नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मध्यपूर्वमा जारी युद्धले साढे १७ लाख नेपाली कामदारलाई प्रभावित पार्दै सुरक्षा चुनौती थपेको छ, सरकारले टास्क फोर्स गठन गरी उद्धार तयारी गरिरहेको छ।
  • नेपालले संयुक्त राष्ट्रसंघमा अप्रिल १५ लाई आरोग्य दिवस मनाउने प्रस्ताव पारित गराएर ठूलो कूटनीतिक सफलता हासिल गरेको छ।
  • नेपालमा समयमै निर्वाचन सम्पन्न गराउन भारत र चीनले साझा समझदारी बनाएर सहयोग गरेको र दुवै छिमेकीले स्थिर सरकार चाहेको परराष्ट्रमन्त्रीले बताए।

सरकारले भर्खरै चुनाव सम्पन्न गरेको छ र जनताको स्पष्ट म्यान्डेट आएको छ, जुन मुलुकका लागि ठूलो अवसर हो । सँगसँगै मध्यपूर्वी देशमा जारी युद्धका कारण लाखौं नेपालीमाथि पनि चुनौती थपिएको छ । ती देशमा काम गर्ने नेपालीमा परेको सुरक्षा चुनौती, उद्धार तयारी लगायत विषय पनि अहिले गम्भीर बनेको छ । अहिले देखिएका यी चुनौती र नेपालको परराष्ट्र सम्बन्धका विविध आयामबारे परराष्ट्रमन्त्री तथा पूर्वरथी बालानन्द शर्मासँग अनलाइनखबरका लागि जनार्दन बरालकृष्णसिंह धामीले गरेको कुराकानी :

अहिले मध्यपूर्वमा ठूलो युद्ध सुरू भएको छ र लाखौं नेपाली सम्भावित संकटमा छन् । नेपालीलाई ती देशमा परेको संकटलाई सरकारले कसरी मूल्यांकन गरेको छ ? उनीहरूलाई जोगाउने, रक्षा गर्ने र पर्दा उद्धार गर्ने योजना सरकारको कस्तो छ ?

संसार विश्वव्यापीकरण भएको छ । अहिले नेपालीहरू मध्यपूर्वमा मात्रै होइन कि संसारको जुन देशमा पनि पुगेका छन् । भनेपछि कुनै पनि क्षेत्रमा युद्ध भयो अथवा डिजास्टर भयो भनेदेखि नेपालीहरू पनि प्रभावित बन्छन् । आजभन्दा १०–२० वर्षअघिको तुलनामा यो बढेको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध फैलेर अहिले मध्यपूर्वका अधिकांश मुलुकमा पुगेको छ । यो युद्धले नेपालीलाई तीन हिसाबले प्रभाव परेको छ । पहिलो, ती देशमा काम गर्न गएका नेपाली श्रमिक, जसले त्यहाँ काम गरेर नेपालमा पठाउँछन्, उनीहरूको जीविका र जिउको पनि सुरक्षामा असर गरेको छ । दोस्रो, मध्यपूर्वका मुलुकलाई ट्रान्जिट बनाएर बाहिर जाने वा नेपाल फर्कंदै गरेका यात्रीहरूलाई असर पर्‍यो । तेस्रो, तिनका परिवारलाई चिन्ता बढ्यो ।

परराष्ट्रमन्त्री बालानन्द शर्मा

यी कुरालाई हामीले आकलन गरेर परराष्ट्र मन्त्रालयले तयारी थालेको छ । नेपालीको सुरक्षाका लागि सरकारको संलग्नता अपरिहार्य हुन्छ, त्यसकारण योजना बनाउनुपर्छ भनेर हामीले अन्य मन्त्रालयसँग पनि सहकार्य गरेर परराष्ट्र सचिवको नेतृत्वमा एउटा टास्क फोर्स गठन गरेका छौं । त्यो टास्क फोर्सले दिएका निर्देशन पालन गर्ने गरेर चौबिसै घण्टा सातै दिन सक्रिय हुने ‘सिचुएसन सेन्टर’ पनि खडा गरेका छौं । अब विकसित घटनाक्रम अनुसार थप योजना बनाउने प्रक्रियामा छौं ।

युद्ध लम्बियो भने के गर्ने भन्ने खालको योजना के छ ? उद्धार गर्नुपर्‍यो भने कति जति नेपालीलाई उद्धार गर्नुपर्ला ?

अहिले नै यतिलाई उद्धार गर्नुपर्छ भन्न सक्ने अवस्था छैन । युद्धको क्षेत्र र क्षतिमा निर्भर गर्छ । हामी युद्धरत पनि होइनौं, हामी टार्गेटेड पनि होइनौं । किनभने, इजरायलले पनि हामीलाई हान्दैन, इरानले पनि हामीलाई हान्दैन । तर, नेपाली काम गर्ने ठाउँमा युद्ध भइरहेको हो । अब त युद्ध मत्थर हुने क्रममा जानुपर्ने हो । तर, युद्ध लम्बिएको छ । अब कति लम्बिन्छ भन्न सकिन्न । पछिल्लो समय सैन्य लक्ष्य पूरा नभइन्जेलसम्म आक्रमण गर्ने भनिएको छ, तर त्यो लक्ष्य के हो भनिएको छैन । त्यसैले कहिलेसम्म युद्ध रहला भनेर दिनको संख्या निकाल्न गाह्रो हुन्छ । यति चाहिँ भन्न सक्छौं, युद्ध पहिले भनिए भन्दा लम्बियो, यो अझै लम्बिन पनि सक्छ ।

हाम्रा नागरिकलाई परेको प्रभाव हेर्दा अहिलेसम्म एक जनाको मृत्यु भयो । १५–१६ जना घाइते भए । मानिस त्रसित छन् । काममा जान सकेका छैनन् । यो श्रमिकहरूको कुरा भयो ।

