न्यायका पक्षधर, अन्यायका शिकार प्रकाश वस्ती


नेपालको कानून र न्यायको क्षेत्रमा प्रकाश वस्ती नौलो नाम होइन। भविष्यमा पनि कानून र न्याय क्षेत्रले बिर्सनै नसक्ने पात्रमध्ये वस्ती रहनुहुने कुरामा द्विविधा छैन। न्याय र कानूनको क्षेत्रमा सक्रिय रहँदा केही चर्चित नामहरूको सूचीमा उहाँको कर्म दर्ज भयो र भइरहने छ। पछिल्लो समय उहाँको नाम मानवअधिकारको क्षेत्रमा समेत जोडिएको छ।

विश्वविद्यालयको प्राध्यापनदेखि वकालत हुँदै सर्वोच्च अदालतको न्यायाधीश र पछिल्लो पटक मानवअधिकार आयोगको सदस्य समेत भएर राष्ट्रको औपचारिक सेवाबाट बिदा लिएपश्चात् पनि अनौपचारिक कार्यमा उहाँको लोभलाग्दो सक्रियता पछिल्लो समय पनि कायम नै थियो। खासगरी लेखन, अध्ययन र अनुसन्धानमा वस्तीको व्यस्तता चलिरहेको थियो।

साँच्चै भन्ने हो भने काम नगरिकन बस्नै नसक्ने अद्भुत प्रकारको बानी उहाँमा थियो। सेवानिवृत्त जीवन भनेको विश्राम गर्नका लागि हो भन्ने आम मान्यताका बीचमा वस्ती चाहिं काम नगरी बस्नै सक्नुहुन्थेन। बरु अझ सक्रिय हुनुहुन्थ्यो। अरू काम गर्दा बिरामी हुन्छन्, उहाँ काम नगर्दा बिरामी हुनुहुन्थ्यो। त्यसकारण सामान्य मान्छेको आँखामा उहाँ अद्‌भुत पात्र नै हुनुहुन्थ्यो। यस्ता अद्‌भुत पात्रले हामी बीचबाट अचानक बिदा लिनुभयो

अविचलित योद्धा

न्याय र कानूनी क्षेत्रमा सक्रिय जीवनको अविरल यात्रा र अविचलित स्वभाव वस्तीको अर्को चिनारी हो। उहाँले लामो समय (चार दशकभन्दा बढी) कानून, न्याय र मानवअधिकारको क्षेत्रमा औपचारिक जीवन निर्वाह गर्नुभयो। त्यो अर्कै कुरा भयो राज्यले उहाँलाई पुनः अर्को औपचारिक जिम्मेवारीमा सम्झेन।

अधिकांश मानिस जीवनमा काम गर्दागर्दै थाक्छन्। सेवानिवृत्त जीवन विश्राममा बिताउने धेरैको इच्छा हुन्छ, तर प्रकाश वस्तीको भने विना काम बस्नै नसक्ने खालको स्वभाव थियो। सेवानिवृत्त जीवनमा पनि कलम र कापीको हतियार बोकेर रात–दिन लेखन, अध्ययन, अनुसन्धानको युद्ध मैदानमा वस्तीलाई भेटिन्थ्यो। युद्ध जित्नका लागि लडिन्छ, र कहिलेकाहीं हारिन्छ पनि। तर वस्तीले भने हार–जित विनाको युद्धमा लागेर पनि सधैं जितिरहनुभयो।

सहकर्मीबाट मुक्तकण्ठ प्रशंसा

प्रकाश वस्तीको जीवनको सबैभन्दा उच्च ओहोदाको पद सर्वोच्च अदालतको न्यायाधीश भए पनि उहाँको छवि अदालत प्रवेश गर्नुपूर्व नै उच्च बनिसकेको थियो। सहकर्मी, सहपाठी र उहाँलाई चिन्नेहरूले उहाँको बहुआयामिक व्यक्तित्वको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिकुमार पोखरेलले वस्तीलाई बाल्यकालको मिहिनेती विद्यार्थी, सबैका लागि प्रेरणाको स्रोत, असल गुरु, नेपाल बारको सक्रिय सचिव, इजलासले पत्याएका कानून व्यवसायी, सादा जीवन, मिलनसार, मृदुभाषी, ऊर्जाशील, अध्ययनशील, प्राज्ञिक, सकारात्मक सोचका धनी, सूक्ष्म अध्ययनकर्ता, अनुसन्धानदाता, भाषिक दक्षता, तिखारिएको भाषा र सम्पादकीय गुण, कानूनमै रमाउने व्यक्ति, जिम्मेवारी बोध गर्ने व्यक्ति, निष्पक्ष निर्णय गर्ने व्यक्ति भनी टिप्पणी गर्नुभएको छ। पोखरेलको यो भनाइले वस्ती वास्तवमै बहुआयामिक र बहुप्रतिभाशाली रहेको प्रष्ट हुन्छ।

