नेपाली लगायतको टीपीएस अन्त्य गर्न ट्रम्प प्रशासनलाई अदालतको अनुमति



प्रकाशित मिति : भाद्र ३, २०८२ बुधबार

नेपाली लगायतको टीपीएस अन्त्य गर्न ट्रम्प प्रशासनलाई अदालतको अनुमति

Coolcaesar, CC BY-SA 3.0 , via Wikimedia Commons

अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनलाई नेपाली लगायत निकारागुआ, होन्डुरसका नागरिकको टीपीएस समाप्त गर्ने बाटो खुला गरेको छ । गत महिना तल्लो अदालतले तीन देशहरूको लागि टीपीएस समाप्त गर्न ट्रम्प प्रशासनलाई कम्तिमा नोभेम्बर १८ सम्म रोक लगाएको थियो । तर बुधबार पुनरावेदन अदालतले त्यो फैसलालाई स्थगित गरेको छ ।

गत महिनाको फैसला अघि ट्रम्प प्रशासनले अगस्ट ५ मा नेपालको लागि र सेप्टेम्बरको सुरुमा निकारागुआ र होन्डुरसको लागि टीपीएस समाप्त गर्न खोजेको थियो। बुधबारको पुनरावेदन अदालतको फैसलापछि नेपालीहरु अन्यौलमा परेका छन् ।

अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेकोमा युएससीआईएसले उक्त आदेश मान्दै नेपालीका वर्क परमिटका अवधि नोभेम्बर १८ सम्मका लागि लम्बाएको थियो । तर न्यायाधीशले गरेको फैसलासँग डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी पूर्ण रूपमा असहमत रहेको उल्लेख गरेको थियो ।

तल्लो अदालतले नोभेम्बर १८, २०२५ को दिउँसो २ बजे प्रारम्भिक निषेधाज्ञा सुनुवाइ गर्दैछ । नेशनल टीपीएस एलायन्स र सात व्यक्तिगत वादीहरूले जुलाई ७, २०२५ मा ट्रम्प प्रशासनको विरुद्ध मुद्दा दायर गरेका थिए। यो मुद्दाले होन्डुरस, नेपाल र निकारागुआका नागरिकहरूको लागि टीपीएस अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णयलाई चुनौती दिएको थियो । मुद्दाले प्रशासनिक प्रक्रिया ऐनको उल्लङ्घन, जातीय द्वेषका कारण संवैधानिक उल्लङ्घन, र पर्याप्त संक्रमण अवधिको प्रावधानमा असफलताको आरोप लगाएको थियो ।

नेपाली वादीहरूमा सान फ्रान्सिस्कोमा बस्ने ३३ वर्षीय नेपाली एसके रहेका छन्। ती टीपीएस वाहक अमेरिकी नागरिकसँग विवाह बन्धनमा बाँधिएका छन् र थिएटरमा काम गर्छन्। त्यस्तै अर्का नेपाली वादी सन्ध्या लामा हुन्। भर्जिनियामा बस्ने ४३ वर्षीय यी नेपाली आफ्ना तीन अमेरिकी नागरिक बच्चाहरूको लागि एक मात्र अभिभावक हुन्, जसमध्ये एक बच्चालाई विशेष चिकित्सा उपचार आवश्यक छ।





Source link

Leave a Comment