नेकपाको चुनावी प्रतिवद्धता : जेनजीका सवालप्रति आत्मीय, शासकीय स्वरुपमा ढुलमुल : RajdhaniDaily.com


नेकपाका ५ वर्षे प्रतिवद्धता
वार्षिक १० प्रतिशत बढी आर्थिक वृद्धिदर
बहुआयामिक गरिबीको दर आधा घटाउने
५ वर्षमा ५० लाखलाई रोजगारी
विदेशबाट फर्किएका १ लाखलाई उद्यमी
२ वर्षभित्र कृषि उपजमा पूर्ण आत्मनिर्भर
१० हजार मेगावाट थप विद्युत् उत्पादन
शतप्रतिशत हरित ऊर्जा उपयोग देश घोषणा
५ लाख नयाँ आवास इकाई निर्माण
२० शहर स्मार्ट सिटी, १०० गाउँ स्मार्ट भिलेज
साार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन
शक्तिशाली र स्वतन्त्र लोकपाल गठन
संघीय निजामती सेवा ऐन पहिलो अधिवेशनबाट
दुई सन्तानसम्म ६ महिना सुत्केरी बिदा
महिला उद्यमीलाई ऋणमा २५ प्रतिशत ब्याज
बेरोजगारी बीमा व्यवस्था
शान्ति प्रक्रियाका बाँकी सकेर संक्रमणकालको अन्त्य
हिमाल समृद्धि कार्यक्रम सञ्चालन
टाइम कार्ड प्रणालीमार्फत सेवा समय ग्यारेन्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विकास तथा संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँट सुस्पष्ट गर्नेलगायत विद्यमान समस्या समाधानका लागि नेकपालाई जनताको रोजाईको पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाडौंको कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका हुन् ।

नेकपाको प्रतिवद्धता पत्रमा बहुलतायुक्त समाजअनुकूल राज्यसत्तामा सबै समुदायको प्रतिनिधित्व, पहुँच र पहिचान सुनिश्चित गर्दै समावेशी लोकतान्त्रिक संरचना निर्माणलाई जोड दिइएको छ । यस पटक तारा चुनाव चिह्नमा मतदान गरी व्यवस्था बदल्ने पार्टी नेकपालाई देशको अवस्था बदल्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ ।

नेकपाले शासकीय स्वरुपमा भने ढुलमुल नीति लिएको छ । साविकको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका विभिन्न १६ भन्दा बढी दल र समूह मिलेर नेकपा बनेपछि उसले शासकीय स्वरुपमा स्पष्ट खाका ल्याउन सकेन ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचन (२०७९ साल)मा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र नेकपा एकीकृत समाजवादीले संसदवाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय मोडल अघि सारेका थिए ।

तर यसपटक कार्यकारी अधिकार कसमा निहीत हुने भन्ने विवादपछि नेकपाले शासकीय स्वरुपमा समयानुकुल परिवर्तन गर्ने भन्ने मध्यमार्गी भाषा प्रयोग गरेको छ ।

वर्तमान संविधानको सकारात्मक पक्षहरूको रक्षा र सदृढीकरण गर्दै शासकीय स्वरुप, निर्वाचन प्रणाली, संघीय संरचनाको सुदृढीकरणलगायतका विषयमा युवा पुस्ताको भावनाको समेत आधारमा संविधान संशोधन र अग्रगामी परिमार्जन गर्ने प्रतिवद्धता घोषणापत्रमा छ ।

‘राष्ट्रिय स्वाधीनतालाई राजनीतिक, आर्थिक र नीतिगत आत्मनिर्णयसहित सुदृढ गर्दै वैदेशिक हस्तक्षेप तथा परनिर्भरताको अन्त्य गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र विकास तथा संघ, प्रदेश र स्थानीय तहबिचको अधिकार बाँडफाँट सुस्पष्ट गर्न,’ नेकपाको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, जनतालाई भोक, रोग, गरिबी, असमानता र वर्गीय विभेदबाट मुक्ति दिलाउन तथा शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र सामाजिक सुरक्षाजस्ता मौलिक हकको व्यवहारिक कार्यान्वयन गने नेकपाले जनाएको छ ।

