News Summary
Generated by OK AI. Editorially reviewed.
- डा. मिलनकुमार थापाले आफ्नो पुस्तक ‘तन्त्र और मन्त्र विज्ञान’मार्फत नेपाललाई धार्मिक पर्यटनको हब बनाउन तन्त्र र मन्त्र साधनाको महत्व उजागर गर्नुभएको छ।
- नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध हिन्दू र बौद्ध धर्ममा आधारित छ र यसले धार्मिक पर्यटन र सामाजिक सम्बन्धलाई बलियो बनाएको छ।
- नेपाल–भारत बीच खुला सीमा, भाषा, साहित्य र सांस्कृतिक आदानप्रदानले जनस्तरमा सम्बन्ध सुदृढ पार्दै धार्मिक पर्यटनको सम्भावना बढाएको छ।
आर्थिक समुन्नति र विकासको पथमा देशलाई अघि बढाउने सशक्त माध्यम धार्मिक पर्यटन बन्न सक्छ । यसका धेरै आधार र कारण छन् । प्रष्ट छ, हाम्रो देश नेपाल बलियो धार्मिक पर्यटनको सम्भावनाले भरिएको देश हो । तर हामीले हाम्रो धार्मिक पर्यटनका बहुआयामिक पक्षहरूलाई आजसम्म समेट्न नसक्दा आफ्नै सम्भावनाहरू कुण्ठित हुँदै आएका छन् ।
विशेषगरी धार्मिक एवं सांस्कृतिक सम्बन्धका हिसाबले नेपाल–भारत सम्बन्धको विशिष्टताको चर्चा सधैँभरि हुने गर्छ । तर, नेपालले अझै पनि धार्मिक पर्यटन बाट सन्तोषजनक लाभ लिन सकेको छैन । मुख्य गरी नेपाल पर्यटन बोर्ड र पशुपति विकास कोषले धार्मिक पर्यटनको क्षेत्रमा विशिष्ट पहल गर्न नखोजेको होइन ।
धार्मिक पर्यटनको विकासका लागि पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य–सचिव तथा संस्कृति एवं तन्त्रविज्ञ डा. मिलनकुमार थापाले आफ्नो कार्यकालमा हरेक वर्ष कम्तीमा ५० लाख भारतीय धार्मिक पर्यटकलाई नेपाल भित्र्याउने महत्वाकांक्षी कार्ययोजना अगाडि बढाएका थिए । तत्काल उपलब्धि हासिल नभए पनि योजना कार्यान्वयनको दीर्घकालीन प्रभावले लक्ष्य हासिल गर्ने संकेत देखाएको छ ।
धार्मिक पर्यटन प्रवर्द्धनका लागि अब नेपालले प्राविधिक तरिकाले मात्र सोचेर पुग्दैन भन्ने मान्यता डा.थापाको छ । थापाले पछिल्लो समय ओझेलमा परेको नेपालको धार्मिक विशिष्टतासँग जोडिएको तन्त्र र मन्त्र शक्तिको मौलिक परम्परालाई प्राज्ञिक रुपमै अगाडि सारेर आफ्नो पुस्तक ‘तन्त्र और मन्त्र विज्ञान’मार्फत धार्मिक पर्यटनको क्षेत्रमा अर्को विशाल सम्भावनालाई उजागर गरिदिएका छन् ।
पुस्तकमा कसरी नेपाल तन्त्र र मन्त्र विज्ञानको उर्वर र शक्तिशाली देश हो भन्ने कुरालाई विशिष्ट ढंगबाट प्रस्तुत गरिएको छ । तन्त्र र मन्त्र साधनामा ऋषिमुनिहरूले प्रमाणित गरेका विषयलाई मुख्य श्रोत बनाएर अध्ययन गरिएको यो पुस्तकमा भगवान पशुपतिनाथ नै विराजमान रहेको नेपाली धर्ती तन्त्र र मन्त्र शक्तिको पुञ्ज कसरी हो भन्ने कुराको पुस्तकमा उल्लेख छ । र, यो शक्ति आर्जन गर्ने विधि र पद्धति के कस्तो रहेको हुन्छ र हुनुपर्छ ? भन्ने कुरालाई महत्वका साथ देखाइएको छ । पूर्वीय दर्शन र शैव परम्परामा आधारित तंत्र र मंत्र शक्तिको अध्ययन, अनुसन्धान, सिद्धि र शक्ति प्राप्तिका प्रसिद्धिहरूले स्थापित गरेका नवीनतम् तथ्यहरू पुस्तकमा पाइन्छ ।
