सन् २०१० को मार्च दोस्रो साता, भ्यान्कुभर शहर वरपर चेरी फुलेर ढकमक्क थियो। पहिलेपहिले नेपालबाट छोटो समयलाई डिसीतिर आउँदा देखिने चेरीले भन्दा मलाई यो पटक भ्यान्कुभरको चेरीले फरक सम्प्रेषण गरायो। यसपटक म प्रवासी भैसकेको थिएँ। भ्यान्कुभरको चेरीले मलाई गोरखाको मेरै घर अगाडिको आरु र नासपातीको याद दिलायो, लिगलिगकोटमा फागुनतिर सेताम्मे फुल्ने मयल र राताम्मे फुल्ने लालीगुराँसको जङ्गलसम्म पुर्यायो। त्यही नोस्टाल्जियामा गजल जन्म्यो।
चेरी फुल्दा परदेशमा गाउँ सम्झियौ कि
नासपाती र आरु फुल्ने ठाउँ सम्झियौ कि
गाढा हुन्छ भन्छन् माया टाढा भएपछि
मन भित्रकी मायालुको नाउँ सम्झियौ कि
अरबको तातो होस् कि अलास्काको चिसो
मज्वुरीमा रिनै रिनको घाउ सम्झियौ कि
आकाश छुने रहर बोकी बिदेशिंदा एक्लै
विदेशबाटै वृद्ध आमाबाउ सम्झियौ कि।
यी शब्दहरू प्रवासिएपछि लेखिएका मेरा अनुभूतिका अक्षरहरू थिए, आम प्रवासीका कथा पनि थिए। पछि सन् २०१४ मा यो गजल गैरे सुरेशको संगीत र निशा देशारको स्वरमा रेकर्ड भयो। गजल लेखिएको करिव पन्ध्र वर्ष बित्यो। यो अवधिमा लाखौँ नेपालीले देश छोडिसके। विदेशिनेको लर्को बढिरहेको छ तर तिनले देश बिर्सेका छैनन्।
भूगोलबाट टाढिए पनि भावनामा देश बोकेर ती फैलिरहेका छन्। संस्कृति बोकेर हिंडेकाहरूले विस्तारै नेपाललाई विश्वभरि फैलाएका छन्। प्रवासमा जहाँजहाँ नेपाली पुगेका छन्, त्यहाँत्यहाँ नेपाली सामुदायिक संस्थाहरू बनेका छन्। तिनले नेपाली चाडपर्व, संस्कृति र परम्परा जोगाउने र पछिल्लो पुस्तामा पुस्तान्तरण गर्ने प्रयास गर्दै आएका छन्।
अध्ययन र कामकाजका क्रममा जहाँजहाँ पुगे पनि नेपाली समुदायको सामाजिक, सांस्कृतिक र साहित्यिक अभियानसँग म नजिकिंदै आएको छु। देशको माटो छोडे पनि मनमुटुमा साँस्कृतिक देश बोकी हिंड्नेहरूलाई भेटेको छु। तिनका भावना पढेको छु। प्रवासमा आफ्नो मूल थलोको संस्कृति जोगाउन प्रयासरत पहिलो पुस्ता अनि बिस्तारै जहाँ बस्यो त्यहींको संस्कृतिसँग रमाउँदै गएको दोस्रो र तेस्रो पुस्ता बीच चलिरहेको एक किसिमको सांस्कृतिक अन्तर्द्वन्द्व पनि नजिकैबाट महसुस गरिरहेको छु। अनि सैद्धान्तिक कोणबाट हेरिरहेको छु।
प्रवासमा रहेका समुदायमा आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउने स्वाभाविक इच्छा हुन्छ। प्रवासमा रहेका नेपालीहरूले पनि आफ्नो भाषा, संस्कृति, पहिचान जोगाउन र आफू बसेको स्थानमा आफूहरूलाई भिजिवल माइनोरिटीको रूपमा स्थापित गर्न अनेक पहल गरेका छन्।
भाषा कक्षा सञ्चालन, सांस्कृतिक कार्यक्रम, कविता-संगीत, लोकनृत्य र साहित्यिक प्रकाशन जस्ता गतिविधिबाट नयाँ पुस्तामा आफ्नो मूलको परिचय र गर्व कायम राख्ने प्रयास भइरहेका छन्। प्रवासका कतिपय ठाउँमा नेपाल डे भनेर मनाउने परम्परा समेत शुरू भएको छ।
