नेपाली क्रिकेटका लागि कस्तो रहला सन् २०२५ ?


नेपाली क्रिकेटसामू सन् २०२५ लाई २०२४ जस्तै सुखद वर्ष बनाउने अवसर छ । तर, त्यसका लागि सुदृढ प्रदर्शनको खाँचो छ ।

१८ पुस, काठमाडौं । सन् २०२४ नेपाली क्रिकेटका लागि सुखद वर्ष नै रह्यो । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दा आठ वर्षपछि यू–१९ पुरूष विश्वकपमा पनि पुनरागमन गर्‍यो । त्यस्तै, महिला क्रिकेट टोलीले पनि सरदरभन्दा धेरै खेल खेले ।

सन् २०२५ ले भर्खर पाइला टेकेको छ । यस्तोमा नेपाली क्रिकेटका लागि विभिन्न प्रतियोगिताहरूले नेपाली टोलीलाई पर्खिरहेका छन् । प्रदर्शन राम्रो गर्न सके नेपालका लागि २०२५ पनि सुखद र सफल वर्ष बन्न सक्छ ।

यस वर्ष नेपालका लागि विभिन्न अवसरहरूसँगै चुनौतीहरू पनि छन् । चुनौतीको सामना गरी प्राप्त अवसरलाई सदुपयोग गर्न सकेमा क्रिकेट टोलीको सफलताको नयाँ उचाइ टाढा छैन ।

सन् २०२४ जस्तै २०२५ पनि नेपाली क्रिकेटका लागि व्यस्त वर्ष नै रहनेछ । पुरूषको सिनियर टोलीदेखि उमेर समूहका टोलीहरूले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै छन् । २०२५ मा नेपाली क्रिकेटका लागि मुख्य सहभागिता केके छन् र अवसरसँगै कस्ता चुनौतीहरू रहनेछन् ? आज चर्चा गर्नेछौं ।

यू–१९ महिला टी–२० विश्वकप

२०२५ को जनवरीमै नेपाली महिला यू–१९ क्रिकेट टोलीले विश्वकप क्रिकेट खेल्दै छ । विश्वकपमा नेपाली महिला क्रिकेट टोलीको यो पहिलो सहभागिता हुनेछ ।

जनवरी १९ देखि मलेसियामा सुरू हुने आइसीसी टी–२० महिला विश्वकपमा नेपाल बलिया टोलीहरू रहेको समूहमा परेको छ । नेपालको समूहमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । कम्तीमा एक खेल जिते नेपाल सुपर सिक्समा पुग्ने सम्भावना रहन सक्छ ।

२०२४ को अन्त्यतिर भएको एसीसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको थियो । सुपर फोरमा बंगलादेशसँग पराजित हुँदै नेपाल फाइनलमा भने पुग्न सकेन । यद्यपी नेपालको प्रदर्शन भने राम्रो रह्यो । यसैले नेपाली टिमबाट विश्वकपमा पनि राम्रो प्रदर्शनको आशा गरिएको छ ।

पहिलोपटक विश्वकप खेल्न पाउँदा कप्तान पूजा महतोसहितका खेलाडीहरू पनि उत्साहित छन् । विश्वकपजस्तो ठूलो स्टेजमा आफ्नो प्रदर्शन देखाउने अवसर रहेकाले तयारी पनि तीव्र पारिएको प्रशिक्षक महेशप्रसाद रिजालले बताए । उनी आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी छन् ।

नेपाललाई यो विश्वकपमा अनुभव बटुल्ने राम्रो अवसर छ । अस्ट्रेलिया र बंगलादेश नेपालभन्दा तुलनात्मक रूपमा बलिया टोली हुन् । स्कटल्यान्ड नेपालजस्तै छनोट पार गरेर आएको हो । तर, पहिलेभन्दा धेरै नै बलियो र राम्रो लयमा देखिएको नेपाली टोलीले आफ्नो स्वभाविक खेल खेल्यो भने सुपर सिक्समा प्रवेश गर्दै सनसनी मच्चाउन सक्छ ।

तर, विश्वकपमा राम्रो नतिजाको लागि नेपालले बाँकी अवधिमा निकै राम्रो मिहिनेत गर्नुपर्ने हुन्छ । महिला क्रिकेट टोलीले हाल चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अभ्यास मैदानमा प्रशिक्षण गरिरहेको छ ।

