नौ नारी शक्तिको पर्व नवरात्र

नौ नारी शक्तिको पर्व नवरात्र


सनातन हिन्दु धर्ममा सौर्यमास र चान्द्रमास गरी अनेकौं धार्मिक तथा सांस्कृतिक पर्वहरू पर्दछन्। सनातनको अर्थ हुन्छ शाश्वत् वा कहिल्यै नाश नहुने वा सधैं रहिरहने। साथै जसको न आदि छ न त अन्त, त्यसैलाई सनातन धर्म भनिएको हो। यही सनातन धर्ममा गाणपत्य, शैव, वैष्णव, शाक्त र सौर गरी पाँच सम्प्रदाय प्रचलनमा छन्। ती सम्प्रदायमध्ये शाक्त सम्प्रदायअन्तर्गत आदि शक्तिको पूजाआराधना र साधना गर्ने महान् पर्व हो शारदीय नवरात्र।

एक संवत्सरमा चारवटा नवरात्र पर्दछन्। शारदीय नवरात्र र चैत्र पक्षको शुक्लपक्षमा पर्ने नवरात्रलाई सामान्य मानिन्छ भने माघ शुक्ल पक्ष र आषाढ शुक्लपक्षको नवरात्रलाई गुप्त नवरात्र भनिन्छ।

गुप्त नवरात्र तान्त्रिक साधनाका लागि महत्त्वपूर्ण मानिन्छ भने सामान्य नवरात्र अध्यात्म तथा योग साधनाका लागि महत्त्वपूर्ण मानिन्छ।

अनादि कालमा चारैवटा नवरात्र मानिन्थे– माघ शुक्लपक्ष, चैत्र शुक्लपक्ष, आषाढ शुक्लपक्ष र आश्विन शुक्लपक्ष; तीमध्ये–

आश्विने च तथा चैत्रे शुक्ले पक्षे नराधिपः

नवरात्रोपवासो वै कर्तव्यः शुभमिच्छता।

अर्थात् आश्विन शुक्लपक्ष र चैत्र शुक्लपक्षको नवरात्र महत्त्वपूर्ण हुनाले मनोकामना पूर्ण वा साधना गर्न चाहने साधकले महाकाली, महालक्ष्मी र महासरस्वतीस्वरूपा नवदुर्गा भवानीको पूजा–आराधना गर्नुपर्छ।

सोही शास्त्रीय प्रमाणका आधारमा अहिले पनि हिन्दु धर्मावलम्बीहरूले शारदीय नवरात्र र चैत्र शुक्लपक्षको नवरात्रलाई विशेष रूपमा मनाउने गरेको पाइन्छ।

नवरात्र नौवटी नारी शक्तिको संयोजन हो। शरद् ऋतुअन्तर्गत आश्विन शुक्लपक्ष प्रतिपदादेखि नवमीसम्म प्रत्येक तिथिमा प्रत्येक दिन एकएक नारी शक्तिको पूजा गर्नुपर्ने शास्त्रीय विधान छ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।

नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना।। –मार्कण्डेय पुराणअन्तर्गत देवी माहात्म्य

नवरात्र उत्सवको अवसरमा देवी दुर्गाका नौवटा रूप अर्थात् नारी शक्तिका नौवटा रूपको पूजा गर्ने विधान छ। आदिशक्ति दुर्गा, जो महाकाली, महालक्ष्मी र महासरस्वतीको स्वरूपमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री नामले नौ दिनसम्म प्रत्येक दिन सक्रिय हुने र दानवीय शक्तिमाथि विजय प्राप्त गर्ने भएकाले नवरात्र भनिएको हो।

शैलपुत्री

आदिशक्ति दुर्गाको पहिलो ईश्वरीय स्वरूप हो शैलपुत्री देवी। नवरात्रको पहिलो दिन शैलपुत्री नाम गरिएकी देवी दुर्गाको पूजाआराधना गरी घटस्थापनाका साथै जमरा राखिन्छ। अर्थात् नवरात्रको पहिलो दिन माता दुर्गाको प्रथम स्वरूप शैलपुत्रीमा समर्पित हुन्छ।

