मनोबनौटशास्त्रमा एक दुर्लभ तथा रोचक अवधारणा छ-मोरल रेसिस्टेन्स अर्थात् ‘नैतिक प्रतिरोध’ को । यो अवधारणा के हो र समकालीन नेपालमा यसको औचित्य किन बढ्दो छ मात्र हैन, किन अपरिहार्य हुँदै गएको छ भन्ने विषयमा चर्चा गर्नु यस आलेखको मूल ध्येय हो ।
तर, विषय-प्रवेश गर्नुअघि एक उत्तिकै सान्दर्भिक तथा सामयिक दृष्टान्तको चर्चा गर्न चाहन्छु ।
यो वर्ष फेब्रुअरी १६ मा रूसी विपक्षी नेता अलेक्सेई नाभाल्नी जेलमै मारिए । भन्न त कैदमा उनको स्वास्थ्य बिग्रियो भनियो । नाभाल्नीको निधनको केही दिनपछि राष्ट्रपति भ्लादिमिर पुटिनले संवेदना प्रकट गर्दै औपचारिकता पनि निभाए । उनको हत्या गर्ने राज्यको कुनै योजना थिएन र त्यो एक दुःखद् घटना मात्र थियो भन्ने सन्देश विश्वलाई दिन चाहे ।
पुटिनको स्पष्टीकरण ‘पानीमाथिको ओभानो’ हुने ‘शासकीय नौटंकी’ मात्रै थियो । नाभाल्नीमाथि भएका दमन र पृष्ठभागका अन्य घटनाक्रमले त्यो दाबी पुष्टि हुँदैनथ्यो । यदि त्यसो हुन्थ्यो त कमजोर स्वास्थ्य भएका नाभाल्नीलाई ‘ध्रुवीय दण्डगृह’ पठाउनुपर्ने आवश्यकता नै थिएन ।
नाभाल्नी ४७ वर्षका मात्र थिए । सन् २०२० मा उनलाई झुक्याएर विष पिलाइएको थियो र उनी जर्मनीमा लामो उपचारपछि देश फर्किएका थिए । उनलाई धेरैले रूस नफर्किन भनेका थिए । तर, उनी फर्किए ।
रूसी सत्ताले उनलाई बारम्बार मार्ने प्रयत्न गर्दै आएको थियो । पछिल्लो पटक जर्मनीबाट नफर्किएका भए उनी बाँच्न सक्थे । तर, उनी निर्वासित हुन वा देशभित्रको राजनीतिक संघर्षबाट पलायन हुन, भाग्न चाहेनन् ।
नाभाल्नीलाई भलिभाँती थाहा थियो कि ‘निर्वाचित तानाशाह’ राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्धको राजनीतिक संघर्ष सहज छैन । त्यो पनि युक्रेन युुद्ध लम्बिरहेको र रूसी जनतामा अन्धराष्ट्रवादको प्रेत जागेको कालखण्डमा । तर, पनि नाभाल्नी विदेशमा बस्न चाहेनन् ।
नाभाल्नीले करिब २० वर्षको उमेरदेखि विपक्षी राजनीतिमा सक्रियता देखाउन थालेका थिए । रूसी जनता बीच विपक्षी चेतनाको विस्तार गरिरहेका थिए । कुनै दिन राष्ट्रपतिको निर्वाचनमा कसैले पुटिनलाई कडा चुनौती दिन सक्छ भने नाभाल्नीले सक्दछन् भन्ने विश्वास बढ्दै गएको थियो । उनले लोकतन्त्रका विश्वव्यापी मान्यता र वर्तमान रूसी प्रणाली बीचको विरोधाभासको भण्डाफोर गर्ने गरेका थिए । भ्रष्टाचार विरोधी आन्दोलनलाई तीव्र गति दिएका थिए ।
