नेपाल-रुस सम्बन्धका अविस्मरणीय पक्ष


पृथ्वीमै विशाल भूभाग ओगटेको रुसबाट नेपाल भ्रमण गर्ने प्रथम रुसी नागरिक पूर्वीय दर्शन र बुद्ध धर्मका ज्ञाता प्राध्यापक इभान मिनाएभ थिए। उनी सन् १८७५ मा तिब्बतको बाटो भएर नेपाल पसेका थिए र स्वदेश फर्केपछि रुसी भाषामा नेपालसम्बन्धी पहिलो पुस्तक लेखेका थिए। मिनाएभले  बौद्धग्रन्थ र नेपाली तथा नेवारी साहित्यको रुसी भाषामा अनुवाद र नेवारी भाषाको  शब्दकोश तयार गरेका थिए।

इभान मिनाएभ नेपाल यात्राबाट फर्केपछि  विश्वप्रसिद्ध साहित्यकार एवं चिन्तक लेभ टोल्सटोइलसँग भेटेका थिए । इभानसँगको संवादमा लेभ टोल्सटोइले नेपालको अवस्थाबारे जानकारी लिएको कुरा स्व. कृष्णप्रकाश श्रेष्ठको ‘मिनाएभको नेपाल यात्रा’ काव्यसङ्ग्रहमा उल्लेख छ।

नेपालको कला, कौशल र संस्कृति लन्डन र पेरिसको म्युजियमसम्म फैलाउने अर्का प्रसिद्ध रुसी लेखक, पुरातŒवविद्, थियोसोफिस्ट, दार्शनिक निकोलाई रेरिख थिए। हिमालयको पहिलो यात्रादेखि रेरिखको मनमस्तिष्कमा नेपालसम्बन्धी अविस्मरणीय प्रभाव परेको थियो। गत वर्ष उनको १५० औं जन्मजयन्तीको अवसरमा रुसी कलाकार नताल्या जैत्सेवा बोरिसोभाले ‘हिउँको घर’ फोटो प्रदर्शनी काठमाडौंको रुसी हाउसमा गरेकी थिइन्।

इतिहासका यिनै शृङ्खलाबिच २० जुलाई १९५६ मा तत्कालीन सोभियत संघ र नेपालबिच दौत्य सम्बन्धमा हस्ताक्षर भयो। यो वर्ष दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६९ औं वर्ष पुगेको छ। यसले शिक्षा, उद्योग र पूर्वाधार विकासमा आपसी सहयोगको ढोका खोल्यो र नेपाललाई सोभियत संघको सहयोगको युग सुरु भयो।

त्यो बेलादेखि यो बेलासम्मको सात दशकबिच विश्व भूराजनीतिमा ठुला उतारचढाव आए। नब्बेको दशकमा आएको परिवर्तनको हुरीसँगै विश्व समाजवादी शिविरको केन्द्र सोभियतसंघ विघटन भयो। त्यो धुरीको रक्षार्थ स्थापना गरिएको वार्सा सैनिक सन्धि संगठन पनि भंग गरियो।

 यो उत्तर एटलान्टिक सैनिक संगठन (नाटो) धुरीको विचारधारात्मक दिशातर्फको लचकदार सदाशयता थियो। योसँगै एकध्रुवीय विश्वको रजाइँ सुरु भयो। विघटनपछि रुसलाई स्थिरतामा आउन धेरै समय लाग्यो। उसले आन्तरिक र बाह्य द्वन्द्व झेल्नुपर्‍यो। एउटा प्रणालीबाट अर्को प्रणालीतर्फको यो सङ्क्रमणको अवधिमा उसको बाह्य सम्बन्ध पातलिनु स्वाभाविक थियो।

परिवर्तित सन्दर्भमा पनि रुसले नेपाली विद्यार्थीलाई प्रदान गर्नेे छात्रवृत्ति निरन्तर राख्यो। सन् २०१५ को विनाशकारी भूकम्पपछि राहतका लागि रुसी संघले सहयोग पु¥याएको थियो। उसले जलविद्युत् क्षेत्रमा हात बढाउन चासो देखायो। लुम्बिनी र हिमालय रुसी र बौद्ध धर्मावलम्बीहरूको प्रमुख आकर्षणको केन्द्र बनेको छ। रुसको बौद्ध सम्बद्ध संस्थाहरूको पहलमा लुम्बिनीमा रुसी बौद्ध मन्दिर निर्माण भइरहेको छ।