देवी शैलपुत्री पर्वतराज हिमालयकी पुत्री हुन्, उनलाई पार्वती या हेमवतीको नामले पनि चिनिन्छ। शैलपुत्रीको वाहन गाई रहेको छ भने उनले दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलपुष्प धारण गरेकी छन्। ॐ ऐं ह्रीं क्लीं शैलपुत्र्यै नमः’ वा ‘ॐ देवी शैलपुत्र्यै नमः’ मन्त्र जपी शैलपुत्रीको आराधना गर्नाले मनोवाञ्छित फल प्राप्त हुने देवी माहात्म्यमा बताइएको छ।

शैलपुत्रीको आराधनाले मूलाधार चक्र जागृत हुन्छ। यही योगसाधनाको आरम्भ पनि मानिएको छ। भगवती दुर्गाको यो स्वरूपले नारीशक्तिलाई जागृत गराई अघि बढ्न प्रेरित गरेको पाइन्छ।

शैलपुत्रीलाई वैज्ञानिक रूपमा सम्पूर्ण शक्तिको सम्भावनाको रूपमा लिइन्छ। यस दिन दुई वर्षकी कन्यालाई ‘कुमारीदेवी’ को नामले पूजा गनुपर्ने विधान छ।

ब्रह्मचारिणी

माता दुर्गाको दोस्रो ईश्वरीय स्वरूप हो, ब्रह्मचारिणी। ब्रह्मचारिणीलाई शास्त्रमा सर्वव्यापक चेतना मानिएको छ। ब्रह्मको अर्थ हो, अनन्त या तपस्या र चारिणीको अर्थ आचरण वा धारण। यसरी ब्रह्मचारिणीको अर्थ तप आचरण गर्ने माता भगवती भन्ने बुझिन्छ।

दाहिने हातमा जपमाला र देब्रे हातमा कमण्डलु धारण गरेको स्वरूप ब्रह्मचारिणीको आराधनाले कुण्डलिनी चक्र जागृत हुने बताइएको नवदुर्गा तन्त्रसाधनामा उल्लेख छ। उनको साधनाले जीवनका कठिन क्षण र सङ्घर्षको क्रममा पनि मानिसको मन कर्तव्य–पथबाट कहिल्यै विचलित नहुने शास्त्रमा उल्लेख छ।

‘ॐ ऐं ह्रीं क्लीं ब्रह्मचारिण्यै नमः’ वा ‘ॐ देवी ब्रह्मचारिण्यै नमः’ भनेर मन्त्र जपी स्वाधिष्ठान चक्रमा ध्यान केन्द्रित गरेर यिनको साधना गरे सिद्धि प्राप्त हुने नवदुर्गा तन्त्रसाधनामा बताइएको छ। उनलाई वैज्ञानिक दृष्टिले आकर्षण तथा चुम्बकीय शक्तिको स्वरूप मानिन्छ। यस दिन तीन वर्षकी कन्यालाई ‘त्रिमूर्ति’ देवीका रूपमा पूजा गर्ने चलन छ।

चन्द्रघण्टा

नवरात्रका तेस्रो दिन चन्द्रघण्टानाम गरेकी देवीको पूजाअर्चना गरिन्छ। मस्तकमा अर्धचन्द्र आकारको घण्ट भएकी चन्द्रघण्टाको स्वरूप परम शान्तिदायक र कल्याणकारी मानिएको छ।

शरीर स्वर्णसमान चम्किलो भएकी उनको वाहन सिंह मानिएको छ। उनका दश हात र ती हातमा अस्त्र–शस्त्र युद्धका मुद्रा देखाइएको छ। उनको साधनाले मणिपुर चक्रलाई नियन्त्रित गर्न सकिन्छ भने ज्योतिष शास्त्रमा उनको सम्बन्ध मङ्गल ग्रहसँग रहेकाले यस दिन माङ्गलिक ग्रहशान्ति गर्दा बहुविवाहको दोष मेटिने बताइएको छ। साथै उनको पूजा गर्नाले भयबाट मुक्ति र अपार साहस प्राप्त हुने बताइएको छ। उनको आराधनाले समस्त पाप, ताप र बाधा नष्ट हुने, कष्ट निवारण र सिंहको समानभक्तहरू पराक्रमी र निर्भीक हुने शास्त्रीय मान्यता रहेको छ। 

‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ वा ‘ॐ देवी चन्द्रघण्टायै नमः’ भनी जप गर्नुपर्ने र घण्टी बजाएर पूजा गरे घण्टीको ध्वनिले साधकलाई प्रेतबाधाबाट रक्षा गर्ने पौराणिक मान्यता छ। त्यसैले उनलाई वैज्ञानिक रूपमा सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ। यस दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ।

कुष्माण्डा

नवरात्रको चौथो दिन कुष्माण्डा नाम गरेकी आदिशक्तिको पूजा गरिन्छ। कुष्माण्डा देवीलाई सृष्टिको आदिस्वरूप या आदिशक्ति मानिएको छ। किनकि जति बेला सृष्टि भएको थिएन, त्यतिबेला चारैतिर अन्धकार नै अन्धकार थियो, तब कुष्माण्डा देवीले आफ्नो ईषत्‌ हास्यबाट ब्रह्माण्डको रचना गरेकी थिइन्।

उनको निवास सूर्यमण्डलको भित्री लोकमा मानिएको छ तसर्थ उनमा रहेको अत्यधिक तेज र प्रकाशले दसै दिशालाई प्रकाशित पारिदिने उल्लेख छ। आठ हात धारण गर्ने भएकाले उनलाई अष्टभुजा देवीको नामले पनि चिनिन्छ। ती हातमध्ये सात हातमा कमण्डलु, धनुषबाण, कमल–पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा छन् भने आठौं हातमा सम्पूर्ण सिद्धि र निधि दिने जपमाला रहेको छ। उनको वाहन सिंह मानिएको छ।

‘ॐ ऐं ह्रीं क्लीं कूष्माण्डायै नमः’ वा ‘ॐ देवी कूष्माण्डायै नमः’ मन्त्र जपी उनको आराधना गर्नाले समस्त रोग–शोक–भोक नष्ट हुने, आयु, यश, बल र आरोग्य वृद्धि मार्कण्डेय पुराणअन्तर्गत देवी माहात्म्य उल्लेख छ।

अनाहत चक्रमा केन्द्रित भई यिनको साधना गर्नुपर्ने नवदुर्गा तन्त्रसाधनामा उल्लेख छ। कुष्माण्डालाई वैज्ञानिक दृष्टिले सम्पूर्ण रासायनिक शक्तिको स्वरूप मानिन्छ। यस दिन पाँच वर्षकी कन्यालाई ‘रोहिणी’ नामले पूजा गर्ने विधान छ।

स्कन्दमाता

भगवती दुर्गाको पाँचौं स्वरूप स्कन्दमाता हो। मुक्तिको मार्ग खोल्ने स्कन्दमाता परम सुखदायी देवीका रूपमा परिचित छिन्। स्कन्द अर्थात् कुमार कार्तिकेयकी आमा भएकाले उनको नाम स्कन्दमाता रहेको देवीभागवतमा उल्लेख छ। उनको काखमा भगवान् स्कन्द बालरूपमा विराजित छन्।

चार हात भएकी उनको दायाँ हातले काखमा रहेका स्कन्दलाई समाएकी र कमल पुष्प धारण गरेकी छन् भने बायाँ हातमा वरदमुद्रा र कमलपुष्प धारण गरेकी छन्। कमल आसनमा विराजमान रहेकी हुनाले उनलाई पद्मासना देवी पनि भनिन्छ।  

सिंह सवार उनको पूजाआराधना गर्नाले सुख, शान्ति तथा शुभ फल प्राप्त हुने र समस्त मनोवाञ्छित फल प्राप्त हुने बताइएको छ। सूर्यमण्डलकी अधिष्ठात्री देवी हुनाले उनलाई प्रशन्न गर्न सके अलौकिक तेज प्राप्त हुने उल्लेख छ।

