फल्चा/पाटी र सत्तलहरू काठमाडौं उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचनामध्ये पर्छन्। बटुवा, पाहुनाहरूलाई आराम गर्न बनाइएका यी संरचना अहिले बस्तीको सौन्दर्यका रूपमा रहेका छन्। पुराना बस्तीमा जमघट र विशेषगरी जेष्ठ नागरिकलाई साथीभाइ भेटघाट गर्ने सामाजिक स्थानको परिचय पनि हुन गएको छ।
पानी पर्दा ओत लाग्ने, थकाइ लाग्दा आराम गर्ने र नगरका भजन तथा जात्रामा फल्चाको प्रयोग हुन्छ। फल्चा काठमाडौं उपत्यकाको नगर विकासको उत्कृष्ट संरचना बनेको छ। नेवाः शैलीको बस्तीमा नगरभित्र र बाहिर फल्चा जताततै पाइन्छन्। अझ पहिलाका व्यापारिक मार्गहरूमा केही दुरीमा फल्चासँगै लोहहिती/ढुंगेधारासमेत भेटिन्छन्।
बटुवालाई थकान मेट्न फल्चा र प्यास मेट्न हिटीको व्यवस्था गरिएको थियो। नगरभित्र भने फल्चासँग हिटी, खुला स्थान, मन्दिर, चैत्य र पोखरीसमेत हुन्छन्। सिचु फल्चा, ज्याख्व फल्चा, लोह फल्चा, न्याट्टे फल्चा, बिडोल फल्चा, लान्चा फल्चा, वर्केपली आदि भक्तपुरका केही फल्चाका नाम हुन्।
कतिपय फल्चा संरक्षणको अभावमा र भूकम्पमा भत्केपछि पुनर्निर्माण नगरिएका कारण लोप भएर गए। विशेषगरी शाह र राणाकालमा यसको संवर्धन र प्रवर्धन हुन सकेन। नयाँ त बनाइएन नै, पुराना मल्लकालीन फल्चासमेत मासिए। बरु भक्तपुर नगरपालिकाले झन्डै लोप भइसकेका फल्चालाई पुनर्जीवन दिन थालेको छ। उदाहरणका रूपमा वंशगोपाल फल्चा, साकोलान, तचपालको फल्चा आदि।
इतिहास र अभिलेखमा पाटी
पाँचौं शताब्दीभन्दा अगाडि बनेको काष्ठमण्डपले लिच्छविकालदेखि नै पाहुना राख्ने सार्वजनिक भवन बनाउने प्रचलन रहेको देखाउँछ। हुन त फल्चा निर्माण धेरै अगाडिदेखि सुरु गरिएको हुनुपर्छ। तर हाल बाँकी रहेका फल्चाका शिलालेख हेर्ने हो भने अधिकांश मल्लकालीन समयमा नै बनेको देखिन्छ। त्यस समयका शिलालेखहरू अध्ययन गर्दा अधिकांश फल्चा सर्वसाधारणले नै बनाएको देखिन्छ।
कीर्ति राख्ने र धर्म कमाउने उद्देश्य रहेको भए तापनि सर्वसाधारणलाई खुला राखिने हुँदा यो सामाजिक र लौकिक कार्य नै देखिन्छ। ने.सं. ७५१ मा बनाइएको सूर्यमढी, भक्तपुरको एक पाटी तचपा टोलका विषमसिंह दर्शनधारीले बनाएका हुन् (राष्ट्रिय अभिलेखालय, २०८०)। यस अभिलेखले पाटी बनाउने मान्छे माथिल्लो वर्ग नै हुनुपर्छ भन्ने रहेनछ भनेर समेत देखाउँछ।
त्यस्तै अर्को भक्तपुरकै जेलाँ टोलमा रहेको एक पाटीको अभिलेख पनि विशेष नै छ। यस अभिलेखमा ने.सं. ८२९ मा टोलनायक र पञ्च भलादमी मिलेर यो पाटी जिर्णोद्धार गरिएको कुरा उल्लेख छ (राष्ट्रिय अभिलेखालय, २०८०)। यस अभिलेखमा नेपाल संवत्लाई साख्वा संवत् भनी कुँदिएको छ। जसले शंखधर साख्वा (सर्वसाधारण व्यापारी)ले नेपाल संवत् बनाएको हो कि होइन भन्ने शंकालाई निवारण गर्न मद्दत गर्छ।

फल्चाको बनावट
नेवाः वास्तुकलामा बिजोर संख्यालाई शुभ मानिएजस्तै फल्चाको कवल पनि प्रायः बिजोरमै निर्माण गरिन्छ। छक्व (एक कवल), स्वक्व (तीन कवल), ङाक्व (पाँच कवल) र न्हेक्व (सात कवल) फल्चाहरू अधिकांश देख्न पाइन्छ। सत्तलको तलको खुला फल्चाका रूपमा लायकु÷दरबार क्षेत्रका संरचनामा धेरै कवल छन्। तर फल्चा नै भनेर बनाइएकोमा वर्गाकारमा सोह्रखुट्टे र लामोमा नौकवलसम्म भएको फल्चा पाइन्छन्।
