नेपालको प्रशिक्षकको रुपमा मोन्टीको अन्तिम काम लिग टुको अमेरिका टुर नै बन्यो । उनले कार्यकाल सकिनुभन्दा केही दिन अघि नेपालका युवा ब्याटरहरुलाई क्रिकेट कला सिकाएका थिए ।
२० माघ, काठमाडौं । नेपाली क्रिकेटको ओडीआई मान्यता बचाउन र टी-२० विश्वकपमा दशकपछि पुनरागमन गराउन सफल प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नेपाल क्रिकेट संघ (क्यान)ले नवीकरण नगर्ने निर्णय लिएको छ । यससँगै उनीसँग नेपाली क्रिकेटको सम्बन्ध हाललाई टुंगिएको छ ।
ह्याप्पी ड्रेसिङ रुमका नायकसमेत मानिने मोन्टीले जाँदाजाँदै नेपालीहरुलाई धन्यवाद दिएका छन् । फेरि पनि नेपाली क्रिकेटसँग जोडिनसक्ने सम्भावनातर्फ संकेत गर्दै उनले भनेका छन्, ‘यो गुडबाइ होइन, धन्यवाद हो ।’
सुरुमै आईसीसी क्रिकेट विश्वकप लिग टुका १२ खेलमा ११ खेल जित्दै सानदार सुरु भएको मोन्टीको कार्यकाल लिग टु को नयाँ साइकलमा सुरुवाती १२ खेल खेल्दा २ मा मात्र जित, ८ मा हार र २ ‘नो रिजल्ट’पछि टुंगिएको छ ।
मोन्टीको दुई वर्षे कार्यकालमा नेपाली क्रिकेटले ओडीआई मान्यता बचाउनेदेखि पहिलो पटक एसिया कप खेल्ने र टी-२० विश्वकपमा दशकपछि पुनरागमन समेत गरेको थियो । तर, पछिल्लो समय उनै मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेटको प्रदर्शन कमजोर देखिन थालेपछि उनको सम्झौता नवीकरण नगर्ने चर्चा सुनिएको थियो । शनिबार क्यानले त्यसको पुष्टि नै गर्यो ।
ह्याप्पी ड्रेसिङ रुम र वान बल ब्याटलको नारासहित नेपाली क्रिकेटलाई फेरि एकपटक विश्वमाझ चिनाउने र नेपाली खेलाडीहरुलाई एक्सपोजर दिनेसम्म काममा मोन्टीले सहयोग गरे । भारत र पाकिस्तानसँग खेल्ने सपना पनि उनकै कार्यकालमा पूरा भयो । तर, एउटै प्रशिक्षक सधैँ सफल हुन सक्दैन भने जस्तै मोन्टीको कार्यकालको पनि अन्त्यको समय आयो ।
सन् २००८ देखि २०१५ सम्म आईपीएलमा राजस्थान रोयल्सको सहायक प्रशिक्षकको रुपमा काम गरेका मोन्टीले यसअघि पनि नेपाली क्रिकेटसँग नजिक भएर काम गरेका थिए ।
उनले नेपालको सिनियर टोलीको ब्याटिङ कन्सल्ट्यान्ट र सन् २०१७ मा नेपाली यू–१९ टिमसँग ब्याटिङ सल्लाहकारका रूपमा पनि काम गरेका थिए । देसाईले नेपाल आउनुअघि क्यानडा र अफगानिस्तानको ब्याटिङ कन्सल्ट्यान्ट तथा वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षकको रुपमा समेत काम गरेका थिए ।
मोन्टीको कार्यकाललाई दुई भागमा बाँडेर हेर्न सकिन्छ ।
पहिलो– लिग टु प्रिमियर लिग, एसिया कप टी–२० विश्वकप छनोटको सफलतालाई लिएर हेर्न सकिनेछ ।
दोस्रो– विश्वकपमा जितविहीन, प्रिमियर लिगमा फाइनल नपुगेपछि एसिया कप र इमर्जिङ कपमा छनोट हुन असफल अनि लिग टु को नयाँ साइकलमा कमजोर सुरुवात ।
सफलता