‘ॐ ऐं ह्रीं क्लीं स्कन्धमात्रे नमः’ वा ‘ॐ देवी स्कन्दमात्रे नमः’ भनेर मन्त्र जपी विशुद्ध चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ। स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ। यस दिन ६ वर्षकी कन्यालाई ‘कालिका’ नामले पूजा गर्ने विधान छ।

कात्यायनी

नवदुर्गामध्ये छैटौं रूप हो कात्यायनी। पौराणिक मान्यताअनुसार महर्षि कात्यायनले भगवती पराम्बाको तपस्या गरी पुत्री प्राप्त गरेका र तिनै देवी कात्यायनीको नामले प्रसिद्ध भएकी थिइन्। महिषासुर वध गरेकाले उनी महिषासुरमर्दिनी नामले पनि चिनिन्छिन्।

चम्किलो एवं ज्योतिर्मय स्वरूप, दाहिनेतर्फ माथिल्लो हात अभय मुद्रामा, तल्लो हात वर मुद्रामा, देब्रेतर्फ माथिल्लो हातमा तरबार, तल्लो हातमा कमलको फूल धारण सिंहमा सवार कात्यायनी देवीको पूजापाठको प्रभावले अविवाहितको यथाशीघ्र विवाह हुने शास्त्रीय मान्यता छ।

‘ॐ ऐं ह्रीं क्लीं कात्यायन्यै नमः’ वा ‘ॐ ऐं ह्रीं क्लीं कात्यायनी क्रीं नमः’ भनेर मन्त्र जपी आज्ञा चक्रमा ध्यान गरेर यिनको साधना गरिन्छ। उनलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ। यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ।

कालरात्रि

नवदुर्गाको सातौं रूपलाई कालरात्रि मानिएको छ। कालरात्रिलाई ब्रह्माण्डका समस्त सिद्धिको द्वार बताइएको छ। देवी कालरात्रिलाई काली, महाकाली, भद्रकाली, भैरवी, रुद्राणि, चामुण्डा, चण्डी, दुर्गा आदि नामले चिनिन्छ साथै उनको रूपलाई एक विनाशकारी रूप उल्लेख गरिएको छ।

कालरात्रिको रूप भयानक छ। कपाल फैलिएको, गलामा बिजुली चम्किएझैँ चम्किने माला छ। अन्धकारमय स्थितिबाटमुक्त गर्ने शक्ति हो कालरात्रि। कालबाट पनि रक्षा गर्ने भएकाले उनलाई कालरात्रि भनिएको हो।

उनका तीन नेत्र बताइएको छ। भक्तलाई निडर वा निर्भय बनाउने उनको रूप भयङ्कर भए पनि सदैव शुभ फल दिने शक्तिको रूपमा बताइएको छ। त्यसैले उनलाई शुभंकरी पनि भनिन्छ। उनको नाम सुन्नेबित्तिकै नकारात्मक शक्ति, दूषित वा भड्किएका आत्मा, विकिरण सबै नष्ट हुने देवीभागवतमा उल्लेख छ।

‘ॐ ऐं ह्रीं क्लीं कालरात्र्यै नमः’ वा ‘ॐ देवी कालरात्र्यै नमः’ भनेर मन्त्र जपी आज्ञा चक्रमा ध्यान केन्द्रित गरी यिनको साधना गरिन्छ।

गधामा सवार उनलाई वैज्ञानिक दृष्टिले प्रसारण शक्तिको स्वरूप मानिन्छ। यस दिन आठ वर्षकी कन्यालाई ‘शाम्भवी देवी’ का नामले पूजा गरिन्छ। यस दिन देवीघरमा फूलपाती भिœयाउने चलन छ।