अध्यापन क्षेत्रमा होस् वा प्रकाशन सम्पादनको क्षेत्रमा होस्, बारको पदाधिकारीका रूपमा होस् वा वकालत कर्ममा होस्, अदालतको न्यायाधीशको रूपमा होस् वा राष्ट्रिय मानवअधिकार आयोगका सदस्यको रूपमा होस्, अथवा विभिन्न संघ–संस्थाहरूमा सल्लाहकार र परामर्शदाताको रूपमा रहँदा नै किन नहोस् उहाँले आफ्नो कर्मद्वारा अमिट छाप छोडेको नेपाल बार एशोसिएसनका पूर्व महासचिव डा. विजयप्रसाद मिश्रको टिप्पणी छ। मिश्रले वस्तीको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै पछिल्लो पुस्ताका लागि वस्ती पथप्रदर्शक रहेको विचार व्यक्त गर्नुभएको छ।

वास्तवमा वस्ती विद्यार्थीकालदेखि नै मेधावी छात्रको रूपमा रहेको उहाँसँग सम्बद्ध विचार र भनाइहरूबाट पनि पुष्टि हुन्छ। सहपाठी न्यायाधीश दुर्गाप्रसाद उप्रेती अध्ययन गर्दाको समयदेखि नै वस्ती मिहिनेती, परिश्रमी, अध्ययनशील, शालीन र भद्र विद्यार्थी रहेको बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले त वस्तीलाई सरस्वतीका साधक, अक्षरका पुजारी र मिहिनेतीको पर्यायवाची भएको उल्लेख गर्नुभएको छ।

अधिवक्ता प्रदीपकुमार श्रेष्ठले वस्तीलाई महत्वपूर्ण सिद्धान्तहरू प्रतिपादन गर्ने न्यायाधीशको रूपमा चिनाउनुभएको छ। यस्तैगरी अधिवक्ता कमलप्रसाद इटनीले प्रकाश वस्तीको कर्मलाई ‘ज्ञानदान : बौद्धिक दान’ गर्ने व्यक्तित्वको रूपमा चित्रण गर्दै प्रकाश वस्तीले पद खोज्न नपर्ने बरु पदले प्रकाश वस्ती खोज्ने भनी टिप्पणी गर्नुभएको छ। सहकर्मी र विश्लेषकहरूको विचार र टिप्पणीको विश्लेषण गर्दा प्रकाश वस्ती एक सक्षम र प्रतिभावान् न्यायकर्मी रहेको पुष्टि हुन्छ।

प्रधानन्यायाधीश बन्नबाट वञ्चित

नियति र नियतको नियम अलि फरक हुन्छ। नियति र नियतको कठघरामा कानूनको व्याख्या समानान्तर रेखामा हुँदैन। सधैं वक्र दृष्टिमा व्याख्या गरिन्छन्। परिणामतः सक्षमहरू अन्यायका शिकार र अक्षमहरू न्यायका हकदार बनेर निस्कन्छन्। प्रकाश वस्तीको जीवनमा पनि नियतिको नियमले अलिअलि र नियतको कानूनले अलि बढी यस्तै फैसला गरिदियो। सधैं न्यायको पक्षमा लड्ने व्यक्ति आफू भने सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नबाट वञ्चित भई अन्यायमा पर्नुभएको भनी न्याय र कानून क्षेत्रका अधिकांश जानकार बताउँछन्।

