४ फागुन, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पस घण्टीघर अगाडि भेला भएका विद्यार्थीहरूको एउटै प्रश्न छ– चुनाव हुन्छ त ? ‘हुन्छ हुन्छ नहुने कुरै छैन,’ उम्मेदवारहरू मतदातालाई जवाफ फर्काउँछन् । विश्वविद्यालय क्याम्पसमा स्ववियु चुनाव हुने कि नहुने अन्योल एकातिर छ ।
अर्कोतिर उम्मेदवारहरूले प्रचार प्रसार छोडेका छैनन् । सोमबार त्रिव, विश्वविद्यालय क्याम्पस पुग्दा उम्मेदवारहरू कक्षा कोठा कोठामा पुगेर मत मागिरहका थिए ।
विश्वविद्यालय क्याम्पसको चुनावको मिति सारिएकाले तयारी गर्न थप समय पाएकाले केही उम्मेदवारहरू उत्साहित पनि देखिन्थे ।
नेविसंघबाट दुई समूहको उम्मेदवारी परेपछि आधिकारिकतामा विवाद हुँदा विश्वविद्यालय क्याम्पसको चुनाव ८ चैतका लागि सारिएको छ । नेविसंघको विवाद भने अझैं मथ्थर भएको छैन । दीपक जोशी समूहले आधिकारिता पाएपछि अनोज कार्की समूह रुष्ट बनेको छ ।
हामी त्रिवि प्राङ्गणमै हुँदा कार्की समूहले विद्यार्थी कल्याण परिषद् सदस्य सचिव पशुपति अधिकारीको कुर्सी बाहिर ल्याएर फाल्यो । ‘असन्तुष्ट विद्यार्थीहरूले फालेको हो । ५ चैतमा चुनाव नगराउने प्रपन्च गरियो । उम्मेदवार हुनबाट वञ्चित गरेपछि असन्तुष्ट विद्यार्थीले यस्तो गरेका हुन्,’ कार्कीले भने ।
स्ववियुको चुनाव गराउने निर्वाचन अधिकृतको कार्यालय प्रिन्सिपलको कार्यालयमै छ । सोही असन्तुष्ट समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएको छ । निर्वाचन समितिले बाहिरै बसेर चुनावको तयारी गरिरहेको छ । निर्वाचन समितिका सदस्य विद्यार्थीबाट नै ‘थ्रेट’मा परेपछि विश्वविद्यालयको स्थिति सहज छैन ।
‘असजह परिस्थितिमा चुनाव गराउनु पर्ने छ । भौतिक आक्रमणको जोखिम भएकाले बाहिरबाट नै तयारी गरिरहेका छौं,’ समितिका एक सदस्यले भने । प्रिन्सिपल कार्यालयलाई प्रहरीलले सुरक्षा दिएर राखेको छ । मतदानको दिनसम्म सहमतिको प्रयास गराउने योजनामा समिति छ ।
विश्वविद्यालय क्याम्पसमा पनि उम्मेदवारहरूले यसपटक नारा जुलुस गरेर प्रचार प्रसार गरेको देखिएन । सानो समूह बनाएर कक्षा कोठामा केन्द्रीत भए । म्यानेजमेन्ट विभागमा एक समूहले मत मागेर झर्दै गर्दा अर्को समूह भर्याङ उक्लदै थियो ।
दुई समूहको ठेलामठेल गरेर नोकझोकको स्थिति बन्यो । विश्वविद्यालय क्याम्पसमा उम्मेदारहरूबीच हार्दिकता भने देखिएन । एक अर्काका कट्टर प्रतिस्पर्धि जस्ता देखिन्थे ।
विश्वविद्यालय क्याम्पस भवन घण्टीघर वरिपरि उम्मेदवारहरू भेटिन्छन् । र, आफ्नो चुनावी योजना र चुनाव जित्ने रणनीति बनाइरहेका भेटिन्छन् ।
अनेरास्ववियु : २० वर्षपछि नेतृत्वमा फर्किने प्रयास
२०७९ मा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट सचिवमा विजयी भएका सिद्धान्त भट्ट यसपटक अध्यक्षको उम्मेदवारी बनेका छन् । अखिल नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूसँग तालमेल गरेर चुनावी मैदानमा छ ।
‘विद्यार्थीको मत र मन जित्न विद्यार्थीको माझमा पुगेका छौं । सचिव हुँदा गरेको काम लिएर मतदाता माझ छौं,’ घण्टीघर अगािड चुनाव प्रचार गरिरहेका अध्यक्षका उम्मेदवार सिद्धान्त भट्टले भने ।