तर, विमानस्थलको ट्रान्जिटमा फसेका यात्रीहरूको अधिकांश त गइसके । जति बाँकी छन्, होटलमा बस्न नसक्ने वा होटलले निकालिदिएकाहरूलाई पनि हाम्रा दूतावासहरूले सेल्टर दिएर राखेका छौं । सकेसम्म उहाँहरूको गन्तव्यमा पठाउने र सकिएन भने नेपाल फर्काउने गरी हाम्रा मिसनहरूले काम गरिरहेका छन् । एक जना मृतकलाई नेपालको दूतावास र यूएई सरकारको सहयोगबाट आकाश खुल्नेबित्तिकै ल्याएर घरमा बुझाइ पनि सक्यौं ।

बाँकी १६ जना घाइते छन्, उनीहरू पनि सामान्य घाइते भएकाले धेरैजसो उपचार गरेर आफ्नो स्थानमा फर्किसकेका छन् ।

जबसम्म नेपाल राजनीतिक रूपमा स्थिर हुँदैन र एउटा भरपर्दो राष्ट्रका रूपमा विकास हुँदैन, तबसम्म उहाँहरूको हित पनि सुरक्षित हुँदैन भन्ने बुझाइ भारत र चीन दुवैको थियो । दुवै छिमेकीले नेपालमा स्थायित्व खोजेका थिए ।

इजरायल सहित जोर्डनदेखि ओमानसम्म मध्यपूर्वका ११–१२ वटा मुलुकमा साढे १७ लाखजति नेपाली औपचारिक रूपमा नै काम गरिरहेका छन्, त्यो आँकडा हामीसँग छ । त्यसबाहेक अनरजिस्टर्डसम्म हेर्दा २० लाख हाराहारीमा नेपाली त्यहाँ कार्यरत भएको हाम्रो आकलन छ ।

त्यति धेरै नेपालीलाई फर्काउनुपर्‍यो भने उद्धार र यहाँ आएपछिको व्यवस्थापनका लागि के तयारी गरिएको छ ? भारत लगायत छिमेकी देशसँग समन्वयमा कत्तिको काम भइरहेको छ ?

चार मन्त्रालयहरू परराष्ट्र, श्रम, पर्यटन र गृह मिलेर संयुक्त रूपमा काम गरेका छौं । टास्क फोर्सले उद्धार गर्नुपर्‍यो भने कसरी गर्ने, के गर्ने भन्ने हिसाबमा लेखाजोखा गरिरहेको छ । कुनै श्रमिक नेपाल फर्किन चाहन्छ भने उसले हामीले दिएको पोर्टलमा गएर आवेदन दिन सक्छ । त्यसपछि मात्रै कति फर्कन चाहन्छन् भन्ने थाहा हुन्छ । युद्ध मत्थर हुँदै गयो भने त्यो पनि घट्दै जाला । युद्ध बढ्दै गयो र त्यसको प्रभाव पनि बढ्दै गयो भने त्यो संख्या पनि बढ्ला ।

त्यहाँबाट उद्धार गर्नुपर्ने भएको खण्डमा १० हजारभन्दा घटी भए भने एउटा योजना बनाउने, त्यसभन्दा बढी भए भने अर्को योजना बनाउने गरी काम गरिरहेका छौं । १० हजारभन्दा घटी भए भनेदेखि हवाईजहाजबाटै उद्धार गरेर ल्याउने योजना बनेको छ । १० हजारदेखि ५० हजारसम्म ल्याउनुपर्ने भयो भने हवाईजहाज र अरू कुनै उपायबाट ल्याउनुपर्ने होला । त्यसभन्दा पनि बढी भयो भने पानीजहाजको विकल्प छैन । किनभने, त्यत्रो मान्छेलाई हामीले हवाईजहाजबाट ल्याउन सक्ने क्षमता राख्दैनौं ।

हाम्रा मिसनहरूलाई सबैभन्दा पहिला युद्ध भएको वा गोली चलेका ठाउँबाट निकालेर शान्ति भएको ठाउँमा ल्याउने कुरालाई प्राथमिकता दिन भनेका छौं । त्यसो गर्दा भूमार्ग हुँदै समुद्रसम्म र त्यहाँबाट भारतीय बन्दरगाहसम्म ल्याउनुपर्ने हुन सक्छ । भारतको पनि कुन बन्दरगाहमा ल्याउन सहज हुन्छ, त्यसका लागि पानीजहाजको उपलब्धता कति छ, कति पैसा पर्छ, कति समय लाग्छ, त्यसमा पनि हामीले काम गरिरहेका छौं । हवाईभन्दा पानीजहाज ढिलो हो तर युद्धको हिसाबले छिटो हो । किनभने, युद्धको भुमरीबाट निकाल्ने बित्तिकै नागरिक सुरक्षित ठाउँमा पुग्छ । सुरक्षित ठाउँमा आइसकेपछि चार दिन लगाएर भए पनि देशभित्र आइपुगे भयो । त्यो सोच राखेर हामीले गरेका छौं ।

भारत लगायत छिमेकीले पनि आफ्ना नागरिक उद्धार गर्दा १०–२० जनालाई सहयोग गर्देला, हजारौंलाई गर्न सक्दैन । त्यसैले हामीले आफ्नो तयारी आफैं गर्नुपर्छ ।

तर, जति चर्चा भएको छ, हाम्रा कामदार गएका देशहरू त्यति प्रभावित भएका होइनन् । अहिले नेपालीहरू पनि हरेक दिन ८ सय हाराहारीमा खाडी मुलुक गएका छन् । त्यहाँ काममा जानु र काम गरेरै बस्नुपर्ने बाध्यता छ । त्यसो हुँदा सबै फर्किन्छन् जस्तो मलाई लाग्दैन । ऋण छ, नेपालमा रोजगारी छैन, त्यसो हुँदा युद्ध नरोकिएसम्म कुर्ने अनि काम गर्ने मनस्थितिमा उनीहरूमध्ये अधिकांश बसेका छन् ।

तर, फर्कन चाहने र फर्काउनै पर्नेलाई संख्या हेरेर प्लान ए, प्लान बी, प्लान सी बनाएर उद्धार कार्यको योजना बन्दैछ ।

युद्धको अप्रत्यक्ष प्रभाव स्वरूप पेट्रोलियम र खाना पकाउने एलपी ग्यास अभाव र मूल्यवृद्धि हुँदैछ । अन्य वस्तुको पनि मूल्यवृद्धिको जोखिम बढाएको छ । यस्तो अप्रत्यक्ष प्रभाव सामना गर्न सरकारको तयारी कस्तो छ ?