‘राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरूपले बहिष्करणमा परेका वा पारिएका महिला, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारु, पिछडा वर्ग, अल्पससंख्यक समुदाय, विपन्न वर्ग पिछडिएको क्षेत्रलगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति दिलाउने,’ घोषणापत्रमा उल्लेख गरिएको छ ।

५ वर्षभित्र वार्षिक १० प्रतिशत आर्थिक वृद्धिदर

आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित नेकपाले घोषणापत्र सार्वजनिक गरेको छ । पाँच बर्षभित्रमा बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने लक्ष्य समावेश गरिएको छ ।

‘राज्य संरक्षित कृषि र औद्योगिकीकरणको नीतिमार्फत कृषि तथा उद्योगलगायत उत्पादनका क्षेत्रहरूलाई संरक्षण र प्रवद्र्धन गर्ने । उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी आयात निर्भरता क्रमशः न्यूनीकरण गर्ने,’ नेकपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

नेकपाले जनसांख्यिक लाभको उच्च उपयोग गर्ने गर्दै प्रतिवर्ष १ लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक ५ लाख रोजगारी सुनिश्चित गर्ने जनाएको छ । विदेशमा रहेका जनशक्तिको ज्ञान, सीप, अनुभव र पूँजीलाई रोजगारी, स्वरोजगारी तथा लगानीका लागि अनुकूल वातावरण बनाउन रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गरी कम्तीमा १ लाख रिटर्नीहरूलाई उद्यमी बनाउने प्रतिबद्धता नेकपाले व्यक्त गरेको छ ।

आर्थिक मोडल परिवर्तनमा विशेष जोड
नेकपाले अर्थतन्त्रको मोडललाई आयात–निर्भर तथा उपभोगमुखीबाट उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर मोडलमा सिफ्ट गर्ने विषयलाई विशेष जोड दिएको छ ।

‘प्राकृतिक स्रोतहरूको विवेकशील तथा दिगो उपयोग, स्वदेशी तथा वैदेशिक लगानी वृद्धि, सामूहिकता तथा सहकारितामा आधारित उत्पादन प्रणालीको विकास, स्रोत साधनको दक्षतापूर्ण विनियोजनमार्फत आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि दर हासिल गर्ने,’ घोषणापत्रमा उल्लेख गरिएको छ ।
आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै बहुआयामिक गरिबीको दरलाई २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने लक्ष्य नेकपाले लिएको छ । प्राकृतिक स्रोतहरूको विवेकपूर्ण उपयोग गर्दै हरित तथा डिजिटल अर्थतन्त्रको जग बसाल्ने नेकपाले जनाएको छ ।

प्राथमिकता क्षेत्रहरू तथा रणनीतिहरू
आर्थिक सुधारको नयाँ चरणलाई प्रभावकारी बनाउन पार्टीले प्राथमिकता पाँच क्षेत्रहरू निर्धारण गरेको छ । व्यावसायिक तथा सामूहिक खेती, उन्नत प्रविधि, सिँचाइ तथा बजार सुनिश्चितता गर्ने उसको लक्ष्य छ ।

जलविद्युत्, नवीकरणीय ऊर्जा तथा एकीकृत कोरिडोर निर्माण, औद्योगिक तथा उद्यमशीलता प्रवद्र्धन स्वदेशी उद्योग, नवप्रवर्तन–स्टार्टअप, साना तथा मझौला उद्यम प्रोत्साहन, प्रादेशिक विशिष्ट आर्थिक अभियान, डिजिटल पूर्वाधार, ई–कमर्स तथा आईटी उद्योग विकास, नीतिगत सुधार गर्ने नेकपाले जनाएको छ ।

यसैगरी साहसिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटन प्रवद्र्धन गर्ने, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा समावेशी विकासमा लगानी गर्ने, नेकपाले जनाएको छ ।