सन् २०१० यता नाभाल्नी एकमात्र त्यस्ता विपक्षी नेता बनेका थिए जसको आह्वानमा रूसी सडकमा लाखौंको सत्ता विरोधी जनप्रदर्शन हुन सक्थ्यो । यो क्षमता तथा विश्वसनीयता नाभाल्नी बाहेक अरू कुनै राजनीतिक दल वा नेतामा बाँकी थिएन ।
नाभाल्नीको मृत्यु भएको भोलिपल्ट बिहान म एक लेख पढ्दै थिएँ-नाभाल्नीबारे लियोनिद रागोजिनको द्रुत शोक आलेख जस्तो । रागोजिन लात्भियन हुन्, रिगा बस्छन् । लात्भिया पूर्व सोभियत गणराज्य हो । तसर्थ रिगास्थित एक पत्रकारले रूसी राजनीतिका अन्तरकुन्तर नबुझ्ने कुरै भएन । उनले मस्कोमा बसेर लामो समय पत्रकारिता गरेका रहेछन् ।
रागोजिनले नाभाल्नीको जीवनका अनेक पाटा, भाग्य, दुर्भाग्यका कथाको छोटो विवरण दिएका थिए । उनले भोगेका दुःख, पीडा, अपमान, दमनको कथा निकै दुर्दान्त थियो नै तर, विमर्शको बलियो पाटो भने-मारिन सक्दछु भन्ने थाहा हुँदाहुँदै, राज्यले बारम्बार मार्ने प्रयत्न गरेको ज्ञान हुँदाहुँदै, धेरैले उपचारपछि देश नफर्किन अनुरोध गर्दागर्दै नाभाल्नी किन रूस फर्किए ? किन उनले विपक्षी राजनीतिक सक्रियता कायम राखे ?
कुनै एक समयको क्रान्तिकारी योद्धा वा दल अर्को समयमा क्रान्तिकारी र जनमुखी नै रहन्छ भन्ने ग्यारेन्टी छैन । यदि त्यसो हुन्थ्यो त दुनियाँमा बारम्बार क्रान्तिको आवश्यकता नै पर्ने थिएन । नैतिक प्रतिरोध इतिहासको कुनै एक कालखण्डमा गरे पुग्थ्यो, सबै कालखण्डमा यो परम्परा कायम राख्न पर्थेन
जीवनको मोह किन राखेनन् उनले ? पश्चिमा सञ्चारमाध्यमले त नाभाल्नीलाई ‘रूसी समाजमा नयाँ नेल्सन माण्डेला जन्मिंदै’ भन्न भ्याएका थिए । पश्चिम युरोपका जुनसुकै देशले उनलाई शरण मात्र हैन, संरक्षण नै दिन्थे । तर पनि उनले आफ्नै भूमि र मृत्यु किन रोजे ? के मान्छे चेतनाको कुनै विन्दुमा पुगेपछि आफ्नै जीवनप्रति अनासक्त हुन सक्दछ ? मृत्यु-भय भन्दा माथि के त्यस्तो कुनै भावना हुन्छ जसले अमरत्वको अनुभूति दिन्छ ?