महागौरी

नवदुर्गामध्ये आठौं शक्तिको नाम हो महागौरी। उनको रूप गोरो भएकाले महागौरी भनिएको हो। ‘अष्टवर्षा भवेद् गौरी’ अर्थात् उनको आयु आठ वर्ष मानिएको छ। उनका सबै आभूषण र वस्त्र सेतो हुनाले उनलाई श्वेताम्बरधरा देवी पनि भनिएको छ। उनले चार भुजा धारण गरेकी छिन् भने उनको वाहन गाई मानिएको छ। उनको उपासनाले सम्पूर्ण पाप नष्ट हुन्छन्। महागौरीका भक्तहरू कल्याणकारी हुने बताइएको छ। उनको कृपाले अलौकिक सिद्धि प्राप्त हुनेसमेत बताइएको छ।

‘ॐ ऐं ह्रीं क्लीं महागौर्यै नमः’ वा ‘ॐ देवी महागौर्यै नमः’ भनेर मन्त्र जपी मस्तिष्क वा सहस्रार चक्रमा ध्यान केन्द्रित गरी यिनको साधना गरिन्छ। अलौकिक सिद्धि तथा असम्भव कामलाई सम्भव बनाउन यिनको आराधना गरिन्छ। सतीदेवीले प्राण त्याग गरेपछि त्यही बेला रिसले चुर भएका महादेवबाट महाकालीका रूपमा यसै दिन भद्रकाली प्रकट भएकी थिइन्। त्यसैले यिनको नाम भद्रकाली पनि रहेको छ।

  यस दिन नौ वर्षकी कन्यालाई ‘दुर्गादेवी’ नामले पूजा गर्ने चलन रहेको छ। त्यस्तै, देवीको वाहन सिंह र सकेसम्म नौ प्रकारका हातहतियारको पूजा गर्ने विधान छ।

सिद्धिदात्री

नवदुर्गाको नवौँ रूप वा शक्तिको नाम सिद्धिदात्री मानिएको छ। सिद्धिदात्रीको रूप अत्यन्त सौम्य रहेको छ। चार हात भएकी उनका दायाँ दुई हातमा चक्र र गदा धारण छन् भने बायाँ हातमा शंख र कमलको फूल धारण गरेकी छिन्। सिद्धिदात्री देवी कमल आसनमा विराजमान रहन्छिन् भने सिंहमा सवार रहन्छिन्।

शास्त्रीय विधि–विधान र पूर्ण निष्ठाका साथ साधना गर्नाले सबै सिद्धिहरू प्राप्त हुने बताइएको छ।

‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदाजत्र्यै नमः’ वा ‘ॐ देवी सिद्धिदात्र्यै नमः’ भनेर मन्त्र जपी मध्य कपालमा ध्यान गरेर यिनको साधना गरिन्छ। यस दिन दस वर्षकी कन्यालाई पुज्ने चलन छ। सुरुदेखि कन्यापूजा नगर्नेहरूले नौवटी कन्याको पूजा गर्ने, विश्वकर्मा पूजा, कलकारखाना तथा मेसिनपूजा, हात्ती, घोडा, मोटरसाइकल, गाडी आदि वाहनको पूजा गर्ने चलन रहेको छ।

यसरी समग्रमा नवरात्रमा नारीस्वरूप देवी दुर्गाको पूजाआराधना गर्ने, जपध्यान गर्ने, महिमा गान गर्ने, सम्मान गर्ने अनादिकालदेखि चलिआएको शास्त्रमा उल्लेख पाइन्छ। यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः भन्ने शास्त्रीय मान्यतालाई यस पर्वले पुष्टि गरेको छ। मार्कण्डेय पुराणअन्तर्गत देवी माहात्म्य भनिएको छ–

‘या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’  

अर्थात् जो देवी भगवती हुन्, उनी सम्पूर्ण प्राणीहरूमा शक्ति रूपमा स्थित छिन्, जसलाई नमस्कार, नमस्कार, नमस्कार छ भनेर शास्त्रले नै नारीशक्तिलाई नमन  गरेको पाइन्छ।

प्रकाशित: १९ आश्विन २०८१ ०९:२९ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School