यसमा प्रत्यक्ष रूपले आपूर्ति मन्त्रालय आकर्षित हुन्छ । मुख्य कुरा संकटको पूर्वआकलन हो । समस्या परेपछि मात्र तात्नेभन्दा पनि पर्नुअघि नै योजना बनाउनु आवश्यक हुन्छ । उदाहरणका लागि ग्यास आपूर्ति कम हुन थाल्दा सरकारले सिलिन्डरमा आधा ग्यास भरेर बेच्ने नीति ल्यायो । विकसित घटनाक्रम अनुसार हामीले आफ्ना योजना परिमार्जन गर्दै लग्यौं र समस्याको पहिलो आकलन गर्‍यौं ।

नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो

त्यसैगरी तेलको मूल्य बढ्ने वा आयात नै घट्ने अवस्था आए यातायात व्यवस्थापनका लागि ‘र्‍यासनिङ’ गर्ने वा गुड्ने गाडीको संख्या घटाउने जस्ता योजना बनाउनुपर्ने हुन्छ । हामी चुनावी सरकार हौं, निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने चरणमा छौं । नयाँ सरकार पूर्णरूपमा आई नसकेको अवस्थामा हामीले बनाएका योजनालाई निरन्तरता दिने र आगामी नेतृत्वलाई टेकओभर गर्दा सहज होस् भन्ने गरी काम गरिरहेका छौं ।

सुरक्षा र शान्ति प्रक्रियामा तपाईंको लामो अनुभव छ । शक्ति राष्ट्रहरू द्वन्द्वमा होमिएका बेला नेपालजस्तो सानो र शान्तिप्रिय देशले कस्तो कूटनीतिक भूमिका खेल्न सक्छ ? हामीले के–कस्ता पहल गरेका छौं ?

नेपालले विश्वमञ्चमा आफ्नो विशिष्ट पहिचान बनाएको एउटा महत्त्वपूर्ण क्षेत्र ‘शान्ति सेना’ हो । अन्य मुलुकको तुलनामा नेपाली शान्ति सैनिकहरूले देखाएको विश्वसनीयता हाम्रो ठूलो शक्ति हो । नेपाल हाल शान्ति सेनामा सबैभन्दा धेरै सैनिक पठाउने मुलुक हो ।

हालै इजरायलले लेबनानस्थित हिजबुल्लाहको आधार इलाका र शान्ति सैनिक मिसनमाथि गरेको आक्रमणको हामीले विरोध गर्‍यौं । भोलि शान्ति सैनिक नै त्यहाँबाट निस्केर हिँड्नुपर्ने अवस्था पनि आउन सक्छ । नेपाल शान्ति सेना पठाउने नम्बर एक देश भएकाले अमेरिकाले पनि शान्ति सेना फिर्ता गर्ने वा राख्ने विषयको छलफलमा नेपाललाई सहभागी हुन पत्र पठाएको छ । यो नेपालका लागि ठूलो अन्तर्राष्ट्रिय मान्यता हो । म परराष्ट्रमन्त्री र पूर्वशान्ति सेना कमान्डरको हैसियतले यो बैठकमा भाग लिन जाने तयारीमा थिएँ, तर युद्धकै कारण त्यो बैठक केही समय पछि सर्‍यो ।

हामीले शक्ति प्रदर्शन गरेर विश्वको ध्यान तान्न सक्दैनौं, हाम्रो सामर्थ्य भनेकै ‘सफ्टपावर’ (सौम्य शक्ति) हो । पञ्चशील, सहनशीलता र तटस्थता हाम्रा आधार हुन् । यसलाई सदुपयोग गरेर हामी मध्यस्थकर्ताका रूपमा नेतृत्वदायी भूमिका खेल्न सक्छौं वा तेस्रो पक्षका रूपमा योगदान दिन सक्छौं ।

इजरायल–प्यालेस्टाइन र रुस–युक्रेन जस्ता युद्धमा नेपालले राष्ट्र संघको प्रस्तावमा कुनै एक पक्षमा मतदान गर्दा ‘असंलग्न नीति’ विपरीत भयो भन्ने टिप्पणी सुनिएको थियो । परराष्ट्रमन्त्रीका रूपमा नेपालका लागि ‘असंलग्नता’ के रहेछ ?

असंलग्नताको शाब्दिक अर्थ कुनै पनि पक्षमा नलाग्नु हो, तर हामी अन्तर्राष्ट्रिय समुदायबाट अलगिएर बस्न सक्दैनौं । हामी कुनै सैन्य गठबन्धनमा छैनौं, तर राष्ट्र संघीय प्रणालीको हिस्सा हौं । हाम्रो परराष्ट्र नीतिको आधार नै संयुक्त राष्ट्र संघको बडापत्र हो । कसैले त्यस बडापत्रको उल्लंघन गर्‍यो भने ‘उल्लंघन’ गरेको कुरा राष्ट्र संघका मञ्चहरूमा भन्नु तटस्थता विरूद्ध हुँदैन ।

हालै इजरायलले लेबनानस्थित हिजबुल्लाहको आधार इलाका र शान्ति सैनिक मिसनमाथि गरेको आक्रमणको हामीले विरोध गर्‍यौं । भोलि शान्ति सैनिक नै त्यहाँबाट निस्केर हिँड्नुपर्ने अवस्था पनि आउन सक्छ ।

तटस्थता एक सापेक्ष शब्द हो । राष्ट्र संघको बडापत्रले सार्वभौमसत्ता र भौगालिक अखण्डताको वकालत गर्छ । उदाहरणका लागि लेबनानमा संयुक्त राष्ट्र संघको अन्तरिम फोर्स (युनिफिल) मा घानाका सैनिकमाथि आक्रमण भयो, जबकि संयुक्त राष्ट्र संघीय फोर्समाथि आक्रमण गर्न पाइँदैन । त्यस्तो बेला हामी चुप बस्न मिल्दैन, घानाका सैनिकलाई परेकाले हामी नबोल्ने भन्ने हुँदैन, किनभने हामी पनि त्यही मिसनको हिस्सा हौं । गलतलाई गलत भन्नु तटस्थता त्याग्नु होइन । हाम्रो आधारभूत मान्यतामा खलल पुग्दा बोल्न पाउनुपर्छ । युद्धमा कुनै एक पक्षको सारथी बनेर लड्नुमात्र संलग्नता हो, जुन हामी गर्दैनौं ।

यो कठिन समयमा तपाईंले छोटो अवधिका लागि मन्त्रालयको जिम्मेवारी पाउनुभयो, जतिबेला सरकारले निर्वाचन जस्तो महत्त्वपूर्ण कार्य सम्पन्न गरेको छ । निर्वाचन सफल बनाउने सन्दर्भमा परराष्ट्र मन्त्रालयको भूमिका कस्तो रह्यो ?