रागोजिनले प्रस्तुत गरेका तथ्य र विश्लेषण, उठाएका प्रश्नले मात्र मेरो धीत मरेन । अझ बढी खुल्दुली बढायो । मन बेचैन भएर आयो । कतिपय प्रश्नहरू अनुत्तरित नै रहे जस्तो लाग्यो । केही दिनपछि एक लामो निबन्ध भेटें इगोर टोर्भाकोभको- स्टकहोम सेन्टर फर इस्टर्न युरोप स्टडिजको बेबसाइटमा । टोर्भाकोभ यो सेन्टरका एक अध्येता रहेछन् ।
रागोजिनले अनुत्तरित छोडेका कतिपय प्रश्नहरूको उत्तर यसमा भेटियो । टोर्भाकोभ भन्छन् कि रूसी समाजमा ‘नैतिक प्रतिरोध’ को लामो कथा छ । नाभाल्नीले जुन जीवन र मृत्यु रोजे, त्यो त्यही नैतिक प्रतिरोधको परम्पराबाट आएको एक शक्ति हो । रूसी नैतिक प्रतिरोध परम्पराको निरन्तरता वा नयाँ अध्याय हो ।
यस्तो ताकत मान्छेमा बौद्धिक तथा आध्यात्मिक शक्तिबाट आउँछ । खाँटी सार्वजनिक बौद्धिकहरू सधैं राज्यशक्तिको लोकाचार विरुद्ध हुन्छन् । तिनले मानवता र मानवीय सौन्दर्य चिन्तनलाई राज्यको शक्तिभन्दा ठूलो शक्ति मानेका हुन्छन् । जसले यस्तो शक्तिको सर्वोच्चतालाई आत्मसात् गर्दछ, तिनका लागि राज्य र निरंकुश शासकहरूको शक्ति एक परिहास मात्र हो ।
बौद्धिक तथा आध्यात्मिक चेतनास्तरबाट मान्छे जति माथि जान्छ, त्यसै नै सत्यको फराकिलो रूप देखिन्छ । परमात्माको विराट रूप भेटिन्छ । सत्यको फराकिलो चमक र परमात्माको विराट रूपको साक्षात्कार अगाडि शासकहरू ‘वामपुड्के’ मात्र हुन् । सत्यको शक्ति अगाडि शासकहरूको शक्ति समुद्र अगाडि एक थोपा बराबर हो । मान्छे जब यो चेतमा पुग्छ- सबै भय समाप्त हुन्छन् र, नाभाल्नीहरूको जन्म हुन्छ ।
टोर्भाकोभ यो लेख्छन् कि पुटिन मात्र हैनन्, रूसी राज्यको इतिहासमा अधिकांशतः कठोर, निर्दयी, निरंकुश र अमानवीय नेतृत्वको उदय भएको छ । राजतन्त्रकालीन पिटर द ग्रेट, क्याथरिन द्वितीय वा निकोलस द्वितीय हुन् वा साम्यवादी कालखण्डका जोसेफ स्टालिन, ती अहिलेका पुटिनभन्दा कम निरंकुश, खतरनाक, अमानवीय र आततायी थिएनन् ।
अर्को तरिकाले भन्दा पुटिन आफैैंमा केही हैनन्, रूसी इतिहासका पुनरावृत्ति मात्र हुन् । रूसी समाज, सभ्यता र सत्ताको एउटा पाटो निरंकुशता हो । दमन हो । अत्याचार हो । यो नाभाल्नीमाथि मात्र घटित भएको हैन । जारको शासनकालमा फाँसी दिइएका लेनिनका दाजु अलेक्सेन्द्र भन्नु, स्टालिन शासनकालमा ‘कुमुर्नाका किलिङ फिल्ड’मा गोली हानिएका उनकै कमरेड बुखारिन भन्नु र पुटिन शासनकालमा नाभाल्नी मारिनु एउटै घटनाको पुनरावृत्ति हो ।
समय र व्यक्ति फरक हुन् । प्रवृत्ति उनी हो । अर्थात् पिटर, क्याथरिन, स्टालिन र पुटिन एउटा परम्परा हो । अलेक्सेन्द्र, बुखारिन, नाभाल्नी अर्को परम्परा हुन् ।
आज केही मान्छेले फेरि एकपटक यो देशमा आफूलाई शक्तिहीन वा कमजोर हुन राजी पार्नु परेको छ । किनकि नैतिक प्रतिरोधको परम्परालाई कायम राखेर यो कालखण्डको इतिहास र सभ्यताको अधुरो भागलाई पूरा गर्नु परेको छ
टोर्भाकोभ अगाडि भन्छन्-रूसमा शासक र योद्धाहरू बीच सौन्दर्य चिन्तकको तेस्रो परम्परा छ, रूसी दार्शनिक, लेखक तथा कलाकर्मीहरूले निर्माण गरेको । त्यति कठोर र निरंकुश शासकहरूको देशमा लियो टोल्सटोई, आन्तोन चेखब, फ्योदोर दोस्तोभस्की, म्याक्सिम गोर्की र आन्द्रेई साखारोभ जस्ता महान् लेखक तथा साहित्यकारहरू किन र कसरी जन्मिन सके होला ?