न्यायाधीश दुर्गाप्रसाद उप्रेतीका अनुसार प्रकाश वस्तीलाई सर्वोच्च अदालतको न्यायाधीशमा पद खाली भएर पनि स्थायी नगरी अन्यायपूर्वक अस्थायी न्यायाधीशबाटै सेवानिवृत्त गराइएको थियो। वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीको भनाइ अनुसार वस्ती राजनीतिक स्वार्थ पूर्वाग्रह र शक्तिको खिचातानीको घनचक्करमा परेर सर्वोच्च अदालतमा स्थायी हुन नसक्नुभएको हो। अरूको खुट्टा तानेर आफू पहिलो हुने अस्वस्थ राजनीति अदालतमा समेत प्रवेश गरेको यो एउटा ज्वलन्त उदाहरण हो।

कानून र न्याय क्षेत्रमा प्रचलित एउटा भनाइ छ– जुनसुकै मुद्धामा पनि वादी र प्रतिवादी दुवै हार्छन्, जित्ने न्यायाधीश र वकिल मात्र हुन्। नेपालको सन्दर्भमा यो कुरा अलि बढी नै लागू हुन्छ। तर न्याय क्षेत्रको आम चरित्रलाई बुझाउन भनिने यो भनाइका अपवाद पनि न्यायालयमा छन्। वस्ती त्यस्तै अपवाद हुनुहुन्छ। जसले सधैं अन्यायमा परेकालाई जिताउनुभयो।

वस्ती राजनीतिक स्वार्थ पूर्वाग्रह र शक्तिको खिचातानीको घनचक्करमा परेर सर्वोच्च अदालतमा स्थायी हुन नसक्नुभएको हो। अरूको खुट्टा तानेर आफू पहिलो हुने अस्वस्थ राजनीति अदालतमा समेत प्रवेश गरेको यो एउटा ज्वलन्त उदाहरण हो।

अस्थायी न्यायाधीश भएर पनि समकक्षी न्यायाधीशहरूमध्येमा सबैभन्दा बढी फैसला मात्र गर्नुभएन नजिर स्थापित हुने खालका व्याख्यात्मक फैसलाहरू गर्नुभयो। छोटो सेवा अवधिमा पनि सदाचारी र लगनशील न्यायाधीशको रूपमा आफूलाई सर्वोच्च अदालतमा स्थापित गर्नुभयो। तर न्यायालय (न्यायपरिषद्) ले उहाँको सदाचारिता र इमानदारीको सही मूल्याङ्कन गर्न सकेन। अदालतमा सदाचारी न्यायाधीशको रूपमा कार्य गरे बापत बरु उहाँले निजी स्तरबाट सदाचारी दीप सम्मान २०७८ प्राप्त गर्नुभयो।

कसैको बारेमा पनि धेरै नकारात्मक टिप्पणी नगर्ने वस्तीले अरू कसैको बारेमा उसैको अगाडि आलोचना गरी नै हाले पनि त्यो सुन्ने मान्छेले धेरैपछि मात्र आफ्नो आलोचना भएको कुरा थाहा पाउँथ्यो। आलोचना गर्दा पनि मिठो भाषा बोल्ने र आँखामा राख्दा पनि नबिझाउने वस्ती न्यायालयबाट किन अन्यायपूर्ण रूपमा निकालिनुभयो ? नेपालको न्यायपालिकाको इतिहासले यसको उत्तर अवश्य पनि एक दिन दिनुपर्छ।

सादा जीवन उच्च विचार

हरेक मान्छे जन्ममा उस्तै हो। मान्छेमा उसको पारिवारिक वातावरण, शिक्षा–दीक्षा, धनसम्पत्ति, पद प्रतिष्ठासँगै मान्छेमा अहमता बढ्दै जान्छ। मान्छेमा अहमता बढेपछि उसमा यतिसम्मको भ्रम सिर्जना हुन्छ कि म मान, प्रतिष्ठा, धनइज्जत सँगै लिएर जन्मेको हुँ र अब म कहिल्यै मर्दिनँ। यो नीच विचार र विलासी जीवनको पर्याय हो।

भौतिकवादी संसारमा धेरै मान्छेहरू यो भ्रममा परेर देखावटी रूपमा सुखी र वास्तवमा चाहिं दुःखी छन्। मान्छे भ्रममुक्त हुनुपर्छ। विलासी जीवन बाँचेर मान्छे अरूको दृष्टिमा ठूलो कहिल्यै हुँदैन, आफ्नो दम्भमा मात्र हुन्छ।