म चुनावी सरकारको परराष्ट्र हेर्ने जिम्मेवारीमा परेँ । केहीअघि यो मुलुकमा चुनाव हुन्छ कि हुँदैन भनेर सर्वेक्षण गरेका थियौं, अधिकांशले ‘चुनाव हुँदैन’ भनेका थिए । त्यसो भन्नुको मुख्य कारण सुरक्षा चुनौतीलाई मानिएको थियो । यो आन्तरिक सुरक्षाको विषय भएकाले गृह मन्त्रालयले नेतृत्व लिनु स्वाभाविक थियो । तर, सुरक्षा निकायले मात्र नभई केन्द्रदेखि स्थानीय तहसम्म राज्यको बलियो उपस्थिति देखाएर जनता, राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त तुल्याउनु आवश्यक थियो । यसका लागि सबै मन्त्रालयले गृहलाई सहयोग गर्‍यौं ।

नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो

परराष्ट्र मन्त्रालयको मुख्य भूमिका अन्तर्राष्ट्रिय समुदायलाई ‘नेपालमा चुनाव हुन्छ’ भनेर आश्वस्त पार्नु र उनीहरूलाई पर्यवेक्षणमा सहभागी गराउँदै आवश्यक सहयोग जुटाउनु थियो । मैले परराष्ट्रमन्त्रीका रूपमा राजदूतहरू, संयुक्त राष्ट्र संघका विभिन्न निकायका प्रतिनिधि र वैदेशिक पाहुनाहरूसँग निरन्तर अन्तर्क्रिया गरेँ । उहाँहरूका मनमा रहेका अनेक संशय र प्रश्नहरूको निवारण गर्दै चुनावप्रति विश्वस्त तुल्याउने प्रयास गरियो ।

विगतको द्वन्द्वका घाउहरू बाँकी नै रहेको, उद्दण्डता मच्चाउनेहरू, जेलबाट भागेकाहरू र लुटिएका हतियारहरू अझै बाहिरै रहेको अवस्थामा चुनाव चुनौतीपूर्ण थियो । तर, हामीले ती सुरक्षा खतरालाई समेत ध्यानमा राखेर विशेष निर्वाचन सुरक्षा योजना बनायौं । कुनै ठाउँमा अप्रिय घटना घटे कुन फौजले कति समयमा ‘रि–इन्फोर्स’ गर्ने भन्नेसमेत सूक्ष्म योजना विदेशी कूटनीतिज्ञहरूलाई देखाएपछि मात्र उहाँहरू आश्वस्त हुनुभयो । यसरी विदेशीहरूको विश्वास जित्ने र सहयोग लिने काममा मन्त्रालय सफल रह्यो ।

चुनाव अगाडि हाम्रा भूराजनीतिक अनुकूलता र प्रतिकूलता के–के थिए ? तिनको व्यवस्थापन कसरी गरियो ?

निर्वाचनको समयमा हाम्रा दुई छिमेकी राष्ट्रहरूको चासो र स्वार्थलाई लिएर हामीले निरन्तर संवाद गर्‍यौं । ‘निर्वाचन हुँदैन’ भन्ने दुवैतर्फको भाष्य चिर्दै निर्वाचन हुन्छ भन्नेमा परिणत गरियो । निर्वाचन हुनु दुवै छिमेकी र नेपालको हितमा छ भन्ने कुरामा उहाँहरूलाई सहमत गरायौं । यो ‘विन–विन’ सिचुएसन हो भन्ने बुझाएपछि उहाँहरूले सकारात्मक भूमिका खेल्नुभयो ।

दक्षिणी छिमेकी (भारत) बाट हामीले सवारीसाधन लगायतका भौतिक सहयोग लियौं । होली र रमदान जस्ता संवेदनशील समयमा चुनाव परेकाले सीमा व्यवस्थापन चुनौतीपूर्ण थियो, तर उहाँहरूले हाम्रो सुरक्षा योजनालाई समर्थन गर्दै पूर्ण सहयोग गर्नुभयो । भारतीय प्रधानमन्त्रीले स्वयं हाम्रो प्रधानमन्त्रीलाई फोन गरेर निर्वाचनमा हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उत्तरी छिमेकी (चीन) बाट पनि हामीले आर्थिक सहयोग प्राप्त गर्‍यौं, जसलाई निर्वाचनका विभिन्न काममा उपयोग गरियो ।

भारतीय प्रधानमन्त्रीले स्वयं हाम्रो प्रधानमन्त्रीलाई फोन गरेर निर्वाचनमा हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उत्तरी छिमेकी (चीन) बाट पनि हामीले आर्थिक सहयोग प्राप्त गर्‍यौं, जसलाई निर्वाचनका विभिन्न काममा उपयोग गरियो ।

यसरी भूराजनीतिक सन्तुलन कायम गर्दै दुवै छिमेकीलाई निर्वाचन प्रक्रियामा सकारात्मक रूपमा संलग्न गराउन हामी सफल भयौं । अर्कातर्फ, युरोपेली र अमेरिकी मुलुकहरूमा पनि नेपालमा लोकतान्त्रिक परिवर्तन र नयाँ पुस्ताको आगमन होस् भन्ने एक प्रकारको नैतिक समर्थन थियो । सबैको सद्भाव र सहयोगले गर्दा नै यसपालि विगतका तुलनामा निकै कम क्षतिमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो ।

हाम्रा दुई ठूला छिमेकीहरूका नेपालप्रतिको खास चासो र चिन्ता के रहेछन् ?

