जीवनमा दुःख छ, पीडा छ, छटपटी छ। र त जीवनको अर्थ छ। सुख र खुसी मात्र जिन्दगीको पाटो भएर आउँथ्यो भने जीवनको उतिसाह्रो अर्थ हुँदैनथ्यो। कष्टहरूको आगोमा मन दनदनी जल्दैनथ्यो भने जीवनबेली जस्तो छ, त्यस्तो हुँदैनथ्यो होला। समयको खाडलमा पीडाका घाउ पुर्ने चक्कर पनि चल्दैनथ्यो होला। पुसमाघकै जस्तो ठिहीमा मन जम्दैनथ्यो होला। यिनै कारणले होला, जीवनको अर्थ महत्त्वपूर्ण भएको पनि।
आफ्नाको पीडामा सहभागी नहुने भएको भए आफ्नो र अर्कोमा फरक हुँदैनथ्यो होला। सजीव र निर्जीव उस्तै हुन्थ्यो होला। अझ भनौं, चेतनाको अर्थ रहन्नथ्यो होला। यही भएर रहेछ, आफ्नाको अवसानमा मान्छे दुःखी हुने। यही भएर त होला, आफ्नो मान्छे गुमाउँदा मन द्रवित हुने अनि सुस्काउने, जसरी सुस्केरा हाल्छ नदी। मन आगाको फिलिङ्गो बनेर सल्किने, मनको पीडा घाउ बनेर दुख्ने, ठिहीको शीतजस्तै जम्ने ठाँटो बनेर। बोल्न मन नलाग्ने, कोही बोले पनि झर्को लाग्ने, मुटुको धड्कन तीव्र बनेर धड्कने। उफ् ! कत्ति नसुहाउने दैव! कति नमिल्दो कुरा !
मान्छेको जीवनमा दैवले पहाडै खसालिदिएपछि कता भाग्नु ! कस्तो है मान्छेको जीवन, बिरालाको बलिवेदीमा खेलाइएको मुसाजस्तै। कुन बेला झ्याप्प आक्रमण हुने हो पत्तो नपाइने। न मिति तय छ, न साइत नै हेरिएको छ। न कुनै कसुरमा प्रमाण खोजेर मृत्युको सजाय सुनाइएको छ, न कुनै प्रमाण वा साक्षी सर्जमिनलाई आधार बनाइएको छ। अथवा भनूँ, न कोही न्यायाधीशले कचहरी बसेर फैसला नै सुनाएको छ। कस्तो नियति दैवको। मुटु नै काँपेको छ। सम्झन्छु, झस्किन्छ मन।
आतङ्कित हुन्छ। अनि तर्सन्छु निन्द्रामा पनि। कहाँको नियम हो यो। मनै शिथिल र थकित बनाउने गरी हल्लाउने अधिकार कुन कानुनमा लेखिएको रहेछ !
मलाई थाहा छ, मृत्यु शाश्वत् सत्य हो। जन्मेपछि एकदिन मर्नैपर्छ। आफन्त सबैलाई छाडेर परलोकको यात्रा तय गर्नैपर्छ। अजम्बरी कोही छैन्। यो पनि म जान्दछु। तर लाऊँखाऊँ, जिन्दगीलाई एउटा आकारमा ढालूँ, जिन्दगीको करियर निश्चित गरूँ भन्ने उमेर खोसेर लैजाने निष्ठुरे दैव ! तैंले मेरो रातको निद र दिनको भोक हरिस्। मेरो भोलिको भविष्य खोसिस्। मेरा आशा र अपेक्षामा तुषारापात गरिस्। मेरो मुस्कान मबाट खोसिस्। मेरो भाग्य हरिस्। मेरो जीवनलाई सुक्खा र उजाड बनाइस्। अब गर्न नै के छ र बाँकी !
मेरो भोलिको सानलाई अप्रत्यासित रूपले मबाट खोसेर ममाथि मजाक गरिस् तैंले। एउटा निर्दोष युवावय टेक्दै गरेको जीवनले जिन्दगीको असली स्वाद चाख्न नपाई निमोठिस्। तेरो यो नृशंस क्रियाकलापले मेरो सोझो मन के भयो होला, यतातिर नजर लगाइनस्? कस्तो मुर्झाएको फूलजस्तो बनाइस् मेरो जीवन। जीवनको मिठास बिगारिदिइस्। उज्यालोको हातबाट खोसेर उसलाई अन्धकारमा मिलाइस्। कस्तो बनाइस् दैव मेरो नियति?
