नेपाली सेफको इटालियन परिकार, जसले पोर्चुगलमा ‘तहल्का’ मच्चाइरहेको छ


२१ माघ, काठमाडौं । युरोपेली देश पोर्चुगलमा अहिले एक नेपाली सेफले सबैको ध्यान आकर्षित गरिरहेका छन् । उनले इटालियन परिकार बनाएर यस्तरी प्रस्तुत गर्छन्, जुन जो कसैको ध्यान आकर्षित गर्न पर्याप्त छ ।

पोर्चुगलको लिस्बनमा बस्दै आएका नेपाली सेफ टंक सापकोटाले पछिल्लो पटक यसरी चर्चामा आउनुमा उनले त्यहीँ स्थापना गरेको रेस्टुरेन्ट ‘कम प्राइमा’ को २५औं वार्षिकोत्सवमा तयार पारिएको वृत्तचित्र ‘फ्लेभर्स अफ इटाली’ हो ।

सेफ सापकोटाको वृत्तचित्र पोर्चुगलको टीभीआई टेलिभिजन च्यानलमा ६ शृङ्खलामा प्रसारण थालिएको छ । वृत्तचित्रमा सापकोटाले इटालियन परिकारका भेराइटी, तिनलाई के कस्ता मरमसला हालेर बनाइन्छ भन्नेदेखि इटालियर परिकार उत्पादनमा आफ्नो करिब तीन दशकको अनुभवका कथा समेटेका छन् ।

‘यो वृत्तचित्रले इटालियन परिकार बनाउन म कतिसम्म गहिराइमा डुबुल्की मार्छु भन्ने प्रष्ट पार्छ,’ सेफ सापकोटाले भने, ‘लिस्बनको अल्बामा पाइने ह्वाइट ट्रफल विश्व परिकार क्षेत्रमै सबैभन्दा दुर्लभ परिकार हो, यो बनाएर ग्राहकलाई पस्किन पाउँदा म औधी खुसी हुन्छु ।’

लिस्बनको अल्बामा पाइने ह्वाइट ट्रफल विश्व परिकार क्षेत्रमै सबैभन्दा दुर्लभ परिकार हो, यो बनाएर ग्राहकलाई पस्किन पाउँदा म औधी खुसी हुन्छु ।- टंक सापकोटा,नेपाली सेफ 

सन् २०१८ मा सापकोटाले १ हजार १ सय ५३ ग्राम तौलको ह्वाइट ट्रफल बनाएर युरोपकै सबैभन्दा ठूलो ट्रफल बनाउने उपाधि हासिल गरेका थिए । सोही वर्ष सापकोटालाई ‘नाइट अफ द ट्रफल एन्ड वाइन अफ अल्बा’ उपाधिबाट सम्मानित गरिएको थियो ।

पोर्चुगलबाट यस्तो उपाधि पाउने सापकोटा पहिलो सेफ हुन् । सन् १९६७ मा स्थापित परिकार क्षेत्रको एक संस्थाले उनलाई उक्त उपाधि प्रदान गरेको थियो ।

सापकोटाको वृत्तचित्रलाई फिल्मकर्मी टियागो पी डे कार्भाल्होले निर्देशन गरेका हुन् । वृत्तचित्र इटालीका विभिन्न ठाउँमा दुई महिना लगाएर छायांकन गरिएको थियो ।

सेफ सापकोटा सन् १९९६ मा पोर्चुगल आएका थिए । त्यसअघि उनले जर्मनी र इटालीमा काम गरेका थिए ।

सापकोटाले सन् २०१४ मा उक्त रेस्टुराँ सुरु गर्दा अमेरिकाको न्यूयोर्कमा एउटा सुनको जलप लगाइएको चुल्हो थियो, सापकोटाका अनुसार यो चुल्हो विश्वकै दोस्रो सुनको चुल्हो हो । जुन चुल्हो निर्माणमै मात्र उनले झण्डै एक करोड नेपाली रुपैयाँ खर्च गरेका छन् । एक नेपालीले सञ्चालन गरेको रेस्टुराँ भए पनि उनका नियमित ग्राहक पोर्चुगिज र युरोपियनहरू हुन् ।

सापकोटा भन्छन्, ‘मेरा ग्राहकहरू जति खानामा चासो राख्छन् त्यो भन्दा धेरै मेरो चुल्होको बारेमा जिज्ञासा राख्छन् । यहाँका मिडियाहरू कमै मात्र होलान् जहाँ यो चुल्हो र रेस्टुराँको बारेमा न्यूज नआएको होस्।’

नेपाली सेफको इटालियन परिकार, जसले पोर्चुगलमा ‘तहल्का’ मच्चाइरहेको छ

राजधानी लिस्बनमा सापकोटाका तीन इटालियन र एक नेपाली गरी चार रेस्टुराँ सञ्चालनमा छन् । चारवटै विशिष्ट गुणस्तर र पहिचानका छन् । जसमध्ये कासा नेपालेजा भन्ने रेस्टुराँबाट युरोपियनहरूलाई नेपाली खानाको स्वादमा लोभ्याइरहेका छन् ।

उनको नेपाली रेस्टुराँका कर्मचारी नेपाली दौरा सुरुवाल र गुन्युँ चोलीमा सजिएर ग्राहकको सेवा गर्छन् । जहाँ नेपाली खानाका परिकारसँगै नेपालबारे विविध सामग्रीहरू पनि सङ्ग्रहित छन् ।

अर्को चिनारी ट्रफल

भान्साको हिरा भनेर चिनिने बहुमूल्य च्याउ ट्रफलप्रति सापकोटाको निकै लगाव छ । ट्रफल कलेक्सनका लागि र आफ्नो रेस्टुराँमा बहुमूल्य ट्रफल राख्नको लागि उनले लाखौं खर्च गरेका छन् । यही लगावले गर्दा उनी पोर्चुगलमा ट्रफल खोजीमा लागिरहेका थिए । किनकि अहिलेसम्म पोर्चुगलमा ट्रफल भेटिएको थिएन ।

यसबारे अध्ययन गर्न युनिभर्सिटी अफ एभोरासँगको सहकार्यमा सापकोटा दुई वर्षदेखि खटिइरहेका थिए । अन्ततः गत महिना उनी पोर्चुगलमै ट्रफल रहेको तथ्य जुटाउन सफल भए ।

‘मेरो रेस्टुराँमा ट्रफलको स्वादमा रमाउन चार सय माइल टाढाबाट मानिसहरू आउँछन् ।’

यससँगै सापकोटा पुनः एक पटक युरोपियन मिडियामा छाएका छन् । त्यहाँका चलेका मिडियाले उनको न्यूजलाई प्रमुखताका साथ प्रकाशन प्रसारण गरेका छन् । ट्रफलबारे अझै बृहत् अध्ययन गर्ने उनको योजना छ र ट्रफलसँगको आफ्नो लगावबारे वृत्तचित्र निर्माणमा समेत जुटेका छन् ।

सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहुमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए । अहिले पनि ट्रफल पाइने सीमित रेस्टुराँ मध्येमा पर्छ उनको रेस्टुराँ । उनी भन्छन्, ‘मेरो रेस्टुराँमा ट्रफलको स्वादमा रमाउन चार सय माइल टाढाबाट मानिसहरू आउँछन् ।’

टंकका ग्राहक पोर्चुगल प्रधानमन्त्रीदेखि सेलेब्रिटीसम्म

सापकोटाको अनुभवमा सेवाको गुणस्तर नै सफलताको मुख्य आधार हो । पोर्चुगलमा पिज्जा नापोलितान बनाउने पहिलो रेस्टुराँको रूपमा फोर्नो दि ओरो सञ्चालनमा ल्याएको र गुणस्तरसँग कहिल्यै सम्झौता नगरेको उनको भनाइ छ । पछिल्लो एक दशकयता उनले आफ्नो व्यवसाय विस्तार गरेका छैनन्, कारण भएका रेस्टुराँको गुणस्तर जोगाइराख्नु र सकेको सुधार गर्नु उनको प्राथमिकता हो ।

यही भएरै हो, पोर्चुगलका राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म र गन्यमान्य सेलेब्रिटीहरू उनका रेस्टुराँका ग्राहक बनेका छन् । ग्राहक मात्रै होइन, उनीहरूसँगको सम्बन्ध पनि राम्रो छ सापकोटाको । उनको रेस्टुराँमा राष्ट्रपति मार्सेलो, निवर्तमान प्रधानमन्त्री एन्टेनियो लुइस आइसकेका छन् ।

नेपाली सेफको इटालियन परिकार, जसले पोर्चुगलमा ‘तहल्का’ मच्चाइरहेको छ

त्यसो त हामी कार्यक्रम छायाङ्कनका लागि उनको सबैभन्दा पुरानो रेस्टुराँ कोमे प्रिमा पुग्दा पोर्चुगलका चर्चित फिल्म निर्देशक, पत्रकार, फोटोग्राफर लगायत सेलेब्रिटीहरू पनि भेटिए । उनीहरू सबैले सापकोटाको मुक्तकण्ठले प्रशंसा गरे ।

फिल्म निर्देशक एन्टोनी पेद्रो भन्दैथिए, ‘टंक आफूले जति मिहिनेत र इमानदारी देखाएका छन्, त्यसले सम्पूर्ण नेपालीप्रतिको हाम्रो दृष्टिकोण निकै सकारात्मक बनेको छ ।’

सफलताको राज : मिहिनेत र इमानदारी

सापकोटाले सन् १९९२ मा दाजुसँग जर्मनी जाँदा भिसा लगाउनु पनि पर्थेन । पासपोर्ट र टिकटको भरमा जो–कोही नेपाली सहजै जर्मनी जान सक्थ्यो । उनले पनि त्यसै गरे । तर, जर्मनी ओर्लंदासम्म के गर्ने, कसो गर्ने सबै अन्योल थियो ।

