नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ४६ वर्षपछि पुष्पकमल दाहालको नेतृत्वमा सशस्त्र द्वन्द्व सुरु भयो। माओवादी विचारधाराका आधारमा जनयुद्ध सुरु भएको १० वर्षपछि संसद्वादी राजनीतिक दलहरूको समेत सहभागितामा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो।
माओवादी केन्द्रको यात्रा २०५२ सालको जनयुद्धबाट सुरु भएर २०६२/६३ को शान्तिसम्झौता हुँदै सिंहदरबारको सत्तासम्म पुगेको थियो। सशस्त्र द्वन्द्व समाप्त गरेर संसदीय राजनीतिमा प्रवेश गरेको माओवादी २० वर्षयता सत्ताबाहिर बिरलै बसेको छ। जब माओवादी सत्तामा पुग्यो, त्यसपछि माओवादमा खिया लाग्दै गयो। सत्तामा पुगेपछि माओवादी जनता, सहयोद्धा र सहिद परिवारका पीडाहरू बिर्सेर पार्टीभित्र सत्ता, ठेक्का, परिवारवाद र स्वार्थको लडाइँमा रमाउन थाल्यो। फलस्वरूप माओवादीले धेरै पटक विभाजनको पीडा खेप्नुपरेको छ।
गत साता माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादीसहित आठ दलबिच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरे तर माओवादी जनयुद्धका एक कुशल कमान्डर जनार्दन शर्मा र विचारक राम कार्की एकता प्रक्रियाबाट बाहिर रहे। कात्तिक १९ गते एकता घोषणा गरेको माओवादीले नाम परिवर्तन गरेर ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्यो। माओवादीले अहिलेसम्म ६ पटक आफ्नो नाम परिवर्तन गरेको छ।
२०४३ सालमा सेक्टर काण्ड असफल भएपछि तत्कालीन नेकपा मशालको नेतृत्व सम्हालेका दाहालले २०४८ सालमा पहिलो पटक पार्टीको नाम परिवर्तन गरी नेकपा एकता केन्द्र बनाएका थिए। २०५१ सालमा दीर्घकालीन जनयुद्धमा जाने विषयमा पार्टी विभाजन हुँदा उनले दोस्रो पटक पुनर्गठन गरी नेकपा माओवादी बनाए। त्यसयता नेपालमा माओवादी ‘ब्रान्ड’ बनेको थियो।
२०६५ पुसमा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग एकता हुँदा तेस्रो पटक पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी राखियो। २०७४ सालमा गणेश साह नेतृत्वको नेकपा संयुक्तसँग एकता हुँदा चौथो पटक पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी केन्द्र राखियो। २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबिच एकता हुँदा नेकपा भयो। अहिले एमालेबाट विभाजित भएर गएका माधव नेपालसँग मिलेपछि नेपाली कम्युनिस्ट पार्टी बनाइएको छ।
मूलतः माओवादी केन्द्रले माओवादी विचारधारमा आधारित भएर राजनीति गरिरहेको थियो । नेपालका अन्य कम्युनिस्टहरू उग्र वामपन्थी धारका भएको भनी विश्लेषण भइरहँदा त्यसको नेतृत्वकर्ता दाहालले बेलाबखत क्रान्ति गर्ने, हतियार उठाउनेजस्ता भाषणबाजी गर्न छाडेका थिएनन्। अहिले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत वामपन्थीभित्रका नरमपन्थीहरू समाहित भएपछि दाहालले पुनः हतियार उठाउने वा क्रान्ति गर्नेजस्ता अभिव्यक्ति दिन्छन् कि दिँदैनन्, त्यो भने हेर्न बाँकी नै रहेको छ।
माओवादी विचारधारबाटै आफू राजनीतिमा केन्द्रमा स्थापित गर्न सफल भए दाहालले माओवाद तथा ‘प्रचण्डपथ’ भन्दै आएका थिए। उनले एकता केन्द्रबाट २०६५ सालमा माओवादीमा आएका नारायणकाजी श्रेष्ठसँग प्रचण्डपथ छाडेर माओवाद मात्रै अँगालेका थिए। नेपालमा दुई तिहाइ मत कम्युनिस्टहरूको छ भन्दै २०७४ सालमा केपी ओलीसँग पार्टी एकता गर्न पुग्दा माओवाद त्यागेर २१औं शताब्दीको जनवादको बहस चलाउन सफल भएका थिए । २१औं शताब्दीको जनवादको बहस चलाए पनि एमालेसँग माओवादीको केही जोड चलेन बहुदलीय जनवादमा आत्मसर्मपण गरेका थिए।