तर नयाँ समाजको संस्कृति अपनाउँदै आफ्नै पहिचान हराउने खतरा पनि छ। विशेष गरी दोस्रो र तेस्रो पुस्तामा मातृभाषाको प्रयोग घट्दै, मूल देशसँग भावनात्मक सम्बन्ध कमजोर हुँदै जान्छ। पुरानो जमानामा विविध कारणले स्थानान्तरण भएका नेपाली मुलका भुटानी, बर्मेली, थाई र भारतीयको मात्र होइन पछिल्लो समय अमेरिका, युरोप र अष्ट्रेलिया पुगेका नेपालीहरूको पनि यो साझा समस्या हो। भोलिका दिनमा नेपाली जातिको पहिचान हराउँछ कि भन्ने चिन्ता सांस्कृतिक रुपमा सचेत प्रवासी नेपालीहरूमा देखिन्छ।
विश्वव्यापी भएका नेपाली जातिलाई समेट्ने, प्रवासमा समेत संस्कृतिको माध्यमले नेपालीलाई एउटै सूत्रमा बाँध्ने, नेपाली माटोसँग जोड्ने र प्रवासका दोस्राे र तेस्रो पुस्तालाई नेपाली संस्कृतिप्रति मोह जगाउने केही परिकल्पना अब जरुरी छ भन्ने लागिरहन्थ्यो। करिव डेढ दशकदेखि अमेरिका आप्रवासनमा रहेका नेपाली मूलका भुटानी डिल्ली अधिकारीले अमेरिकामा एउटा संस्था स्थापना गरी अमेरिकावासी नेपाली समुदायमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत प्रयास मार्फत सांस्कृतिक एकता प्रवर्द्धन गरिरहेको थाहा पाएको थिएँ। अघिल्लो बर्षदेखि यो संस्थाले विश्वभरका नेपालीभाषीहरूलाई समेटेर नेपाली संस्कृति प्रवर्धन गर्ने ध्येयका साथ मेरो भ्वाइस युनिवर्स र मेरो डान्स युनिभर्स जस्ता अन्तर्राष्ट्रिय स्तरका दुई कार्यक्रम शुरू गरेको छ।
यी कार्यक्रममा गीत, संगीत र नृत्यको माध्यमबाट नेपालप्रतिको प्रेम र पहिचानलाई प्रवासी र स्वदेशी दुवै समुदायमा मजबुत बनाउने प्रयास भएको छ। यी कार्यक्रमहरूमा नेपालको शहरी क्षेत्रमा बसोवास गर्ने गीत संगीत र नृत्यमा रुचि राख्नेहरू मात्र होइन, प्रवासमा जन्मिएका वा हुर्किएका धेरै नेपाली सन्तान र नेपालकै दूरदराजका गाउँमा जन्मेका प्रतिभाहरूले पनि सहभागिता जनाएका छन्।
पहिलो वर्ष त यो कार्यक्रम मैले अन्य रियालिटी शो जस्तै मनोरन्जनका लागि मात्र हेरें। खासै महत्त्वका साथ मनन गर्ने गरी हेरिन। यस वर्ष ‘असार पन्ध्र विशेष’ मेरो डान्स युनिवर्स र ‘गुरु विशेष’ मेरो भ्वाइस युनिवर्स हेरेपछि भने म विशेष रूपमा तानिएँ।
यी कार्यक्रममा गीत र नृत्यका माध्यमबाट ‘थिम’ भित्र उठाइएका सन्दर्भहरू अत्यन्त मन छुने रहेछन्। यिनमा मनोरन्जन मात्र होइन, प्रकृति र संस्कृति संरक्षणको चेत र नैतिक सन्देश पनि बेजोड किसिमको लाग्यो। यस वर्षका प्रत्येक एपिसोडहरू केही न केही विशेष विषयवस्तुभित्र केन्द्रित पाएँ। शहीदप्रति समर्पित, राष्ट्रप्रति समर्पित, लोक विशेष, सम्बन्ध विशेष, स्रष्टामा समर्पित, गुरु विशेष, झरी विशेष, कम्पोजर विशेष, चलचित्र विशेष आदि कार्यक्रम हेर्न पाइयो।