पुस्तकले देखाएको सम्भावना र साधनाको हब
नेपाल परापूर्वकालदेखि नै तन्त्र र मन्त्र साधना र सिद्धिको केन्द्रका रूपमा रहँदै आएको कुरा ऋषिमुनिका खोज र ऐतिहासिक तथ्यहरूले प्रमाणित गरिसकेको कुरा हो । यस्तै तथ्यलाई आधार बनाएर पुस्तकमा तन्त्र र मन्त्र दुवै शक्तिशाली साधन भएको र वैदिक मान्यतानुसार यी साधनाहरूको लोक कल्याणकारी प्रयोगको आधार साधकको संकल्प र चित्तको शुद्धि भएको कुरालाई देखाइएको छ ।
जब कुनै साधकले स्वार्थ, लोभ र ईर्ष्यालाई त्यागेर सम्पूर्ण जगतको सुख, शान्ति र समृद्धिको कामना गर्दै मन्त्र जप वा तान्त्रिक अनुष्ठान गर्छन्, तब ती साधनाहरूले विशाल सकारात्मक ऊर्जाको निर्माण गर्छन भन्ने कुरा पुस्तकमा छ । यही ऊर्जाले समाजमा फैलिएको नकारात्मकता, रोग र द्वेषलाई हटाउन मद्दत गर्ने कुराका आधार, प्रमाण र तथ्यहरू यसमा समेटिका छन् ।
गुरू गोरखानाथ, मत्स्येन्द्रनाथ, पद्मसम्भव, खप्तडबाबा, स्वामी सत्यानन्द सरस्वतीजस्ता सुप्रसिद्ध सन्तहरूले भारतबाट नेपाल आएर सिद्धि प्राप्त गर्नुले धार्मिक पर्यटनको क्षेत्रमा नेपाल तन्त्र र मन्त्र साधनाको हब बन्न सक्ने कुरालाई थप बल पुर्याएको भन्ने कुरा पुस्तकमा उल्लेख छ । गुरू गोरखनाथ नाथ सम्प्रदायका संस्थापक हुन् ।
गोरखनाथलाई हठ योगको प्रवर्तक मानिन्छ । उनले नेपालको हिमालय क्षेत्रमा लामो समय साधना गरेको विश्वास गरिन्छ । गोरखा जिल्लाको नाम उनैसँग जोडिएको छ । उनलाई भगवान शिवको अवतारको रूपमा लिइन्छ । मत्स्येन्द्रनाथ गुरू गोरखनाथका पनि गुरु हुन् । चौरासी शिद्धमध्येका एक मानिन्छन् । उनको तन्त्र साधना र नेपालको संस्कृतिमा गहिरो प्रभाव छ ।
काठमाडौँ उपत्यकाको रातो मत्स्येन्द्रनाथको पूजा र जात्रा उहाँसँग सम्बन्धित छ । पद्मसम्भव– गुरु रिन्पोछे भारतको ओडिसा क्षेत्रका तान्त्रिक बौद्ध बज्र गुरु हुन् । उनले ८औं–९औं शताब्दीमा तिब्बतमा वज्रयान बौद्ध धर्म स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले नेपालमा, विशेषगरी गुह्येश्वरी र स्वयम्भू नजिकका क्षेत्रमा, साधना गरेको र तान्त्रिक अभ्यास सिकाएका प्रमाणहरू छन् ।