सुरुमा उनको कार्यकालको सफलताको चर्चा गरौँ । मोन्टी आउनुअघिसम्म नेपाली क्रिकेटको प्रदर्शन स्थिर थिएन । नेपाल लिग टुमा खराब स्थितिमा थियो र ओडिआई मान्यता पनि गुम्ने खतरा थियो । उनको मुख्य लक्ष्य नै नेपाललाई ओडिआई मान्यता जोगाउने र विश्वकप छनोटमा पुर्याउने थियो ।
जब मोन्टीले काम सुरु गरे तब नेपालले चमत्कारी प्रदर्शन गर्दै सनसनी मच्चायो । प्रशिक्षक बनेको केही महिनामै उनले नेपाली क्रिकेटलाई उचाइमा पुर्याउन थाले ।
आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै तेस्रो स्थानमा रहेर ओडिआई मान्यता जोगायो अनि वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा पनि स्थान बनायो । एक हिसाबले नेपालले असम्भव जस्तै समीकरणलाई बदल्यो । यसबाट नेपाली क्रिकेट र प्रशिक्षक मोन्टीको विश्वभर नै तारिफ भयो ।
मोन्टी आएपछि नेपाले सुरुको तीन खेलमै २७० रन भन्दा माथिको स्कोर लगातार चेज गरेको थियो । यस्तै नेपालले पहिलो पटक ओडिआईमा ३ सय रनको स्कोर पूरा गर्यो । २०२३ मा भएको प्रिमियर कपमा नेपालले ओमान विरुद्ध ३१० रन बनाएको थियो । त्यो नै ओडिआईमा नेपालको उच्च स्कोर हो ।
मोन्टीको आगमनपछि नेपालले ब्याटिङमा राम्रो सुधार गरेको थियो । उनी आएपछि नेपालले १० खेलमा २५० रन भन्दा बढीको स्कोर बनाएको थियो ।
लिग टु मा उत्कृष्ट प्रदर्शन पछि नेपालले घरेलु मैदानमा भएको २०२३ को एसीसी प्रिमियर कपमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । त्यसमा नेपाल च्याम्पियन नै बन्दै एसिया कपमा छनोट भयो ।
एसिया कपमा भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटकै पावर हाउससँग खेल्दै नेपालले अर्को इतिहास रच्यो । पाकिस्तान गएर खेलेको नेपालले श्रीलंका गएर भारतसँग प्रतिस्पर्धा गर्यो । नेपालले दुवै टिम विरुद्ध सम्झनलायक प्रदर्शन गर्यो ।
यस्तै नेपालले घरेलु मैदानमै भएको टी–२० विश्वकप छनोटमा फाइनलसम्म पुग्दै दोस्रो पटक टी–२० विश्वकपमा स्थान बनायो । मोन्टीकै नेतृत्वमा मुलपानीमा भएको सेमिफाइनलमा नेपालले युएईलाई हराएपछि नेपालले विश्वकपको टिकट काटेको थियो ।
सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा डेब्यु गरेको नेपालले एक दशकपछि अमेरिका र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकप खेल्यो ।
२०२४ जुनमा भएको प्रतियोगितामा नेपालले दक्षिण अफ्रिका जस्तो बलियो राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । जित नजिक पुगेर नेपाल जम्मा १ रनले चुक्यो । यसले पनि नेपालको चर्चा थप चुलियो ।
गत वर्ष अमेरिकामा भएको टी–२० विश्वकपपछि नै मोन्टीलाई प्रशिक्षकबाट हटाउनुपर्ने माग क्यान भित्रैबाट पनि उठेको थियो । उनको आलोचना पनि हुन थालेको थियो
दक्षिण अप्रिका र बंगलादेशलाई टक्कर दिएको नेपालले जित्न सक्ने सम्भावना देखाए पनि अन्तिममा अनुभवका कारण चुक्यो ।