यसमा भू (जमिन) सँग जोडिएका समस्या स्थिर हुन्छन् भने राजनीतिसँग जोडिएका विषय गतिशील हुन्छन् । त्यसैले भूराजनीतिक विषय सधैं एउटै रहँदैनन् । हाम्रा राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्दा छिमेकीका सोचहरू प्रतिकूल छन् भने तिनलाई अनुकूलतामा बदल्नुपर्छ र अनुकूल छन् भने थप सहयोग जुटाउनुपर्छ ।

अहिले विश्व परिस्थिति जटिल छ । एकातिर अमेरिकाले ‘ट्यारिफ’ लाई औजार बनाएर संसारलाई नै प्रभावित पार्ने नीतिहरू लियो । अर्कातिर,  युक्रेन र इरानसँग जोडिएका युद्धहरू नै भइरहेका छन्, जसले विश्वलाई नै असर पारेको छ । पुराना भूराजनीतिक जटिलताहरू यथावत रहँदै गर्दा यी नयाँ संकट थपिएका छन् । यसले गर्दा हाम्रा नीतिहरूमा परिमार्जन आवश्यक देखियो । त्यही अनुसार अल्पकालीन रूपमा हामीले हाम्रा रणनीतिहरू परिमार्जन गर्‍यौं । दीर्घकालीन रूपमा भने युद्धको अवस्था शान्त भएपछि अन्तर्राष्ट्रिय समुदायको व्यवहार कस्तो रहन्छ, सोही अनुसार हामीले द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा आफ्नो रणनीति तय गर्नुपर्छ ।

अहिलेको परिस्थितिले मुलुकको कुटनीति कस्तो हुनुपर्ने माग गर्छ ?

व्यक्तिगत रूपमा मैले के देख्छु भने, अब पुरानो शैलीको ‘प्यासिभ’ (निष्क्रिय) कूटनीतिले काम गर्दैन । अहिले विश्वका शक्ति राष्ट्रहरू ‘अफेन्सिभ स्ट्रयाटेजी’ (आक्रामक रणनीति) लिएर उत्रिन थालेका छन् । यस्तो समयमा हामीले पनि आफ्नो व्यवहार, आचरण र नीतिमा समयानुकूल परिवर्तन ल्याउनुपर्छ । बदलिँदो समय अनुसार अरूलाई आफ्नो हितमा ल्याउन सक्नु नै हाम्रो कूटनीतिक सफलता हुनेछ । आगामी दिनमा यो चुनौती झनै प्रगाढ भएर आउने निश्चित छ ।

नेपालमा समयमै निर्वाचन सम्पन्न गराउन र नयाँ सरकार गठनको वातावरण बनाउन चीन र भारत दुवैको सहमति र सहयोग देखियो । फरक स्वार्थ भएका दुई देशबीच यो साझा समझदारी बन्नुको मुख्य कारण के होला ?

नेपालप्रति चीन र भारत दुवैका आ–आफ्नै राष्ट्रिय स्वार्थहरू छन् । तर, जबसम्म यो मुलुक राजनीतिक रूपमा स्थिर हुँदैन र एउटा भरपर्दो राष्ट्रका रूपमा विकास हुँदैन, तबसम्म उहाँहरूको हित पनि सुरक्षित हुँदैन भन्ने बुझाइ उनीहरूको थियो । त्यसैले दुवै छिमेकीले नेपालमा स्थायित्व खोजेका थिए । विगतमा सरकारहरू वर्ष–डेढ वर्षमै परिवर्तन भइरहने अस्थिरताबाट छिमेकीहरू आजित भइसकेका थिए । एक सरकारसँग एउटा सहमति गर्‍यो, कार्यान्वयन नहुँदै अर्को सरकार आइसकेको हुन्थ्यो ।

यो अस्थिरता र सत्ताको अंकगणितीय खेलबाट हामी आन्तरिक रूपमा पनि थकित थियौं । त्यसैले छिमेकीहरूले नेपालमा एउटा स्थिर सरकार बनोस्, जसले गरेका सम्झौताहरू कार्यान्वयन हुने सुनिश्चितता होस् र दीर्घकालीन विश्वास आर्जन गर्न सकियोस् भन्ने चाहनुभयो । यही साझा चाहनाले उहाँहरूलाई निर्वाचनको पक्षमा उभिन र सहयोग गर्न प्रेरित गरेको हो ।

यसपालिको निर्वाचन परिणामलाई लिएर केही ‘कन्स्पिरेसी थ्योरी’ वा भूराजनीतिक प्रश्नहरू पनि उठाइएका छन् । जस्तै, कुनै निश्चित दल वा शक्तिलाई कुनै खास देशको आडभरोसा थियो भन्नेजस्ता टिप्पणी सुनिन्छन् । यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?

टिप्पणी जसले जे गरे पनि अन्तत: उम्मेदवार र मतदाता दुवै नेपाली नै हुन् । जुन हिसाबले नेपाली मतदाताले कुनै लोभ वा दबाबमा नपरी नेतृत्व र दल परिवर्तनको चाहना राखेका थिए, आफ्नो मतमार्फत त्यो गर्न पाए । यस पटक मतदाताले आफ्नो विवेकले दल रोजे ।

नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो

अब रोजिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो ‘डेलिभरी’ (कार्यसम्पादन) गर्छ, त्यसमा धेरै कुरा निर्भर गर्छ । यदि उहाँहरूले आफ्नो घोषणापत्र अनुसार सेवा प्रवाहमा सुधार ल्याउने, भ्रष्टाचार नियन्त्रण गर्ने र आन्तरिक रूपमा एकजुट भएर जनताको आकांक्षा पूरा गर्ने दिशामा काम गर्नुभयो भने यस्ता ‘थ्योरी’ हरू आफैं हराएर जान्छन् । नेपाली नागरिकले स्वविवेकले दिएको मतलाई कसैको इशारामा भएको मान्न सकिँदैन । नेपालका सबै नागरिक बिकेर भोट दिएका थिए भनेर म चाहिँ पत्याउँदिनँ ।

हाम्रो कूटनीति असन्तुलित हुँदै गएको र दल विशेषको सरकार हुँदा कुनै खास देशतर्फ ‘टिल्ट’ हुने (झुक्ने) गरेको आरोप लाग्ने गर्छ । एक स्वतन्त्र विश्लेषण गर्दा तपाईंलाई के लाग्छ ?

