नेपाललाई आध्यात्मिक राजधानी बनाउने एक अवसर


स्वामी आनन्द अरुण । तस्वीर : अनलाइनखबर फाइल


गत डिसेम्बर ७ का दिन संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस मनाउने निर्णय अनुरुप नेपाललगायत विश्वभर यो दिवस उत्साहका साथ मनाइँदै छ । धेरै वर्षको अनवरत प्रयास र मानिसको व्यक्तिगत रुपान्तरणसँग प्रत्यक्ष जोडिएकाको हाम्रो सनातनकालदेखि चल्दै आएको साधना पद्धतिले आधिकारिक रुपमा अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

विगत दश वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न मञ्चहरुबाट मैलै यो कुरो उठाउँदै आएको थिएँ । २०१४ मा हाम्रो छिमेकी मुलुक भारतले अन्तर्राष्ट्रिय योग दिवस मनाउनको लागि संयुक्त राष्ट्र संघमा प्रस्ताव राख्यो र संयुक्त राष्ट्र संघले अनुमोदन गर्‍यो । यो कदमले विश्वस्तरमा पूर्वीय दर्शनलाई एक वृहत मान्याता दिलायो । योग दिवसको घोषणा सँगसँगै मेरो मानसपटलमा अन्तर्राष्ट्रिय ध्यान दिवस स्थापनाको बीजारोपण सुरु भयो ।

हाल विश्वमा देखिएको मनोदैहिक र मानसिक समस्याको जरो मानिसको सूक्ष्म मनमा रहेको हुन्छ ।  त्यो मनमा सीधै पहुँच पाउन सजिलो छैन । तर, ध्यानका प्रभावकारी विधिहरुद्वारा मनमा ग्रन्थिको रुपमा रहेका गाँठाहरुलाई निर्जरा गरी मनलाई शान्त र निर्मल स्थितिमा फर्काउन सकिन्छ । त्यसैले ध्यानले मनुष्यको चेतनामा गहन परिवर्तन ल्याउन सक्छ । यसलाई पूर्वमा आत्म–जागरण, निर्वाण, भगवत् चेतना उपलब्धिको साधना पद्दतिको रुपमा विकास गरिएको छ ।

हाल प्रचलित योगले हाम्रो शरीर स्वस्थ राख्न धेरै मद्दत गर्दछ भने यसैको अन्तरंग साधना ध्यानले हाम्रो मन र शरीरलाई स्वस्थ राख्न धेरै मद्दत गर्नसक्छ । मेरो पवित्र ध्येय के थियो भने शिवको बासस्थान, बुद्धको जन्मस्थली र गोरखको साधनास्थली र अष्टवक्र, नागार्जुन लगायतका अनेकौं भगवत् चेतनाहरुको आश्रयस्थल रहेको हिमालय क्षेत्र र ध्यानको उदगम् स्थली रहेको नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा विश्व गौरव प्राप्त होस् । आधुनिक विश्वमा देखिएको भयावह मानसिक स्वास्थ्यको सुधारका लागि विश्वमा ध्यान फैलाउन नेपाल जस्तो आध्यात्मिक मुलुकले ठुलो योगदान पुर्याउन सक्छ भन्नेमा मलाई दुविधा छैन ।

त्यसपछि नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा विश्वव्यापी ध्यान दिवस घोषणा गर्ने प्रयास स्वरूप विभिन्न संचार माध्यममा सक्रिय रुपमा आवाज उठाउन थाले‍ं । योग दिवसका वैठकहरुमा ध्यान दिवसको कुरा उठाउँदा सबैबाट समर्थन प्राप्त भइ शिक्षा मन्त्रालय अन्तर्गत ध्यान प्रोटोकलको मस्यौदा लेख्ने कार्य पनि अन्तिम चरणमा आइसकेको थियो । सँगसँगै यस विषयलाई उठाउन सहयोग गर्ने विभिन्न दल तथा निकायका पदाधिकारीसँग भेटघाट, छलफल सुरु गर्न थालें । नेपाल मात्र नभइ ध्यानको सिलसिलामा हुने मेरो अन्तर्राष्ट्रिय भ्रमणमा समेत अन्तर्राष्ट्रिय निकायका पदाधिकारीसँग भेटघाट गरें । सोही अनुरुप २०१९ फेब्रुअरीमा भर्जिनिया तथा अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको पहलमा भर्जिनिया राज्यले राज्यस्तरमा ध्यान दिवस मनाउने प्रस्तावलाई समर्थन गरि घोषणा गर्‍यो ।

यो घोषणालाई भर्जिनिया राज्यका सिनेटर जेनिफर बोइस्को, हाउस डेलिगेट जोन बेल र लाउडौन काउन्टीका अध्यक्ष फिलिस रान्डलले समर्थन गरेका थिए । यो ऐतिहासिक क्षण भर्जिनियामा हाउस रिजोल्युसन नं. ४४३ अन्तर्गत दस्तावेजको रुपमा दर्ता गरिएको थियो ।

ध्यान, योग, आयुर्वेद र प्राकृतिक चिकित्सको विश्व विद्यालयको स्थापना, ध्यान सिक्न आउने विद्यार्थीहरुको लागि लामो भिसाको सहज व्यवस्था गर्‍यौं भने हामी एकदिन नेपाललाई ध्यान, योग र अध्यात्मको अन्तर्राष्ट्रिय राजधानी बनाउन सफल हुन्छौं

