नेपाली क्रिकेट : ५० ओभरमा लय समात्नै गाह्रो


२३ कात्तिक, काठमाडौं । झण्डै दुई महिनाको उत्तर अमेरिका भ्रमण सकाएर बुधबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टिमसँग हातमा एउटा ट्रफी थियो । अमेरिका विरुद्धको टी२० सिरिज ‘क्लिन स्वीप’ गर्दै जितेको ट्रफी थियो त्यो । तर नेपाली क्रिकेटरको अनुहारमा भने कुनै उत्साह र खुसी थिएन ।

टी–२० मा अमेरिकामा ऐतिहासिक सिरिज जित हात पारे पनि मुख्य खेल एकदिवसीय अन्तर्राष्ट्रियमा भने नेपालको प्रदर्शन निकै कमजोर देखियो । टी२० फर्म्याटमा यस वर्ष विश्वकपदेखि टी२० का विभिन्न सिरिज खेलेको नेपालले राम्रो प्रदर्शन गरेपनि ओडिआईमा भने त्यही प्रदर्शन दोहोर्‍याउन सकेन ।

काठमाडौं पर्केपछि नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले पनि लिग २ को दुवै सिरिजमा राम्रो प्रदर्शन गर्न नसकेको बताए । ‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ । सोचे जस्तो भएन ।  लिग टु को दुवै सिरिजमा चुक्यौँ,’ कप्तान रोहितले भने ।

लिग टु : ८ खेलमा १ जित

नेपाली टोली दुई ठूला चाड दशैं र तिहारको समयमा पनि राष्ट्रको प्रतिनिधित्व गर्दै आईसीसी क्रिकेट विश्वकप लिग टुमा दुई सिरिज खेल्न नेपाल क्यानडा र अमेरिकाको भ्रमणमा निस्केको थियो ।

भदौ अन्तिम साता क्यानडा प्रस्थान गर्नुअघि सोमपाल कामीले नेपाललाई जिताउन सके र ५ विकेट लिन सके त्यही नै दशैंको गिफ्ट हुने बताएका थिए । तर नेपाली टोलीको प्रदर्शन सोचे अनुसार हुन सकेन ।

नेपालले उत्तर अमेरिका भ्रमणमा लिग टु का दुई सिरिजमा गरेर कूल ८ खेल खेल्दा जम्मा १ खेल मात्र जित्यो । ५ खेलमा हार व्यहोर्दा २ खेल भने वर्षाका कारण रद्द भएको थियो । नेपालले ८ खेलबाट जम्मा ४ अंक मात्र जोड्यो ।

क्यानडामा भएको लिग टु को सिरिजमा त नेपाल जितविहिन नै बन्यो । नेपाल, क्यानडा र ओमान सम्मिलित उक्त सिरिजमा नेपाल ३ खेलमा पराजित भयो । क्यानडासँग दुवै खेलमा पराजित भएको नेपाल ओमानसँग एक खेलमा पराजित भयो । ओमानसँगको अर्को खेल भने वर्षाको कारण रद्द भयो ।

क्यानडासँग पहिलो खेलमा १०३ रनको फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा पनि ५ विकेटले पराजित भएको थियो । दुवै खेलमा नेपालले पूरा ओभर ब्याटिङ गर्न सकेन । ओमान विरुद्ध भने नेपालले ५० ओभर खेल्दै २२० रन बनाए पनि १ विकेटले पराजित भएको थियो ।

कप्तान रोहितले पनि क्यानडामा नेपालको ब्याटिङ राम्रो नभएको स्वीकारे । रोहितले क्यानडाको विकेट नै चुनौतीपूर्ण भएकोले रन स्कोर गर्न कठिन भएको बताए । ‘क्यानडामा सबैजनालाई चुनौती थियो । किनभने विकेट नै एकदम चुनौतीपूर्ण थियो,’ उनले भने, ‘अमेरिका गएपछि सबैले स्कोर गरिराथे । टी२० र ओडिआई दुवैमा राम्रो स्कोर भाथ्यो । तर क्यानडामा ब्याटिङ राम्रो गर्न सकेनौं त्यसमा चुक्यौं जस्तो लाग्छ ।’