कहींकतै दुई कवल (जोर) मात्र भएका फल्चा पनि भेटिन्छन्। ती अत्यन्तै नगन्य छन्। चौडाइमा निकै कम करिब डेढ/ दुई फिटको मात्र भएकाले टौमढीको जंगम मठको पाटीलाई सबैभन्दा सानो फल्चा भन्ने गरिन्छ। मल्लकालीन शैलीका फल्चामा सबैभन्दा बढी प्रचलित तीन कवलवाला फल्चा हो।
यी फल्चा सहरी बाटाको दिशा हेरी कतातिर मोहडा बनाउने निर्धारण गरिन्छ। थोरै फल्चामा मात्र चारैतिर खुला हुन्छ। बढी प्रचलित तीन कवलवाला फल्चामा चौडाइतर्फ एक कवल मात्रै हुन्छ। अवस्था हेरी यसका छाना एक, दुई, तीन वा चार पाखे निर्माण गरिन्छ। कवलका आधारमा धेरै प्रकारका फल्चा छन् भने भक्तपुरको पुरानो नगरभित्र र बाहिर बनाउने हिसाबले तीन प्रकारका फल्चा हुन्छन्। त्यतिबेला देश भन्नाले नगरभित्र बनाउने फल्चा, पाली फल्चा (आफ्नै घरमुनि गाँसिएकै) र सहरबाहिर बनाउने पलीफल्चा आदि हुन्।
प्रकार्यगत हिसाबमा देशबाहिर बनाइने फल्चामा ढुंगा बिछ्याइएका हुन्थे। नगरभित्रका फल्चामा भने काठ नै बिछ्याइन्थे। अरू बनोटउस्तै भए तापनि नगरबाहिरका फल्चामा एउटा कोठाजस्तै छुट्याएर गारो लगाइएका हुन्थे।
यसरी नगरबाहिरका फल्चालाई पली फल्चा भनिन्थ्यो। यसको उद्देश्य/ प्रकार्य पहिला हिँडेर जाने समयमा बास बस्नुपरेमा प्रयोग गर्नु थियो। त्यस्तै खाना पकाएर खानुपरे पनि आगोले असर नगरोस् भनी ढुंगा नै बिछ्याइन्थे।
संरचनागत रूपमा हेर्दा फल्चालाई तीन भागमा विभाजन गर्न सकिन्छ। ती जमिन तहको गारोको भाग (प्लिन्थ लेभलसम्म), बिचको थांः (थाम) हरू हुने भाग र माथिल्लो छानाको भाग हो। यीबाहेक जग र पेटीको भाग पनि यसका अंग नै हुन्। जमिन तहको गारोको भागमा पेटी, नागो, न्हेकंलोह र बिचको गारो हुन्छ।
पहिलेपहिले मुनिको ओसमाथि नआओस् वा गारोभित्रको भागमा हावा आवतजावतका लागि गारोमा प्वाल/ग्वाखंप्वाःवा एकातिरको गारो नबनाई खुला राखिन्थ्यो। अहिले भने गारो र लाकांसीको बिचमा थोरै (१ इन्च जति) अन्तर राख्ने गरिन्छ।
गारोको भागको माथिल्लो तहमा फल्चामा लाकांसी (नेपाल भाषाको शब्द ‘लाकां’को अर्थ जुत्ता र ‘सीः’को अर्थ काठ) र पली फल्चामा ढुंगाको लहर बिछ्याइन्छ। यो भागको उचाइ मान्छे बस्न मिल्ने गरी राखिन्छ। तीनमध्ये बिचको भागमा थांहरू र गारोको संयोजन हुने गर्छ। प्रायः तीनतिर खुला र एकातिर गारो लगाइन्छ। थांहरूलाई मुनि बिछ्याइएको लाकांसीमाथि ठड्याइन्छ। जोर्नी बाहिरबाट देखिँदैन तर लाकांसीमा सानो प्वाल बनाई थांमा अलिकति निकालिएको काठको भाग छिराएर ठड्याइन्छ।
यसमाथि मेथ हुन्छ र त्यसमाथि निल जोडिन्छ। थांहरूमा निकै सादादेखि पूरा बुट्टा पनि हालिएको हुन्छ। पूरा लम्बाइमा बुट्टा हालिएका थाम कमै भेटिन्छन् भने तीन भागको एक भाग जति बुट्टा हालिएका थामहरू थुप्रै भेटिन्छन्। यही भागमा फल्चाको प्रयोग गरिन्छ। त्यसैले फल्चाको बिचमा काठ र पली फल्चामा ढुंगा बिछ्याइन्छ।