खप्तड बाबा कश्मिरी सन्त हुन्, जो हिमालय पर्वत श्रृंखलामा यात्रा गर्दै नेपालमा ४० वर्षभन्दा बढी समय खप्तड लगायतका स्थानमा गुप्त रूपमा बसे । उनले योग, वेदान्त, र तन्त्रका शिक्षा दिए । नेपाल देवभूमि भएकाले अन्य भूमिमा गरिएको तन्त्र साधनामा सिद्धि मिल्ने सम्भावना न्यून रहने गम्भीर तथ्य समेत उजागर गरेको पाइन्छ ।
स्वामी सत्यानन्द सरस्वती योग र तन्त्रका प्रसिद्ध गुरु हुन् । उनले यन्त्र सिद्धि नेपालमै गरेको पाइन्छ । तन्त्र सिद्धिपछि उनले एशियाका धेरै ठाउँमा व्यापक यात्रा गरे । शंकर चैतन्य भारती कश्मिरी वेदान्त, त्रिक र तान्त्रिक आगमका महान् ज्ञाता हुन् । उनको नेपालको तान्त्रिक वृत्तहरूसँग घनिष्ठ सम्बन्ध रहेको थियो । यसरी यी सन्तहरूले नेपालको प्राकृतिक एकान्त र आध्यात्मिक वातावरणलाई आफ्नो गहिरो साधना र तन्त्र सिद्धिका लागि उपयुक्तस्थलको रूपमा प्रयोग गरेका थिए ।
लेखक डा.थापाले पुस्तकमा यस्तै महान् सन्तहरूका अनुभव तथ्य र प्रमाणलाई आधार बनाएर तन्त्र र मन्त्रलाई स्पष्ट, तार्किक र वैचारिक रूपमा परिभाषित गरेका छन् । डा. थापाले विषयहरूलाई अन्धविश्वासको दायराबाट बाहिर निकालेर वैज्ञानिक र दार्शनिक परिप्रेक्ष्यमा प्रस्तुत गरेका छन् । यसरी ऐतिहासिक तथ्य र प्रमाणका आधारमा हेर्दा नेपाल तन्त्र र मन्त्र साधनाको हब थियो, छ र बन्न सक्ने छ भन्ने कुरालाई उजागर गरिएको छ ।
नेपाल–भारत सांस्कृतिक सम्बन्ध
नेपाल र भारतको सांस्कृतिक सम्बन्धको मेरुदण्ड हिन्दू र बौद्ध धर्म हो । नेपालको पशुपतिनाथ मन्दिरलाई भारतका हिन्दूहरूले अति पवित्र तीर्थस्थलका रुपमा श्रद्धा गर्छन् । जसले धार्मिक यात्राको माध्यमबाट जनस्तरको सम्बन्धलाई बलियो बनाएको छ । नेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी राष्ट्रको मात्र होइन, यो हजारौं वर्ष पुरानो, गहिरो धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक जराहरूमा आधारित अद्वितीय सभ्यतागत साझेदारी को रुपमा स्थापित छ ।
नेपालको जनकपुर र भारतको अयोध्याबिचको सम्बन्धले दुई देशलाई पौराणिक तथ्यले जोडेको छ । शिव र शक्तिको उपासना पनि दुवै देशमा व्यापक र विशिष्ट छ, जसले धार्मिक रीतिरिवाज र चाडपर्वहरूमा समानता ल्याएको छ ।
त्यति मात्र होइन, गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा हुनु र बुद्ध धर्मको ज्ञान र प्रचारको थलो भारतमा हुनुले दुवै देशलाई विश्वव्यापी बौद्ध सर्किटमा सँगै राखेको छ । प्राचीनकालदेखि नै हिन्दू र बौद्ध दर्शनको गहिरो आदानप्रदानले दुवै समाजको चिन्तन प्रणालीलाई प्रभावित गरेको छ ।
भाषिक र साहित्यिक समरूपताले पनि नेपाल–भारत सम्बन्धको विशिष्टतालाई झल्काएको छ । दुवै देशका प्रमुख भाषाहरू (नेपाली, हिन्दी, मैथिली, भोजपुरी आदि) भारोपेली भाषा परिवार अन्तर्गत पर्दछन्, जसले गर्दा भाषिक बुझाइ र साहित्यिक आदानप्रदान सहज छ ।
