नेपाली समाजको ऐना ‘सपना र छायाहरू’


हरेक क्षण कतै उराठ मरुभूमिमा

बालुवामा औंलाले देशको नक्सा कोर्दै बाँचिरहेछ

एक आम नेपाली |

कवि राम अधिकारीकृत काव्य-कृति अर्थात् कविता सङ्ग्रह ‘सपना र छायाहरू’को अन्तिम कविता ‘एक आम नेपाली’ को अन्तिम लाइन हुन् यी माथिका पङ्क्ति | तीन पेज लामो अन्तिमको कविताको पनि अन्तिम हरफको सान्दर्भिकता कृतिको पहिलो लघु कविता ‘खुसी’सँग गाँसिएको छ । ‘खुसी’को पूर्ण अंश यस्तो छ-

खुसी खोज्न

उनीहरू संसार कुदिरहे

म आफैंभित्र कुदिरहें

म आफैंभित्र खुसी भेट्टाएर गद्गद् छु

तर,

सुनाउनलाई कोही छैनन्

किनकि उनीहरू

भागदौडबाट अझै फर्केका छैनन् !

एकअर्कासँग सन्दर्भ गाँसिएका यी दुई कवितामा केही विरोधाभास पनि छ | कवि स्वयं ‘एक आम नेपाली’कै प्रतिनिधिका रुपमा यसै कृतिका कतिपय कविताहरूमा प्रकट भएका छन् । यद्यपि कविले कविता आफ्नो लागि मात्र लेख्दैनन् | कविहरू समाजका ती ऐनाहरू हुन् जसले ‘अनेक नागरिक’को प्रतिनिधित्व गर्छन् । तिनीहरूको राष्ट्रियता नेपाली होस् वा अरु कुनै किन नहोस्, तर कवि अधिकारी यस सङ्ग्रहमा भने भाषा, भूगोल र भावनामा मातृभूमिमुखी भएर नै उभिएका छन् ।

परिवार,गाउँ र न्यानो आत्मीयता बिर्सेर

वर्षौं परदेशमा हराउने निर्दयी फकिरजस्तै

पूर्खाको कर्म बोकेर आएको

देशको आदिम मुग्लानीजस्तै भएको छु |

कविता होस् वा अन्य कुनै पनि साहित्‍यिक अथवा गैरसाहित्यिक लेखन,प्रकाशन र समीक्षाका क्रममा आउने एउटा पक्ष हो- काल विभाजन र समकालीन लेखन प्रवृत्तिको चर्चा तथा तुलना वा प्रभाव । अबका प्रकाशनहरूमा पाठक वा समीक्षकहरूले यो मौका सजिलै प्राप्त गर्न कठिन छ । कवि-लेखकहरूको जन्म मिति, लेखन प्रारम्भ, प्रथम रचना प्रकाशित मिति आदि आजभोलिका कतिपय कृतिहरूमा उल्लेख गरेको पाइँदैन | समकालीन नेपाली कविता लेखनमा कवि राम अधिकारी पनि कहाँ उभिएका छन् ? पाठकहरूलाई यो जान्न सक्ने अवसरका लागि लेखक वा प्रकाशकले पर्दा हाल्न थालेका छन् |

कवि अधिकारीको पहिलो यो कविता कृति ‘सपना र छायाहरू’को प्रथम संस्करण ( २०८१/८२) हो | कवि अधिकारी समकालीन नेपाली कविहरूमा कम वर्णनात्मक लाग्छन् | वाणगंगा साहित्य प्रतिष्ठानको वार्षिक प्रकाशन ‘साहित्य-सुधा’मा ‘चेतना बाध्य छु’, कविता नै (पेज ६१-६५) कवि राम अधिकारीको रामु विवेकीको नाममा प्रकाशित पहिलो (तर कहिले ?) कविता हो | कवितामा प्रयोग गरिएका विम्ब-प्रतीकहरू उनको कविता लेखनको विशेषता हो | यो विशेषता उनका कविता कृतिका शीर्षकहरूमा पनि प्रकट भएको छ | तर केही कवितामा भने उनको त्यो शिल्प कलामा पनि होसियारी कम देखिन्छ |