टोर्भाकोभलाई लाग्छ कि यही नै ‘नैतिक प्रतिरोध’ को बौद्धिक स्रोत हो । र यसको आध्यामिक स्रोत धर्म सुधारकालीन चर्च र पोपहरूले निर्माण गरेका थिए ।
अन्ततः यो प्रश्न उठ्छ- रूसी सभ्यताको यथार्थ कुन हो ? पिटर, क्याथरिन, स्टालिन र पुटिनको इतिहास वा अलेक्सेन्द्र, बुखारिन र नाभाल्नीको इतिहास वा टोल्सटोई, चेखब, दोस्तोभस्की, गोर्की र साखारोभको इतिहास वा धर्म सुधारकालीन चर्च र पोपहरूको इतिहास ?
अन्ततः यो निष्कर्ष निस्कन्छ कि नैतिक प्रतिरोध विना सभ्यता अधुरा हुन्छन् । सभ्यता शासकको शक्ति मात्र हैन, अध्यात्म, बौद्धिकता, कला र नैतिक प्रतिरोधको एक विशाल महाकाव्य हो । जब कुनै समाजले नैतिक प्रतिरोधको परम्परा परित्याग गर्दछ, सभ्यता निरंकुश र आततायी शासकहरूको नाङ्गो नृत्य मैदान मात्र बन्न पुग्दछ ।
नाभाल्नीले पुटिनको खतरनाक शासनकालमा विपक्षी राजनीतिको बिंडो मात्र थामिरहेका थिएनन्, चेतन, अवचेतनमा देशको इतिहास, विरासत र सभ्यताको बिंडो पनि थामिरहेका थिए । उनी नयाँ युगमा नयाँ प्रकारको नैतिक प्रतिरोध गरिरहेका थिए । आफ्नो कालखण्डको सभ्यताको इतिहास अधुरो र खल्लो नहोस् भनेर त्यसलाई पूर्णता दिइरहेका थिए ।
नैतिक प्रतिरोध ‘शक्तिरूप समूह-कार्य’ हैन । यो कमजोर भनिएकाहरूले गर्ने एकल वा क्षीण समूह कार्य हो । तत्काललाई कमजोर भनिएकाहरूको शक्ति जो इतिहास र सभ्यतामा शक्तिशाली भनिएकाहरूको शक्तिभन्दा बढी शक्तिशाली र सशक्त रूपमा दर्ज हुन्छ, हुँदै आएको छ र हुनेछ-त्यसैलाई ‘नैतिक प्रतिरोध’ भनिन्छ । नेपालमा पनि ठीक यही कुरा हो ।
शासकीय इतिहासबाट हेर्दा नेपाल कहिल्यै राम्रो थिएन । न शाहवंशीय राजतन्त्र राम्रो हो न राणाशासन । न निर्दलीय पञ्चायती व्यवस्था राम्रो हो न २०४६ पछिका कांग्रेस-एमालेको अघोषित द्वि-दलीय प्रणाली । न जनआन्दोलन २०६२/६३ र मधेश जनविद्रोहपछि कुनै गुणस्तरीय शासन प्रशासन भयो र अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधानपछि नै छ ।
आफ्नै जीवनकालमै मैले ५ वटा ठूला राजनीतिक कालखण्ड भोगें । पहिलो-२०३६-२०४६ को अवधि मण्डलेतन्त्रको बिगबिगीको समयखण्ड थियो ।
यो कालखण्डमा दैनिक मूर्तिचोरी र हेरोइन तथा सुन तस्करीको समाचार सुन्नुपथ्र्यो । डिबी लामा, भरत गुरुङ काण्ड यही अवधिमा भए । नमिता-सुनिता काण्ड यही अवधिमा भयो । वनजंगलको व्यापक अवैध फडानी र वन्यजन्तुको निषेधित अंगहरूको व्यापार यही अवधिमा भयो । पदम ठकुराठी काण्ड यही अवधिमा भयो ।