विगतमा त्यस्तो भएको हुन सक्छ । हाम्रा राजनीतिक दलहरू दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा केन्द्रित भइदिएको भए हाम्रो परराष्ट्र नीति एउटै हुन्थ्यो । कांग्रेस, एमाले वा माओवादी जो सरकारमा आए पनि परराष्ट्र नीतिमा भिन्नता देखिनु भनेको हामी अझै दलगत घेराभन्दा माथि उठ्न नसक्नुको प्रमाण हो । यो दल आउँदा परराष्ट्र नीति यता ढल्कने, अर्को दल आउँदा उता ढल्कने हुनु भनेको दुर्भाग्यपूर्ण हो ।

कांग्रेस, एमाले वा माओवादी जो सरकारमा आए पनि परराष्ट्र नीतिमा भिन्नता देखिनु भनेको हामी अझै दलगत घेराभन्दा माथि उठ्न नसक्नुको प्रमाण हो । यो दल आउँदा परराष्ट्र नीति यता ढल्कने, अर्को दल आउँदा उता ढल्कने हुनु भनेको दुर्भाग्यपूर्ण हो ।

अबको आवश्यकता भनेको जोसुकै सत्तामा आए पनि परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिमा अडिग हुनु र एकरूपता रहनु हो । राष्ट्रिय स्वार्थ कहिल्यै परिवर्तन हुँदैन, केवल त्यसलाई कार्यान्वयन गर्ने शैली फरक हुन सक्छ । अबको नयाँ परिस्थितिमा सरकार बनाउने दलले नीति निर्माण गर्दा दलभन्दा माथि उठेर सोचिदियो भने भोलि अरू दलले पनि त्यसलाई नै अघि बढाउनुपर्छ, त्यसो भयो भने हाम्रो कूटनीति थप बलियो र सन्तुलित हुनेछ ।

तपाईंले पदबहालीकै दिन नेपाल ‘हार्ड पावर’ नभई ‘सफ्ट पावर’ (सौम्य शक्ति) मा केन्द्रित हुनुपर्ने निर्णय गर्नुभएको थियो । नेपालले सफ्ट पावरमा जोड दिनुपर्ने आधार के हो ?

मेरो पहिलो निर्णयमा सौम्यशक्ति र आरोग्यतासम्बन्धी विषय परेको थियो । ‘आरोग्यता दिवस’ मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लग्ने निर्णयमा मैले सही गरेको थिएँ । आरोग्यता हाम्रो ‘ओरिएन्टल’ वा जीवनशैली भएकाले त्यसले अरूलाई पनि फाइदा हुन्छ भनेर त्यसो गरिएको थियो । त्यो प्रस्तावलाई संयुक्त राष्ट्र संघको महासभाले अनुमोदन गर्‍यो । अप्रिल १५ लाई आरोग्य दिवसका रूपमा मनाउने निर्णय भयो । यो विषयलाई अब १ सय ९३ देशले नै समर्थन गरे । यो नेपालको ठूलो कूटनीतिक सफलता हो ।

युद्ध लडेर वा सैन्य शक्ति प्रदर्शन गरेर हामीले विश्वको ध्यान खिच्न सक्दैनौं । त्यो हाम्रो आवश्यकता पनि होइन । तर मध्यस्थता, शान्ति स्थापना र मानवीय सेवाका क्षेत्रमा उच्च स्तरको नेतृत्व प्रदान गरेर हामीले संसारको सहानुभूति र सम्मान आर्जन गर्न सक्छौं । सफ्ट पावरले शान्ति र समृद्धिका लागि विश्वव्यापी स्वीकार्यता बढाउँछ । हामीले यिनै मौलिक सामर्थ्य उजागर गर्न सक्यौं भने नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा थप उँचो हुनेछ ।

हाम्रो परराष्ट्र मन्त्रालयको कूटनीतिक क्षमतामाथि धेरै प्रश्न उठ्ने गरेका छन् । कूटनीति ‘प्रो–एक्टिभ’ हुनुपर्नेमा हाम्रो परराष्ट्र सेवाले प्रभावकारी डेलिभरी गर्न सकेन भन्ने आरोप छ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ र यसमा सुधारका लागि के गर्नुपर्ला ?

परराष्ट्र सेवा भनेको देश बाहिर गएर राष्ट्रको प्रतिनिधित्व गर्ने एक विशिष्ट कला हो, जुन अभ्यासबाट मात्र खारिन्छ । त्यसैले परराष्ट्र सेवामा शाखा अधिकृतदेखि माथिल्लो तहसम्म विभिन्न दूतावासमा काम गरेर अनुभव प्राप्त गरेका व्यक्तिहरूलाई मात्र राजदूतको जिम्मेवारी दिने विश्वव्यापी अभ्यास छ ।

तर, हामीले के गर्‍यौं भने परराष्ट्रका क्याडरहरूलाई भन्दा राजनीतिक व्यक्तिहरूलाई प्राथमिकता दियौं । राजदूत नियुक्तिमा ५०–५० प्रतिशतको भागबन्डा गर्‍यौं । जुन संस्थाले शतप्रतिशत व्यावसायिक नेतृत्व दिनुपर्थ्यो, त्यहाँ अनुभवविहीन व्यक्तिहरू पुगे । कुनै प्राध्यापक वा स्वयंसेवक विलक्षण प्रतिभाको हुन सक्नुहुन्छ, तर कूटनीतिक ‘ग्रुमिङ’ र ‘एक्स्पोजर’ विना सफल हुन गाह्रो हुन्छ । राजदूत बन्न अंग्रेजी बोल्न जान्नु वा काँटा–चम्चा चलाउन जान्नुमात्र पर्याप्त होइन, विदेशमा रहँदा हरेक क्षण राष्ट्रको गरिमा बोक्नुपर्ने हुन्छ । पछिल्लो समय कतिपय राजदूतलाई फिर्ता बोलाउनुपर्‍यो, राष्ट्रको चाहना विपरीत काम गरेका कारण फिर्ता बोलाउनुपर्ने परिस्थिति समेत सिर्जना भयो ।