हालसालै नेपालका लागि रुसी फेडेरेसनका राजदूतको अन्तर्वार्ता पढेको थिएँ । त्यसमा उनले भनेका छन्, ‘रुस नेपालको शान्तिप्रिय परराष्ट्र नीतिलाई, गुटनिरपेक्षता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तप्रतिको प्रतिबद्धतालाई सम्मान गर्छ।

गत दशकमा धेरै रुसी कम्पनी र व्यवसायीले ऊर्जा, पूर्वाधार, औषधी, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा नेपालमा परियोजना स्थापना गर्ने प्रयास गरेका छन्। तर दुःखको कुरा, यी प्रयास नेपाली पक्षको अस्पष्ट प्रक्रियाका कारण अवरोधमा परेका छन्। अहिले पनि केही महŒवपूर्ण प्रस्ताव र सम्झौता लामो समयदेखि छलफलमा भए पनि नेपाली पक्षबाट ढिलाइ भइरहेको छ।’

अनुभूतिमा तितो लागे पनि साँच्चिकै यो कुरामा दम छ। पछिल्ला दशकका घटना परिघटनाले यसलाई अझै पुष्ट्याइँ गर्छ। दुई वर्षअघि राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिमिल्सिनाको रुस भ्रमणपछि रुसी पक्षले २०८० वैशाख २१ गते नेपाललाई पत्र पठाएर १३ वटा विभिन्न आयोजनाको विस्तृत प्रस्ताव माग गरेको थियो। यसमा पोखरा–पर्वत–रिडी सडक निर्माण, पोखरामा बाल क्यान्सर अस्पताल, पूर्व–पश्चिम रेलवे, अध्ययन छात्रवृत्तिमा संख्यावृद्धि आदि थिए।

विस्तृत प्रस्ताव आउन ढिलाइ भएपछि रुसी दूतावासले २०८० जेठ २६ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर पुनः विस्तृत परियोजना प्रस्ताव माग गर्‍यो तर नेपालबाट कुनै औपचारिक अनुरोध प्राप्त नभएको रुसी पक्षको तर्क थियो। कोभिड महामारीको बेला रुसी सरकारले प्रस्ताव गरेको ‘स्पुत्निक भी भ्याक्सिन’ को फाइदा नेपालले लिन सकेन।

युद्धको कठिन समयमा सन् २०२३ मा राससलगायतका नेपाली प्रतिनिधि पत्रकार टोलीलाई मस्को र सेन्ट पिटर्सबर्गको भ्रमणमा निम्त्याइएको थियो। उक्त भ्रमणमा रासससँगको सङ्क्षिप्त अन्तर्वार्तामा रुसी सूचना विभागका उपनिर्देशक सेर्गेई नालोबिनले नेपाल र रुसबिचको आपसी विकासमा रुसले गरेको सहयोगलाई नबिर्सन आग्रह गरेका थिए। साथै उनले संयुक्त राष्ट्र संघमा युक्रेन मामलामा भएको मतदानमा नेपालले अमेरिकाको पक्ष लिनु मस्कोको कल्पनाभन्दा बाहिर भएको संकेत गरेका थिए।

२०८० भदौ ४ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग भएको भेटवार्तामा रुसका राजदूत अलेक्सी नोभिकोभसहितको टोलीले नेपालसँग काठमाडौं मेट्रो परियोजनालगायत मुलुकको रेलवे आयोजनासम्बन्धी प्रस्ताव माग गरेको थियो। गत वर्ष रुसी पक्षले नेपाली विद्यार्थीलाई प्रदान गर्ने पूर्ण छात्रवृत्ति कोटा ५० बाट वृद्धि गरी २५० बनाउन वर्तमान शिक्षा मन्त्रीसँग छलफल गर्न चाहँदा पनि सम्बद्ध निकायबाट चासो नदिइएको कुरा सामाजिक सञ्जालमा सुनिन आयो। रुसी पक्षबाट तारन्तार आएका यी सदाशयी प्रस्तावहरूको विषयप्रति नेपाल सरकार पक्षको  बेवास्ता निरन्तर रहेको कुरा विभिन्न वृत्तमा गुन्जिरह्यो।

सुनिन्छ, रुसबाट कुनै परियोजना प्रस्ताव आउनेबित्तिकै त्यसलाई उत्पत्तिस्थलमै ठुकु¥याइन्छ। यो हाम्रो असंलग्न नीतिविपरीत छ। के नेपाल अब घोषित रूपमै संलग्न राष्ट्र हो ?

यो कुरा साँचो हो कि धेरै प्रायः नाम चलेका मिडिया रुसबारे, रुस–नेपाल सम्बन्धबारे लेख्न वा प्रकाशित गर्न हिचकिचाउँछन्। यसमा मेरो आफ्नै अनुभव पनि छ।

त्यही रुस, त्यही सोभियत संघ, जसले विगतमा तड्कारो आवश्यकताका बेला नेपाललाई उच्च शिक्षा, पूर्वाधार विकास, स्वास्थ क्षेत्र र औद्योगिकीकरणमा ठुलो सहयोग गरेको थियो र यो निःस्वार्थ थियो।

युगौंदेखि बाँकी संसारबाट अलगथलग र भर्खर १०३ वर्षको राणा शासनबाट मुक्त नेपाल, जतिबेला यहाँको साक्षरता आठ प्रतिशतभन्दा न्यून थियो र यहाँको विकासका लागि दक्ष जनशक्तिको असाध्य खाँचो थियो, दौत्यसम्बन्धलगत्तै सोभियत सरकारले नेपाली युवाहरूलाई उच्च शिक्षाका लागि छात्रवृत्ति दिन सुरु गर्‍यो र हजारौं इन्जिनियर, डाक्टर, कृषिविद् र वैज्ञानिकहरू महत्त्वपूर्ण मानव संशाधन उत्पादन गर्न सहयोग गर्‍यो।

निर्वाहमुखी कृषिमा आधारित पछौटे युगमा भौतिक र औद्योगिक पूर्वाधार निर्माणमा रुसले गरेको सहयोगले नेपालको  आधुनिकीकरणको प्रक्रियालाई तीव्रता दिएको थियो। सोभियत रुसले स्थापना गरेको जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, वीरगन्ज कृषि औजार कारखाना, नेपाल रोजिन एन्ड टर्पेन्टाइन लिमिटेड आफ्नो समयमा देशको औद्योगिकीकरणको मेरुदण्ड थिए र मुलुकको राजस्व र रोजगारीका प्रमुख स्रोत गनिन्थे। यसले वैदेशिक आयातलाई विस्थापित गरेको थियो। रोजगारीको सिर्जना मात्र नभई यी कारखानाले किसानलाई नगदेबालीमा उन्मुख ग¥यो।

सन् १९६३ मा मुलुकको पहिलो कान्ति बाल अस्पताल सोभियत राष्ट्रकै पहलमा स्थापनामा भयो। सन् १९६५ मा निर्मित पनौती जलविद्युत् आयोजना भएको पहिलो मेगावाट क्षमताको सोभियत उपहार थियो। जुन आजपर्यन्त सुचारु छ। सन् १९६० मा राजा महेन्द्रले मुलुकको भाग्यरेखा मानिएको पूर्वपश्चिम राजमार्ग निर्माणमा सहयोगका लागि गरेको आह्वानमा होस्टेमा हैंसे गर्ने प्रथम राष्ट्र सोभियत संघ थियो। एक हजार किलोमिटर लम्बाइको यो राजमार्गको १०९ किलोमिटर लामो ढल्केबर–पथलैया खण्ड संघले निर्माण ग¥यो। विश्व रंगमञ्चमा जुनै परिवर्तन भए पनि इतिहासले सोभियत संघको यो गुण कहिल्यै बिर्सने छैन।

आज सोभियत संघ छैन, तथापि अझै पनि रुस देश मात्र नभएर एउटा महादेश हो। त्यो भूगोलको सुदूरपूर्व एसियामा सूर्य उदाउँदा युरोपेली भागमा साँझ पर्छ। रसियाको महानता केवल यसको विशाल भूभाग र प्राकृतिक सम्पदामा मात्र नभई यसको खोज, अनुसन्धान, वैज्ञानिक विकास र गोरवमय इतिहास र परम्पराहरूमा पनि निहित छ।