२०२५ मा आयोजना हुने तीन मुख्य प्रतियोगिताले नेपाली क्रिकेटको सफलताको नयाँ उचाइ कायम गर्न मद्दत पुर्‍याई खेलकुदका माध्यमबाट नेपाली क्रिकेट समर्थकलाई २०२४ को जस्तै खुसी दिलाउने अवसर छ । तर, त्यो खुसी नेपाली टिमका तत्कालीन सदस्यहरूको प्रदर्शनमा निर्भर हुनेछ ।

टी–२० विश्वकप एसिया एण्ड इस्ट एसिया-पेसिफिक छनोट

नेपाली क्रिकेटका लागि कस्तो रहला सन् २०२५ ?

नेपालको सिनियर टोलीले यसै वर्षको अक्टोबरमा आईसीसी टी–२० विश्वकप छनोट खेल्दै छ । यसपटक फरक तरिकाले गर्न लागिएको छनोट प्रतियोगितामा एसिया र इस्ट एसिया-पेसिफिकबाट संयुक्त रूपमा तीन टोली विश्वकपमा छनोट हुनेछन् ।

ओमानमा हुने उक्त प्रतियोगिता नेपालका लागि अवसर र चुनौती दुवै देखिन्छन् । छनोट प्रतियोगितामा नेपालसँगै यूएई, ओमान, मलेसिया, पपुवान्युगिनी, सामोआ, कुवेत, कतार र जापान छन् । शीर्ष तीन टोली २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट हुनेछन् ।

अघिल्लोपटक नेपालमै भएको एसिया क्षेत्रीय छनोट प्रतियोगिताबाटै नेपाल र ओमानले २०२४ को टी–२० विश्वकपको ढोका खोलेका थिए । नेपालले यसपटक नेपालभन्दा बाहिर छनोट खेल्दै छ, जहाँका पिचमा नेपालको प्रदर्शन फितलो हुँदै आएको छ ।

कप्तान रोहित पौडेलले ओमानमा राम्रो प्रदर्शन गरेर यसपटक पनि विश्वकपको ढोका खोल्ने लक्ष्य रहेको बताएका छन् । यसका लागि बाहिरी पिचमा निरन्तर भइरहेको कमजोर प्रदर्शनलाई सुधार गरी आफ्नो बेस्ट खेल खेल्नुपर्ने उनको भनाइ छ ।

आईसीसी विश्वकप लिग २

नेपाली क्रिकेटका लागि कस्तो रहला सन् २०२५ ?

यीबाहेक नेपाली क्रिकेट टोलीले एकदिवसीय विश्वकपको आधारको रूपमा रहेको आईसीसी विश्वकप लिग २ मा पनि तीन सिरिजहरू खेल्दै छ । तीमध्ये दुई सिरिज नेपालबाहिर हुँदैछन् ।

मे महिनामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग स्कटल्यान्डमा खेल्नेछ । दुवै प्रतिद्वन्दी बलिया छन् । त्यसैगरी, अक्टोबरमा नेपालले यूएई र अमेरिकासँग यूएईमा र नोभेम्बरमा नेपालमै यूएई र ओमानसँग खेल्ने तालिका छ ।

यी तीनवटै शृंखलाका १२ खेल नेपालका लागि महत्वपूर्ण हुनेछन् । सात टिम सहभागी लिग २ मा १२ खेल खेलिसकेको नेपाल केवल ६ अंक जोड्दै छैटौं स्थानमा छ । त्यसैले आउँदा १२ खेल निकै महत्वपूर्ण छन् ।

विश्वकपमा छनोटको दृष्टिकोणबाट मात्र नभएर एकदिवसीय मान्यता जोगाउने आधार पनि यी १२ खेलमा गरिने प्रदर्शन नै हुनेछ ।

अघिल्लोपटक यस्तै निरन्तरको खराब प्रदर्शनलाई चमत्कारिक रूपमा सुधार गर्दै नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेको थियो र विश्वकप छनोटमा सीधै स्थान बनाएको थियो । उक्त कमब्याकलाई नेपाली क्रिकेटका उत्कृष्टमध्येको एक कमब्याक मानिन्छ ।