नेपालको प्रस्तावमा अप्रिल १५ लाई आरोग्य दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र संघ महासभाले गर्‍यो । यो नेपालको ठूलो कूटनीतिक सफलता हो ।

हो, कतिपय राजनीतिक नियुक्तिमा विशिष्ट प्रतिभा भएका व्यक्तिहरू पनि हुन्छन्, जसले नेपाललाई अब्बल रूपमा प्रस्तुत गर्न सक्छन्, उनीहरूलाई रोक्नु हुँदैन । तर, राजनीतिक भागबन्डाका नाममा अनुभवहीन व्यक्तिहरू पठाउँदा समग्र परराष्ट्र सेवाको मनोबल खस्कन्छ र मुलुकको छविमा प्रतिकूल असर पर्छ । यसमा सन्तुलन कायम गर्नु अपरिहार्य छ ।

सरकार परिवर्तनपिच्छे राजदूतहरूलाई फिर्ता बोलाउने र नयाँ पठाउने अभ्यासले राजदूत राष्ट्रको नभई पार्टीको प्रतिनिधि जस्तो देखियो । अहिले पनि धेरै राजदूतहरू फिर्ता भएर मन्त्रालयमा हाजिर गरिरहेका छन् । यो दृश्यलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

यो दृश्य देख्दा मलाई दु:ख लाग्छ । परराष्ट्र जस्तो संवेदनशील निकाय हुकुमत भन्दा पनि नियम–कानुनबाट चल्नुपर्छ । अदालतको फैसलालाई हामीले मान्नुपर्छ, तर अर्को पाटो नैतिकता पनि हो । यदि कोही राजनीतिक नियुक्तिको आधारमा गएको हो भने, जुन सरकारले पठाएको हो त्यो सरकार नरहेपछि नैतिकताका आधारमा स्वस्फूर्त रूपमा मार्ग प्रशस्त गरिदिनुपर्थ्यो । यति पनि कूटनीतिक नैतिकता देखाउन सकिएन भने अन्य कुराको आशा कसरी गर्ने ?

हामी आर्थिक कूटनीतिको कुरा धेरै गर्छौं, तर व्यवहारमा लाभ लिन सकेका छैनौं । त्यो किन भएको होला ?

आर्थिक कूटनीति सफल हुनका लागि आन्तरिक र वाह्य दुवै पक्ष सुधारिनुपर्छ । पहिलो त, हाम्रो पैसा व्यवस्थापन गर्ने क्षमतामै कमजोरी रहेछ । मन्त्रालयहरूले बजेट खर्च गर्न नसक्ने गरी बनाइएका आर्थिक नियमहरू ‘फल्टी’ (त्रुटिपूर्ण) छन् । यो नियमबाट लाभ लिनेहरूले परिवर्तन चाहँदैनन् । अब आउने नयाँ नेतृत्वले यस्ता नियममा ‘मेजर सिफ्ट’ ल्याउन जरुरी छ ।

हामी वैदेशिक लगानी भित्र्याउने कुरा त गर्छौं, तर हाम्रा आर्थिक नियमहरू लगानीमैत्री छैनन् । कोही लगानीकर्ता आफैं डुब्ने गरी नेपालमा आउँदैन । यहाँको ‘रेड टेपिज्म’ यति खराब छ कि एउटा टेबुलबाट अर्कोमा फाइल सर्न महिनौं लाग्छ । जबसम्म आन्तरिक रूपमा सुधार हुँदैन र लगानीकर्ताले यहाँ नाफा कमाउने र त्यो नाफा फिर्ता लैजाने वातावरण सुनिश्चित हुँदैन, तबसम्म बाहिरबाट लगानी आउँदैन ।

आर्थिक समृद्धिका लागि बेच्ने कुरा केही छैन, लगानी पनि ल्याउन नसक्ने ? हामी समृद्धिको बाटोमा हिँडेकै छैनौं ।

हामीले कृषिमा आत्मनिर्भर बन्नुपर्छ, आयातित वस्तुलाई भन्दा आफ्नै उत्पादनलाई सस्तो बनाउनुपर्छ । उद्योगधन्दाहरू धराशायी छन्, जसले गर्दा युवाहरू पलायन भइरहेका छन् । पर्यटन र जलविद्युत् क्षेत्रमा पनि हामीले ठोस काम गर्न सकेका छैनौं । नेपाल सानो देश हो, जनसंख्या र भूगोलका हिसाबले हामीले चाहे १०–१५ वर्षमै ठूलो परिवर्तन ल्याउन सक्छौं, तर त्यसका लागि इमानदार प्रयास आवश्यक छ ।

नेपालमा विदेशी हस्तक्षेप बढ्यो भन्ने भाष्य सुनिन्छ । तपाईंले सैन्य र परराष्ट्र दुवै सेवाबाट हेर्दा के यो हस्तक्षेप साँच्चै छ कि यो हाम्रो लघुताभास मात्र हो ?

विदेशी हस्तक्षेप भयो भन्नुु धेरै हदसम्म हाम्रो लघुताभास हो । विदेशीले सहयोग नगरेसम्म केही हुँदैन भन्ने एउटा गलत भाष्य बनाइएको छ । यदि तपाईं आन्तरिक रूपमा बलियो हुनुहुन्छ र छिर्ने ठाउँ दिनुभएन भने कसैले हस्तक्षेप गर्न सक्दैन । विदेशीको प्रभाव देखिनुमा उनीहरू आउन खोजेको भन्दा पनि हामी आफैंले लगेर बुझाएको अवस्था बढी छ । हामी आफैं स्पष्ट र अडिग नभएसम्म अरूले खेल्ने मौका पाउँछन् ।

राहदानीको समस्याले जनता धेरै पीडित छन् । यो सेवालाई हामीले किन व्यवस्थित गर्न नसकेका हौं ?