बजारको दुनियामा संसारैभरि रियालिटी शोहरू बजारमै टिकेका हुन्छन्। पैसाकै खेलोमा अल्झेका हुन्छन्। यस हिसावले इन्ट्रा फाउन्डेसनले ल्याएको नृत्य र गायनका यी शो पनि अछुतो त छैनन्। एकएक करोडको पुरस्कार घोषणा गरेर, दर्शकलाइ पैसा तिरेर भोट हाल्न लगाएर यी शोले पनि बजारकै टेको लिएका छन्। वर्तमान सन्दर्भमा बजारलाई नकार्न पनि नसकिएला। यद्यपि बजारले प्रतिभा नबिगारोस् भनेर आयोजकहरू सचेत छन्।
यी कार्यक्रमहरूले शिवराज विश्वकर्मा र ध्रुव विक जस्ता दूरदराजका प्रतिभाहरूलाई स्थान दिएका छन्। देशभित्र पनि हराउन लागिसकेका आदिवासी समुदायका मेचे, लेप्चा, सन्ताल, धिमाल, च्यम्रुङ्ग, थारु, कौडा,सारंगे, हुड्केली, छलिया जस्त दुर्लभ नृत्यले कार्यक्रमको माध्यमबाट विश्वव्यापी हुने मौका पाएका छन्।
गीतसंगीत रुचि हुने नेपाली मुलका प्रवासी समेत सहभागी भएका छन्। बर्मा र मलेसियाका क्रमश: सातौं र दशौं कलाकारहरूले माटोको टीका लगाएर प्रस्तुति दिंदै अगाध देशप्रेम दर्शाएका छन्।
यो प्रतियोगिता मात्र होइन, प्रशिक्षण पनि हो। निर्णायक छन्, कोच छन्, थिम अनुसार सुहाउने अतिथि छन्। प्रतियोगीहरूले निर्णायक र कोचबाट सिक्ने र प्रतिभा खार्ने अवसर पाएका छन्। आयोजक र निर्णायकहरू सम्भावना भएका प्रतिस्पर्धीहरूलाई अवसरसँग जोडिदिन पनि जिम्मेवारीपूर्वक लागेका छन्। देशविदेशबाट कार्यक्रममा सहभागी सबैले आफूलाई यो सांस्कृतिक अभियानमा जोडिएर सांस्कृतिक दूत भएको महसुस गरेका छन्।
चेरी फुल्दा गजलमा ११ वर्षअघि स्वर भरेकी सुमधुर स्वरकी धनी निशा देशार यो कार्यक्रमकी एकजना कोच रहेछन्। नेपाली सेनाका पूर्व जर्नेल बाबुकृष्ण कार्की इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरको अध्यक्षको रूपमा यी दुई शोको संयोजक रहेछ। उनलाई चिनेदेखि नै म उनको केही गरूँ भन्ने हुटहुटीबाट प्रभावित थिएँ।
खास गरी बर्दिया राष्ट्रिय निकुञ्जमा उनी कार्यरत हुँदा उनको नेतृत्व र समन्वयमा भएका संरक्षणका कार्य, चितवन राष्ट्रिय निकुञ्ज लगायतका संरक्षण क्षेत्रमा नेपाली सेना मार्फत जनतासँग जोडेर भएका संरक्षणका कार्यबारे म जानकार थिएँ। संरक्षण क्षेत्रमा उनको अनुभवले यो सांस्कृतिक अभियानमा नयाँ आयाम थपेको छ।
नेपाल सरकारले गरे पनि हुने कार्यक्रम व्यक्तिविशेषको सपना, परिकल्पना, योजना र लगानीमा शुरुवात भएको छ। त्यही पनि उनी नेपालमा जन्मेका नेपालवासी होइनन्, नेपाली भाषी मात्र हुन्। किन यिनलाई नेपाली भाषा र संस्कृतिको यति बिछट्ट माया लाग्यो होला?