वास्तवमा पद र जिम्मेवारी अस्थायी हुन्। मान्छेको स्वभाव नितान्त निजी हो। सार्वजनिक जीवनका महत्वपूर्ण पदमा पुगेर पनि वस्तीको पहिचान सदाचारीका रूपमा रहेको उहाँसँग सङ्गत गरेकाहरूले बताउने गरेका छन्। वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले वस्तीलाई सादा जीवन उच्च विचार बोकेर हिंड्ने एक बौद्धिक व्यक्तित्वका रूपमा चित्रण गर्नुभएको छ।

सधैं हातमा पुस्तक वा पत्रिका बोकेर हिंड्ने, अध्ययन अध्यापनमा रुचि राख्ने वस्ती र कानून पत्रिका पर्यायवाची रहेको भनी उल्लेख गर्नुभएको छ। उप्रेतीका अनुसार कानून र न्याय क्षेत्रमा अहोरात्र खटिने वस्तीले राष्ट्रलाई धेरै गुन लगाउनुभएको छ। साना हुन् वा ठूला सबैलाई समान व्यवहार गर्ने र सबैलाई बडो आत्मीयताका साथ बोलाउने उहाँको बानीले उच्च तहमा पुगेको मान्छे पनि नम्र बन्न सक्दोरहेछ भन्ने कुरा पुष्टि हुन्छ।

कर्मयोगी

कर्मयोगी भन्नासाथ श्रीमद्भागवद गीता दिमागमा आइहाल्छ। गीतामा कृष्णले अर्जुनलाई भनेका छन्– ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ….’ अर्थात् कर्ममा मात्र तिम्रो अधिकार छ, फलमा होइन। मानव भएर जन्मेपछि निरन्तर कर्मपथमा हिंड्नु उसको कर्तव्य हो। तर आजको मान्छे फलको आशामा भौंतारिएको छ।

प्रकाश वस्तीलाई आजको आम मान्छेको अपवाद र गीतादर्शनको अनुसरणकर्ता मान्न सकिन्छ। कर्म फलका लागि नगरिए पनि कर्म गरेपछि फलको प्राप्ति हुनु कर्मको धर्म हो। महाभारत युद्धमा कर्मको आश नगर भन्दाभन्दै पनि अर्जुनको कर्मले राज्यसत्ता प्राप्ति भएको छ।

भौतिकवादी युगमा त फल प्राप्त नहुने कुरै भएन, मात्र फलमा आसक्ति नहुनु भन्ने आशय मात्र गीताको हो। फलमा ध्यान होइन, कर्ममा ध्यान जाओस् भन्ने ध्येय हो। कर्मसँग आनन्दलाई जोड्ने हो। वस्तीले कर्मलाई जीवनको आनन्दसँग जोड्नुभएको छ।

जीवनको अन्तिम लक्ष्य भनेको आनन्द हो। तर आनन्द केबाट लिने र कसरी लिने ? कामबाट लिने कि, कामबाट विश्राम लिएपछि लिने, कि काम छोडेर अन्य मनोरञ्जनात्मक अतिरिक्त गतिविधिमा सहभागी भएर हो ? आनन्दका विषयमा यी र यस्तै आ–आफ्ना दर्शन र तर्कहरू छन्।

फलमा ध्यान होइन, कर्ममा ध्यान जाओस् भन्ने ध्येय हो। कर्मसँग आनन्दलाई जोड्ने हो। वस्तीले कर्मलाई जीवनको आनन्दसँग जोड्नुभएको छ।

डा. योगी विकासानन्दको भनाइ सापट लिने हो भने संसारको सबैभन्दा सुखी मान्छे नै त्यही हो जो आफूले गरेको काममा रमाउन सक्छ। किनभने मान्छेको जीवनको सबैभन्दा ठूलो हिस्सा काम गर्दागर्दैको अवस्थामा बित्छ।

कामबाट छुटकारा पाएको अवस्थामा मात्र रमाउन सक्ने मान्छेले समग्र जीवनको आनन्द लिनै सक्तैन। प्रकाश वस्ती त्यस्तै व्यक्ति हुनुहुन्छ, जो आफ्नो काममा मात्र रमाउनुहुन्छ। जब काम हुन्न उहाँको छटपटी सुरु हुन्छ। कर्मयोगीको स्वभाव यस्तै हुन्छ।