मान्छे बोल्न डराउनुपथ्र्यो । कसलाई कतिखेर प्रहरीले पक्रिएर राजकाज मुद्दा लगाउँछ, टुंगो हुन्थेन । जेल राजबन्दीहरूले भरिएका थिए । पत्रिकाहरूका आधा पेज सेन्सरसिपले खाली हुन्थे ।
विकासको गति अत्यन्त धिमा थियो । स्थानीय पञ्चायतमा कुनै बजेट नै हुन्थेन । वित्तीय व्यवस्थामा आम नागरिकको कुनै पहुँच नै थिएन । अर्थतन्त्र प्राकृत, ग्रामीण थियो । साइकल चढ्ने वा जुत्ता लगाउने मान्छे देखिए धनी रहेछ भन्नुपथ्र्यो । स्कुल जान फर्किन कलिला विद्यार्थीेले बिहान बेलुका गरी ८ घण्टासम्म हिंड्नुपथ्र्यो । आज केही मान्छे ‘ती दिन राम्रा थिए’ भनेर दिउँसै रात पार्न खोज्छन् । भोग्ने हामी जीवितै छौं । कति हाँस्नु ?
के हामी एउटा यस्तो अभ्यासका लागि राजी छौं ? छौं भने को-को छौं ? आउनुहोस्, एक नयाँ नागरिक अवज्ञा, बौद्धिक, आध्यात्मिक तथा ‘नैतिक प्रतिरोध’ को अभ्यास गरौं
२०४६ पछि खुल्लापन आयो । अर्थतन्त्रको उदारीकरण भयो । स्थानीय भौतिक विकासले केही गति लियो । तर, शासन-प्रशासनको गुणस्तर जस्ताको त्यस्तै । त्यसमाथि राजनीतिको अन्त्यहीन किचलो ।
कांग्रेसमा ३६ से र ७४ रे समूह । एमालेमा माधव-केपी, वामदेव-सीपी गुटको लफडा । दुवै दलको विभाजन । घिनलाग्दा चलखेल र संसदीय विकृति । प्राडो, पजेरो, पुरुष सांसदले सुत्केरी भत्तादेखि ब्लूफिल्म काण्डसम्म । सरकार ढाल्न बनाउन सांसदको खुल्ला किनबेच र थाइल्याण्ड पठाउने काण्ड । लाउडा, धमिजा, सुडान जस्ता भ्रष्टाचार । यो कालखण्डमा पनि देशले अपेक्षित र यथोचित उन्नति गर्न सकेन । न राम्रो थिति बस्यो न उन्नत संस्कृति निर्माण भयो ।
तेस्रो कालखण्ड-माओवादी विद्रोहको चरमोत्कर्ष र राजा ज्ञानेन्द्र शाहको तानाशाहीको अवधिलाई मान्न सकिएला । यो अवधिमा कांग्रेस-एमाले कमजोर भएका थिए । मुख्य दुई शक्ति माओवादी र राजा ज्ञानेन्द्र जस्तो देखिएका थिए । यो अवधि छोटो थियो, केही वर्षको तर डरलाग्दो थियो ।
सबै हिसाबले देश गतिरोधमा फसेको थियो । हत्या-हिंसाका अन्त्यहीन शृंखला र आपत्कालीन जटिलताले जनजीवन चौपट थियो । यो अवधिमा विकास र उन्नतिको त कुरै छोडौं-उल्टै धेरै चिज विनाश र ध्वंस भए ।
अर्को एउटा कालखण्ड आयो-संविधान निर्माणको सकसमै करिब एक दशक बित्यो ।
र, आज हामी २०७२ को संविधानयताको अर्को एकदशक, अराजकता, आर्थिक मन्दी, अस्वाभाविक विदेश पलायन, अनैतिक, अस्थिर र अवसरवादी भागबन्डाको राजनीतिको बिगबिगी, ठगी, भ्रष्टाचार, बेइमानी र प्रियतावादको चर्को पीडा भोगिरहेका छौं ।