निष्ठुरे ! केमा रिसराग साँचिस्? निरस मेरो मन रसायो। अनि आँसुका नुनिला ढिका पिउन बाध्य बनाइस्। दैव, खै कसरी सहूँ म, कसरी? मेरो जीवनयात्रा असाध्यै कष्टकर पो बनाइस्। कसरी कच्याककुचुक पार्न सकेको लौन नि ! मलाई त लाग्थ्यो, जीवन यात्रा हो, बिना रोकतोक अघि बढ्छ। तर तैंले त पर नपुग्दै लगिस्।
नदीबिच पुर्याएर गहिरो भासमा जाकिदिइस्। किनार पुग्नै दिइनस्। जीवनप्रतिको आशा जगाउने उमेरमै खोसिस्। सृष्टिको शाश्वत् फूल निमोठ्ने, कलकलाउँदो र उज्यालो फूललाई कुल्चेर सकाउने, फूलको जीवनलाई खोस्ने। यी यावत् कुरा गरेर फूलको अस्तित्व नामेट गराउने नृशंस कार्य किन गरिस् दैव? तेरो माकुरी जालमा किन फसाइस् पासो थापेर? लानु नै थियो यसरी छिटै भने किन क्षणिक सुख अनुभूति गर्न दिइस्? यो मायाजालमा किन पारिस् हामीलाई? तैंले चाहिँ विधिविधान पालन गर्नु नपर्ने? अराजक भएर जे मनमा आयो, त्यही गर्ने? अनि तेरो कारण हामीले यादमा तड्पिनुपर्ने? तेरा यी सब गतिविधि आलोच्य छन्, अपाच्य छन् र अग्राह्य छन्।
दैव, तैंले गरेको अक्षम्य व्यवहारका कारण म हरपल पीडामा डुबुल्की मारिरहेको छु। तैंले दिएको असह्य मानसिक यातनाका कारण हररात सिरानी भिजाइरहेको हुन्छु। के थाहा? के अनुभूति होला र तँलाई? मेरो देह चिसिएर हिउँजस्तै भएको छ। मेरो दिमाग भरङ्गित छ, किनकि सबै धुजा धुजा बनाएर च्यातिस्। जहिल्यै छोडेर जानेका आवाज कानमा गुन्जिन्छन्।
निदाउन खोज्छु, पीडा र सास्ती आउँछ। भोकले आन्द्रा सुक्छ, पर्वाह छैन। स्वास्थ्यले साथ छोड्छ, मतलब गर्दिनँ। मनको गहिराइबाट यादका तरङ्गहरू झङ्क्रित हुन्छन्। अनि उसको याद ताजा बनेर आउँछ। फेरि नमिठो चिमोटाइले कहाँ दुख्छ भन्न सक्दिनँ तर अथाह दुख्छ उसैको यादले। रुन्छ मन र प्रत्येक रुवाइमा मन भक्कानिन्छ। खै के भयो !
हे दैव, तैंले त फुङ्ङ उडेको धुलो, हुरी, धुवाँ, हावाजस्तै बनाइस् मेरो जीवन। पूर्णिमाको जूनलाई पनि औंसीको निरव कालो रातले ढाकेजस्तो। उज्यालोलाई बादलुले छोपेजस्तो। तर पनि मनले यादलाई ताजा गराएकै छ। सम्झना त अमिट रूपमा मनमा बसेकै छ।
त्यो दिन मलाई राम्रै थाहा छ, मन भरङ्गित भएको थियो। मेरो आँखासामु एउटा लक्का जवान छोराको चोला उड्दै थियो। दनदनी बलेको आगाको ज्वालाजस्तै मेरो मन पनि जल्दै थियो।
अन्त्यमा, निमेषभरमै सब भयो खरानी। आर्यघाटमा भक्कानिएर रुनुसिबाय केही गर्न सकिनँ। टुलुटुलु उसको आत्मा जल्दै गरेको हेरिरहेँ। एउटा लाचार बाउ ! दैव लागेको विचरा बाउ म ! अहँ, सपना हो कि विपना हो, पत्तै पाइनँ।
उज्यालो भविष्य छोरामा देखेको सपना बोकेर हिँडेको यो आशावादी बाउ। शोकको गहिरो आहालमा अकस्मात डुब्न बाध्य पारियो। दैव, तैंले आशा र विश्वास उसको चोलासँगै उडाइस्। मेरो आखाका नानी फुलो परेजस्ता भए।
यतिबेला तेरो आँखामा पर्दा लागेको छैन भने हेर् मलाई। देख् मेरो अवस्था। अनुभूत गर् मलाई। किन तैंले बाटो बिराइस्। तेरो व्यवहारले मेरो मनमा चिच्याहट पैदा भएको छ। तँप्रति घृणाभाव र आक्रोश उब्जिएको छ। तेरो कपाल समातेर मलाई च्वाइँच्वाइँ पार्ने मन भएको छ।
मेरो टाउको पीडाले रन्थनिएको छ। मेरो मुटु पग्लिएर आँसु बनेर पोखिएको छ। थाहा छैन, अब मुटु छ कि छैन? मेरो सुन्दर–शान्त संसारको उस्तै सुन्दर परिवेश तैंले भत्काइस्। दैव ! तैंले त मान्छेका घाउमा मलमपट्टी लगाउनुपर्थ्याे तर मेरो घाउमा त तैंले तिखो तिरले घोचिस्। तँ किन कहिल्यै मेरो अनुकूल नबनेको? किन सधैं मेराविरुद्ध अग्लो पहाड बनेर उभिएको?