संस्कृत दुवै देशका धर्म र संस्कृतिको मूल भाषा भएकाले यसले साहित्यिक, धार्मिक र कानुनी शब्दावलीमा गहिरो प्रभाव पारेको छ । नेपाली साहित्यकारले भारतीय साहित्य र भारतीय साहित्यकारले नेपाली साहित्यबाट प्रेरणा लिएका छन् । तुलसीदास, वाल्मीकि जस्ता स्रष्टाका कृतिहरू नेपालमा सधैं पूजनीय रहिआएका छन् ।
सामाजिक र जनस्तरको सम्बन्ध
सीमा क्षेत्रमा मात्र नभई उच्च सामाजिक वर्गसम्म पनि वैवाहिक सम्बन्धहरू स्थापित छन् । यसलाई ‘रोटी–बेटी’को सम्बन्धका रूपमा समेत परिभाषित गरिएको छ । जसले सामाजिक अन्तरघुलनलाई उच्चतम तहमा पुर्याएको छ । दुई देशबीचको खुला सीमानाले मानिसहरूको आवतजावत, व्यापार र सांस्कृतिक आदानप्रदानलाई ऐतिहासिक रूपमा सहज बनाएको छ । नेपालीहरू रोजगारी, शिक्षा र स्वास्थ्यका लागि भारत जाने गरेका छन्, भारतीयहरू पनि नेपालमा व्यापार र तीर्थाटनका लागि आउने गरेका छन् ।
भारतीय शिक्षण संस्थामा नेपाली विद्यार्थीको उपस्थिति र नेपालमा भारतीय शिक्षक–प्राध्यापकको संलग्नताले शैक्षिक र बौद्धिक सम्बन्धलाई समेत बलियो बनाएको छ । दशैं–दसरा, तिहार–दीपावली, होली, छठजस्ता प्रमुख चाडपर्व दुवै देशमा मनाइन्छ ।
यद्यपि, मनाउने शैलीमा केही स्थानीय भिन्नता छन् । भारतीय संगीत र हिन्दी सिनेमा नेपालमा अत्यन्त लोकप्रिय छ । यसले भाषा, फेसन र जीवनशैलीमा समेत प्रभाव पारेको छ । त्यसैगरी, नेपाली लोकसंगीतको प्रभाव पनि भारतीय भू-भागमा देखिन्छ । मन्दिर निर्माणको शैली (प्यागोडा शैली र शिखर शैलीको मिश्रण), मूर्तिकला र हस्तकलामा पनि धेरै समानता पाइन्छ, खासगरी मिथिला कलामा दुई देशबीच ठूलो समानता रहेको पाइन्छ ।
संस्कृति एवं तन्त्रविज्ञ डा. मिलनकुमार थापाले तन्त्र और मन्त्र विज्ञानमा यो सम्बन्धको शक्ति र सामर्थ्यबाट नेपालको धार्मिक पर्यटनमा नयाँ आयाम थप्नका लागि पुस्तकको भाषामा समेत विशेष ध्यान पुर्याएका छन् । लेखकले तन्त्र र मन्त्रका अभ्यासहरूलाई मनोविज्ञान, चेतना विज्ञान र आधुनिक वैज्ञानिक सिद्धान्तहरूसँग जोड्न खोजेका छन् ।
यो पुस्तकले तन्त्र र मन्त्र विज्ञानको अध्ययनमा नयाँ दृष्टिकोण, मौलिक जानकारी र महत्त्वपूर्ण व्याख्या थपेको छ । यसले आध्यात्मिक ज्ञान र मानव चेतनाको गहिराइ बुझ्ने प्रयासलाई अगाडि बढाएको छ ।
डा. थापा परम्परागत ज्ञानलाई आधुनिक चेतनासँग जोड्न सफल भएका छन् । २६८ पेजमा फैलिएको यो पुस्तकमा आकर्षक आवरण, हार्ड कभर र गुणस्तरयुक्त कागजको प्रयोग भएको छ ।