कन्सलट्यान्ट प्रशिक्षकको रुपमा नेपाली टिमसँग गएका जगत टमाटाले पनि क्यानडाको कन्डिसन नेपालको पक्षमा नभएकाले नतिजा आउन नसकेको बताए । ‘क्यानडाको सिरिजमा त्यति सजिलो कन्डिसन थिएन । हाम्रो फेभरेबल थिएन,’ टमाटाले भने, ‘तर हामीले कोसिस गरेको हो । त्यो अनुसार रिजल्ट ल्याउन सकेन । विशेषगरी ब्याटरहरुबाट हामीले सोचे अनुसार प्रदर्शन भएन ।’

क्यानडापछि नेपाली टोली उतैबाट अमेरिका गयो । अमेरिकामा नेपालले क्यानडाको भन्दा राम्रो नतिजा त ल्यायो तर सुधारिएको ब्याटिङ गर्दा पनि घरेलु टोली विरुद्ध दुवै खेलमा पराजित भयो ।

नेपालले पहिलो खेलमा अमेरिका विरुद्ध २८६ रन बनाए पनि अमेरिकाले लक्ष्य पूरा गरेको थियो । त्यसपछि नेपालले स्कटल्याण्डलाई ५ विकेटले पराजित गर्दै लिग टु मा लगातार ७ खेलको हारमा ब्रेक लगाएको थियो ।

तर अमेरिका विरुद्ध अर्को खेलमा नेपाल फेरि पराजित भयो । स्कटल्याण्ड विरुद्धको अन्तिम खेलमा भने आँधीबेहेरीको सम्भावनाबीच खेल रद्द हुँदा नेपालले १ अंक पायो । अमेरिकामा भएको सिरिजमा नेपालले ४ खेलबाट ३ अंक जोड्यो ।

क्यानडाभन्दा अमेरिकामा जाँदा टिम राम्रो अवस्थामा रहेपनि अमेरिकासँग पराजित भएको कप्तान रोहितले बताए । ‘अमेरिका जाँदा टिम सेपमा थियो तर अमेरिकासँग दुवै खेल हार्‍यौं,’ उनले भने ।

प्रशिक्षक जगत टमाटाले पनि अमेरिकामा राम्रो खेल खेलेको तर नतिजा ल्याउन नसकेको बताए । ‘अमेरिकामा निश्चित रुपमा राम्रो खेल खेलेको हो । नराम्रो भन्दिनँ । त्यहाँ पनि चुनौती थियो, ग्रासी विकेट थियो । हाम्रो फेभरमा थिएन । तर खेलाडी भएपछि त्यो कन्डिसनलाई एडजस्ट गर्न हामीले सिक्नुपर्छ’ टमाटाले भने, ‘हामीले स्कटल्याण्डलाई जित्यौं । अमेरिका विरुद्ध क्लोज मार्जिनमा पराजित भयौं । अलिकति मिस्टेक भयो । जुन सोचेको थियौं त्यो भएन । हामीले अझै पनि ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै डिपार्टमेन्टमा कभर गर्नुपर्छ ।’

टी–२० सिरिज क्लिन स्वीप, ५० ओभरमा गाह्रो

नेपालले यसपटक भ्रमणमा लिग टु बाहेक टी–२० खेलहरु पनि खेल्यो । क्यानडामा क्यानडा र ओमानसँग नै त्रिकोणात्मक टी–२० खेलेको नेपालले अमेरिकामा घरेलु टोली विरुद्ध ३ खेलको टी–२० सिरिज खेल्यो ।

