलुकासम्म कार्यक्रम व्यवस्थापनमा खटिएको एक युवा स्वयंसेवक थियो। उसले हल मिलायो, अतिथिलाई बसाल्यो, ध्वनि परीक्षण गर्‍यो र पानी पुर्‍यायो। कार्यक्रम सफल भयो। तर मञ्चमा बोलाइएका व्यक्तिहरूको छातीमा ठूला-ठूला ब्याज थिए, उसको छाती भने खाली थियो। ऊ मुस्कुराइरहेको थियो, तर उसको योगदान कुनै रङ वा आकारले मापन गरिएको थिएन। त्यो दिन मैले महसुस गरेँ— सबैभन्दा धेरै काम गर्ने मान्छे कहिलेकाहीँ सबैभन्दा कम देखिँदो रहेछ।

एकै मञ्चमा फरक-फरक रङ, फरक-फरक आकार र फरक स्तरका ब्याज दिइँदा त्यो केवल चिन्ह रहँदैन, एउटा मौन सन्देश बन्छ। ठूलो ब्याज ठूलो हैसियतको प्रतीक जस्तो देखिन्छ भने सानो ब्याज सानो भूमिकाको छाया बन्न पुग्छ। रङ र आकारले योगदानको तौल नाप्न खोज्दा मञ्च आफैँ असमानताको प्रतीकझैँ देखिन थाल्छ। सम्मान बराबरीबाट सुरु हुनुपर्छ, आकार र रङको होडबाट होइन।

अमेरिकाजस्तो समाजमा, जहाँ व्यक्तिको पहिचान उसको काम र व्यवहारबाट निर्धारण हुन्छ, त्यहाँ पुरानै श्रेणीकरणको संस्कार बोकेर हिँड्नु आत्ममन्थनको विषय हो। यहाँ धेरै कार्यक्रममा सहभागी हुँदा देखिन्छ— मानिस आफ्नो नामबाट चिनिन्छन्, चिन्हबाट होइन। यहाँ सम्मान प्रोटोकलभन्दा व्यवहारमा झल्किन्छ। त्यही समाजमा बसेर पनि यदि हामी छातीमा टाँसिएको गोलो वस्तुबाट हैसियत मापन गर्न खोज्छौँ भने त्यो सोच पुनरावलोकन योग्य छ।

हामीले सम्मान व्यक्त गर्न ब्याज लगाउन त सिक्यौँ, तर ब्याज नलगाएको मान्छेलाई सम्मान गर्न सिक्यौँ कि नाइँ? यदि सम्मान छातीमा टाँसिनुपर्ने वस्तु मात्र भयो भने आत्मसम्मान मनभित्र कहाँ बस्छ? साँचो सम्मान त तब हुन्छ, जब ब्याज नहुँदा पनि मान्छे ‘मान्छे’ नै देखिन्छ।

अन्ततः ब्याज आफैँमा न राम्रो हो, न नराम्रो। यसको अर्थ प्रयोगले निर्धारण गर्छ। यदि यसले एकता, प्रेरणा र समानता बढाउँछ भने यो स्वागतयोग्य छ। तर यदि यसले दूरी, तुलना र विभाजन जन्माउँछ भने अब सोच्ने बेला आएको छ। आज हामी छातीमा झुन्ड्याइएको चिन्हले चिनिन खोजिरहेका छौँ, तर भोलि हाम्रो व्यवहारले हामीलाई कसरी चिनाउने हो? सायद प्रश्न ब्याज लगाउने कि नलगाउने भन्ने होइन, प्रश्न त हामीले समुदाय कस्तो बनाउँदै छौँ भन्ने हो। किनकि कुनै पनि समुदाय अन्ततः चिन्हले होइन, विश्वास, व्यवहार र आपसी सम्मानले मात्र बलियो हुन्छ।

न्युयोर्कका नेपाली कार्यक्रममा आसन, भाषण र ब्याजको बोझ
पासाङ नुरु शेर्पा





Source link

Leave a Comment