२०२३ सेप्टेम्बरमा चीनमा भएको १९ औं एसियन गेम्समा पनि नेपालले समूह चरणमा कीर्तिमान र क्वाटरफाइनलमा भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । माल्दिभ्स विरुद्ध नेपाली टिमका लागि कुशल मल्लले कीर्तिमानी ब्याटिङ गरेका थिए । त्यसमा मोन्टीकै कमाल थियो ।
कुशलले ३३ बलमा टी–२०आईमा शतकको कीर्तिमान बनाउँदा नेपाली टिमले ३१४ रनको कीर्तिमानी स्कोर बनाएको थियो । तर, पछि कुशल र नेपाली टिमको स्कोर दुवै कीर्तिमान तोडियो ।
मोन्टीले सुरुदेखि नै नेपाली टिमको माहोल परिवर्तन गर्न ह्याप्पी ड्रेसिङ रुम र वान बल ब्याटल लागू गरे । उनले हरेक बलसँगै प्रतिस्पर्धा गर्नुपर्ने मान्यता राखेका थिए ।
असफलता
मोन्टीको कार्यकालमा नेपाली क्रिकेटको उकालो यात्रा तय गरिरहेको थियो । उनले नेपाली क्रिकेटलाई शिखरमा पुर्याउने आधार खडा गर्दै थिए । तर सफलता टिकाइ राख्न कठिन हुन्छ भने जस्तै पछिल्लो समय भने उनको प्रशिक्षणमा नेपालको प्रदर्शन कमजोर हुँदै गयो ।
लिग टु को सुरुवाती १२ खेलमध्ये नेपालले जम्मा २ खेल मात्र जितेको छ । ८ खेलमा हार व्यहोर्दा २ खेलमा नतिजा आउन सकेन ।
यस्तै पहिलोपटक एसीसी प्रिमियर लिगमा घरेलु मैदानमा च्याम्पियन बन्दै एसिया कप खेलेको नेपालले २०२४ मा ओमानमा भएको प्रिमियर कपमा भने त्यो सफलता दोहोर्याउन सकेन ।
समूह चरणमा चारै खेल जितेको नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदा फाइनल पुग्न असफल भयो र एसिया कपमा छनोट हुन सकेन । यस्तै तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले इमर्जिङ एसिया कप खेल्ने मौका समेत गुमाएको थियो ।
पछिल्लो पटक नेपाली क्रिकेट टिमले लिग टु अन्तर्गत क्यानडा र अमेरिकाको भ्रमण गरेको थियो । तर नेपालले ८ खेलमा जम्मा १ खेल मात्र जितेर यात्रा टुंग्याएको थियो । नेपालले पछिल्लो पटक लिग टुमा अक्टोबरमा स्कटल्याण्डलाई अमेरिकालाई हराएको थियो । त्यसपछि अमेरिकासँग पराजित भएको नेपाल र स्कटल्याण्डको खेल वर्षाका कारण रद्द भएको थियो ।
गत वर्ष अमेरिकामा भएको टी–२० विश्वकपपछि नै मोन्टीलाई प्रशिक्षकबाट हटाउनुपर्ने माग क्यान भित्रैबाट पनि उठेको थियो । उनको आलोचना पनि हुन थालेको थियो । तर, लिग टु को नयाँ साइकल नजिक रहेकोले उनलाई सम्झौता बाँकी रहँदा नै तत्काल हटाउनु उपयुक्त नहुने भएकोले क्यानले त्यो बेला मोन्टीलाई निरन्तरता दिएको थियो ।
अहिले तत्काल नेपालको सिनियर टिमले खेल्ने कुनै अन्तर्राष्ट्रिय खेल छैन । टी–२० विश्वकप छनोट आगामी असोजमा हुने तय छ भने लिग टुमा अब नेपालले खेल्ने तालिका जुनमा मात्रै छ । अन्य सिरिजहरु पनि तय छैन । यही फुर्सदको मौकामा क्यानले मोन्टीलाई बिदा गरेको छ ।
नेपालको प्रशिक्षकको रुपमा मोन्टीको अन्तिम काम लिग टुको अमेरिका टुर नै बन्यो । उनले कार्यकाल सकिनुभन्दा केही दिन अघि नेपालका युवा ब्याटरहरुलाई क्रिकेट कला सिकाएका थिए । नेपालमा उनको अन्तिम काम त्यही नै रह्यो ।