लिग टु सकिएपछि क्यानडामा खेलिएको टी–२० सिरिजमा नेपालले ओमानलाई दुवै खेलमा हराएको थियो । तर घरेलु टोली क्यानडाविरुद्ध भने नेपाल दुवै खेलमा पराजित भयो । क्यानडाले तीन खेल जित्दै टी–२० सिरिज कब्जा गरेको थियो । दुई खेल जितेको नेपाल दोस्रो भयो । अर्को हिसावमा हेर्दा नेपालले क्यानडालाई दुवै फर्म्याटमा हराउन सकेन । क्यानडा विरुद्ध खेलेका चारवटै खेलमा नेपाल पराजित भयो ।

यस्तै नेपालले लिग टु सिरिजअघि अमेरिका विरुद्ध टी–२० सिरिज खेलेको थियो । तीनवटै खेल जित्दै नेपालले अमेरिका विरुद्ध सिरिज क्लिनस्वीप नै गर्‍यो । तर लिग टुमा त्यो जितको कुनै अर्थ भएन ।

टी–२० सिरिज ३–० ले जितेपछि कप्तान रोहितले त्यतिबेला भनेका थिए, ‘हाम्रो लागि यो जित महत्वपूर्ण छ । यसले लिग टु का लागि पनि मोटिभेसन दिन्छ । यही लय कायम राख्न सके राम्रो नतिजा ल्याउनेछौं ।’ तर लिग टुमा नेपाल अमेरिका विरुद्ध दुवै खेलमा हार्‍यो । नेपालको टिम सेलेक्सन, ब्याटिङ अर्डरदेखि बलिङ रोटेसनमा पनि धेरै आलोचना भएको थियो ।

टी–२० मा जति राम्रो प्रदर्शन गरे पनि नेपालले त्यो लय ५० ओभरमा देखाउन सकेको छैन । नेपालले धेरै टी–२० खेल खेल्दा अझै त्यसकै ह्याङ बाँकी रहेको हो भन्ने प्रश्नमा रोहितले ब्याटर भएपछि जिम्मेवारी लिनुपर्ने बताए । ‘ब्याटरको रुपमा त्यो जिम्मेवारी लिनुपर्छ । किनभने टी–२० फर्म्याटमा हामीले यो वर्ष धेरै खेल्यौं । त्यो भनेर एक्सक्युज लिनु भएन । त्यसको जिम्मा लिनुपर्छ,’ रोहितले भने, ‘दुवै फरक फर्म्याट हो । ब्याटिङ युनिटको रुपमा त्यो कुरामा चुक्यौं । ब्याटरको रुपमा जिम्मेवारी लिनुपर्छ ।’

कप्तान रोहितले पनि खेलाडीले ५० ओभरको खेलमा लय समाउन नसकेको र त्यो अहिलेको समस्या भएको बताए । ‘टी२० र ५० ओभरमा ब्याटरले अडाप्ट गर्न सकेको छैन । वान डेमा राम्रो गर्न त्यसका लागि ५० ओभरको खेल अझ बढी खेल्नुपर्‍यो । दुई दिवसीय क्रिकेट खेल्यो भने ५० ओभरमा अझ राम्रो हुन्छ,’ उनले भने ।

नेपाली टिम भित्र पनि समस्याहरु देखिएको भन्ने प्रश्नबारे सोध्दा रोहितले भने कुनै समस्या नरहेको बताए । ‘टिममा केही पनि भएको छैन । टिमले एकदमै राम्रो सपोर्ट गरिरहेको छ’ उनले भने, ‘खेल हार्दा पनि टिमले राम्रो सपोर्ट गरेको छ । सबै जना पोजिटिभ छन् । युनिटको रुपमा सबै राम्रो छ रिजल्ट मात्र आएको छैन ।’

प्रशिक्षक टमाटाले पनि जुन फर्म्याट भएपनि खेलाडी मानसिक रुपमा खेल्छु भन्ने हुनुपर्ने बताए । ‘ओडिआई खेल हाम्रो होममा पनि त्यति भाछैन जति टी–२० खेलिराछौं । टी–२० वर्ल्डकप, एसियन गेम्स पनि खेल्यौं । खेलाडी भएपछि मानसिक बलियो हुनुपर्छ,’ उनले भने, ‘यो लेभलमा आएर यो भएन, ऊ भएन भन्नुहुन्न ।’