अनन्त प्राकृतिक सम्पदा, साधन, खनिज, विज्ञान र प्रविधिका अजस्र स्रोतहरूले भरिपूर्ण त्यो मुलुकको सदाशयताबाट हामीले लाभ लिनुपर्छ। त्यो हाम्रो कुटनीति सफलता हो। अरूको लहैलहैमा लागेर हामीले आफ्नो मूलशक्ति गुमाउन हुँदैन।

आजको जटिल र अशान्त विश्वमा हाम्रोजस्तो पेचिलो भूराजनीतिक अवस्थितिमा रहेको मुलुकको राष्ट्रिय स्वाभिमान र अक्षुणताको मजबुती अंसलग्न नीतिमा अटल रहनुमा नै छ। संलग्न हुनुको पीडा, नजिकका भन्दा टाढाकासँग लहसिँदाको त्रासदी आज ककसले भोगिरहेछन् बताइरहनुपर्दैन। एउटा सच्चा देशभक्तिपूर्ण भावना र राष्ट्रको एकताको आकाङ्क्षीले असंलग्नताको माध्यमबाट नै आत्मस्वतन्त्रताको मार्ग तय गर्न सक्छन्।

आज विश्वभर बहुध्रुवीय विश्वको आवश्यकताको बोध बढिरहेछ। शीतयुद्धकालमा सोभियत संघको अवसानसँगै संसारमा एकध्रुवीय  शासन हावी भयो। एकध्रुवीय विश्व व्यवस्थाले पृथ्वीमा फैलाएको युद्ध, अशान्ति, आतङ्कवाद, गरिबी, जलवायु सङ्कट, आर्थिक सङ्कट, निरीह साना देशमाथि हस्तक्षेप र हमला आदिले आजित संसार यो शासन व्यवस्थाको विकल्पको खोजीमा छन्।

बहुध्रुवीय विचार त्यो अवधारणा  हो, जसले हरेक मुलुकको आआफ्नो परम्परा, विचार, संस्कृति, सभ्यताको विशिष्टता र स्वतन्त्र निर्णयको सम्मान गर्छ। कुनै देश विशेष, पश्चिम विशेषको विकास, संस्कृति अरूका लागि मानक हुनैपर्छ भन्ने छैन। एसिया, अफ्रिका, ल्याटिन अमेरिकी हरेक देशको जीवनपद्धति आआफ्नै परिपूर्ण मोडल र आदर्श हुन्।

तीन दशकयता संसारको परिस्थिति बदलिएको छ। नब्बेको दशकपछि विचारधाराको अर्को धुरी चटक्क त्यागेर आफ्नै धुनीखुनीमा लागिरहेको रुसलाई नाटोको विस्तार र युक्रेनको संकटपछि त्यो बहुध्रुवको नेतृत्व गर्ने भारी आइलागेको छ। कुनै देशविशेषको एकपक्षीय प्रभुत्व, निर्णय र हालीमुहालीले उकुसमुकुस र टुलुटुलु संसारमा बहुध्रुवीय अवधारणाले न्याययुक्त विश्व निर्माणमा योगदान पुर्‍याउने आशा छ।

पछिल्लो दशकमा रुसी जनताको नेपाली इतिहास र संस्कृतिप्रतिको चासो बढ्दो छ। रसियाले नेपालसँग द्विपक्षीय सम्बन्धको विकासमा उच्च महत्त्व दिएको देखिन्छ। रसिया नेपालसँग ऊर्जा, कृषि, उड्डयन, आधुनिक उद्योग, शिक्षालगायत धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक छ। दुई देशबिच पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा द्विपक्षीय आयोजनाहरू गर्ने प्रशस्त सम्भावना छन्।

कतिपय अवस्थामा रुसी व्यवसायीहरूले आवश्यक अनुमति र स्वीकृति पाउन अनिश्चितता र ढिलाइको सामना गरेको, अहिले पनि रुसबाट प्रस्तुत केही महत्त्वपूर्ण सद्भाव प्रस्ताव र सम्झौताहरूमा नेपाली पक्षको प्रतिक्रिया आउन आनाकानी भइरहेको, विशेष गरी युरोपेली र अमेरिकी शक्तिहरूको दबाबका कारण कतिपय नेपाली साझेदारहरू अझै पनि रुसी कम्पनीसँगको सहकार्यप्रति हिचकिचाइरहेका कुरा बाहिर आएको छ।

