प्रकाशित मिति : असार २५, २०८१ मंगलबार
राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र दर्जनौं वायु रक्षा प्रणाली उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
वासिङ्टन डिसीमा भएको अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकमा सम्बोधन गर्दै बाइडेनले अमेरिका र अन्य चार पश्चिमी देशले हवाई प्रतिरक्षा प्रणाली आगामी महिनामा युक्रेनलाई दिइने बताउनु भयो ।
अमेरिकी अधिकारीहरूले यस प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली, अन्य रणनीतिक वायु रक्षा प्रणाली र यसका भागहरू समावेश हुने बताउनु भएको हो ।
अमेरिकाबाहेक जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटालीले हवाई प्रतिरक्षा प्रणाली आपूर्ति गर्नेछन् ।
यस वर्षको अन्त्यसम्ममा हवाई प्रतिरक्षा प्रणालीका विषयमा थप निर्णय लिइने र यसमा बेलायत, क्यानडा, नर्वे र स्पेन समावेश हुनेछन् ।
रुसको पछिल्लो मिसाइल आक्रमणपछि युक्रेनी अधिकारीहरूले मंगलबार थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपील गरेका छन् ।
युक्रेनको बाल अस्पतालमा मिसाइल खस्दा ३६ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।
नेटो देशहरूको बैठकमा बाइडेनको भाषण पहिलो राष्ट्रपति बहस भन्दा बढी भावुक र रचनात्मक थियो ।
नेटो सम्मेलनमा सम्बोधनका क्रममा सबैजसो देशका नेताहरुले रुसलाई रोक्न नसकेमा युक्रेन मात्रै नभएर पुरै पश्चिमा देशको लागि खतरा नजिकै आइरहेको बताएका छन् ।
नेटोमा ३२ वटा देश सदस्य रहेकोमा युक्रेनलाई पनि सदस्य बनाउने तयारी चलिरहेको छ ।