यी कुन कालखण्ड नागरिकको सुविधा, देशको विकास र राष्ट्रनिर्माणका दृष्टिकोणले अपेक्षित र उपलब्धिपूर्ण रहे त ? बिल्कुलै रहेनन् ।
के त्यसो भए यही मात्र हाम्रो इतिहास, विरासत र सभ्यता हो त ? त्यो चाहिं हैन । रूसी समाजले जस्तै नेपाली समाजले पनि कुनै न कुनै रूपमा सधैं नैतिक प्रतिरोध गर्दै आएको छ ।
राणाकालमा कृष्णप्रसाद अधिकारीको ‘मकैको खेती’ वा कृष्णप्रसाद कोइरालाको ‘फाटेको भोटोको पार्सल’ त्यतिखेरका लागि कमजोर कुरा थिए । आज ती हाम्रो सभ्यता र संस्कृतिका शक्तिशाली अंश हुन् । प्रजापरिषद्को गठन र ४ शहीदहरूको बलिदान त्यो बेलाको ‘नैतिक प्रतिरोध’ थियो । राणाकालको उत्तरार्धतिर भएका भाषिक अधिकार आन्दोलन र भाषा साहित्यको विकास नैतिक प्रतिरोध थियो । जातीय तथा सामुदायिक विभेद विरुद्धका संघर्ष नैतिक प्रतिरोध नै थिए ।
बीपी, गणेशमान वा किसुनजीका संघर्ष, पुष्पलाल, मनमोहन, तुल्सीलालका संघर्ष आ-आफ्नो समयका नैतिक प्रतिरोध थिए ।
कुनै एक समयको क्रान्तिकारी योद्धा वा दल अर्को समयमा क्रान्तिकारी र जनमुखी नै रहन्छ भन्ने ग्यारेन्टी छैन । यदि त्यसो हुन्थ्यो त दुनियाँमा बारम्बार क्रान्तिको आवश्यकता नै पर्ने थिएन । नैतिक प्रतिरोध इतिहासको कुनै एक कालखण्डमा गरे पुग्थ्यो, सबै कालखण्डमा यो परम्परा कायम राख्न पर्थेन ।
रूसी समाजका स्टालिन र पुटिन ठीक यही विषयका राम्रा उदाहरण थिए । स्टालिन कम्युनिष्ट क्रान्तिबाट सत्तामा आए, संसारकै एक खुंखार तानाशाह सावित भए । पुटिन सन् १९९० को उदार लोकतान्त्रिक क्रान्तिले दिएको अवसरबाट सत्तामा आए, अर्को ‘निर्वाचित तानाशाह’ सावित भए ।
नेपालमा कांग्रेस-कम्युनिस्ट दल र यिनीसँग जोडिएका कैयौं पात्रको स्थिति आज त्यही हो । हिजो ती ‘क्रान्तिकारी योद्धा’ थिए होला तर आज यी ‘भ्रष्ट शासक’ भन्दा बढी केही हैनन् ।
तसर्थ, आज केही मान्छेले फेरि एकपटक यो देशमा आफूलाई शक्तिहीन वा कमजोर हुन राजी पार्नु परेको छ । किनकि नैतिक प्रतिरोधको परम्परालाई कायम राखेर यो कालखण्डको इतिहास र सभ्यताको अधुरो भागलाई पूरा गर्नु परेको छ । आज शक्तिहीन भएर भोलि इतिहास र सभ्यता शक्तिशाली दरिने अभ्यास गर्नुपरेको छ ।
के हामी एउटा यस्तो अभ्यासका लागि राजी छौं ? छौं भने को-को छौं ? आउनुहोस्, एक नयाँ नागरिक अवज्ञा, बौद्धिक, आध्यात्मिक तथा ‘नैतिक प्रतिरोध’ को अभ्यास गरौं ।