अमेरिकाका सबै राज्यहरु मिलेर सयुक्त राष्ट्रसंघमा प्रस्ताव लैजान सक्ने हुँदा भर्जिनियाबाट यो प्रयास सुरु गरिएको थियो तर मेरो भित्री अभिलाषा भने नेपाल नै यो प्रस्ताव लैजाओस् भन्ने थियो । सोही वर्ष न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगको भ्रमण गरि  नियोग प्रमुख श्री निर्मलराज काफ्लेसँग नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको आगामी बैठकमा प्रस्ताव पेस गर्नका अनुरोध गरें र उहाँले संयुक्त राष्ट्रसंघमा प्रस्ताव लैजाने आश्वासन समेत दिनुभएको थियो । लगत्तै मलाई अमेरिकास्थित नेपाली दूतावासमा ध्यानको बारेमा व्याख्यान दिन आमन्त्रित गरियो । मैले ध्यान र बुद्धका शिक्षाहरूको सान्दर्भिकताबारे र अन्तर्राष्ट्रिय ध्यान दिवसको महत्वको बारेमा त्यहाँ कुरा उठाएँ । उक्त कार्यक्रममा श्रीलंका र म्यानमारका राजदूत लगायत विभिन्न देशका प्रतिनिधिहरुले नेपालले संयुक्त राष्ट्रसंघमा प्रस्ताव लगेको खण्डमा समर्थन गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

म अमेरिका भ्रमणमा पाएको समर्थनबाट धेरै उत्साहित भएको थिएँ । यसबाट यो विषयलाई नेपालबाट नै अझ अघि बढाउने उत्प्रेरणा प्राप्त भयो । हुन त ध्यान र ध्यान दिवस सबैका लागि हो तर मलाई नेपालको नेतृत्वमा पहल भइ यसले सफलता प्राप्त गर्यो भने जसरी योग दिवस जुन देशले मनाए पनि त्यो कार्यक्रममा भारतको राजदूतलाई विशिष्ट अतिथिको रुपमा स्वागत गरिन्छ त्यसरी नै ध्यान दिवस मनाउदा विश्वका विभिन्न देशहरुमा रहेका हाम्रा कुटनैतिक नियोग प्रमुखहरुलाई त्यी देशमा एक विशिष्ट आथित्य प्राप्त हुनेछ, जुन नेपालको लागि प्रतिष्ठाको विषय हो भन्ने कुरामा दुईमत थिएन । त्यसरी नै नेपालले आफूलाई विश्वसामु एक ध्यानको अन्तर्राष्ट्रिय राजधानीको रुपमा प्रस्तुत गर्ने सक्ने वातावरण बन्न सक्छ भन्नेमा म विश्वस्त थिएँ ।

एक ऐतिहासिक घटनाक्रममा, अक्टोबर २१, २०२३ मा, संयुक्त राष्ट्र«संघका महासचिव एन्टोनियो गुटेरेसले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभयो । तत्कालिन उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठले विश्व ध्यान दिवस मनाउने यही प्रस्ताव पनि उहाँ समक्ष प्रस्तुत गर्नुभएको थियो, जसले विश्वव्यापी रुपमा ध्यानलाई फैलाउने नेपालको संकल्पलाई थप सहयोग गर्‍यो । उहाँले बुद्धको सम्झनामा अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गर्न सहयोग गर्न गुटेरेसलाई अनुरोध गर्नुभयो । महासचिव गुटेरेस प्रस्तावको बारेमा सुनेर खुसी भए र यो प्रस्ताव राष्ट्रसंघमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गर्नु एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, ध्यान अभ्यास गर्नेहरूका लागि मात्र होइन, ध्यानका गहिरो फाइदाहरू र यसको भित्री रूपान्तरणको विश्वव्यापी मान्यताको लागि । यो घोषणाले जुनसकै धर्म तथा अध्यात्ममा लागेको साधकहरुलाई विशेष खुसी तुल्याएको छ भने यो उपलब्धिले विश्वभरका सबै ध्यान साधकहरुलाई गौरव प्रदान गरेको छ । ‘आन्तरिक शान्ति, विश्व सद्भाव’ को नारा लिएर प्रथम ध्यान दिवसको रुपमा यस पवित्र दिनलाई व्यक्तिगत रुपान्तरण, सामूहिक समृद्धिका लागि विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने छ ।

अन्तर्राष्ट्रिय ध्यान दिवसको सुरुआत हुनु नेपालजस्तो देश र हामी जस्ता साधक लागि आफैंमा अत्यन्तै गौरव र प्रतिष्ठाको विषय हो । युरोपको लेक्टेनस्टाइन देशले  प्रस्ताव लगे पनि ध्यान दिवस प्रस्ताव पेश गर्ने मुख्य ६ देश मध्ये नेपाल पनि एक रहेको छ । यो सबै नेपालीका लागि खुसीको कुरा हो । हामीले पहिले नै यो प्रस्ताव लगेर यसको श्रेय लिन नसके पनि यसलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्न सक्छौ । यसमा अझै पनि विलम्ब भएको छैन । हामीले राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय रुपमा भव्यताका साथ ध्यान दिवस सम्पन्न गर्न र ध्यान साधनाका लागि नेपाललाई प्रमुख गन्तव्यको रुपमा विश्व भरी चिनाउन योजनबद्ध रुपमा काम गर्न ढिलाइ गर्नुहुँदैन । यसका लागि ध्यान, योग, आयुर्वेद र प्राकृतिक चिकित्सको विश्व विद्यालयको स्थापना, ध्यान सिक्न आउने विद्यार्थीहरुको लागि लामो भिसाको सहज व्यवस्था गर्‍यौं भने हामी एकदिन नेपाललाई ध्यान, योग र अध्यात्मको अन्तर्राष्ट्रिय राजधानी बनाउन सफल हुन्छौं  ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School