क्यानले २०२५ को क्यालेन्डर सार्वजनिक गरेपछि नेपालका अन्य खेलहरू पनि तय हुनेछन् । क्यानले एकदिवसीय र टी–२० आई शृंखलाहरूको नेपालमै आयोजनाका साथै अन्य राष्ट्रसँग पनि द्विदेशीय र त्रिदेशीय शृंखलाहरूको लागि पहल गर्न सक्छ ।

कप्तान रोहित पौडेल पनि आउँदा १२ खेलहरू महत्वपूर्ण भएको बताउँछन् । ‘हामी तालिकामा कुन स्थानमा छौं त्यसले नै थाहा हुन्छ खेलहरू कत्तिको महत्वपूर्ण छन् भनेर,’ रोहितले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘नेपालबाहिर खेल्दै छौं च्यालेन्जिङ नै हुन्छ । तर, हामीलाई अब जितको आवश्यकता छ त्यसैअनुसार राम्रो प्रदर्शन हुन्छ भन्ने आशा छ ।’

माथि उल्लेखितबाहेक अन्य शृंखला र प्रतियोगिताहरू तय हुन बाँकी छ । क्यानले २०२५ को क्यालेन्डर सार्वजनिक गरेपछि नेपालका अन्य खेलहरू पनि तय हुनेछन् । क्यानले एकदिवसीय र टी–२० आई शृंखलाहरूको नेपालमै आयोजनाका साथै अन्य राष्ट्रसँग पनि द्विदेशीय र त्रिदेशीय शृंखलाहरूको लागि पहल गर्न सक्छ ।

क्यानले उमेर समूहदेखि महिला र पुरुष क्रिकेटका विभिन्न प्रतियोगिताहरूको तयारी गरिरहेको क्यानका प्रवक्ता छुम्बी लामाको भनाइ छ ।

नेपाली क्रिकेट टोलीले नोभेम्बरमा पछिल्लोपटक एकदिवसीय र टी–२० आई क्रिकेट खेलेको थियो । अब मे भन्दाअगाडिका लागि हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरू तय भएका छैनन् । यसबीचमा गत महिना आयोजना भएको नेपाल प्रिमियर लिग एनपीएलमा नेपाली राष्ट्रिय खेलाडीहरूको प्रदर्शन सोचेअनुरूप हुन सकेको थिएन । केही खेलाडीहरूले उत्कृष्ट लय देखाउँदा केहीको प्रदर्शन फितलो रह्यो ।

अब आयोजना हुन लागेको जय ट्रफी एलिट कपले खेलाडीलाई एकदिवसीय क्रिकेटमा भिज्न मद्दत गर्ने छ । त्यहाँबाट पनि खेलाडीहरूको लय फर्काउन धेरै मद्दत पुग्ने छ ।

प्रशिक्षक मोन्टीको सम्झौता चर्चा

यहीबीचमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाइको सम्झौता नवीकरण नहुने चर्चा पनि चलिरहेको छ । क्यानका प्रवक्ता लामाले फेब्रुअरीसम्म उनको सम्झौताअवधि कायमै रहेको बताउँदै त्यसबारेमा निर्णय हुन बाँकी रहेको बताए ।

फेब्रुअरीपछि प्रशिक्षक परिवर्तन भएमा आउने नयाँ प्रशिक्षकले टिममा केही परिवर्तन पनि गर्न सक्नेछन् । मोन्टी कायमै रहेको अवस्थामा पनि एनपीएल, जय ट्रफी र अन्य प्रतियोगिता आयोजना भएमा उनले त्यसका आधारमा केही नयाँ खेलाडीसहित केहीलाई पुनरागमनको पनि मौका दिन सक्छन् ।

यसरी २०२५ मा तीन मुख्य प्रतियोगिताले नेपाली क्रिकेटको सफलताको नयाँ उचाइ कायम गर्न मद्दत पुर्‍याई खेलकुदका माध्यमबाट नेपाली क्रिकेट समर्थकलाई २०२४ को जस्तै खुसी दिलाउने अवसर छ । तर, त्यो खुसी नेपाली टिमका तत्कालीन सदस्यहरूको प्रदर्शनमा निर्भर हुनेछ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School