अर्थतन्त्रलाई आत्मनिर्भर आर्थिक मोडलमा सिफ्ट गरिने
नेकपाले अर्थतन्त्रको मोडललाई आयात–निर्भर तथा उपभोगमुखीबाट उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर मोडलमा सिफ्ट गर्ने विषयलाई विशेष जोड दिएको छ ।

‘प्राकृतिक स्रोतहरूको विवेकशील तथा दिगो उपयोग, स्वदेशी तथा वैदेशिक लगानी वृद्धि, सामूहिकता तथा सहकारितामा आधारित उत्पादन प्रणालीको विकास, स्रोत साधनको दक्षतापूर्ण विनियोजनमार्फत आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि दर हासिल गर्ने,’ प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

संघीय प्रणालीको प्रभावकारी प्रयोग गर्दै नेकपाले प्रदेशहरूमा औद्योगिक तथा कृषि करिडोर निर्माण गर्ने जनाएको छ ।

संविधान संशोधन गर्ने प्रतिवद्धता

नेकपाले जेनजी पुस्ताले उठाएको मागलाई समेत समेटदै संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । । नेकपाले जेनजी पुस्ताको मर्म अनुरुप आफ्नो प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व, शासकीय स्वरुप र संघीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ ।

वर्तमान निर्वाचन प्रणालीअन्तर्गत एकै पार्टीले बहुमत प्राप्त गरी पाँच वर्षसम्म सरकार चलाउने सम्भावना न्यून रहेकोले नेपाली जनताका विभिन्न कालखण्डका संघर्ष, बलिदान तथा पछिल्लो जेनजी पुस्ताको मर्म अनुरुप राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्ने प्रतिबद्धता नेकपाले व्यक्त गरेको हो ।

बहुदलीय व्यवस्था पुनस्र्थापनापछिका ३५ वर्षमा राजनीतिक तथा नीतिगत अस्थिरताका कारण देशले सामाजिक–आर्थिक रूपान्तरणको दिशामा ठूलो फड्को मार्न नसकिएको उल्लेख गर्दै परिणामुखी प्रशासनलाई समेत जोड दिइएको छ ।

‘राजनीतिक स्थायित्व, शासकीय स्वरुप र संघीयता कार्यान्वयन, शासकीय स्वरूपमा आमूल परिवर्तन गर्न नियन्त्रण र शक्ति सन्तुलन हुने गरी शासकीय स्वरूप परिमार्जन गर्ने । विद्यमान निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकोले यसले भ्रष्टाचारलाई बढावा दिएको छ । यसले कमजोर आर्थिक तथा सामाजिक अवस्था भएका आम नागरिकलाई निर्वाचनमा भाग लिन असमर्थ बनाएको छ । यस निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाइनेछ,’ नेकपाको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, निर्वाचित सांसदहरू विधायकी भूमिकामा रहने र हालको २५ बाट घटाएर विषयगत विज्ञहरू सम्मिलित सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था गर्ने नेकपाले जनाएको छ ।

नयाँ प्रतिनिधिसभा गठन भएको एक वर्षभित्र संघीयता कार्यान्वयनका लागि आवश्यक सबै कानुनहरू तर्जुमा गरी प्रदेश र स्थानीय तहले संविधान बमोजिम प्राप्त गर्ने अधिकार उपभोग गर्ने वातावरण निर्माण गर्ने नेकपाले जनाएको छ ।

⁠भ्रष्टाचार नियन्त्रण र सुशासन, ⁠परिणाममुखी सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा प्रभावकारी काम गर्ने प्रतिबद्धता नेकपाले गरेको छ ।

५ वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य

नेकपाले आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षभित्रमा राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पु¥याउने लक्ष्य राखेको छ ।

दीर्घकालीन लक्ष्य अनुसार सन् २ हजार १०० सम्म ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रस्तुत गर्दै नेकपाले शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गर्ने लक्ष्य लिएको छ । नवीकरणीय ऊर्जा मिश्रण उल्लेखनीय रूपमा बढाउने प्रतिबद्धता सहित पार्टीले ऊर्जा क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment