प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार
काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा आज बिहिबार रंगहरुको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज होली मनाइने पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली पर्व मनाइने प्रचलन रहेको छ ।
होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहदै आएको सस्कृतिविदहरुले बताएका छन ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने प्रचलन रहेको छ ।
स्थानीय प्रशासनले होली पर्वको नाममा इच्छा विपरित जथाभाबि रंग र अबिर नलगाइदिन सबैलाई सचेत गराएका छन् । होली पर्वलाई अर्मयादित र उछृङकल बनाएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।
होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिँदै मर्यादित ढंगले होली मनाउन र आपसी भाइचाराको सम्वन्धलाई अझै बलियो बनाउन आग्रह गरेका छन् ।