२०७८ फागुन २३ गतेपछि एमालेसँग अलग भएपछि पुनः माओवाद अँगालेका दाहालले अहिले माधव नेपाललगायत दलसँग मिलेपछि फेरि माओवाद छाडेर उक्त विचारको अवसान गराएका छन्। नेपाल र दाहालको यस मिलनलाई जनयुद्धमा सहभागी नेताहरूले भने एकता नभएर विसर्जन भनेका छन्। माओवादीमा आएको विचलनकै कारण जनयुद्ध लडेका धेरैजसो नेताले दाहालको साथ छाडेका छन्।
मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, सिपी गजुरेल, इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेल, नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला, हिसिला यमी, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र विष्ट, हेमन्तप्रकाश ओली, जनार्दन शर्मा, राम कार्की, सुदन किराती, सन्तोष बुढामगर, विश्वभक्त दुलाल ‘आहूति’, धर्मेन्द्र बास्तोला, नारायण शर्मा, रवीन्द्र श्रेष्ठ, ‘असारे काका’, उमा भुजेल, सावित्रा दुरालगायत धेरै नेता अहिले दाहालसँग छैनन्। दाहालले माओवाद विसर्जन गर्नुलाई नै कारण देखाउँदै ती नेताहरूले उनको साथ छाडेका थिए। तीमध्ये बाबुराम भट्टराईचाहिँ नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता नै छैन भनेर हिँडेका थिए।
दाहालमाथि नीति, कार्यक्रम, सैद्धान्तिक आधार, आधारभूत मूल्य–मान्यता र विचार सबै छाडेको आरोप छ। माओवादीले आफूलाई अर्को पार्टीसँग विलय गराएजस्तो देखिने गरी एकता गर्दा माक्र्सवादी विचार र कम्युनिस्ट आन्दोलनको पनि विसर्जन भएको आरोप उनीमाथि लगाइएको छ। २०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ झन्डै आधा सिट जितेको माओवादी टुटफुट र आन्तरिक किचलोका कारण २०७९ सम्म आइपुग्दा प्रत्यक्षतर्फ १८ जनामा खस्किनुको कारण पनि विचारमा स्थिरता नभएको आरोपसमेत छँदै छ।
पार्टीभित्र निरन्तर विभाजन, असन्तुष्टि र नेतृत्वमा केन्द्रित स्वार्थी राजनीति माओवादीको पतनका प्रमुख कारण बनेको भन्दै गुनासो गर्दै आएका कार्यकर्ताहरू राजनीतिबाटै पलायन भएका छन्। माओवादी आन्दोलनको प्रारम्भदेखि नै सशस्त्र संघर्ष, राजनीतिक अभियान र संगठन विस्तारमा निर्णायक भूमिका खेल्ने नेताहरू एकपछि अर्को गर्दै दाहालको नेतृत्वको पार्टीबाट अलग भएपछि माओवाद पनि क्रमशः धुमिल हुँदै विर्सजनमा पुगेको टिप्पणी हुने गरेको छ।
नेपालमा कम्युनिस्टको विकासक्रम
२००६ नेकपाको स्थापना
२००७ सालको क्रान्तिमा सहभागी
२००८ नेकपाको प्रथम सम्मेलन
२००९ जातीय जनतान्त्रिक मोर्चाको गठन
२०१० नेकपाको प्रथम अधिवेशन
२०११ गुरिल्ला युद्धको तालिम
२०१२ नेकपाको दोस्रो सम्मेलन
२०१३ पार्टीमाथिको प्रतिबन्ध फुकुवा
२०१४ कांग्रेससँग मिलेर आन्दोलन
२०१५ प्रथम संसदीय निर्वाचनमा सहभागिता
२०१६ पार्टीको विस्तारित बैठक
२०१७ संसद्को विघटन
२०१८ तेस्रो महाधिवेशनको तयारी
२०१९ पार्टीको तेस्रो महाधिवेशन,
२०२० आन्दोलनको अपिल
२०२३ पार्टीको आचारसंहिता स्वीकृत
२०२४ पार्टीको कन्भेन्सनको आह्वान
२०२५ पार्टीको तेस्रो सम्मेलन
२०२६ कम्युनिस्ट नेताहरू जेल चलान
२०२८ न्युक्लियसको गठन
२०२९ नेकपा चौथो सम्मेलन
२०३० लुम्बिनी अञ्चलमा किसान आन्दोलन
२०३१ झापा संघर्षका नेता पक्राउ
२०३१ चौथो महाधिवेशन
२०३५ निर्मल लामा
२०३६ भक्तबहादुर श्रेष्ठ महामन्त्री
२०४० नेकपा चौममा विभाजन
२०४० कात्तिकमा चौमको राष्ट्रिय सम्मेलन
२०४२ नेकपा मशालमा विभाजन
२०४३ सेक्टर काण्ड, दाहाल महामन्त्री
२०४५ नेकपा मशालको सम्मेलन
२०४६ संयुक्त जनआन्दोलनको सुरुवात
२०४७ दाहाल नेतृत्वको नेकपा मशाल
२०४८ मंसिर ४ एकता महाधिवेशन
२०५१ मा नेकपा (एकता केन्द्र) को पहिलो राष्ट्रिय सम्मेलन
२०५१ निर्मल लामाको नेतृत्वमा नयाँ पाटी
२०५१ फागुन २–४ मा दाहालको नेतृत्वमा फौजी कार्यदिशा निर्माण
२०५२ माघ २२ गते नेकपा (माओवादी) द्वारा सरकारसँग ४० बुँदे माग
२०५२ फागुन १ गते जनयुद्ध घोषणा
२०५३ नेकपा माओवादीको जनयुद्धको समीक्षा
२०५४ नेकपा माओवादीको छापामार युद्धलाई उचाइमा पु¥याउने निर्णय
२०५५ मा जनयुद्धको आधार इलाका बनाउने नीति
२०५५ मा सरकारद्वारा माओवादीमाथि ‘किलो सेराटु’ अप्रेसन
२०५६ मा सम्पन्न आधार इलाका निर्माणको दोस्रो चरणमा
२०५७ माघ–फागुनमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन ।
२०५७ मा गोलमेच सम्मेलन
२०५८ मा राजदरबार हत्याकाण्ड माओवादीद्वारा गणतन्त्रको घोषणा
२०५८ मा मंसिर ८ गते युद्धविराम भंग
२०५८ मंसिरमा देशभर संकटकालको घोषणा
२०५९ एकता केन्द्र र मसालबिच पार्टी एकता
२०५९ मा माओवादी नेताहरूलाई आतंकवादी घोषणा र रेडकर्नर नोटिस जारी
२०५९ माघ १५ गते दोस्रोपटक युद्धविराम
२०६० माओवादी जनयुद्ध जारी
२०६० ज्येष्ठमा चुनवाङ बैठकबाट राजनीतिक प्रतिस्पर्धा गर्ने निर्णय
२०६१ माओवादीमा रणनीति प्रत्याक्रमण
२०६२ मा माओवादीद्वारा सात डिभिजन जनमुक्ति सेनाको घोषणा
२०६२ माचुनवाङबाट लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित
२०६२ कात्तिकमा एमालेका नेताहरू वामदेव गौतम र युवराज ज्ञवालीबिच रोल्पामा वार्ता
२०६३ वैशाख ११ गते संसद पुनःस्थापनाको घोषणा
२०६३ असार २ गते २५ वर्ष लामो भूमिगत राजनीतिबाटदाहाल सार्वजनिक
२०६३ मा मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर
२०६४ चैतमा पहिलो संविधानसभाको पहिलो निर्वाचन ।
नेकपा (माओवादी) बहुमत स्थानमा विजयी
२०६७ प्रचण्डको प्रस्तावका विरुद्ध मोहनवैद्य र डा. बाबुराम भट्टराईको फरक मत ।
२०६८ मा एकीकृत नेकपा (माओवादी) का नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री ।
२०६९ जेष्ठ ३ गत मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादीको गठन ।
२०६९ असारमा एकीकृत नेकपा (माओवादी) औपचारिक रुपमा विभाजित
२०६९ माघ महिनामा नेकपा माओवादी द्वारा सातौं महाधिवेशनको
२०७१ मोहन वैद्य समूहमा विभाजन
२०७२ मा डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टीको गठन।
२०७३ रामबहादुर थापाको नेतृत्वमा नयाँ दल
२०७४ असोज मा नेकपा एमालेसँग पार्टी एकता गर्ने प्रतिबद्धता
२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादीबिच पार्टी एकीकरण
२०७६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मतभेद सुरु,
२०७७ नेकपामा वैचारिक मतभेद पुस
२०७७ फागुनमा सर्वोच्चद्वारा नेकपाको एकता भंग
२०७८ आठौं राष्ट्रिय महाधिवेशन
२०८२ नवौं महाधिवेशन आयोजक कमिटी गठन
२०८२ कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरण।