पहिचानको यति ठूलो सङ्कट वर्तमान नेपाली समाजको चरित्र बन्दै गएको छ | देशको राजनीतिक अवस्था तर ज्यादा अव्यवस्था, गरिबी, बेरोजगारी आदि यसका कारण र परिणाम हुन् | वृद्ध बाआमा,नवविवाहित श्रीमती वा श्रीमान, सुत्केरी श्रीमती र नाबालक सन्तानहरू छोडेर रोजगारीका लागि विदेशिनेहरू एक आम नेपाली कवितामा जस्तै ‘जर्साबहरू उठेकै छैनन्’ कवितामा पनि प्रकट भएका छन् |

समकालीन कविहरूको तुलनात्मक रुपमा कविता शिल्पमा होसियार कवि अधिकारीका यी दुई कविताहरू ‘जहाँ चोरहरूले देश चलाउँछन्’ र ‘ठमेलमा एकहुल साँढेहरू’ जस्ता शीर्षकले भने मिष्ठान्न भोजनमा ‘दाँतमा ढुङ्गा’ लगाउँछन् | ‘म महाकालीमा उभिएको छु’, (पेज ६-८) लाई पनि प्रश्न गर्न सकिन्छ | यसको एउटा उदाहरण यस्तो छ-

चोरकै सरदारले मारेर विधवा भएका नारीहरू

आफूलाई निस्फिक्री भजाउँछन्

पति मारेका हातहरूको न्यानोमा मस्त निदाउँछन् |

यी कविताको शीर्षकमा भने भाव र अभिव्यक्तिमा काव्यिकता कम र नारा ज्यादा महसुस हुन्छ |  त्यसमा पनि ‘लैङ्गिक विद्वेषको  बात’ लाग्ने डर बाँकी नै छ । सबैले देखेकै र सबैले भनेकै शैलीमा लेखिने भनेको नारा, समाचार, निबन्ध-संस्मरण आदि हुन् भनेर आफूले बुझेकै कुरा पालना गर्न कवि चुकेका छन् र पाठक ठगिएका छन् यहाँ | काव्य-कलाको विशेषता नै चोरलाई पनि चोर नभनी गरेको सम्बोधनमा ‘चोर’ देखाउनु हो । ‘मेरो सामान तैंले चोरिस् ?’ यो प्रश्नले नचोरेको भए सज्जनलाई चोर भन्न हुन्नथ्यो | ‘मेरो सामान तपाईंसँग पो गएछ कि ?’ यो प्रश्नले चोर नभनी ‘चोरिस्’ भन्नु हो |

मसँग गुलाबहरू छैनन् आफैंलाई उपहार दिन

मसँग छैन गुलाब रोप्ने मलिलो माटो

अझ मैले ती गुलाबका भुईं निमोठेर आएको छु |

यस कवितामा कवि अधिकारीले माथि उल्लेख गरिएजस्तै अन्तिम कविता ‘एक आम नेपाली’को अवस्थाको पीडा प्रकट गरिरहेका छन् | ‘सपनाहरूको हत्या’मा नै माथिका पङ्क्तिको केही अघिल्तिरको अर्को सन्दर्भ यस्तो छ-

तर आज म उज्याला पहाडबाट खसेर

धेरै तल आइपुगेको छु

मसँग खानका लागि चिसो पानी होला

तर मसँग दिल खोलेर हेर्नका लागि

कुनै ठूलो विशाल मैदान छैन |

यी माथिका पङ्क्तिमा सुरुका दुई लाइनपछिको व्याख्या कविताका पाठकहरूले अपेक्षा गर्दैनन् | उज्याला पहाडबाट खसेर धेरै तल आइसकेपछि कविले पानी पाएँ भनेर राहत महसुस गर्ने वा स्पष्टीकरण दिने कवितामा होइन | माथि पनि चर्चा गरिएजस्तै स्पष्टीकरण,व्याख्या वा अनुभव कथा, निबन्ध, संस्मरण आदिमा दिए हुन्न र ? यी पङ्क्तिमा दुई-दुई ठाउँमा झुण्डिएको ‘तर’ गहना नभएर ‘ऐंजेरु’ पो भए कि ? नहुँदा पनि फरक नपर्ने यसै पङ्क्तिमा ‘ठूलो विशाल’मा पनि कुनै एक रोजेको भए हुन्थ्यो ।