मानवअधिकारका प्रकाश वस्ती

मानवअधिकारको कर्म र अदालती कर्म धेरैलाई उस्तै लागे पनि यी दुवै बीच ठूलो भिन्नता छ। एउटा कुशल न्यायाधीश कुशल मानवअधिकारकर्मी नहुन सक्छ, तर मानवअधिकार बुझेको न्यायकर्मीले प्राविधिक फैसला मात्र नभएर मानवअधिकारमैत्री फैसला गर्न सक्छ, मानवअधिकारमैत्री फैसला मात्र वास्तविक फैसला हो। जसरी कानून न्यायको लागि साध्य नभएर साधन मात्र हो, त्यसैगरी मानवअधिकारका लागि पनि कानून साधन मात्र हो।

अझ न्याय प्रदान गर्नका लागि कानून प्रमुख साधन हो भने मानवअधिकारको प्रत्याभूतिका लागि कानून प्रमुख साधनहरूमध्येको एक साधन मात्र हो। तथापि मानवअधिकारको निरुपण गर्दा पनि कुनै न कुनै रूपमा कानूनकै आधार लिनुपर्ने हुँदा मानवअधिकार आयोगमा न्यायाधीशहरू पदाधिकारी हुँदा त्यसले थप प्रभावकारी त हुने नै भयो।

न्यायको क्षेत्रमा उज्ज्वल छवि बनाएका प्रकाश वस्तीले राष्ट्रिय मानवअधिकार आयोगमा नियुक्त भएपछि आफूलाई सबै कुरा जानेको रूपमा कहिल्यै प्रस्तुत गर्नुभएन। बरु आफूलाई मानवअधिकारको विद्यार्थीका रूपमा चिनाउनुभयो। उहाँ कर्मचारीहरूलाई प्रष्टसँग भन्नुहुन्थ्यो– ‘म कानून र न्याय क्षेत्रको मान्छे हुँ, मानवअधिकारको होइन। मानवअधिकारको ज्ञान तपाईंहरूसँग म सिक्न चाहन्छु।’ यो उहाँको महानता हो।

आयोगमा आएर उहाँले कर्मचारीलाई हौसला प्रदान गर्दै काम गर्नुभयो। अरूबाट सिक्नुभयो, आफूले अरूलाई सिकाउनुभयो। आयोगको माननीय सदस्यभन्दा बढी एक सच्चा मानवअधिकारकर्मीको रूपमा काम गर्नुभयो। अरूलाई आदेश र उपदेश दिएर होइन, बरु आफैं काममा खटेर उदाहरणीय बनी अरूलाई प्रोत्साहित गर्ने काम गर्नुभयो। उहाँकै कारण आयोगमा त्यो कार्यकालमा सबैभन्दा धेरै प्रतिवेदन प्रकाशन र अनुसन्धान अध्ययनको काम भयो।

मानवअधिकारको कामलाई धेरैले हल्ला गर्ने विषय बुझ्ने र ठान्ने गरेका छन्, तर उहाँ प्रतिवेदन र परिणाम नभएको मानवअधिकारको कामलाई निरर्थक भन्नुहुन्थ्यो। परिणाम विनाको अनुगमनलाई देशदर्शनको संज्ञा दिनुहुन्थ्यो। मानवअधिकार एक अभियान हो, देशदर्शन होइन भन्ने कुरा उहाँले पटक–पटक दोहोर्‍याउनुभयो।

प्रकाश वस्तीको अर्को गुण जोसुकैसँग पनि काम गर्न सक्ने क्षमता थियो। उहाँलाई काम गर्न कर्मचारी चाहिन्थ्यो, तर यो कर्मचारी वा त्यो कर्मचारी चाहिन्छ भनेर उहाँले कहिल्यै कर्मचारीको रोजीछाडी गर्नुभएन। सबै कर्मचारीलाई पारिवारिक वातावरणमा काम लगाउने पनि उहाँको निकै रोचक शैली थियो। नाँच्न नजान्ने आँगन टेढो भन्ने उखानलाई चरितार्थ गर्ने आजको नेपाली समाज आफू काम गर्न नसक्ने तर अरूका कारण गर्न नसकेको भनेर दोष दिनेहरूले कामको परिणाम कसरी निकाल्ने भनेर प्रकाश वस्तीबाट सिक्न सक्छन्।