नेपालमा आईएलको पढाइ छाडेर विदेश पुगेका सापकोटासँग कुनै प्राविधिक ज्ञान र शैक्षिक योग्यता थिएन, त्यसैले उनले युरोप बसाइका सुरुवाती दिनहरूमा रेस्टुराँमा भाँडा माझ्ने काम गरे ।

सीप त त्यस बेला थिएन नै त्यसमाथि भाषाको पनि समस्या थियो जसका कारण कैयौं पटक विदेशिनु गल्ती भयो भन्ने लाग्थ्यो उनलाई तर, उनीसामु स्वदेश फर्कनु या विदेशमै संघर्ष गर्नुमध्ये एक विकल्प रोज्नै पर्ने बाध्यता थियो र उनले युरोपकै संघर्ष रोजे ।

नेपाली सेफको इटालियन परिकार, जसले पोर्चुगलमा ‘तहल्का’ मच्चाइरहेको छ

कुनै दिन यस्तो थियो उनी दैनिक १४/१५ घण्टा भाँडा माझ्ने काम गर्थे । कुनै पनि कुरा सिकिहालौं, जानिहालौं भन्ने उनको हुटहुटीले भाँडा माझ्ने कामबाट माथि उठ्न समय लागेन ।

सापकोटासँग भाँडा माझ्नेहरू भाँडा नै माझिरहँदा उनी चाहिं किचन हेल्पर, वेटर र अलराउण्डर कर्मचारी हुँदै छोटो समयमै सिपालु सेफ बने । उनको स्वभाव, इमानदारी र लगनशीलताका कारण रेस्टुराँ सञ्चालकहरूको रोजाइमा पर्न थाले ।

‘कुनै दिन यस्तो थियो उनी दैनिक १४/१५ घण्टा भाँडा माझ्ने काम गर्थे । कुनै पनि कुरा सिकिहालौं, जानिहालौं भन्ने उनको हुटहुटीले भाँडा माझ्ने कामबाट माथि उठ्न समय लागेन ।’

जब उनी सन् १९९६ मा पोर्चुगल पुगे त्यसपछि उनले आफ्नै केही गर्ने सोचे र आफूले जानेको कलालाई व्यवसायमा बदले, त्यसपछि पछाडि फर्केर हेर्नु परेन । एकपछि अर्को गर्दै व्यवसाय बढाउँदै लैजाँदा उनले छलकपट कहीं कतै गरेनन् र जे जानेको छ त्यसमै चित्त बुझाएर पनि बसेनन् ।

आफ्नो दक्षता बढाउन उनले इटालियन खानाको बारेमा अध्ययन पनि गरे । रोमस्थित गाम्बेरो रोस्सो एकेडेमीमा उनले इटालियन खानाका परिकार सम्बन्धी दुईवर्षे कोर्स गरे । त्यतिबेला यस्तो थियो कि दुई वर्षसम्म उनी प्रत्येक साता आइतवार बिहान इटली पुग्थे अनि शुक्रवार साँझ पोर्चुगल फर्कन्थे र रेस्टुराँमा काम गर्थे ।

नेपाललाई विश्वकै ध्यान केन्द्र बनाउन सुझाव

नेपाली खानालाई विश्वमाझ चिनाउनु आफ्नो सपना भएको बताउने सापकोटा झण्डै तीन दशकदेखि पोर्चुगलमै बसे पनि मन-मुटु नेपालमै पुगिरहने बताउँछन् ।

उनले व्यवसाय सुरु गर्दासम्म पोर्चुगलमा राम्रो गुणस्तरको खाना पाउने रेस्टुराँको अभाव थियो । त्यही अभावमा उनले अवसर देखे । सम्भावना भएर पनि गुणस्तरीय रेस्टुराँहरूको अभाव रहेको पोर्चुगलमा अहिले खानाको पारखीहरूका लागि खोजे जस्ता ठाउँहरू बनेका छन् ।

बुद्धको देश, भगवान् शिवको देश नेपाललाई विश्वकै ध्यान केन्द्रको रूपमा विकास गर्न सकिन्छ र कामदार मात्रै होइन, गुरुहरू जन्माउन सकिन्छ ।

विश्वका कतिपय देशले आफ्नो खानालाई अन्तर्राष्ट्रिय ब्राण्डको रूपमा स्थापित गरिरहेका छन् । नेपालले पनि आफ्नो मौलिकतालाई विश्वमाझ चिनाउन सक्छ र त्यसको लागि जस्तोसुकै योगदान दिन आफू तयार रहेको सापकोटा बताउँछन् । जहाँ जे कुरामा सम्भावना छ त्यो गर्नुपर्छ भन्दै उनी थप्छन्, ‘अहिले विश्वका मानिसहरू तनावमा छन्, उनीहरूको लागि राहत मिल्ने ठाउँ बन्न सक्छ नेपाल । बुद्धको देश, भगवान् शिवको देश नेपाललाई विश्वकै ध्यान केन्द्रको रूपमा विकास गर्न सकिन्छ र कामदार मात्रै होइन, गुरुहरू जन्माउन सकिन्छ ।’





Source link

Leave a Comment