रिसर्चमा विद्यार्थीलाई जोड्ने र विश्वविद्यालयको रुपान्तरण गर्ने योजना भट्टले सुनाए । ‘रिसर्चमा फोकस गरेका छौं । रिसर्चका लागि आएका फन्डिङ चार वटा अनुसन्धान केन्द्रबाट हुनुपर्छ । आइडिया बैंक स्थापित गर्नुपर्छ,’ भट्टले भने, ‘सेन्टर लाइब्रेरीमा सेवा सुविधा बढाउने पर्ने छ । छात्रवृत्तिको दायार पढाउनुपर्छ ।’
विश्वविद्यालय सुधारको माग राखेर गत मंसिर–पुसमा २४ घण्टा नै उपकुलपति कार्यालय अगाडि धर्नामा बसेमा उनले ३५ बुँदे माग राखेका थिए । ‘कति माग पूरा भएका छन् । कति पूरा हुन बाँकी छ । यसलाई कार्यान्यन गर्ने योजना छ,’ उनले भने ।
अखिलका प्रवक्ता प्रकाश पौडेलको कमान्डमा त्रिविमा अखिल खटिएको छ । ‘२० वर्षपछि नेतृत्वमा आउने योजना छ । यसपटक त्रिविमा अनेरास्ववियु बलियो छ,’ उनले भने ।
आन्तरिक झमेलमा नेविसंघ
२०७९ मा विश्वविद्यालय क्याम्पस नेविसंघले जितेको हो । दुई वर्षअघि ९६२ मत ल्याएर नेविसंघका श्यामराज ओझा निर्वाचित भएका थिए । र, अनेरास्ववियुले ६३१ मत पाएको थियो । तर यसपटक नेविसंघ आन्तरिक विवदामा परेपछि सहज स्थिति छैन ।
निर्वाचन आयोगले दीपक जोशीलाई आधिकारिकताको मान्यता दिएपछि अनोज कार्की समूह असन्तुष्ट बनेको छ । यसको असर नेविसंघलाई पर्ने देखिन्छ । तर नेविसंघका आधिकारित उम्मेदवारी आफ्नो योजना जित्ने आधार भएको दाबी गर्छन् ।
‘स्नातक उत्तीर्ण विद्यार्थीहरूका लागि विश्वविद्यालयमा अनुसन्धान सहायकको व्यवस्था हुनुपर्छ । विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक विकासलाई प्रोत्साहन दिने योजान छ,’ जोशीले भने, ‘अनुसन्धान र शिक्षण क्षेत्रमा विद्यार्थीहरूलाई अवसर प्रदान गरेर उनीहरूको क्षमता बढाउने हाम्रो लक्ष्य हो ।’
विश्वविद्यालयमा मानसिक स्वास्थ्य परामर्श केन्द्र र विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमाको योजना जाशीले अगाडि सारेका छन् । छात्रावास, खानेपानी, लाइब्रेरी रिसर्चमा भएका समस्यालाई समाधान गर्ने योजना उनको छ ।
‘लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि तीनै तहका सरकार तथा सरोकारवाला पक्षहरूसँग समन्वय गरी राष्ट्रिय अभियान संचालन गरिने योजना छ,’ उनले भने ।
टिकट नपाएपछि स्वतन्त्र उठेकी पद्मा
२०७९ को चुनावमा नेविसंघबाट कोषाध्यक्षमा निर्वाचित भएकी पद्मा भुसालले यसपटक अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
‘संगठनमा न्याय नपाएपछिसंगठनलाई सहि ठाउँमा ल्याउन स्वतन्त्र उम्मेदवारी दिएको हुँ । महिला भएकै कारण सक्दैन भन्ने भाष्य बनाइयो । त्यसका विरुद्ध मेरो स्वतन्त्र उम्मेदवारी हो,’ उनले भनिन्, ‘विश्वविद्यालयलाई समावेशी सुसंस्कृत र पठनयोग्य बनाउन मेरो उम्मेदवारी हो ।’
विश्वविद्यालयमा बाहुबलको अन्त्य गर्ने योजना रहेको उनले सुनाइन् । ‘विश्वविद्यालय बाहुबल देखाउन थलो होइन । सबैको अपनत्व हुनुपर्छ । आम विद्यार्थीले मेरो विश्वविद्यालय हो बनाउनु पर्नेछ,’ उनले भनिन् ।
डिजिटल त्रिवि बनाउने प्रवीनको योजना
माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट अध्यक्षको उम्मेदवार प्रवीन दाहाल छन् । डिजिटल त्रिवि बनाउने योजनासहित उनी चुनावी मैदानमा छन् ।
‘विश्वविद्यालयको रुपान्तरण, गुणस्तरीय शिक्षा र संरचनाको सुधार गर्ने योजना छ,’ दाहालले भने । किताबी ज्ञानलाई अन्त्य गरी व्यवहारिक र प्राविधिक शिक्षालाई विकास गर्न समन्वय गर्ने योजना रहेको उनले सुनाए ।
‘पनिकालाई अनलाइनमा लैजाने, कक्षामा स्मार्ट बोर्डको व्यवस्र्था र त्रिविमा भागबन्डाको अन्त्य,’ उनले आफ्ना योजना सुनाए, ‘खुला प्रतिस्पर्धा र मेरिटोक्रेसीबाट नेतृत्व चयन हुनुपर्छ ।’
साताको एक दिन कक्षा भन्दा स्किल वर्कसपमा जानु पर्ने योजना पनि उनले सुनाए ।
स्वतन्त्र उम्मेदावरको टक्कर
त्रिविमा स्वतन्त्र उम्मेदवारहरू पनि छन् । भ्रातृसंस्थाका उम्मेदवारलाई टक्कर दिँदै छन् । विश्वविद्यालय सुधारको खाकासहित स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । ती मध्येका एक हुन् उज्ज्वल खड्का ।
‘विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य हुनुपर्छ । विश्वविद्यालय सुधार गर्न प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘विश्वविद्यालयमा विद्यार्थी, कर्मचारी, प्राध्यापक दलका भए ।’
त्रिविका रिसर्च सेन्टरलाई प्रभावकारी बनाउनुपर्ने योजना उनको छ । ‘रिसर्च सेन्टर पहिले चलायमान थियो । अहिले दलको कार्यकर्ता उत्पादन गर्ने केन्द्र बन्यो । विश्वविद्यालय क्याम्पसलाई पूरै रेजिडेन्टल बनाउनुपर्छ,’ उनले सुनाए ।
विद्यार्थी संगठनको सिन्डिकेट तोड्न स्वतन्त्र उम्मेदवारी दिएको उनको तर्क छ । ‘विद्यार्थी संगठनका गतिविधिले नकारात्मक सन्देश दिएकाले स्वतन्त्र उम्मेदवारी दिएको हुँ,’ उनले भने ।
सबै पदमा ७८ जना प्रतिस्पर्धामा
विश्वविद्यालय क्याम्पस चुनावमा सहभागी हुन २१ वटा संगठनले नाम दर्ता गरेका छन् । पदाधिकारीसहित सदस्यका लागि ८४ जनाको उम्मेदवार परेकोमा ६ जनाले फिर्ता लिए ।
निर्वाचान समितिका अनुसार अब ७८ जनाबीच चुनावी प्रतिस्पर्धा हुनेछ । एक स्वतन्त्र अध्यक्ष, एक स्वतन्त्र सचिवसहित सदस्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।
६ हजार मतदाता, इलेक्ट्रोनिक भोटिङ
स्ववियुमा २१ सदस्य निर्वाचित हुने छ । जसमा ११ जना प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा ६ हजार १ सय ४६ मतदाता रहेका छन् । यी मतदाताले नेतृत्व चयन गर्ने छन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुन्छन् । उपाध्यक्ष र उपसचिव २१ जना सदस्य निर्वाचित भएपछि त्यसबाट चयन गरिनेछ । कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैकोबाट चयन हुन्छ । यदि बहुमत आएन भने सहमतिबाट पनि चयन हुन सक्छ ।
सहमति भएन भने २१ जनाको भोटिङबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । भोटिङका लागि २० वटा मेसिन प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।
८ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ । इलेक्ट्रोनिक भोटिङ हुने भएकाले केही घण्टामा नै नतिजा आउने निर्वाचन कार्यालयले जनाएको छ ।