आयोगमा रहँदा प्रकाश वस्ती सकेसम्म विवादमा पर्न चाहनुभएन। तर विवादमा नपर्ने नाममा गलत कामलाई गलत भन्न उहाँले छोड्नुभएन। मिठो र प्रष्ट बोलीवचन तर कडा मिजासको व्यक्तित्व उहाँको देखिन्थ्यो। मानवअधिकार आयोगको ६ वर्षे कार्यकालमा पीडितलाई मात्र न्याय दिनुभएन सिङ्गो मानवअधिकार आयोगको समेत छवि उँचो पार्ने काम गर्नुभयो।

आयोगमा उहाँसँगै काम गरेका सहकर्मी र कर्मचारीहरूले प्रकाश वस्तीलाई प्रशंसायोग्य पात्रका रूपमा चित्रण गरेका छन्। राष्ट्रिय मानवअधिकार आयोगमा ६ वर्ष वस्ती सँगसँगै कार्य गर्नुभएका आयोगका तत्कालीन सदस्य सुदीप पाठक प्रकाश वस्तीलाई मानवअधिकारका विषयमा गम्भीर छलफल गर्ने, आफ्नो जिम्मेवारी पूरा गर्न निरन्तर लागिरहने, सहकर्मीसँग सहकार्य गर्न रुचाउने, नेपालको संविधान, कानून, राष्ट्रिय मानवअधिकार आयोग ऐन र अन्तर्राष्ट्रिय महासन्धिका प्रावधानहरूलाई अक्षरशः पालना गरी कार्य गर्ने इमानदार चरित्र भएको मानवअधिकार आयोगको सदस्यको रूपमा लिनुहुन्छ।

आयोगका उपनिर्देशक सन्तोष आचार्य प्रकाश वस्तीलाई तत्काल निर्णय गर्ने क्षमता भएको, निर्णयको अक्षरशः कार्यान्वयन गर्ने र परिणामको बारेमा चिन्तन गरिरहने व्यक्तित्वको रूपमा प्रशंसा गर्नुहुन्छ। आयोगका मानवअधिकार अधिकृत कल्पना नेपाल आचार्य वस्तीलाई आफ्नो प्रेरणादायी व्यक्तित्वको रूपमा सम्झिनुहुन्छ भने अर्का मानवअधिकार अधिकृत दीपक थापा आफ्ना लागि एक अभिभावक, मार्गदर्शक, इमानदार र कर्ममा विश्वास गर्ने असल व्यक्तिको रूपमा लिनुहुन्छ ।

निष्कर्षमा भन्दा प्रकाश वस्ती योग्य, सक्षम र सङ्घर्षशील एक प्राध्यापक, कानून व्यवसायी, न्यायाधीश र अधिकारकर्मीको नाम हो। वस्तीलाई सबैले चिने, तर चिन्नुपर्ने मान्छेले चिनेनन् वा चिनेर पनि बुझपचाए। सर्वोच्च अदालतबाट बहिर्गमनको घटना वस्तीको जीवनसँग जोडिएको एउटा तीतो घटना रह्यो। इतिहासले यो कुराको फैसला गर्ने नै छ। जीवनभर अरूको न्यायको लागि वकालत गरेको र पीडितको पक्षमा फैसला गरेका व्यक्ति आफू भने अदालतबाट अन्यायमा परेरै बहिर्गमन हुनुपर्‍यो।

तर जस्तोसुकै परिस्थितिलाई पनि सहज रूपमा लिई अविचलित कर्ममा लागिरहने उहाँको जीवन यो पुस्ताका लागि मात्र होइन, भावी पुस्ताका लागि पनि अनुकरणीय रहिरहने छ। अदालतबाट भएको अप्रत्याशित बहिर्गमनलाई हार वा असफलताका रूपमा नबुझी जितका रूपमा बुझ्नुपर्छ किनभने सारा न्याय क्षेत्रले एकस्वरमा उहाँलाई अन्याय परेको बताइरहेको छ। यो प्रकाश वस्तीको सबैभन्दा ठूलो जित हो। यस्ता असल न्याय सम्पादक र मानवअधिकारकर्मीलाई राष्ट्रले सधैं सम्झिरहने छ। स्व. प्रकाश वस्तीप्रति भावपूर्ण श्रद्धाञ्जली !

पोखरेल राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव/प्रवक्ता हुन्।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School