‘कालो मोसो’ नेपाली भाषा लेखनमा समान अर्थ दिने शब्द प्रयोगमा हुने कमजोरीको उदाहरण हो | मुख्यतः पछिल्ला तीन लाइन र पहिलो ‘तर’ पाठकका नाताले यो पङ्क्तिकारलाई भने आवश्यक लागेन | उता आफ्नो गाउँघरका कवि होमराज आचार्यलाई सम्झेका र यता कर्म घरमा कवि जगन्नाथ पौडेलको पनि सङ्गत गरेका कवि अधिकारीलाई यी अग्रजको पथ पछ्याउन थप साधनाले सहयोग पुर्‍याउनेछ । कवि अधिकारीले ‘आभार’ प्रकट गर्दै लेखेका पनि त छन्, ‘होमराज आचार्यका कविताका विम्बहरू मेरा कवितामा कतै होलान् |’

कवितामा क्षेत्रीय भाषिक-सांस्कृतिक पहिचानका केही सङ्केत पाइन्छ तर नेपाली भाषाको केन्द्रीय मानकभित्र नै कविले  केन्द्र बनाएका छन् | ‘स्पात-स्पातिला-स्पातिलो’ केही बढ्तै प्रयोग भएको उदाहरण हो- शब्द चयनमा कवि समकालीन राजनीतिबाट पनि प्रभावित छन् । नदीको प्रवाहलाई तेजिलो वा धारिलो भनेर गरिने परम्परागत प्रयोगलाई बदल्ने सुविचारित प्रयास होइन भने ‘स्पातिलो’ नलेखिन पनि सक्थ्यो ।

‘फूल टिप्नु पाप होइन’,कृत्रिम सुन्दरतामा हुने आकर्षण र प्राकृतिक सुन्दरताको महत्व यस शीर्षकको कविताले प्रकट गरेको छ | तर कविताको निष्कर्ष दिने शीर्षक पनि पाठकका लागि आकर्षक भने हुँदैनन् |

तिमीले आफूलाई

मिलाउने नाममा

सजाउने नाममा

कसैको चित बुझाउने नाममा

आफ्नो जिन्दगीको टुहुरो यात्रा गरिरहेछौ

त्यसैले,

भत्काऊ सारा पर्खालहरू

उजाड सुन्दर बगैंचाहरू

तोड सभ्यताका जन्जिरहरू

त्याग सबै वैभवहरू

अनि,

फूल्न देऊ जीवनलाई प्रकृतिमा … |

माथि प्रसङ्ग सुरु भएर विषयान्तर भएको थियो- समकालीन नेपाली कविता लेखनमा कवि राम अधिकारी कहाँ उभिएका छन् ? यसको मूल्यांकन तत् समय र बसोबासको भूगोलका आधारमा गर्नुपर्ने देखिन्छ | एक दशक यतादेखि अमेरिकी ग्रेटर वाशिङ्टन मेट्रो एरियाको नेपाली समाजका साहित्यिक गतिविधिमा सहभागी कवि अधिकारी यस क्षेत्रमा व्यक्तिका अतिरिक्त ‘सपना र छायाहरू’मार्फत कृतिगत उपस्थिति स्थापित गर्न पनि सफल भएका छन् | नलेखेर वा कम लेखेर पनि बनेको पहिचानको यो उनको गति सन्तोषजनक भने छैन |