यो बजेट व्यवस्थापन र कार्यक्षमताको असन्तुलनको परिणाम हो । परराष्ट्र मन्त्रालयमा बजेट अभाव छ, तर अर्थ मन्त्रालयले समयमा स्रोत उपलब्ध गराउँदैन । अहिलेको माग दैनिक करिब २५ सय राहदानीको छ, तर हाम्रो वितरण क्षमता १ हजार हाराहारीमा मात्र सीमित छ । यो ‘बोटलनेक’ (अवरोध) हटाउन स्रोत र साधनको न्यायिक बाँडफाँट हुन जरुरी छ । प्रधानमन्त्री र मन्त्रिपरिषद्ले कुन क्षेत्रमा बढी खर्च गर्नुपर्ने हो, त्यसलाई प्राथमिकता दिनुपर्छ । राहदानी जस्तो आधारभूत सेवामा बजेट अभाव देखाएर जनतालाई सास्ती दिनु हुँदैन । हामी यसमा सुधारका लागि प्रयास गरिरहेका छौं ।

विशिष्ट परिस्थितिमा मन्त्री बन्नुभयो र छोटो समयपछि नै नयाँ सरकार र नयाँ परराष्ट्रमन्त्रीलाई जिम्मेवारी हस्तान्तरण गर्दै हुनुहुन्छ । यो अनुभवका आधारमा नयाँ परराष्ट्रमन्त्रीलाई ‘टु द प्वाइन्ट’ के–के सुझाव दिन चाहनुहुन्छ ?

पहिलो कुरा त, परराष्ट्रमन्त्री फेरिएपिच्छे हाम्रो परराष्ट्र नीति बदलिनु हुँदैन । नीति स्थिर रहनुपर्छ । परराष्ट्र नीति मन्त्रालय एक्लैले विकसित गर्ने विषय होइन, यो राज्यले तय गर्ने हो, मन्त्रालय त त्यसलाई कार्यान्वयन गर्ने एजेन्टमात्र हो । राज्यले नीतिलाई सुदृढ बनाइदियो भनेमात्र मन्त्रालयले त्यसलाई अन्तर्राष्ट्रिय जगतमा प्रभावकारी रूपमा लैजान सक्छ ।

दोस्रो कुरा, नीति तय भएपछि त्यसको कार्यान्वयन र कूटनीतिक कौशल महत्त्वपूर्ण हुन्छ । कूटनीति भनेको ‘हुँदैन’ भन्नुपर्ने कुरालाई पनि मिठो शैलीमा व्यक्त गर्न सक्ने कला हो । हाम्रा ठोस एजेन्डा छन् भने तिनलाई उचित ढंगले अगाडि बढाउनुपर्छ । परराष्ट्र मन्त्रालय आफैंले नीति उब्जाएर हिँड्नेभन्दा पनि राज्यको मूल नीतिलाई ‘क्यारी’ गर्ने निकाय हो भन्ने बुझ्नुपर्छ ।

युद्ध लडेर वा सैन्य शक्ति प्रदर्शन गरेर हामीले विश्वको ध्यान खिच्न सक्दैनौं । सफ्टपावरले नै हाम्रो विश्वव्यापी स्वीकार्यता बढाउँछ ।

नयाँ परराष्ट्रमन्त्रीका लागि मेरो सुझाव के छ भने, अहिलेको वैश्विक परिवेशमा हामीले विगतमा अवलम्बन गरेको परराष्ट्र नीति र परम्परागत शैलीमात्र पर्याप्त नहुन सक्छ । हाम्रा छिमेकीहरूले आफ्ना नीति र कार्यशैली परिवर्तन गरिसकेका छन्, त्यसैले हामी पनि समयसापेक्ष बदलिनु आवश्यक छ । हिजोको जस्तो ‘सफ्ट’ शैलीमा मात्र प्रस्तुत भएर पुग्दैन, अचेल कूटनीतिज्ञहरू अलि बढी प्रभावकारी र स्पष्ट ढंगले प्रस्तुत हुन थालेका छन् । उदाहरणका लागि अमेरिकाले अहिले अवलम्बन गरेको ‘आर्थिक कूटनीति’ हेर्न सकिन्छ । त्यसैले हामीले पनि विश्व समुदायले कूटनीतिक अभ्यासमा ल्याएको परिवर्तनलाई नजिकबाट नियाल्दै आफूलाई परिमार्जन गर्नुपर्छ ।

संसारभरि छरिएका नेपालीहरूबाट सूचना लिएर आफ्नो नीति र अभ्यास दुवैमा सुधार गर्नुपर्छ । तत्कालका लागि मध्यपूर्वको युद्धको सन्दर्भमा हामी कसरी प्रस्तुत हुने, हाम्रा नागरिकलाई कसरी सुरक्षित फिर्ता ल्याउने र रेमिट्यान्समा पर्ने असरलाई कसरी कम गर्ने भन्नेतर्फ केन्द्रित हुनुपर्ला । अर्कातर्फ, अन्तर्राष्ट्रिय समुदायमा हाम्रो ठूलो शक्ति भनेको ‘शान्ति सैनिक’ हो । यसमा आइपर्ने चुनौती र हाम्रो ‘सफ्ट पावर’ (सौम्य शक्ति) लाई कसरी प्रवर्द्धन गर्ने भन्नेमा पनि ध्यान दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, जुनसुकै दल सत्तामा आए पनि सबैले मान्ने गरी एउटा साझा राष्ट्रिय परराष्ट्र नीति तर्जुमा गर्न सकियो भने त्यो ठूलो उपलब्धि हुनेछ ।

अहिले विश्वका धेरै देशहरू ‘इनवार्ड लुकिङ’ (आफैंतिर केन्द्रित) भइरहेका छन् । यस्तो अवस्थामा नेपालजस्ता साना मुलुकहरूले ‘मल्टिल्याटरलिज्म’ (बहुपक्षीयतावाद) बाटै फाइदा लिनुपर्छ । यदि हामी यसबाट बाहिर रह्यौं भने नोक्सानमात्र हुन्छ । तर, बहुपक्षीय मञ्चहरूमा प्रवेश गर्नुअघि हामीले पर्याप्त गृहकार्य गर्नुपर्छ । गृहकार्यविना जाँदा हामीले केही सिक्न त सकिएला, तर ठोस प्रतिफल हासिल गर्न सकिँदैन । त्यसैले केवल सिक्नेमात्र होइन, नतिजा निकाल्ने गरी तयारीका साथ प्रस्तुत हुनुपर्छ ।

नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो





Source link

Leave a Comment