असल कर्म जसले शुरु गरे पनि हुन्छ, जहाँबाट शुरु गरे पनि हुन्छ। यो कार्यक्रम अब इन्ट्राफाउन्डेसन र डिल्ली अधिकारीको मात्र होइन। विश्वभरिबाट अडिसन गरेर काठमाडौँमा उत्पादन गरी नेपाल टेलिभिजन र युट्युव मार्फत विश्वव्यापी हुने यो कार्यक्रम विश्वभरका नेपालीभाषीको साझा कार्यक्रम बनेको छ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत नेपाल सरकारका जिम्मेवार अधिकारीहरूले पनि यो कार्यक्रमको प्रसंशा गर्दै देश विदेशबाट आएका सहभागीहरूलाई सांस्कृतिक दूतको संज्ञा दिएका छन्।
विश्वव्यापीकरणसँगै नेपाली के हो, नेपाली को हो भन्ने डिस्कोर्स पनि फराकिलो हुँदै आएको छ। नेपाल एउटा भूगोलको देश हो। भौगोलिक र राजनीतिक सीमाका कुरा गर्दा नेपालमा बस्ने मानिस नेपाली हुन् तर योभन्दा माथि उठेर हेर्दा नेपाली भाषा र नेपाली संस्कृति अङ्गीकार गर्ने मानिसहरू जहाँ जन्मे पनि, जहाँ रहे पनि नेपाली हुन्।
अब नेपाली राष्ट्रियता मात्र होइन, नेपाली जाति पनि हो। नेपाली जाति जहाँ पुगेका छन्, सांस्कृतिक नेपाल त्यहाँ, त्यहाँ पुगेको छ। भावनामा देश बोकी हिंड्नेहरूले सांस्कृतिक नेपाल विश्वव्यापी पार्दैछन्। हिजोका दिनमा पृथ्वीनारायण शाहको भौगोलिक एकीकरणले हामीलाई नेपाली बनायो, आदिकवि भानुभक्त आचार्य लगायतको योगदानले भाषिक रूपमा एकतावद्ध बनायो।
आज आएर इन्ट्रा फाउन्डेसनले नयाँ शिराबाट भाषा र संस्कृतिको विश्वव्यापीकरण अभियानको नेतृत्व गरेको छ। संस्कृति संरक्षण र प्रवर्धनलाई संस्थागत स्वरूप दिंदै नेपाली पहिचान विश्वसामु गर्वका साथ प्रस्तुत गरेको छ। सांस्कृतिक विलयबाट जोगाउँदै प्रवासमा जन्मेका दोस्रो र तेस्रो पुस्तालाई पनि नेपाली संस्कृतिका सम्बाहक बनाएर नेपालसँग अविछिन्न रूपमा जोड्ने प्रयास गरेको छ।
(अमेरिकाको नर्थ क्यारोलाइना निवासी डा बस्ताकोटी पेशाले वातावरणीय नीतिविज्ञ हुन्, उनी नेपाली साहित्य र संस्कृतिमा विशेष रुचि राख्छन्।)
प्रकाशित: १ भाद्र २०८२ ०९:३९ आइतबार