तेस्रो र महत्त्वपूर्ण भाग छानो हो। यो प्राविधिक रूपमा पनि मिलाउन गाह्रो भाग हो। यसमा बाहिर झिंगटी देखिए पनि भित्र पूरै काठको संरचना हुन्छ। जसले झिँगटीको भार थाम्छ र यहाँ बस्नेलाई घाम, पानीले बचाउँछ। सिकर्मीले जति मेहनत गरेर सही संरचना बनाउँछ, त्यति नै डकर्मीलाई झिँगटी बिछ्याउँदा उबडखाबड हुँदैन। छाना जति उत्कृष्ट भयो, फल्चाको आयु उति नै बढ्छ। किनकि फल्चाको मुख्य समस्या नै भूकम्पमा यो भाग गह्रौं भएर भत्कने र पानी पर्दा उबडखाबडमा पानी जमेर चुहिने हो। जमेको पानी बिस्तारै भित्र भित्र फैलिन्छ। यसले माटो र काठको संरचनालाई बिगार्छ। छानाको संरचना नेवाः घरको छानाजस्तै हुन्छ। यसमा निल, थां, टोनसी, मुसीं, सिपुबालाको संयोजन रहन्छ। नगरभित्रका कुनै फल्चामा यो भागमा पनि चारैतिर गारो लगाई अलिकति उचाइ बढाइन्छ। जहाँ भजनका सामान भण्डारण गर्न प्रयोग गरिन्छ। काठमाडौं उपत्यकामै फल्चाको विकासक्रमसँगै यो शैली पनि उद्भव भएको हुनुपर्छ।
सम्पदा निर्माणमा पनि कमिसनकै खेल
चाँगुनारायण नगरपालिकाको भर्खरै सकिएको फल्चामा नाम नबताउने सर्तमा एक निर्माणकर्मीले कमिसनको खेलबारे बताए। पहिले उनी आधुनिक ढलानघर नै बनाउँथे। अहिले परम्परागत काम पनि फेसनजस्तै चलेकाले केही वर्षदेखि उनी यस कार्यमा संलग्न रहेका थिए। यही क्रममा सोही फल्चा बनाउने प्रस्ताव उनलाई आयो। उनले आफ्नो अनुभवका आधारमा प्रस्ताव स्विकारे। तर बाइस लाखको बिलमा सही गरेर सम्पूर्ण लागतसहितको बाह्र लाख मात्र भुक्तानी पाए। ‘किन त्यस्तो गर्नुप¥यो?’ भनी सोध्दा ‘नभए काम पाउनै सकिँदैन’ भन्ने जवाफ दिए। यसरी लागतभन्दा झन्डै आधा भुक्तानी पाएपछि निर्माण सामग्री र श्रममा गुणस्तर कसरी कायम होला ?
यही प्रश्न गर्ने खालको एक तस्बिर (महर्जन, २०८२) आजकल भाइरल भइरहेको छ। जसमा भक्तपुरमा बनेको फल्चाको लागत १२ लाख र काठमाडौंमा हाल बस बिसौनीका रूपमा बन्दै गरेको फल्चाको लागत ३१ लाख भनी देखाइएको छ।
अढाई गुणा लागत बढेपछि प्रश्न उठ्नु स्वाभाविक नै हो। यसरी प्रश्न उठेपछि दुवैको लागतअनुमान तुलना गर्नेपर्छ। काठमाडौंको दर रेटमा ज्यामीको ज्याला, निर्माण सामग्रीको मूल्य नै बढी छ कि ? वा गुणस्तरीय सामग्री पो प्रयोग भयो कि ? यता भक्तपुरको निर्माण सामग्री पनि एउटै गुणस्तरको हो कि होइन ? हुन त भक्तपुरमा कतिपय सामाजिक संरचना वा सम्पदाको कार्यमा जनसहभागिता (श्रमदान) हुने गर्छ। तर त्यसको समेत मूल्याङ्कन गरेपछि लागत अढाई गुणा बढ्छ कि बढ्दैन ? अब स्थानीयले आफैंले लागतमा मात्र नभई गुणस्तर, टिकाउपन, अनुकूलतामा पनि नियाल्दै जानुपर्छ। स्थानीयको सहभागिताले लगानी घट्छ र कामको जाँच भई गुणस्तर बढ्छ। त्यसैले सामाजिक सञ्जालमा मात्र प्रश्न उठाउने होइन, आफैं उपभोक्ता समिति गठन गरी निःस्वार्थ कार्य गर्न पनि अघि सर्नुपर्छ।
यसरी हाम्रा परम्परागत र सामाजिक संरचनामा स्थानीयले नै अपनत्व बनाउनुपर्छ। हेरचाह र मर्मत/जिर्णोद्धार गर्नुपर्छ र कमिसनको खेलबाट जोगाउनुपर्छ। फल्चा हाम्रो समाजलाई मात्र नभई हरेक अन्जान बटुवा र पर्यटकलाई समेत ओट दिने संरचना भएकाले नयाँ बस्तीमा समेत बनाइनुपर्छ। बरु नयाँ बस्तीमा थप सुविधा दिने र किफायती हिसाबले बनाउन सकिन्छ।