उनले अमेरिकी नेपाली समाजका गद्यकविहरु नारायण आधिकारी, ऋषि बस्ताकोटी, नम्रता गुरागाईं, उमा शर्मा, मणि भट्टराई, जगन्नाथ पौडेललाई पछ्याउनका लागि पनि उनको वर्तमान गतिमा तीव्रता दिनु आवश्यक छ | अग्रज कविहरूलाई भेट्न समकालीन कविहरूलाई त उछिन्नै पर्‍यो | भूगोल र समयका आधारमा कवि राम अधिकारीको अहिलेको उपस्थितिलाई त्यसरी नै हेर्नुपर्ने हुन्छ |

हामीसँग,

बाबुको मुहार नदेखेकी छोरीले

मेसेन्जरमा पठाएको पेन्टिङ्ग छ

सिरानीमा च्यापेर निदाउनै नसक्ने

तृष्णाले व्याकुल धुन छ |

पहिचानको यति ठूलो सङ्कट वर्तमान नेपाली समाजको चरित्र बन्दै गएको छ | देशको राजनीतिक अवस्था तर ज्यादा अव्यवस्था, गरिबी, बेरोजगारी आदि यसका कारण र परिणाम हुन् | वृद्ध बाआमा,नवविवाहित श्रीमती वा श्रीमान, सुत्केरी श्रीमती र नाबालक सन्तानहरू छोडेर रोजगारीका लागि विदेशिनेहरू एक आम नेपाली कवितामा जस्तै ‘जर्साबहरू उठेकै छैनन्’ कवितामा पनि प्रकट भएका छन् |

शब्द मिडिया प्रालिको यस प्रकाशनमा सामान्यतया छोटा र छरिता ३० वटा कविताहरू समेटिएका छन् | धेरै कविता कृतिहरूको विशेषतामा हुने समानता कुनै एक कविताको शीर्षक नै कृतिको नाम हुने गर्छ  | यसमा ‘सपना र छायाहरू’, शीर्षकमा कुनै छुट्टै कविता भने छैन तर दोस्रो कविता ‘सपनाहरुको हत्या’ (पेज २-५)  र ११ औं कविता ‘तिमी र छायाहरू’ले यस कविता कृतिको नामलाई सम्बोधन गरेका छन् |

एकाध घण्टाको एकै बसाइमा पढेर सकिने यी कविता समसामयिक समाजका तीतो यथार्थ हुन् | प्रविधिको विकासको तीव्रता र प्रविधिमैत्री साहित्यिक गतिविधि अर्थात् कृति प्रकाशन लगायत विषयमा कवि अधिकारी जानकार नै छन् |  उनी स्वयं सूचना प्रविधिको क्षेत्रमा नै कार्यरत छन् | तर यसमा कविता शिल्पका साथै कविले हेलचेक्र्याइँ गर्न नहुने अर्को विषय हो– नेपाली भाषाको मानक र महत्वको सम्मानजनक प्रयोग | यस कृतिमा यो प्रश्नप्रति होसियार नभएको देखिन्छ |

सामान्यभन्दा सामान्य हिज्जे नमिलाइएको र एकरुपता नभएको हुनु राम्रो होइन | भाषा र साहित्यका विज्ञ कवि अधिकारी र प्रकाशन संस्थाको यो कमजोरी भाषाको लापरवाहीपूर्ण प्रयोग र पाठकहरूप्रतिको अपमान वा हेपाहा व्यावहार त होइन ? भाषाको जटिलता र अलमलभन्दा ज्यादा सामान्य हिज्जेमा पनि देखिएका समस्या त्यस्ता उदाहरण हुन् |

‘वास्तवमा देशको भूगोलको फैलावटभन्दा भाषा, साहित्य र संस्कृतिको फैलावट ज्यादा ठूलो हुँदो रहेछ । त्यसैले भनिन्छ– भाषा, साहित्य, कला र संस्कृति मर्‍यो भने देशको भूगोल रहनु र नरहनुले खासै अर्थ राख्दैन ।’ कविका यी अभिव्यक्तिले उनको राष्ट्रियता तथा भाषाप्रतिको सजगता देखाउँछ | आगामी प्रकाशनमा यस्ता कमी-कमजोरी दोहोरिन नदिन सचेतता अपनाइने विश्वास गर्न सकिन्छ |





Source link

Leave a Comment