सधैं मलाई दुःखमै बाँच्न विवश पार्ने तेरो नियतिमा खोट छ। तैंले त मान्छेको दुःखमा सान्त्वना दिनुपथ्र्यो। तैंले त पलपलमा दुःखका पीडा दिएर आनन्दको अनुभूति गरिस्। तेरो अन्तरमनमा अलिकति पनि आत्मग्लानि पैदा भएन? मेरो जीवनको भविष्यसँग नराम्रो खेल खेलिस् दैव तैंले। कति धेरै निष्ठुरी मन तेरो। एउटा सानो अनि सुन्दर संसारमा आँधी ल्याइदिएर रमाउने तँ, छि ! तेरो खेल अचम्मको ! कस्तो छल तेरो हामीमाथि। कस्तो कपट व्यवहार!
भविष्यबारे चिन्ता गर्दै गरेको युुवावय खोसिस्। जीवनको अर्थ बुझ्न सुरु गरेको मान्छे मबाट लुटिस्। यस्तो गर्नु नै थियो भने किन सृष्टि गरिस्? यति छिट्टै मबाट खोसेर लानु थियो भने किन पैदा गरिस्। बोल्दा पनि गला अवरुद्ध भएको छ मेरो।
आँखाले केही ठम्याउन सकेको छैन, धूमिल धूमिल छ। मनले केही सोच्न सकेको छैन, घवराहट छ। मुटुको चाल आफ्नो कि अर्काको पहिल्याउने सामथ्र्य पनि छैन। खुट्टाहरू कुँजोजस्तो लाग्न थालेको छ। पाइलाहरू धरमराइरहेका छन्। म मानसिक र शारीरिक रूपमै थकित छु, गलित छु, सोच्ने शक्ति नै गुमेकोजस्तो। सपना हो कि विपना, ठम्याउन सकिरहेको छैन। मेरो र मेरो परिवारको जिन्दगीको ट्रेन नै सदाका लागि छुटेजस्तो। हे दैव ! कस्तो कीर्तिमान हो यो तेरो? लाऊँखाऊँ उमेरको बैंसालु जीवन खोसिस्।
मैले केही बुझ्न सकिरहेको छैनँ। किन लिन्छ दैवले पनि परीक्षा पटक पटक ममाथि। मैले केही ठम्याउन सकिरहेको छैन। जिन्दगी सबै र सधैंका लागि यस्तै हो। यति थिल्थिलो भएको जीवन अरूको हुन्छ कि हुन्न, त्यो पनि थाहा छैन। यस्तै यावत् प्रश्नले मनमा डेरा जमाएका छन्।
मेरो जीवनका सुख र खुसी निर्ममतापूर्वक चिथोरेर लाने दैव, तँलाई म के भनूँ? कमजोर हुँदै गइरहेको शरीर, शारीरिक र मानसिक रूपमा खस्किँदै गइरहेको जीवन लिएर बाँचिरहेका मेरा वृद्ध बाआमाको त्यो कान्तिविहीन चेहरा। अनि फुङ्ङ उडेको मुहार तथा पीडाका भारी बोकेर निरीह प्राणी बन्दै सहनशीला भई बाँचेकी मेरी जीवनसाथी। बस्, यिनीहरूकै लागि भए पनि जिउनुपर्ने विवशता बोकेको मान्छे म। उनीहरूकै लागि भए पनि सुकेको फूलजस्तो जीवनलाई दुःखैदुःखका टेकाले अड्याएर भए पनि जिउनु छ। तर दैव, तँलाई म सातखत माफ गर्दिनँ।