राष्ट्रिय टिमका पूर्व कप्तान पवन अग्रवालले पनि नेपाली टिमको माइन्डसेट अझै परिवर्तन हुन नसकेको बताए । ‘५० ओभरको अडाप्टाबिलिटी हुन सकेको छैन । यसको लागि माइन्डसेटमा परिवर्तन हुनुपर्छ,’ उनले भने ।

प्रशिक्षक टमाटाले खेलाडीहरुले मिहिनेत गरेपनि नतिजा नआएको र बेटर क्रिकेट खेल्नुपर्ने बताए । ‘केटाहरुले मिहिनेत गरेका छन् तर हाम्रो नतिजा मात्र आएको छैन । अझै पनि म भन्छु बेटर भन्दा बेटर क्रिकेट खेल्नुपर्छ,’ उनले भने । उनले यस पटक खेलाडीले बाहिरको कन्डिसन, विकेटदेखि धेरै कुरा सिकेको आएको र आगामी दिनमा त्यो काम लाग्ने बताए ।

यस्तै कप्तान रोहितले अब पछाडि फर्केर हेर्नेभन्दा आउने खेलहरुमा केन्द्रित हुनुपर्ने बताए । ‘लिग टु मा सोचेजस्तो सुरुवात भएको छैन । हामीलाई चुनौती थपिएको छ । योभन्दा अघिको लिग टु साइकलमा हामीले अन्तिम सिरिजमा राम्रो गरेका थियौं । त्यो हिसाबले सोच्दा राम्रो सुरुवात भएन,’ रोहितले भने, ‘अब हामी आउने खेलमा केन्द्रित हुनुपर्छ ।’ उनले नतिजा राम्रो नआउँदा सबैलाई जिम्मेवारी थपिएको र चुनौती पनि थपिएको बताए ।

वर्ष २०२४ मा नेपालले खेल्ने लिग टुका खेलहरु सकिएको छ । अब नेपालले लिग टुमा २०२५ मा तीन र २०२६ मा तीन सिरिज खेल्न बाँकी छ । जसमध्ये नेपालले दुवै वर्ष घरेलु मैदानमा एक–एक सिरिज आयोजना गर्नेछ । सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटको आधार समेत रहेको लिग टु नेपालका लागि ओडिआई मान्यता जोगाउनुका साथै विश्वकपमा पुग्ने सबैभन्दा महत्वपूर्ण अवसर समेत हो ।

यस्तो छ क्यानडा र अमेरिका भ्रमणमा नेपालको नतिजा-

लिग टु सिरिज, (क्यानडा) : ४ खेल, १ अंक

क्यानडा विरुद्ध १०३ रनले पराजित

ओमान विरुद्ध १ विकेटले पराजित

क्यानडा विरुद्ध ५ विकेटले पराजित

ओमान विरुद्धको खेल रद्द

त्रिकोणात्मक टी–२० सिरिज, (क्यानडा) दोस्रो स्थान

क्यानडा विरुद्ध १४ रनले पराजित

ओमान विरुद्ध ३७ रनले विजयी

क्यानडा विरुद्ध ४ विकेटले पराजित

ओमान विरुद्ध ५६ रनले विजयी

टी–२० सिरिज, (अमेरिका)– तीन खेलको सिरिज क्लिन स्वीप

अमेरिका विरुद्ध १७ रनले विजयी

अमेरिका विरुद्ध सुपर ओभरमा विजयी

अमेरिका विरुद्ध ८ विकेटले विजयी

लिग टु सिरिज, (अमेरिका)

अमेरिका विरुद्ध ३ विकेटले पराजित

स्कटल्याण्ड विरुद्ध ५ विकेटले विजयी

अमेरिका विरुद्ध ३७ रनले पराजित

स्कटल्याण्ड विरुद्धको खेल रद्द

तस्बीरः चन्द्रबहादुर आले/अनलाइनखबर





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School