नेपाली अधिकारीहरूले बाह्य राजनीतिक प्रभावबाट मुक्त भई थप पारदर्शी, सहज र स्वतन्त्र वातावरण तयार गरिदिए रुसी लगानीकर्ताका लागि सहकार्य गर्न सजिलो हुने रुसी अधिकारीहरूको आग्रह छ। र यो दुई देशबिचको मित्रता र आपसी सम्मानको साँचो प्रमाण पनि हुनेछ।

इतिहासको विभिन्न आरोह अवरोह र परिवर्तनका अनेकन् कुइनेटो र घुम्टीहरूबाट गुज्रँदै आज नेपाल–रुसबिच औपचारिक सम्बन्ध गाँसिएको पनि सात दशक भइसकेछ। कुनै बेला यहाँ प्रथम महिला अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेस्कोभाले भ्रमण गरेकी थिइन्। विश्वविख्यात रुसी सोभियत कवि रासुल गाम्जातोभ तीनपटक नेपालमा आएका थिए र नेपालको जादुमयी सौन्दर्यबाट मुग्ध भएर उनले ‘जीवन चक्र’ र ‘जीवित देवी कुमारी’ कविता रचेका थिए।

रासुल ‘नेपाल कुद्न बाँकी रहेको हीरा हो भन्थे। महाकवि देवकोटाको तासकन्द अफ्रोएसियाली सम्मेलनको ओजस्वी भाषणबाट  प्रभावित भएर सोभियत विदुषी प्राच्यविद्, फिलोलोजीका डाक्टर, रुसी एकेडेमी अफ साइन्सेस ओरिएन्टल स्टडिज इन्स्टिच्युटका अनुसन्धानकर्ता ल्युदमिला अगानिनाले आफ्नो बाँकी जीवन नेपाली साहित्यको अनुसन्धानका लागि समर्पण गरेकी थिइन्।

हामीले गौरव मान्नुपर्छ कि अनेकन् विश्व कीर्तिमान रचेका सोभियत हिरो भ्लादिमिर अलेक्सान्ड्रोभिच जानिबेकोभजस्ता प्रसिद्ध अन्तरिक्ष यात्री रुस–नेपाल सहयोग तथा मैत्री समाजका संरक्षक छन्। अर्का विख्यात अन्तरिक्ष यात्री युरी मालिशेव कुनै बेला सो समाजका अध्यक्ष थिए। उनी नेपाललाई दिलैदेखि माया गर्छन्। महान् देशभक्तिपूर्ण युद्धको विजयको ८०औं वार्षिकोत्सवमा रुसी दूतावासद्वारा आयोजित औपचारिक स्वागत समारोहमा नेपाली र रुसी समुदायहरू, सोभियत तथा रुसी विश्वविद्यालयका पूर्वस्नातकहरू, सांस्कृतिक, शैक्षिक र व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू उपस्थित भए।

यो अवसरले विजयको ऐतिहासिक र विश्वव्यापी महत्त्वबारे आत्मसात सञ्चार गर्न सहयोग पुर्‍यायो। रुसी सदन तथा नेपाल रुस साहित्य समाजद्वारा आयोजन भइरहने साहित्यिक, सांगीतिक कार्यक्रमहरू, चलचित्र प्रदर्शन, गोलमेच संवाद, सांस्कृतिक र शैक्षिक तथा कला प्रदर्शनीहरूले सबैलाई जुट्ने मञ्च र अवसर खडा गरेको छ। अन्तरदेशीय सांस्कृतिक, साङ्गीतिक आदानप्रदानहरू पनि भइरहेका छन्।

शदियौंदेखि हाम्रा देशबिच आर्थिक, सांस्कृतिक, शैक्षिक र प्रविधि क्षेत्रमा समृद्ध सहकार्यको ऐतिहासिक परम्परा छ। हरेक समय रसिया–नेपाल सम्बन्धहरू सधैं मैत्रीपूर्ण रहिआएका छन् र विश्व रंगमञ्चमा आएका घामछायाले यसलाई प्रभाव पार्नुहुँदैन। यो  भविष्यमा अझ गतिशील र सहकार्यमूलक भएर जानुपर्छ।  

प्रकाशित: ३ श्रावण २०८२ ०८:५७ शनिबार





Source link

Leave a Comment